युवाहरु सिप सिक्दै
तालिममा प्रवेशिका परिक्षा अनुतिर्ण, सामाजिक तथा आर्थिक रुपले विपन्न १६ देखि ३५ उमेरसमुहका २० जना सहभागी छन् ।
नगेन्द्र अधिकारी ÷ बनेपा
उग्रतारा ६ का २८ बर्षीय शिवप्रसाद शर्माले २०६२ सालमा प्रवेशिका योग्यता परिक्षा (टेष्ट) दिए तर अनुतीर्ण भए । वैदेशिक रोजगारीमा कोरियाको इपिएस कोटा जान प्रयास पनि गरे तर नाम निकाल्न सकेनन् । त्यसपछि उनी घरमा नै बसेर खेतबारीको काम गर्दै आएका थिए । “हातमा सिप नभएपछि कतै अवसर पनि पाइदो रहेनछ” उनले भने “सिप सिकेर अब रोजगारी खोज्छु । ”
उनी अहिले विश्व बैँक, स्विस विकास नियोग र वेलायती सहयोग नियोगको सहयोगमा स्थानीय स्तरमा दिइने सिप तथा प्राविधिज्ञता (स्किल नेपाल) नामक संस्थाले बनेपामा सञ्चालन गरिरहेको “विल्डिङ्ग इलेक्ट्रिसियन ” को साढे २ महिनाको निशुल्क तालिममा सहभागी छन् ।
बेरोजगार युवाहरुले सिप सिकेर आयआर्जन गर्न सकुन् भन्ने उद्धेश्यले तालिम सञ्चालन गरिएको संस्थाका प्रवन्ध निर्देशक महेश हाडाले जानकारी दिए । तालिममा प्रवेशिका परिक्षा अनुतिर्ण, सामाजिक तथा आर्थिक रुपले विपन्न १६ देखि ३५ उमेरसमुहका २० जना सहभागी भएको तालिमका स्थानीय संयोजक राजेश पोटेले जानकारी दिए । हाडाका अनुसार, संस्थाले सिप सिकेर व्यवसाय गर्न चाहनेका लागि संस्थाको सिफारिसमा विनाधितो समुह जमानीमा एनएमबी बैँकले २० देखि २५ हजारसम्म ऋण समेत उपलव्ध गराउनेछ । वैदेशिक रोजगारीको लागि अभिमुखिकरण र सहजिकरण समेत संस्थाले गर्ने उनले जानकारी दिए । “सिप सिकेर आयआर्जन गरुन् भन्ने हाम्रो उद्धेश्य हो, भरपर्दो र नाम चलेका म्यानपावर कम्पनीबाट वैदेशिक रोजगारीको लागि अभिमुखिकरण र सहजिकरण समेत हामी गछौँ । ” उनले भने ।
२१ बर्षदेखि स्वरोजगारीको क्षेत्रमा काम गरिरहेको संस्थाले हेल्भेटास इन्टरकोअपरेशन नेपालको समन्वयमा विभिन्न सिपमुलक तालिमहरु सञ्चालन गरिरहेको छ । पहुँचभन्दा बाहिरका मानिसलाई घरदैलोमा नै बजारको माग अनुसारको निशुल्क तालिम दिने संस्थाको काम रहेको पनि उनले जानकारी दिए ।
तालिम पुरा गर्नेले राष्ट्रिय सिप परिक्षण समिति तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट “विल्डिङ्ग इलेक्ट्रिसियन ” को १ तहको प्रमाणपत्र समेत पाउनेछन् । प्रशिक्षक धनबहादुर राउत यसको बजार माग पनि उच्च भएकाले सहजै रोजगारी र आयआर्जन समेत गर्न सकिने बताउँछन् । “घरहरु बन्ने क्रम तिव्र छ, यसको माग उच्च भएकाले सिप हुनेले राम्रो आम्दानी गर्न सक्छन् , वैदेशिक रोजगारीमा पनि यसको राम्रो सम्भावना छ । ” उनले भने ।
तलिमका सहभागि पनि पछि व्यवसाय गर्ने सोच रहेको सुनाउँछन् । “सिप सिकेर अव व्यवसाय शुरु गर्छु भन्ने लागेको छ । ” बनेपा ४ का विनोद खत्रीले भने ।
वैशाख ९ गतेबाट शुरु भएको तालिम असार २५ गतेसम्म चल्नेछ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |