प्रभातफेरी अनलाइन७ पटक पढिएको | २०८३ आश्विन ३, शनिबार
काठमाडौं / नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लोककल्याणकारी विज्ञापनबापत छापा सञ्चारमाध्यमले प्राप्त गर्दै आएको रकम कार्यविधि संशोधनमार्फत कटौती गरिएको विषयमा ध्यानाकर्षण गराइएको छ।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालको नेतृत्वमा गएको टोलीले प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाउँदै लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय फिर्ता लिन तथा छापा सञ्चारमाध्यमको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक पहल गर्न आग्रह गरेको हो।
टोलीमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शोभा अर्याल, उपाध्यक्ष हेमबहादुर राना, सचिव रमेशकुमार बोहोरा, शाखाका सल्लाहकार तथा केन्द्रीय सदस्य सूर्य सुवेदीलगायत ‘छापा माध्यम बचाउ सुझाव कार्यदल’का सदस्य तथा वरिष्ठ पत्रकारहरूको सहभागिता रहेको थियो।
कार्यदलका संयोजक दामोदरप्रसाद दवाडीको हस्ताक्षर रहेको पत्रमार्फत छापा सञ्चारमाध्यमले भोगिरहेका समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आवश्यक पहल गर्न आग्रह गरिएको छ।