प्रभातफेरी अनलाइन१७ पटक पढिएको | मंसिर १, २०८३ | मंगलबार
काठमाडौं / प्रहरी महानिरीक्षक (आईजीपी) पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले बुधबार सुनुवाइ गर्ने भएको छ।
गत कात्तिक २० गते दायर भएको उक्त रिटको पेसी सोमबारका लागि तोकिएको थियो। तर सरकारले सोमबार छठ पर्वको सार्वजनिक बिदा दिएपछि सुनुवाइको मिति दुई दिन पछाडि सारिएको हो।
गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो। सरकारको उक्त निर्णयविरुद्ध कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
कार्कीले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म आफूलाई पदबाट हटाउने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न र प्रहरी महानिरीक्षककै रूपमा कामकाज गर्न दिन अन्तरिम आदेश माग गरेका छन्।