logo
२०८३ आश्विन ४, आईतबार |
📰
🔍

हुतात्माप्रति श्रद्धाञ्जली

मुरहरि रायमाझी 'हरि'मुरहरि रायमाझी 'हरि'१३ पटक पढिएको | २०८३ आश्विन ३, शनिबार

कविता - हुतात्माप्रति श्रद्धाञ्जली

मुरहरि रायमाझी 'हरि' ✍️ मुरहरि रायमाझी 'हरि'

 

अहो ! हुतात्मा प्रिय शब्द लाग्छ
हौ आत्मत्यागी र त स्नेह जाग्छ ।
जहानियाँ शासन कालरात्री
विरुद्ध लाग्ने अति शूर यात्री ।।

ती क्रूर देखी अति चूर हुन्थ्यौ
र न्यायका खातिर मर्छु भन्थ्यौ ।
फाँसी र गोलीसँग प्रीत गाँस्यौ
स्वप्राण त्याग्दा पनि खिस्स हाँस्यौ ।।

पैल्यै तिमीले नपढ्या ‘म’ वर्ण
के माफ माग्थ्यौसरि वीर कर्ण ।
खुसी र नासो जननिम्ति छोड्यौ
अन्यायको जन्जिर कृष्ण तोड्यौ ।।

समानताका अति पक्षपाती
उन्मुक्तिकामी अझ स्वप्न थाती ।
यहाँ अचाक्ली हुनगो अशान्ति
निमित्त आफ्नै हरयाम क्रान्ति ।।

हराम नेतागण झन् अचाक्ली
आश्चर्यलाग्दो दल स्वार्थमा ती ।
छ झुण्ड आफ्नै परिवारवाद
मौलेर ऐले उनकै छ राज ।।

बद्ल्यो व्यवस्था तर चाल उस्तै
छ सर्वहारा जन हाल उस्तै ।
धनाढ्य ती सीमित व्यक्ति ‌मात्र
छन् मस्त साँच्चै तिनकै छ सत्र ।।

बेरी पताका पनि अग्नि झोस्ने
पारी खरानी अधिकार खोस्ने ।
लाजै लजायो जुन चाल देख्दा
र अश्रु झारेँ यति काव्य लेख्दा ।।

थिए तिमीमा जति स्वप्न सारा
जो गर्न पूरा देखिँदैन पारा ।
मान्दै न अर्ती न त बुद्धि फिर्छ
कस्तो सकेको ! हदबाट गिर्छ ।।

धेरै बढे दानव कंस जाति
रजाइँ गर्छन् मनुवा त माथि ।
भै राम ती कृष्ण त एकबार
आई धरामा सब दुष्ट मार ।।

छ हात जोडी बिनती तिमीमा
प्यारा हुतात्मा सुख होस् जिमीमा ।
छ पुष्पगुच्छा मनको तिमीमा
श्रद्धाञ्जली लौ जनको तिमीमा ।।

‘इति’
रचनाकार = मुरहरि रायमाझी ‘हरि’
हुतात्मा = शहीद