गाउँ-गाउँमा गुन्जिन्थ्यो देउसीको भाका,
तिहारको त्यो रौनकमा छुट्थ्यो मनको पाखा।
थिएन सञ्चार त्यतिबेला, कहाँ हुन्थ्यो खबर?
बाबा भन्नुहुन्थ्यो हँसिलो मन र स्नेहको नजर
“मेरी साइँली बहिनी पुगी होला चौतारामा,
आइपुगी होला है टुनिखोलाको धारामा!”
त्यो बाबाको बोली सुन्दा जाग्थ्यो ठूलै कौतुहल,
फुपूको झोला खोतल्ने हुन्थ्यो बालपनको हलचल।
के के खाने मीठा चिज ल्याउँलिन् फुपू भनी,
बाटो हेरी बस्दाबित्थै जान्थ्यो दिन पनि।
फुपू आउँदा बाबाको मुहारमा खुसी छाउने,
हामीले पनि तिनीहरूको माया साटासाट गर्ने।
तर आज… जिन्दगीका पानाहरू कहाँ पुगिसके,
बाबा हामीलाई छोडी अर्कै लोकमा बिसौनी लिसके।
बुवा बिनाको यो संसारमा ८ वर्ष बितिसक्यो,
मुटुभित्रको एउटा अभिन्न अंग सधैंलाई छिन्नभिन्न भयो।
झिलीमिली बत्तीमुनि आज अध्यारो छ छाएको,
बाबा तपाईं नहुँदा तिहारले रुवाएको।
न फुपूको मायाको उच्छवास, न बाबाको त्यो स्नेह,
स्मृति मात्र बाँकी छ अब, आँसुले धुने देह।
हे भगवान! पुगोस् मेरो बाबाकहाँ यो मनको पुकार,
उहाँविना खल्लो लाग्यो यो वर्षको पनि तिहार!














