प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ आश्विन ५, सोमबार
काठमाडौं / देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ भने उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने देखिएको छ।
हाल कोशी र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा बदली रहेको छ। कोशी र बागमतीका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णालीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।