प्रभातफेरी अनलाइन१५ पटक पढिएको | मंसिर ४, २०८३ | शुक्रबार
काठमाडौँ / प्रधानमन्त्री बालेन्द्र शाह आइतबार दिउँसो १ः४५ बजे भारतको औपचारिक भ्रमणमा प्रस्थान गर्ने कार्यक्रम रहेको छ। नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत जान लाग्नुभएका प्रधानमन्त्री शाह सोमबार साँझ ६ः३५ बजे स्वदेश फर्कनुहुनेछ।
परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री शाहको भारत भ्रमणबारे औपचारिक जानकारी दिएको हो।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहसँग ३४ सदस्यीय औपचारिक प्रतिनिधिमण्डल रहनेछ भने ५२ सदस्यीय नेपाली व्यवसायी टोली पनि भारत जानेछ। व्यवसायी टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुने मन्त्रालयले जनाएको छ।
औपचारिक भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकार तथा विभिन्न मन्त्रालयका उच्च अधिकारी सहभागी हुनुहुनेछ। नयाँदिल्लीस्थित नेपाली राजदूतावासका राजदूतसहित केही सदस्य पनि टोलीमा रहनेछन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले मङ्सिर ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुनेछ। वार्तापछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ। साथै, भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने औपचारिक मध्याह्नभोजमा पनि प्रधानमन्त्री शाह सहभागी हुनुहुनेछ।
यसैगरी, प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुहुनेछ। आइतबार नै भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नुहुनेछ। साथै, नेपाल–भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत तय भएको छ।
भ्रमणकै क्रममा आयोजना हुने नेपाल–भारत बिजनेस फोरममा प्रधानमन्त्री शाहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्नुहुनेछ। उक्त कार्यक्रममा नेपालमा भारतीय लगानी आकर्षित गर्ने, व्यवसायीका चासो तथा सरोकार सम्बोधन गर्ने र लगानी विस्तारका लागि सरकारले अघि सारेका नीतिगत प्रयासबारे जानकारी गराउने कार्यक्रम रहेको छ।
दुई देशका प्रधानमन्त्रीबीच हुने वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधारका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ। यसका साथै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधनलगायतका क्षेत्रमा विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।