प्रभातफेरी अनलाइन१८ पटक पढिएको | २०८३ आश्विन ९, शुक्रबार
मुस्ताङ / समुद्री सतहदेखि ४ हजार ६१० मिटरको उचाइमा रहेको नेपाल–चीन उत्तरी कोरलानाका क्षेत्रमा बिहीबार रातिदेखि बेमौसमी हिमपात भएको छ। हिमपातपछि कोरलानाका क्षेत्र हिउँले सेताम्मे भएको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बिहीबारदेखि मुस्ताङमा निरन्तर वर्षा भइरहेका बेला उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा हिमपात भएको हो। हिमपातका कारण निकासी तथा पैठारीका कन्टेनर तथा ढुवानीका साधनको आवतजावतमा समेत समस्या देखिएको छ।
लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा भइरहेको र बस्तीभन्दा माथिका उच्च लेकमा समेत आंशिक हिमपात भइरहेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए। वर्षा र हिमपातसँगै उपल्लो मुस्ताङमा चिसो बढ्न थालेको उनले बताए।
मौसम प्रतिकूलताका कारण बाढी, पहिरो तथा नदी कटानबाट सडक अवरुद्ध हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले काभ्रेभिरदेखि उपल्लो मुस्ताङसम्मको सडकमा यात्रा नगर्न आग्रह गरेको छ। सम्भावित विपद् न्यूनीकरणका लागि बिहीबार रातिदेखि चार दिनसम्म साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ।
यस्तै, कालीगण्डकी नदीमा जलसतह बढेर जोखिम हुनसक्ने भन्दै घरपझोङ गाउँपालिकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। निरन्तर वर्षाका कारण पुराना ढुङ्गा र माटोबाट बनेका परम्परागत घरसमेत जोखिममा पर्न थालेका छन्।