logo
२०८३ मंसिर १, मंगलबार |
☰
📰
🔍
✕

करको दर बढाएर मात्र राजस्व बढ्दैन : मुख्यमन्त्री थापा मगर

प्रभातफेरी अनलाइन७ पटक पढिएको | मंसिर १, २०८३ | मंगलबार
करको दर बढाएर मात्र राजस्व बढ्दैन : मुख्यमन्त्री थापा मगर

हेटौँडा / बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको दर बढाएर मात्र राजस्व वृद्धि नहुने बताउनुभएको छ। उहाँले उत्पादन, लगानी, रोजगारी र आर्थिक गतिविधि विस्तार गरी करको आधार फराकिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ।

राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार आन्तरिक राजस्व कार्यालय हेटौँडाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापा मगरले कर प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्ने बताउनुभयो।

उहाँले कर दिवसको नारालाई औपचारिक सन्देशमा मात्र सीमित नराखी राज्य सञ्चालन र आर्थिक विकासको व्यावहारिक आधार बनाउनुपर्ने उल्लेख गर्नुभयो। कर प्रणाली न्यायपूर्ण भएमा मात्रै आर्थिक असमानता घटाउन र सामाजिक न्याय कायम गर्न सकिने उहाँको भनाइ थियो।

‘हाम्रो लक्ष्य करको भार बढाउने होइन, उत्पादन र आर्थिक गतिविधि बढाएर कर तिर्न सक्ने नागरिक तथा व्यवसायको संख्या बढाउने हुनुपर्दछ,’ उहाँले भन्नुभयो।

आर्थिक क्षमता बढी हुनेले सोहीअनुसार योगदान गर्नुपर्ने र न्यून आय भएका नागरिकमाथि अनावश्यक करको भार पर्न नहुने उहाँले बताउनुभयो। साथै, इमानदारीपूर्वक कर तिर्ने नागरिक निरुत्साहित हुने र कर छली गर्नेले लाभ पाउने अवस्थाको अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।