logo
२०८३ आश्विन ४, आईतबार |
📰
🔍

राजनीतिक विश्लेषक भरत दाहाल मोरङबाट पक्राउ

प्रभातफेरी अनलाइन७ पटक पढिएको | ५१ मिनेट अघि
राजनीतिक विश्लेषक भरत दाहाल मोरङबाट पक्राउ

काठमाडौं / राजनीतिक विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहाललाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको छ। दाहाललाई आइतबार बिहान सुन्दरहरैंचा नगरपालिका–८, सलकपुरस्थित एक चिया पसलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका अनुसार दाहालविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको थियो। उनलाई थप अनुसन्धानका लागि काठमाडौं पठाउने तयारी भइरहेको जनाइएको छ।

यद्यपि, दाहालमाथि लागेको आरोप तथा पक्राउको विस्तृत कानुनी आधार प्रहरीले अहिलेसम्म सार्वजनिक गरेको छैन। केही सञ्चारमाध्यमले विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुर तथा सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपसम्बन्धी अनुसन्धानका लागि पक्राउ गरिएको उल्लेख गरेका छन्।

दाहाल पछिल्लो समय सरकार र समसामयिक राजनीतिक घटनाक्रमबारे सामाजिक सञ्जालमार्फत आलोचनात्मक धारणा सार्वजनिक गर्दै आएका थिए। उनका सहकर्मीहरूले भने पक्राउलाई राजनीतिक विचार तथा सरकारको आलोचनासँग जोडेर टिप्पणी गरेका छन्।

यसैबीच, दाहाल पक्राउ परेपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिएका छन्। अरुण नेपाली लुइँटेललगायतले दाहालको पक्राउलाई लिएर सरकारको आलोचना गरेका छन्। त्यस्तै, सामाजिक सञ्जालमा दाहालले हालै लेखेका राजनीतिक टिप्पणी र पक्राउबीच सम्बन्ध हुनसक्ने अनुमानसमेत गरिएको छ। तर यी दाबी तथा अनुमानको स्वतन्त्र पुष्टि भएको छैन।

प्रहरीले भने दाहाललाई अदालतबाट प्राप्त पक्राउ अनुमतिका आधारमा नियन्त्रणमा लिइएको जनाएको छ।