logo
२०८३ आश्विन १२, सोमबार |
☰
📰
🔍
✕

नारायणी नदीमा जलसतह खतराको तहभन्दा माथि, तटीय क्षेत्रमा बाढीको उच्च जोखिम

प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ आश्विन ११, आईतबार
नारायणी नदीमा जलसतह खतराको तहभन्दा माथि, तटीय क्षेत्रमा बाढीको उच्च जोखिम

काठमाडौं / नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय तथा होचा क्षेत्रमा बाढी र डुबानको उच्च जोखिम बढेको छ।

जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार नारायणी नदीमा खतराको तह ९ मिटर रहेकामा जलसतह करिब ११ मिटर पुगेको छ र अझै बढ्दो क्रममा छ। देवघाट बाढी मापन केन्द्रमा आइतबार दिउँसो ११ बजेतिर जलसतह बढेर अधिकतम करिब १३ मिटर पुग्न सक्ने अनुमान गरिएको छ।

आज साँझसम्म नारायणी नदीको जलसतह खतराको तहभन्दा माथि नै रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै, कालीगण्डकीमा बहाव खतराको तहभन्दा निकै माथि पुगेको छ भने सेती, मादी, मर्स्याङ्दी, दरौँदी र चेपे नदीमा बहाव सतर्कता तहभन्दा माथि रही बढ्दो क्रममा छ।

बुढीगण्डकी र त्रिशूली नदीमा समेत बहाव सतर्कता तह नजिक पुगेको जनाइएको छ। नारायणीमा बहाव उच्च भएपछि चितवन र नवलपरासीका नदी आसपासका होचा तथा डुबान सम्भावित क्षेत्रमा बाढीको उच्च जोखिम रहेकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।