प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ आश्विन ९, शुक्रबार
सप्तरी / बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार दिउँसो २ बजे कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख ४० हजार ५५५ क्युसेक पुगेपछि ३१ वटा ढोका खोलिएको हो। यसअघि बिहान १० बजे १ लाख ९८ हजार २२० क्युसेक बहाव हुँदा २५ वटा र दिउँसो १ बजे २ लाख २९ हजार ९६० क्युसेक पुगेपछि ३० वटा ढोका खोलिएको थियो।
कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि जोखिमको सङ्केतस्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिएको छ। जलसतह निरन्तर बढिरहेकाले सप्तकोशी आसपासका बासिन्दालाई सतर्क रहन तथा जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा सङ्कलन नगर्न आग्रह गरेको छ। कोशी ब्यारेजमा ५२ वटा मूल ढोका र चारवटा नहर गरी कुल ५६ वटा ढोका रहेका छन्।