ज्ञानमणि कालोटोपी
‘धन भन्दा स्वास्थ्य ठूलो । स्वास्थ्य नै धन हो ।’ जस्ता उक्तिहरु हामीहरुले धेरै समय पहिले देखि नै सुन्दै आएका हौं । विद्यालय स्तरको अध्ययनको क्रममा पनि मानिसले स्वास्थ्यबारे चनाखो हुनुपर्छ भन्ने कुरा पढ्दै र सिक्दै आएका थियौं, हामीले । तर खोई किन हो बुझेर हो वा बुझ्न बाँकी भएरै हो सानै उमेर देखि सिकेर पनि हामी अहिले सम्म न स्वास्थ्य प्रति चनाखो भएका छौं न त्यस सिकाईलाई व्यवहारमा उतार्न सकेका नै । जसले गर्दा अहिले सुन्दै नसुनेका र नसोचिएका रोगहरुको शिकार हुन हामी बाध्य छौं ।
हाम्रा वुढापाकाहरुले अहिले व्याप्त रोगहरु प्रति लक्षित गर्दै हाम्रा पालामा यस्ता रोगहरु लाग्ने त के सुनेका पनि थिएनौं भन्ने खालका अभिव्यक्तिहरु दिएको हामीले सुनेका छौं । आजभन्दा करिव पाँच दशक अगाडिको कुरा गर्ने हो भने पनि अहिलेको जस्तो भयावह स्थितीमा स्वास्थ्य क्षेत्र पुगेकै थिएन । मानिसको जनसंख्याको चाप पनि कम थियो । वातावरण प्रदुषण पनि थिएन । स्वस्थकर खानेकुराको कारण रोग कम लाग्नु स्वभाविकै हो । अनि हाम्रा अग्रजहरुले भनेका कुराहरु पनि सत्य नै हुन् ।
समय परिवर्तन हुन पुगेको छ अहिले । वढ्दो जनसंख्यालाई परम्परागत प्रविधीको काम गराईले धान्न मुस्किल छ । त्यसैले मानिसहरु कसरी थोरै लगानी, श्रम र सिपबाट धेरै उत्पादन गर्न सकिन्छ भन्ने तिर लाग्न थालेका छन् । आधुनिक किसिमका प्रविधीहरुमा र काम गराईमा व्यस्त हुन पुगेको मानिसहरुको अहिलेको योे व्यस्तताले आफ्नो विग्रदो स्वास्थ्य प्रतिको स्थितीलाई विर्साएको छ । हामी सस्तोमा धेरै र कम गुणस्तरका खाद्यान्नहरु आँखा चिम्लेर खरिद गर्छौं । त्यस्तै अवस्थामै प्रयोग पनि गर्छौं । खुट्टामा लगाउने जुत्ताहरु एयर कन्डिसन युक्त ठाउँमा राखेर विक्रि गरिरहेका छौं भने दैनिक भान्सामा प्रयोग गरिने तरकारी, फलफूल लगायतका उपभोग्य वस्तुहरु सडक र पेटीको धुलोमा राखेर विक्रि गरिरहेका छौं । यसले हाम्रो स्वास्थ्यमा गम्भिर असर पु¥याउँछ भन्ने हामीलाई थाह छ तैपनि स्वास्थ्य प्रतिको हाम्रो बेवास्ताले दैनिक अनौठा रोगहरुको शिकार हुन बाध्य छौं ।
सरकारी नीति पनि फितलो छ । जनताको स्वास्थ्य क्षेत्रमा सरकारले करोडौं रुपयाँको खर्च गरेको छ । तर यो लगानी लक्षित वर्ग सम्म नपुग्दै विचौलियाहरुको पोल्टोको सामल बन्न पुगेको यथार्थ हामी सामु छर्लङ्ग छ । देशमा करिव ४ हजार गाविसहरु छन् । सरकारी निती अनुसार प्रत्येक गाविसमा एउटा स्वास्थ्य चौकी र एउटा उपस्वास्थ्य चौकी हुनु पर्ने हो । कतै स्वास्थ्यचौकी छ स्वास्थ्यकर्मी छैनन् । कतै सामान्य ज्वरो निको हुने सिटामोल सम्म छैन त कतै स्वास्थ्यचौकी नै छैन । अस्पतालबाटै भाइरल शुरु भएर संक्रमण फैलिदै बिरामीको मृत्यु हुँदा सम्म सरकारी कर्मचारीहरु यस प्रति बेखबर हुनु विडम्बना मात्र होइन सरकारको यस क्षेत्रमा गरिएको लगानी र थुप्रै दातृ निकायले गरेको सहयोगको उपहास पनि हो ।
