-रामचन्द्र हुमागाईं
काठमाडौ बानेश्वरबाट विहान ११ः३० बजे निस्किएँ । गाडीको माइलमिटरमा २८०२९ थियो । तीन कुनेसम्मको ट्राफिक भीड छिचोल्न १० मिनेट लाग्यो भने सूर्यविनायकसम्म बाटो ठुलो भए पनि लापरबाही सवारीले अर्को १५ मिनेट खायो । बनेपा आउँदा तीन ठाउँमा गाडी ठोक्किएर झेल्नु परेको जाम आफ्नै ठाउँमा छ । बनेपामा हरि मञ्जुश्रीलाई भेट्ने सुर थियो तर बाटो लागेको यात्री किन अलमल गर्ने भन्ने अर्को मनले जवाफ दियो र एक्कैपटक धुलिखेलबाट नेपाल चोक तिर मोडिएँ ।
काभ्रेभञ्जाङ्गमा पुगेर रामचन्द्र हुमागाईको पसल अगाडि मात्रै गाडिमा बे्रक लागे । रामचन्द्र कि श्रीमती आचार्य कि छोरी आफ्नै भाञ्जी थिइन् । उनी मोटाएकी रहिछन् चिन्न सकिन, उनले नमस्कार मामा भन्दा पो होस् खुल्यो । त्यहाँ हुमागाईं समाजले निकालेका क्यालेण्डरका केही थान र विधानका प्रतिहरु दिँदै यहाँका सबै हुमागाईं बन्धुहरुलाई वितरण गर्न आग्रह गरेँ । भाई भनौँ या ज्वाईँ उनका श्रीमान्को मोबाइल नम्बर टिपेँ । उनले केही नखाई हिड्न धरै दिइनन्, ‘उसो भए स्प्राइट लेऊ’ भन्दै एउटा स्प्राइट खाएँ । त्यहाँबाट विदा भएर काभ्रे भञ्जाङ्गकै अर्को डाँडामा पुगेँ, त्यहाँ हामीले काभ्रेको कार्यक्रममा खाना खाएका थियौँ, क्यालेण्डर झिकेर देखाउने वित्तिकै उनले चिनिहालिन् । त्यहाँ भेटिएका सबै वन्धुहरुलाई भेटेजति विधान र क्यालेण्डर बाँडे । दिउँसो प्रायः मानिसहरु नभेटिने भएकाले त्यहाँ बसिरहनु उचित लागेन ।
त्यसपछि मेरो यात्रा भकुण्डे तर्फ लाग्यो । दाप्चाको एक पसलमा सोधखोज गर्दा नजिकैको एउटा घरमा राजु हुमागाईं बोर्डिङ्ग स्कूल चलाएर बसेको जानकारी पाइयो तर राजु भतिजी नानी विरामी परेका कारण बच्चीलाई उपचार गर्न धुलिखेल गएका रहेछन् । उनीसँग फोनमा कुरा भयो र त्यहाँ पनि क्यालेण्डर र विधानको केही प्रति छाडेर भकुण्डे तर्फ लागें । बाटोमा फुलबारी गाविस पर्छ तर त्यहाँ कही कतै हुमागाईं बन्धुहरुको चालचोल थिएन । त्यसपछि सिधै भकुण्डेमा ब्रेक लगाएँ, विचमा पर्ने टिपी शर्मा विरामी थिए । उनी मेरा स्कूलशखा हुन् । तै पनि उनलाई भेट्न पसिन । अघिल्लो दिनमात्रै फोनमा कुरा भएको थियो । सिधै भकुण्डेमा स्कुल चलाएर बसेका शम्भु हुमागार्इं कहाँ पुगेँ । उनी पनि गाउँको अर्को लफडा मिलाउन धुलिखेल गएका रहेछन्, फोनमा कुरा भयो । मोबाइलका कारण कति सजिलो । त्यहाँ पनि क्यालेण्डर र विधान छाडेर सिधै नेपाल चोक तर्फ लागे । यतिबेला १ ः३० बजेको थियो ।
धुलिखेलबाट नेपाल चोक ५० किमी पर्छ । त्यहाँ पुग्न मलाई एक घण्टा लाग्यो । भकुण्डे बेसीबाट करिब ४ किमी झरेपछि रोशी खोला भेटिन्छ । रोशीको किनारै किनार २५ किमी दगुरेपछि नेपाल चोक आउँछ । नेपाल थोक २ वर्ष अगाडि पुगेको भन्दा पृथक थियो । त्यहाँ अस्थायी बसोबास गर्ने व्यापारीहरु विस्थापित भैसकेका रहेछन् । जापानी सहयोगमा बनिरहेको बाटो मुलकोटसम्म जोडिएपछि त्यहाँ व्यापार घटेको धन बहादुर लामाले बताए । नेपालथोकमा रोशी र सुनकोशी जोडिन्छ, त्यहाँ गाडी रोकेर फोटो खिच्न थाल्दा उनीसँग परिचय भयो । उनले कुशादेवीमा जन्मिएर पनौतीमा