प्रभातफेरी अनलाइन१६ पटक पढिएको | १ घण्टा अघि
काभ्रे / जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले प्रहरी नायब निरीक्षक रामकुमार बुढाथोकीलाई २०८३ साल भदौ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ।
इलाका प्रहरी कार्यालय कात्तिकेदेउरालीमा कार्यरत बुढाथोकीले कार्यालयको जिन्सी व्यवस्थापन, अभिलेख अद्यावधिक तथा राजस्व दाखिलामा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उनलाई उत्कृष्ट कार्यसम्पादन सम्मानपत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक रविन कार्कीले जानकारी दिनुभयो।
जिल्ला प्रहरी कार्यालयका अनुसार बुढाथोकीले २९७ थान मोटरसाइकल लिलाम बिक्री गरी ४१ लाख २० हजार रुपैयाँ राजस्व दाखिला गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। साथै, कार्यालयमा रहेका हातहतियार, गोलीगठ्ठा, असमासी सामानलगायत विभिन्न जिन्सी सामग्रीको रजिस्टर तथा कम्प्युटरमा व्यवस्थित अभिलेख राख्नुका साथै सफ्टवेयरमा समेत अभिलेखीकरण गरेका थिए।
त्यसैगरी, विगत केही वर्षदेखि जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयमा बेवारिसे र स्वामित्व नखुलेका अवस्थामा रहेका मोटरसाइकल व्यवस्थापनमा समेत बुढाथोकीले महत्वपूर्ण योगदान पुर्याएको प्रहरीले जनाएको छ।
आफूलाई सुम्पिएको जिम्मेवारी इमानदारी र प्रभावकारी रूपमा निर्वाह गर्दै उल्लेखनीय कार्यसम्पादन गरेको आधारमा उनलाई भदौ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको सम्मानपत्रमा उल्लेख छ।
प्रहरी उपरीक्षक कार्कीले सम्मानपत्र प्रदान गर्दै बुढाथोकीको कार्यसम्पादन अनुकरणीय रहेको बताउनुभयो।