प्रभातफेरी अनलाइन० पाठक संख्या | २६ मिनेट अघि
सिन्धुली/ जिल्ला प्रहरी कार्यालय सिन्धुलीले उत्कृष्ट कार्य सम्पादन गर्ने दुई जना प्रहरी कर्मचारीलाई “महिनाको उत्कृष्ट प्रहरी” घोषणा गर्दै सम्मान गरेको छ। सुरक्षा, शान्ति र सेवा प्रवाहमा उल्लेखनीय योगदान पुर्याउने प्रहरी कर्मचारीहरूको मनोबल बढाउन र अन्यलाई समेत प्रेरणा दिने उद्देश्यले कार्यालयले यो कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आयोजित एक विशेष कार्यक्रमका बीच श्रावन र भदौ महिनाका उत्कृष्ट प्रहरीहरूलाई पुरस्कृत गरिएको हो।
कार्यक्रममा *श्रावन महिनाको उत्कृष्ट प्रहरी* को रूपमा इलाका प्रहरी कार्यालय डकाहा, सिन्धुलीमा कार्यरत *प्रहरी निरीक्षक सपना खड्का* लाई छनोट गरिएको थियो। त्यस्तै *भदौ महिनाको उत्कृष्ट प्रहरी* को रूपमा प्रहरी चौकी हर्षाही, जगाडी, सिन्धुलीमा कार्यरत *प्रहरी सहायक निरीक्षक श्री राम सिंह* सम्मानित हुनुभयो।
दुवै जनाले आफ्नो कार्यक्षेत्रमा कानूनको पालना गराउने, अपराध नियन्त्रण गर्ने, शान्ति सुरक्षा कायम राख्ने र नागरिकलाई सहज सेवा दिने क्रममा उत्कृष्ट प्रदर्शन गरेको मूल्यांकन समितिको निष्कर्ष थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा *जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंहले सम्मानित प्रहरी कर्मचारीहरूलाई प्रमाणपत्र, फूलमाला र खादा लगाई सम्मान गर्नुभएको थियो।
प्रहरी उपरीक्षक सिंहले सम्मानित प्रहरीहरूको कार्यशैलीको प्रशंसा गर्दै भन्नुभयो,”प्रहरी भनेकै जनताको सेवक हो। जिम्मेवारीका साथ काम गर्ने र समाजमा सकारात्मक सन्देश दिने तपाईंहरूको कार्य अत्यन्तै सराहनीय छ।”
उहाँले आगामी दिनहरूमा पनि यस्तै लगनशीलता, इमान्दारिता र व्यावसायिकताका साथ काम गर्न आग्रह गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो।
सम्बोधन कै क्रममा प्रमुख अतिथि प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंहले
सिन्धुलीका दुई जना प्रहरी “महिनाको उत्कृष्ट” घोषित गर्दै
: प्र.नि. सपना खड्का ई.प्र.का. डकाहा,
प्र.स.नि. श्री राम सिंह – प्र.चौ. हर्षाही प्रती सम्मान व्यक्त गर्नु भयो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रत्येक महिना कार्यसम्पादनको आधारमा उत्कृष्ट प्रहरी छनोट गर्ने परम्परा सुरु गरेको छ। यसले प्रहरी कर्मचारीहरूमा प्रतिस्पर्धात्मक भावना जगाउनुका साथै सेवाको गुणस्तर बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका अन्य वरिष्ठ अधिकृत, प्रहरी निरीक्षक तथा कर्मचारीहरूको समेत उपस्थिति थियो। सम्मानित हुने प्रहरी कर्मचारीहरूले आफूलाई प्रोत्साहन गरेको भन्दै कार्यालयप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सामुदायिक प्रहरी र जनताबीचको सम्बन्ध सुमधुर बनाउन र अपराध नियन्त्रणमा आम नागरिकको सहयोग लिन पनि यस्ता कार्यक्रमले भूमिका खेल्ने विश्वास लिइएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आगामी दिनमा पनि उत्कृष्ट कार्य गर्ने प्रहरीलाई निरन्तर सम्मान र प्रोत्साहन गर्ने जनाएकाे छ ।