प्रभातफेरी अनलाइन९ पटक पढिएको | १० मिनेट अघि
काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज एक मात्रै खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ४ बजे लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ।
अंक तालिकाको दोस्रो स्थानमा रहेको लुम्बिनी आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने लक्ष्यमा हुनेछ। प्लेअफमा स्थान सुरक्षित गरिसकेको लुम्बिनीले ६ खेलबाट ४ जित, एक हार र एक खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको छ।
लुम्बिनीले कर्णाली याक्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको छ भने काठमाडौं गोर्खाजसँग हार बेहोरेको थियो। चितवन राइनोजसँगको खेल भने वर्षाका कारण रद्द भएको थियो।
यता अंक तालिकाको पाँचौँ स्थानमा रहेको विराटनगर किंग्सका लागि आजको खेल निकै महत्त्वपूर्ण छ। प्लेअफमा स्थान बनाउने सम्भावना बलियो बनाउन विराटनगर जितको लक्ष्यसहित मैदानमा उत्रनेछ।