logo
२०८३ आश्विन १६, शुक्रबार |
☰
📰
🔍
✕

रसुवा बाढीपीडितका लागि डिप्लोमा इन्जिनियर्स एशोसिएसनद्वारा २ लाख ५ हजार सहयोग

प्रभातफेरी अनलाइन२४ पटक पढिएको | २०८३ आश्विन १६, शुक्रबार
रसुवा बाढीपीडितका लागि डिप्लोमा इन्जिनियर्स एशोसिएसनद्वारा २ लाख ५ हजार सहयोग

काठमाडौं / रसुवामा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि डिप्लोमा इन्जिनियर्स एशोसिएसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ।

एशोसिएसनका अध्यक्ष कामेश्वर प्रसाद सिंहको नेतृत्वमा गएको टोलीले उक्त सहयोग रकमको चेक अर्थसचिव घनश्याम उपाध्यायलाई हस्तान्तरण गरेको हो।

प्राकृतिक विपद्का समयमा राज्यको उद्धार तथा राहत अभियानमा सहयोग गर्नु नागरिक तथा पेशागत संस्थाको साझा दायित्व भएको भन्दै एशोसिएसनले सदस्य तथा शुभेच्छुकबाट रकम संकलन गरी सहयोग गरेको जनाएको छ।

चेक हस्तान्तरण कार्यक्रममा एशोसिएसनका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। टोलीले बाढी प्रभावित नागरिकको उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सरकार तथा सम्बन्धित निकायलाई आग्रहसमेत गरेको छ।

यसैबीच, एशोसिएसनले डिप्लोमा तहका प्राविधिक जनशक्तिको पेशागत पहिचान, प्रमाणिकरण तथा नियमनका लागि डिप्लोमा इन्जिनियरिङ परिषद् गठन गर्ने प्रस्ताव अघि बढाएको जनाएको छ। उक्त प्रस्ताव पूर्वाधार विकास मन्त्रालयमार्फत संसदमा पेश गरिएको एशोसिएसनको भनाइ छ।

परिषद् गठन भएमा सब–इन्जिनियर तथा डिप्लोमा तहका प्राविधिक जनशक्तिको पेशागत नियमन, प्रमाणिकरण, क्षमता अभिवृद्धि तथा हकहित संरक्षणमा थप स्पष्टता आउने एशोसिएसनले अपेक्षा गरेको छ।