प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ आश्विन ९, शुक्रबार
काठमाडौं / रसुवा जिल्लाको भोटेकोसी नदीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले २० करोड ८९ लाख २ हजार ९७० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरेको छ ।
प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले आज असोज ८ गते आयोजित पत्रकार सम्मेलनमार्फत उक्त रकम जम्मा गरिएको जानकारी दिनुभएको हो । उक्त रकम प्याब्सनका सदस्य विद्यालय, विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा शुभेच्छुकबाट प्राप्त सहयोग र प्याब्सनका पालिका, जिल्ला तथा प्रदेश कमिटीमार्फत संकलन गरिएको हो ।
अध्यक्ष अधिकारीका अनुसार संकलित रकममध्ये २ करोड रुपैयाँ रसुवा क्षेत्रमा क्षति पुगेका प्याब्सन सदस्य विद्यालयलाई सहयोग गर्न छुट्याइएको छ ।
उहाँले उक्त राहत रकमबाट प्रभावित क्षेत्रका निजी विद्यालयलाई समेत सरकारले समेट्ने अपेक्षा व्यक्त गर्नुभयो । साथै, बाढीपीडितका लागि सहयोग गर्ने सबै सदस्य विद्यालय, विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शुभेच्छुक तथा प्याब्सनका विभिन्न तहका समितिलाई केन्द्रीय कार्यसमितिको तर्फबाट धन्यवाद तथा आभार व्यक्त गर्नुभयो ।