प्रभातफेरी अनलाइन१४ पटक पढिएको | २०८३ कार्तिक २१, शनिबार
– सलन मगर काभ्रेली
नेपालको भूगोल आफैंमा एउटा क्रान्ति हो। मेचीदेखि महाकालीसम्म फैलिएको यो देशको कुनाकाप्चाबाट हिँडेर आएका थिए – जनमुक्ति सेनाहरू। कोही कर्णालीको भिरबाट, कोही रोल्पा रुकुमको माटोबाट, कोही मधेसको तातो हावाबाट, अनि कोही इलामकै चिया बारीभित्र हुर्किएको छोरा-छोरी। उनीहरूको एउटै गन्तव्य थियो – पूर्व। इलामको सूर्योदय नगरपालिका अन्तर्गत पर्ने पशुपतिनगर, जहाँ पुगेर राज्यसत्तालाई भन्नु थियो – देशको सिमाना तिमीले होइन, जनताले कुरेको छ।
पशुपतिनगर नेपाल र भारतको पूर्वी सीमा क्षेत्रमा अवस्थित एक महत्वपूर्ण ऐतिहासिक, भौगोलिक तथा व्यापारिक ठाउँ हो। यसको चारै दिशाको सीमा यस्तो छ। पूर्वमा भारतको पश्चिम बंगाल राज्यको दार्जिलिङ जिल्लाको मिरिक र सुकियापोखरी क्षेत्रसँग सिमाना जोडिएको छ। पश्चिममा सूर्योदय नगरपालिकाका मुटुहरू श्रीअन्तु र फिक्कल क्षेत्र पर्छन्। उत्तरमा जोगमाई र भारतको दार्जिलिङ जिल्लाको हिमाली पहाडी भूभाग छ भने दक्षिणमा समालबुङ तथा पश्चिम बंगालको सीमा क्षेत्र पर्छ। पहाडी जिल्लामध्ये भारतसँग सहज मोटरबाटो जोडिएको एक मात्र पहाडी नाका भएकाले यसको महत्व सधैं उच्च छ।
त्यो हिँडाइ सजिलो थिएन। नेपालको भूगोलले उनीहरूलाई जाँच लिइरहेको थियो। दिनमा खोला तर्नु, भिरमा लुक्नु। रातमा मात्र पाइला चल्नु। भोकले आन्द्रा बाउँडिएको, तिर्खाले घाँटी सुकेको, जुत्ताभित्र रगत र हिलो मिसिएको। तर आँखामा एउटै उज्यालो थियो – पशुपतिनगर।
अनि त्यसै बेला जनता आमा बनेर आए। इलामको त्यो चिसो रातमा जब जनमुक्ति सेनाहरू बाटो बिराउँथे, एउटा बूढी आमाले टुकी निभाउँदै भन्थिन्, बाबु यता नजाउ, त्यता गस्ती छ, यो कान्लाबाट जाउ। एउटा दाजुले आफ्नो ओढ्ने कम्बल थापिदिन्थे, एकछिन सुत्नुस् म पालो दिन्छु। एउटी दिदीले मकैको ढिँडो र नुन खुवाउँदै भन्थिन्, खाएर जानुस् बाटो लामो छ। जनताले देखाएको त्यो सुरक्षित बाटो नक्सामा थिएन, त्यो बाटो मायाले बनेको थियो। छापामार शैलीमा पुगेर कब्जा गरिएको त्यो चौकी गोलीले होइन, जनताको प्यारो साथले जितिएको थियो।
त्यस मोर्चामा प्रहरीहरूले आत्मसमर्पण गरेपछि मानव अधिकारकर्मीको जिम्मा लगाएर सम्मानका साथ विदा गरियो। किनकि भनिएको थियो, हाम्रो युद्ध पुलिससँग होइन, निरंकुश राज्यसत्तासँग हो, लडाइँ आमूल परिवर्तनका लागि हो। त्यसै रात अन्तु भन्ज्याङबाट दिनको सुरुवात भएजस्तै पूर्वमा लालकिल्ला गाडियो। यो रगत र पीडा अनि पसिना, जनताको त्याग र सहयोगले भएको सफलता थियो।
यस मोर्चाले हामीलाई केही मीठा र क्रान्तिकारी पाठहरू छाडेर गएको छ।
देश नक्सामा होइन, पैतालामा बन्छ। नेपालको भूगोल हिँडेर ननापेसम्म देश बुझिँदैन। जसले हिलो टेक्दैन, उसले क्रान्ति बुझ्दैन।
रात अँध्यारो हुँदैन, रातले सत्य देखाउँछ। दिउँसो सबैले देख्ने बाटोमा हिँड्नु बहादुरी होइन, रातको पीडामा जनताले देखाएको बाटोमा हिँड्नु क्रान्ति हो। रात नै सबैभन्दा ठूलो पाठशाला हो।
बन्दुकले चौकी कब्जा गर्छ, तर जनताले मन कब्जा गर्छ। जनताको साथ नभएको कुनै पनि विजय, विजय होइन। जनताको भान्साबाट आएको एक गाँस मकै, हतियारभन्दा शक्तिशाली हुन्छ।
समय कसैको दास होइन, समयको साथी बन्न सिक्नुपर्छ। गतिशील समयको कुरा नबुझ्ने बुद्धिजीवी, बन्द किताब जस्तै हो – बाहिर चम्किलो, भित्र खाली। गलत विचारलाई सच्याउन सक्ने आँट नै सबैभन्दा ठूलो विचार हो। समयको सदुपयोग गर्न सकिएन भने ठूला भनिने बुद्धिजीवीहरू पनि मूर्ख सावित हुन्छन्।
घमण्डले एउटा मोर्चा जित्दैमा इतिहास जितिँदैन। हामीले ठूला सफलता पाउँदा पनि झुकेर हिँड्नुपर्छ, किनकि हामीलाई बाटो देखाउने ती झुकेका बूढा ढाडहरू अझै जिउँदै छन्। नम्रताले मानिसलाई अघि बढ्न मद्दत गर्छ भने घमण्डले पछि पार्छ। घमण्डले मान्छेलाई अग्लो देखाउँछ तर एक्लो बनाउँछ, नम्रताले होचो देखाउँछ तर सबैको मनमा बसाउँछ।
अन्त्यमा पशुपतिनगरको त्यो मोर्चा आज पनि त्यहीँ छ, सिमानाको फाटकमा होइन, हाम्रो मनमा। यो हार र जीतको कथा होइन, यो माया र विश्वासको कथा हो। जबसम्म नेपालको भूगोलमा रातको पीडा बुझ्ने र जनताको प्यारो साथ चिन्ने मान्छेहरू छन्, तबसम्म पूर्वको त्यो लालकिल्ला कसैले ढाल्न सक्दैन।