प्रभातफेरी अनलाइन११ पटक पढिएको | २०८३ आश्विन ५, सोमबार
नुवाकोट / भोटेकोसी बाढी–पहिरोबाट विस्थापित रसुवाको उत्तरगया गाउँपालिका–१ खाल्टेका पीडित परिवारले राहतसँगै दीर्घकालीन पुनर्वास र सुरक्षित आवासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
हाल नुवाकोटको विदुरस्थित पिपलटारका विभिन्न तीनवटा अस्थायी क्याम्पमा खाल्टेका करिब १७६ घरपरिवार आश्रय लिएर बसिरहेका छन्। बाढी–पहिरोमा धेरै परिवारले आफन्त गुमाएका छन् भने बालबालिकामध्ये धेरैले अभिभावक गुमाएको बताइएको छ।
पिपलटारस्थित अस्थायी आवासमा रहेका बाढीपीडित परिवार तथा बालबालिकासँग भेटघाटका क्रममा उनीहरूले आफन्त गुमाउनुको पीडासँगै अब कहाँ र कसरी बस्ने भन्ने चिन्ता व्यक्त गरेका छन्। मैलुङ हाइड्रोपावरमा कार्यरत सल्यानका केही नागरिकसमेत विपद्पछि बेपत्ता रहेकाले पीडित परिवारको दुःख थप गहिरिएको छ।
खाल्टेका केही परिवारले यसअघि २०७२ सालको भूकम्पमा समेत ठूलो जनधनको क्षति व्यहोरेका थिए। भूकम्पपछि माथिल्लो गाउँबाट खाल्टेमा बसाइँ सरेका परिवारले अहिले फेरि बाढी–पहिरोको सामना गर्नुपरेको छ।
यसबीच वाईसीएल नेपालका फिल्ड कमान्डर हरि ढकालको नेतृत्वमा रहेको टोली विगत २५ दिनदेखि श्रम, खोज तथा उद्धारमा निरन्तर खटिएको बताइएको छ। स्थानीय सरकार तथा विभिन्न संघसंस्थाबाट तत्कालीन राहत र सहयोग भइरहेको भए पनि पीडितहरूले दीर्घकालीन व्यवस्थापनको आवश्यकता औँल्याएका छन्।
पीडितहरूको अवस्था अवलोकनपछि तत्कालीन राहत र अस्थायी व्यवस्थापन मात्र पर्याप्त नहुने भन्दै जोखिम मूल्याङ्कनसहित दीर्घकालीन पुनर्वास, सुरक्षित आवास, बालबालिकाको संरक्षण र जीवनयापनको आधार सुनिश्चित गर्न सरकारले योजनाबद्ध काम गर्नुपर्ने आवश्यकता रहेको बताइएको छ।