गाउँघर तिरको स्थिती हेर्ने हो भने पनि जनचेतनाको अभाव रहेको स्पष्ट देखिन्छ । भान्सा र गाईवस्तु बाँध्ने ठाउँ लगभग जोडिएको अवस्थामा रहेको अधिकांश ठाउँमा देखिन्छ । व्यवस्थित शौचालय प्रयोग गर्नेहरुको संख्य एकदम कम छ । घरआँगनको डिल, बारीको भित्ता र बाटोहरुमा जथाभावी रुपमा दिशापिसाव गर्नेहरुलाई जनचेतना फैलाउने निकायको गाउँमा अभाव छ । यति मात्र होइन, स्वास्थ्य जस्तो सम्वेदनशिल विषयमा रुढीवादी र अन्धविश्वास व्याप्त छ । विरामी पर्दा धामी झाँक्रीको भर पर्ने, झारफुक गर्ने र निको नभए पछि अन्तिम अवस्थामा अस्पताल धाउने प्रवृतीले बहुसंख्यक नेपालीहरुको स्वास्थ्य क्षेत्र प्रतिको बेवास्ता प्रष्ट हुन्छ । जसले गर्दा दिनप्रतिदिन मानिसको स्वास्थ्य स्थिती विग्रदै गएको कुरा घाम जतिकै छर्लङ्ग छ ।
पछिल्ला वर्षहरुमा देशको स्वास्थ्य क्षेत्रमा पनि राजनितिक हस्तक्षेपको शुरुवात भईसकेको छ । यस क्षेत्रमा आएका वैदेशिक सहयोग र सरकारले छुट्टयाएको बजेटमा भ्रष्ट्राचार व्याप्त छ । सरकारले यसलाई रोक्न नसकिरहेको अवस्था छ । यति मात्र होइन , यो क्षेत्र चरम महंगीको चपेटामा परेको छ । गरिवीले गर्दा चाहेरै पनि कतिपय सर्वसाधारण जनता अस्पतालको मुखै नदेखी मृत्युवरण गर्न बाध्य छन् । नेपालको हावापानी र भु – बनोट अनुसार गाउँघरमै उत्पादित जडिबुटीहरुको सदुपयोग गर्ने हो भने पनि धेरैजसो रोगको निदान गर्न सकिन्छ भन्ने कुराबाट अधिकांश सर्वसाधारणहरु अनविज्ञ रहका छन् । यसले नेपालको स्वास्थ्य क्षेत्रमा चुनौती श्रृजना गरेको छ ।
देशको विशेष गरि ग्रामिण भेगका जनतालाई स्वास्थ्यबारे चेतना जगाउनु अहिलेको टड्कारो आवश्यकता देखिन्छ । यति मात्र गर्न सकिने हो भनेपनि सामान्य ज्वरो र झाडापखालाबाट ज्यानै गुमाउनु पर्ने अवस्थाबाट उनीहरु मुक्त हुने निश्चित छ । हामी सँग जंगल, जडिबुटी, जलसम्पदा र जनशक्ति पर्याप्त छ तर यीनीहरुलाई राम्रो सँग सदुपयोग गर्न नसक्दा देशले अहिले मानव जीवनको लागि महत्वपूर्ण मानिएको स्वास्थ्य क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिरहेको छैन । सरकारले यस्तो विषयमा चासो दिएर मानवजीवन सँग प्रत्यक्ष सरोकार रहेको स्वास्थ्य क्षेत्रलाई विशेष महत्वमा राख्ने हो भने जनता निरोगी हुने र देश सम्बृद्धी तिर जाने निश्चित छ ।
पबयितयउष्द्दज्ञछ२नmबष्।िअयm
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |