logo
२०८३ आश्विन २०, मंगलबार |
☰
📰
🔍
✕

मृत्युलाई दुईपटक जित्ने कलम

प्रभातफेरी अनलाइन२३ पटक पढिएको | २०८३ आश्विन १९, सोमबार
मृत्युलाई दुईपटक जित्ने कलम

४० वर्षे पत्रकारिता। आन्दोलनदेखि विपद्सम्म। इमानको अर्को नाम -संचारकर्मी प्रल्हाद शर्मा हुमागाई पत्रकारितामा भनिन्छ – “आवाजविहीनहरूको सच्चा पहरेदार बन्ने।” त्यो व्रत बोकेर ४ दशकदेखि हिँड्ने नाम हो संचारकर्मी प्रल्हाद शर्मा हुमागाई।

कहिले मिटरब्याज पीडितको साथमा उभिनुभयो, कहिले सहकारी पीडितको आँसु लेख्नुभयो। भूकम्प, बाढी, कोभिड… प्राकृतिक विपद्का कथा र व्यथा लेखेर न्यायको याचना गर्न कहिल्यै पछि पर्नुभएन।

म नै साक्षी हुँ। पीडा भोग्न नसकेर रुँदै “न्यायका लागि लेखिदिनुस्” भन्दै फोन गर्नेहरू कति थिए। त्यस्ता समाचार लेखेकै कारण धम्की खेप्नुभयो। कलममा जीवन खोज्ने प्रभातफेरीको टिमलाई अदालतको कठघरासम्म पुर्याइयो। तर कलम झुकेन।

रौतहटको इँटाभट्टा देखि कोभिडको शवसम्म।
२०४६ को आन्दोलन देखि २०८२ को जेन्जी आन्दोलनसम्म।

“रौतहट घटना र अफ्ताव आलमको सत्ता ”  ‘जिउँदा मान्छेलाई इँटाभट्टामा जलाउने’ खबर। त्यो जोखिममा रिपोर्टिङ गरेर एंकरिङ स्टोरी लेख्नुभयो। त्यो साहस सम्झँदा आज पनि आङ सिरिङ्ग हुन्छ। सायद मेरो खुट्टा काँप्थ्यो होला। तर उहाँको कलम काँपेन।

कोभिडको कहालीलाग्दो समय। सरकार “घरमै बस्नुस्” भनिरहेको थियो। तर उहाँले कोभिड पीडितसँग बिताएको कारुणिक क्षणलाई “दाहसंस्कारमा नो डिस्काउन्ट” बनाएर लेख्नुभयो। त्यसपछि धेरै असहायले निःशुल्क अन्त्येष्टि पाए। नयाँ सास फेरे।

आफ्नो खातामा पैसा नभए पनि “अर्कासँग सापटी मागेर भए पनि हाल्देउ न” भन्ने उहाँको बानी आज पनि ताजै छ। मन्दिर जाँदा पैसा साटेर लैजाने र सकेसम्म सबैलाई दिने – त्यो मानवीयता मरेको छैन।

“एकदिन मर्नै पर्छ, किन डराउने।”

कोभिड संक्रमणबाट पहिलो शवको खबर आयो। झमझम पानी। कसैले बास दिएन। जवाफ एउटै थियो – “हुन्छ”।
आज डाक्टरहरू भन्छन् – “अरूले एकपटक जन्म लिन्छन्। प्रल्हाद जीले यही जुनिमा दुईपटक जन्म लिनुभएको छ।” उपचारमा संलग्न डा. राजिव झाले “पछिल्लो जन्मदिन” मनाउन आग्रह गर्नुभएको थियो।

२०४६ को जनआन्दोलन होस् या १० वर्षे जनविद्रोह – एकातर्फ शाही सत्ता, अर्कोतर्फ विद्रोही। पटकपटक निशानामा। उहाँको संवाद आज पनि कानमा गुञ्जिन्छ – “एकदिन मर्नै पर्छ, किन डराउने।”

डाक्टर भन्छन्: “यही जुनिमा दुईपटक जन्म लिएका मान्छे”

२०६२/६३ को आन्दोलनमा पूर्ण लोकतान्त्रिक मञ्चको सहसंयोजक भएर दोहोरो जिम्मेवारी बहन गर्नुभयो। र २०८२ भदौ २३ को जेन्जी आन्दोलनमा निषेधाज्ञा तोड्नुभयो। गोली चल्नुलाई पत्रकारका लागि सामान्य ठान्नुभयो।

पदको मोह थिएन। पैसाको मोह थिएन। कसैले प्रलोभन देखाउँदा भन्नुहुन्थ्यो – “तपाईं गलत ठाउँमा आउनुभएछ, कृपया जानुस्।”
“पैसा आवश्यकता हो, तर ठूलो कुरा होइन। मानिसमा इमान चाहिन्छ। पत्रकारितामा त अझै धेरै इमान चाहिन्छ।”

छोरालाई सधैं भन्नुहुन्थ्यो – “पढाई भन्दा ठूलो केही छैन।” आज त्यो छोरा १८ बसन्त पार गरेर कर्मठ सन्तान बनेको छ।

पदको मोह थिएन। पैसाको मोह थिएन।
थियो त सिर्फ – इमान।

खोज, अध्ययन, अनुसन्धान गरेर मात्र समाचार लेख्ने। राति १-२ बजे काम गर्दा पनि नथाक्ने।
यही समर्पण र साहसिक मनोबलका कारण “हुमागाई” निस्वार्थ र निष्पक्ष पत्रकारिताको अर्को नाम बन्नुभएको छ।

उहाँको यात्रामा आजसम्म प्रश्न उठ्ने ठाउँ छैन। किनकि उहाँले कलमले मात्र होइन, ज्यानले पनि पत्रकारिता गर्नुभएको छ।

*************************

नाम: प्रल्हाद शर्मा हुमागाई
४० वर्षे पत्रकारिता।

 

“आवाजविहीनको सच्चा पहरेदार”
लेखक: राज्यलक्ष्मी श्रेष्ठ* प्रभातफेरी साप्ताहिकको स्तम्भकार हुनुहुन्छ ।