logo
२०८३ मंसिर ४, शुक्रबार |
☰
📰
🔍
✕

आईएमएफबाट १०७ मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय

प्रभातफेरी अनलाइन१६ पटक पढिएको | मंसिर ४, २०८३ | शुक्रबार
आईएमएफबाट १०७ मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं / सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट प्राप्त हुने करिब १०७ मिलियन अमेरिकी डलरबराबरको निर्व्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ‘र्‍यापिड क्रेडिट फ्यासिलिटी’ अन्तर्गत प्राप्त हुने उक्त ऋण स्वीकार गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए। शुक्रबारको विनिमय दरअनुसार उक्त रकम करिब १५ अर्ब ९४ करोड ३० लाख रुपैयाँ हुन्छ।

त्यस्तै, भोटेकोसी बाढी प्रभावितको उद्धार तथा राहतका लागि चीन सरकारले उपलब्ध गराउने दुई मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकले सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्ने आदेश जारी गर्नुका साथै राष्ट्रिय जैविक विविधता रणनीतिक कार्ययोजना २०२६–३० स्वीकृत गरेको छ।

यसैगरी, ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी मापदण्ड २०८३ र राष्ट्रिय झोलुंगे पुल नीति २०८३ समेत स्वीकृत गरेको मन्त्री तिमिल्सिनाले जानकारी दिए।