प्रभातफेरी अनलाइन६ पटक पढिएको | १ घण्टा अघि
काठमाडौं / राष्ट्रिय मुक्ति पार्टी नेपालले संविधान संशोधन, संघीयता सुदृढीकरण, चुरे संरक्षण तथा स्थानीय तहको निर्वाचन गैरदलीय बनाउने विषयमा देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टीले उत्पीडित राष्ट्रियता, पहिचानवादी शक्ति तथा नागरिक समाजलाई समेटेर ‘राष्ट्रिय पुनर्जागरण अभियान’ अघि बढाउनेसमेत जनाएको छ।
अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा असोज ४ देखि ८ गतेसम्म काठमाडौंको शान्तिनगरस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण र जनसरोकारका विषयमा विभिन्न निर्णय गरेको हो। बैठकका निर्णय महासचिव सन्तोष मेहताले सार्वजनिक गरेका छन्।
पार्टीले संविधान संशोधनका विषयमा देशव्यापी नागरिक संवाद सञ्चालन गर्ने निर्णय गरेको छ। पहिलो चरणमा विराटनगर, विर्तामोड, राजविराज, जनकपुर, वीरगञ्ज, नेपालगञ्ज र धनगढीलगायत प्रमुख शहरमा ‘संविधान संशोधन : असन्तुष्ट समुदायको सवाल’ विषयमा संवाद आयोजना गरिने जनाएको छ।
अध्यक्ष महतोको राजनीतिक प्रतिवेदन सुझावसहित परिमार्जन गरी सर्वसम्मत पारित गरिएको छ। प्रतिवेदनमा संविधान जारी भएको एक दशक बितिसक्दा पनि राजनीतिक, सामाजिक तथा आर्थिक स्थायित्व कायम हुन नसकेको पार्टीको निष्कर्ष उल्लेख छ।
त्यस्तै, भ्रष्टाचार नियन्त्रण, सुशासन, संघीयता सुदृढीकरण तथा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब दिने कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ।
स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन ‘स्थानीय तह दलमुक्त, नागरिक–केन्द्रित र सेवायुक्त’ अवधारणासहित अभियान सञ्चालन गर्ने पार्टीले जनाएको छ। चुरे दोहन रोक्न ‘चुरे बचाउ–मधेश र जीवन जोगाउ’ अभियानमार्फत जैविक अधिकार र जलवायु न्यायका विषयमा कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको छ।
पार्टीले मधेश, थरुहट, लिम्बुवान, नेवा, ताम्सालिङ, मगरात र खसानलगायत क्षेत्रमा साझा पुनर्जागरण अभियान सञ्चालनका लागि पहल गर्ने जनाएको छ। विचार मिल्ने लोकतान्त्रिक तथा परिवर्तन पक्षधर दल र शक्तिसँग सहकार्य तथा गठबन्धनका लागि पहल गर्ने निर्णयसमेत बैठकले गरेको छ।
बैठकले सातै प्रदेशका लागि संगठन संयोजक र सहसंयोजक तोक्नुका साथै केन्द्रीय संरचना पुनर्गठन र संगठन विस्तारका लागि डिजिटल भोलेन्टियर्स, नागरिक संवाद मञ्च तथा युवा परिचालन गर्ने निर्णय गरेको छ। निर्वाचन आयोगसँग समन्वयका लागि कौशलकुमार सिंहलाई आधिकारिक सम्पर्क व्यक्ति तोकिएको पार्टीले जनाएको छ।