logo
२०८३ कार्तिक २४, मंगलबार |
☰
📰
🔍
✕

मण्डनदेउपुरमा दुई टिपरबीच च्यापिएर १९ वर्षीय युवकको मृत्यु, दुर्घटनाको यस्तो छ कारण

प्रभातफेरी अनलाइन५ पटक पढिएको | २०८३ कार्तिक २४, मंगलबार
मण्डनदेउपुरमा दुई टिपरबीच च्यापिएर १९ वर्षीय युवकको मृत्यु, दुर्घटनाको यस्तो छ कारण

अपडेटः मण्डनदेउपुर-१२ ज्याम्दीमा कसरी भयाे टिपर दुर्घटना ?, यस्ताे रहेछ कारण

मण्डनदेउपुर / काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका- १२ ज्याम्दीमा बालुवा लोड गर्ने क्रममा भएको टिपर दुर्घटनामा एक युवकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार असार ७ गते राति करिब १० बजे मण्डनदेउपुर नगरपालिका–१२ ठुल्डीबेँशीस्थित वेतेनी बगरमा बा ४ ख ९८२५ नम्बरको टिपर बालुवा लोड गरी ब्याक गर्ने क्रममा दुर्घटना भएको हो ।

दुर्घटनामा सोही स्थानमा काम गरिरहेको जेसीबीको सहचालक पाँचखाल नगरपालिका–८ होक्से घर भई हाल पाँचखाल–४ तामाघाट बस्दै आएका रामबहादुर तामाङका १९ वर्षीय छोरा देबेन्द्र तामाङ दुई टिपरको बीचमा च्यापिएका थिए । बा ४ ख ९८२५ नम्बरको टिपर ब्याक गर्ने क्रममा त्यहाँ रोकिराखिएको बा ४ ख ९९०९ नम्बरको टिपरमा युवक च्यापिँदा घटनास्थलमै उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी हिँगुवापाटी, दोलालघाट र पाँचखालबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरीक्षकसहितको टोली खटिएको प्रहरीले जनाएको छ।

घटनापछि आक्रोशित स्थानीयले दुवै टिपरमा तोडफोड गर्दा झ्यालढोका तथा सिसामा क्षति पुगेको छ । दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनामा संलग्न बा ४ ख ९८२५ नम्बरको टिपरका चालक ललितपुरको गोदावरी नगरपालिका–६ निवासी ३९ वर्षीय दीपक सत्याललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।