बसोबास गर्ने पुण्य प्रसाद दाहाललाई चिन्दा रहेछन् । उनी भकुण्डेका बासिन्दा रहेछन् । राजनीतिमा लागेर थाकेपछि व्यापार गर्न थालेका रहेछन् । उनले करिब तीन किमी सम्म जान लिफ्ट मागे, पुण्य जन्मिएकै ठाउँमा म जन्मिएको बताएपछि उनी मलाई सर भन्न थाले तर पुण्य दुई वर्ष अगाडि स्वर्गारोहण भएको समाचार सुनाउँदा केही खिन्न भए । उनलाई त्यही छाडेर म नयाँ बाटो लागेँ । रोशीको किनारै किनार । साँगुरो भए पनि अत्याधुनिक तरिकारले तल पनि नलड्ने, माथिबाट पनि पहिरो नआउने जापानी बाटोको एक्लै यात्रा गर्दै जाँदा जव माइल मिटरमा २८११० पुगेको थियो । ध्याच्च रोक्नै प¥यो, वोतलको पानी पिएँ । नेपालथोक आउँदा २८१०२ थियो । गाडी रोक्नाको कारण थियो कच्ची बाटो सुरु । त्यो पनि अनकन्टार भीर नै भीर रोशीको तीर भन्दा भण्डै दुई सय मिटर माथि तल रोशी खोला माथि काठमाडौको मिनरल वाटर । क्या मजा छ नेपाली सडकको यात्रा । कनी–कुची चार पाङ्ग्रा मात्रै टेक्ने उकालो लागेँ । पछि पछि दुई पाङ्ग्रे पल्सर थियो । उसलाई साइड दिने ठाउँ पाउन पनि मुस्किल । बल्ल तल्ल ४ किमी गुडिसकेपछि साइड दिने ठाउँ आयो । त्यसपछि ओरालो लाग्दा बाह्र बज्यो । घडीमा तीन बज्न लागेपनि शरीर र सडकको पाराले बाह्र बजेको हो । कच्ची बाटो सुरु हूँदा माइल मिटरमा २८११० थियो तर जति याक्सीलेटर दबाए पनि बोहोराटार आउँदैन । बल्ल तल्ल बोहोराटार र खुरकोट पटीको किल्ला जोड्न बनाईएको फूलको अर्धकद आयो । विचरा जापानीजहरुले त्यो खाली खोला (पानी विनाको) मा पुल त बनाएछन् । फूलबाट यात्रा गर्ने अवसर अझै बाँकी थियो । त्यस अर्धपुलको फोटो खिचेर पारीको रातामाटे बाटो पार गर्दै थिएँ । आकाशमा गड्याङ्ग गुुडुङ्ग शुरु भयो । त्यो क्षण म निकै विक्षिप्त भएँ, किनभने, रातोमाटे बाटो, बा बस्ने ठाउँ छैन । पानी प¥यो भने के हालत होला ? यही त्राससँगै किनारतर्फ आँखा लगाउँदा रोशी र सुनकोशीको संगममा भोटेकोसी मिसिँदै गरेको दृश्य देखा प¥यो । त्यो दृश्य क्यामरामा कैद नगर्ने हो भने यात्राको के अर्थ ? भित्री मनले भन्यो । गाडी विचैमा रोकेर क्यामरा निकाले, फटो खिँचे र खल्तीबाट खैनी झिकेर मुखमा हालेँ । तै पनि एउटा पनि गाडी आएन । गाडीको म्युजिक चेञ्ज गर्दै गाडी स्टार्ट गरेर बाटो लागेँ ।
अरु दश किमी पार गरेपछि सडकको नमुना देखियो । नमुना मात्रै होइन, सडकको सुन्दर दृश्य ज्यान हत्केलामा राखेर आउँदै गर्दा सुन्दर सडक देखा पर्दा अर्कै आनन्द आउने रहहेछ । पिच सडकमा उत्रिएर क्यामपरा निकाल्दै फोटो खिँच्दै थिएँ । सगरमाथा अञ्चलमा दर्ता भएको रातो दुई पाँग्रेस चलाउने युवक मेरो नजिक आएर भने, अगाडि बाटो कस्तो छ ? यहाँबाट तीस किमी यस्तै छ, कच्ची बाटे देखाउँदै भने ।
त्यो सवारीमा दुई जना ययुवक थिए, उनीहरु धन्यवाद सम्म पनि नभन्दै बाटो लागे, सायद उनीहरु काठमाडौ जाँदै थिए । त्यहाँबाट करिब ४ किमी यात्रा गरेपछि अर्को अर्थ पुलको दृश्य देखियो । खोलै खोला एक किमी यात्रा गरेपछि खुरकोटको बाटो भेटियो । आहा ! खुरकोट ।
(बाँकी अर्को अङ्कमा)
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |