logo
२०८३ आश्विन २६, सोमबार |
☰
📰
🔍
✕

चाडपर्वलाई लक्षित गर्दै स्याङ्जाको घुम्तीमा ‘सुरक्षित यात्रा स्मरण कार्यक्रम’ सम्पन्न

प्रभातफेरी अनलाइन५ पटक पढिएको | २०८३ आश्विन २६, सोमबार
चाडपर्वलाई लक्षित गर्दै स्याङ्जाको घुम्तीमा ‘सुरक्षित यात्रा स्मरण कार्यक्रम’ सम्पन्न

स्याङ्जा / चाडपर्वका समयमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले घुम्तीमा ‘सुरक्षित यात्रा स्मरण कार्यक्रम’ सम्पन्न गरेको छ।

घुम्ती चिसापानी यातायात प्रा.लि.को सहकार्यमा आयोजित कार्यक्रममा सवारी चालक तथा यातायात व्यवसायीहरूलाई ट्राफिक नियमसम्बन्धी सचेतना तथा अभिमुखीकरण प्रदान गरिएको थियो।

कार्यक्रममा चालकहरूलाई ट्राफिक नियमको अनिवार्य पालना गर्न, तीव्र गति नियन्त्रण गर्न, मादक तथा लागू पदार्थ सेवन गरी सवारी नचलाउन, सवारीसाधनको यान्त्रिक अवस्था नियमित जाँच गर्न र सिट क्षमताभन्दा बढी यात्रु नराख्न आग्रह गरिएको थियो। साथै, यात्रुसँग मर्यादित व्यवहार गर्न र यात्रुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्नसमेत जोड दिइएको थियो।

चाडपर्वका समयमा सवारीसाधनको आवागमन बढ्ने भएकाले दुर्घटनाको जोखिम न्यूनीकरण गर्न चालक, यातायात व्यवसायी र यात्रुबीच आपसी समन्वय तथा सहकार्य आवश्यक रहेको आयोजकले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको आयोजनामा सम्पन्न कार्यक्रममा घुम्ती चिसापानी यातायात प्रा.लि.का पदाधिकारी तथा सवारी चालकहरूको सहभागिता रहेको थियो।

‘सुरक्षित यात्रा, सुरक्षित जीवन’ भन्ने सन्देशसहित सञ्चालन गरिएको कार्यक्रमले चालकहरूलाई ट्राफिक नियमप्रति थप जिम्मेवार र सचेत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।