–केशव थापा
२०७५ जेठ ३ गते मदन–आश्रित स्मृतिदिवसबाट औपचारिकरुपमा प्रारम्भ गरिएकको नेकपाको एकताको काम २०७६ जेठ ३ गतेसम्म आइपुग्दा करीबकरीब अन्तिम चरणमा पुग्ने क्रममा रहेको प्रतीत हुन्छ । प्रारम्भमा अति लोमहर्ष प्रतीत भएता पनि त्यसपछिका एकतारुपी नाटकका दृश्यहरु त्यति स्वभाविक, उत्साहप्रद, संतोषजनक र निर्विवाद बन्न सकेनन् ।
जे भए पनि दुइवटा शीर्षस्थ पाइलटले उडान भरेको एकताको बोइङ्गि एकीकरणरुपी उडान करीब सिध्याएर सापेक्षिकरुपमा कम हानीका साथ सुरक्षित अवतरण हुने तरखरमा रहेको देखिन्छ । उपल्लो सङ्गठनका केही हजार नेताहरुको व्यवस्थापन त जसोतसो सकिएको यस अवस्थामा विगत एकवर्षदेखि कामविहीन देशभरका दशौं लाख कार्यकर्ताको व्यवस्थापन सायदै अपेक्षितरुपमा सम्मानजनक ढङ्गले होला भनी शङ्का गर्नुपर्ने देखिन्छ । आफू र आफ्नाको वरपर छाउने बाहेक गौरवमय विरासत बोकेका, हिजो युगले सुम्पेको जिम्मेवारी कुशलताकासाथ पार्टीको इमान्दार सिपाही भएर सफतापूर्वक पूरा गर्ने नेता कार्यकर्ताहरु दिनानुदिन बडेनेताहरुको आँखाबाट क्रमशः ओझेल पर्दै गइरहेका छन् । दिनहुँ शीर्षस्थ नेता भेटेर जदौ गर्न हिजो सिकेको आदर्श र स्वाभिमानले नदिने र गणेशभक्ति बाहेक अन्य विधीलाई पुरस्कार, सम्मान र अवसरको आधार नमान्ने पद्धति बसालेपछि हजारौं इमान्दार कार्यकर्ता वामान्दोलनबाट अझै पलायन हुने वा निष्क्रिय बस्ने संभावना टड्कारो छ । यो घरका मानिस सबै मरे भने म चुल्हो बस्न पाउँछु भन्ने बिराले मानसिकताले ग्रस्त भएपछि यसको चिन्ता गर्ने कसलाई फुर्सद छ र ?
पार्टी एकीकरण झै वहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादको पनि संलेश्षण भएर जनताको जनवाद (जज) बन्न पुगेको छ । जजलाई पार्टीको मार्गनिर्देशक सिद्धान्त मानिए पनि यसको दार्शनिक र सैद्धान्तिक पक्ष कस्तो हुने, राजनीतिक पक्षले केलाई पक्षपोषण गर्ने, आर्थिक पाटोको गन्तव्य कहाँसम्म हो, संविधानको प्रस्तावनासँग यसको तारतम्यता के हो आदि संबन्धमा विगतको कसीमा लख काट्न सकिए पनि यी सम्बन्धमा श्याम–स्वेतमा सुस्पष्ट व्याख्या आएको छैन । कतिपय नेताहरु वर्तमान सन्दर्भमा जवजको विकल्प नभएको अलापी रहेका छन् भने केही नेताहरु समय धेरै अगाडि बढीसकेको बताउँदै मदन भण्डारीमा सीमित भएर नपुग्ने बताइरहेका छन् ।
दुवै कित्ताका नेताहरु सार्वजनिक सभामा भने जवज र एक्काइसौं शताब्दीको जनवादको सार बोलेर नै आफ्नो काम चलाइ रहेका छन् । कम्युनिष्ट पार्टीको प्राणवायुको रुपमा रहेको मार्गनिर्देशक सिद्धान्तको हालत यति दयनीय विगतमा सायदै भयो होला । नेकपाका पहिलो पुस्ताका नेताहरुलाई सरकार सञ्चालन, आफ्नाको संरक्षण, आफ्नो पद, मर्यादा र हैसियतको खोजी अनि थाङ्गने गनगनमा नै फुसर्द नहुने, उमेर तथा राजकीय सुबिधा र सहुलियतले विरासतमा पाएको आलस्य र अहंकारले अध्ययन, विश्लेषण र चिन्तन प्रायः संभव नदेखिएकोले दोस्रो पुस्ताका उर्जावान केही नेताहरुले यस सम्बन्धमा सामूहिक गृहकार्य नगरेसम्म मार्गनिर्देशक सिद्धान्तले सुस्पष्ट आकार ग्रहण नगर्ने स्पष्ट छ । तर, किन हो, आशा गरिएका दोस्रो पुस्ताका नेताहरु पनि यसप्रति त्यति उत्साहित र जाँगरिला देखिएका छैनन् । कतैबाट हरियो बत्ती नबली अगाडि बढ्दा गुटको उक्साहटमा पार्टी अनुशासनको घट्टोले आफूलाई घुन पिसेझै पिसिदिएला र आफ्नो छदाखाँदाको राजनीतिक भविष्य नै समाप्त होला भयले त्यति सारो उत्साहित नभएका होलान् भनी लख भने काट्न सकिन्छ । तर, उनीहरुले आफ्नो सशक्त र सार्थक उपस्थितिका निमित्त पनि यसमा विलम्ब नगरी कार्य अगाडि बढाउनु वाञ्छनीय थियो र छ ।
कम्युनिष्टहरुको सबैभन्दा ठूलो आधार र हतियार भनेको सही नीति र सिद्धान्तमा आधारित सङ्गठन नै हो । तर वर्तमानमा सबैभन्दा अव्यवस्थित र लथालिङ्ग भएको वा नभए झै भएको भनेकै पार्टीको संगठनात्मक पद्धति हो । वर्षदिन लगाएर बनाइएका भनिएको कमिटीहरु पनि संख्यामा यति अस्वभाविक र भद्दा छन् कि सायदै तिनीहरुको बैठक बस्न, आपसमा विचार आदानप्रदान गर्न र एकअर्कामा निकटतम परिचय हुन संभव होला । आफू यो सङ्गठनमा छु भनी लोकसामु नाक फुलाउनु बाहेक यसको सार्थक प्रयोजन के होला त्यो थाहा पाउन भविष्य नै कुर्नु पर्ने देखिन्छ । कम्युनिष्ट भएपछि कुनै न कुनै सङ्गठनमा आवद्ध हुने, लेभी तिर्ने, नियमित बैठक भेलामा उपस्थित भई समसामयिक विषयमा जमेर आफ्ना दृष्टिकोण राख्ने र कमिटीले निर्णय गरेको विषयमा स्वामित्वमा लिई त्यसमा लागू गराउन कृतसंकल्पित हुनु अनिवार्य मानिन्छ ।
अहिले नेकपाकै लाखौं कार्यकर्ता व्यवसाय नपाएर यता न उताको अवस्थामा छन् । चियापसल बाहेक ऊनीहरुलाई आफ्नो धारणा राख्ने अर्काे मञ्च उपलब्ध छैन । केन्द्रीयस्तरको आन्तरिक व्यवस्थापन नै हम्मेहम्मे परेको केन्द्रले मेचीकालीका कार्यकर्ताको वैचारिक खुराकका लागि आवश्यक प्रकाशनको कामलाई ठप्प बनाएको छ । पार्टीको स्कूल विभाग व्यवस्थित भैसकेको छैन । मुहारपुस्तिकामा अन्य दलका नेता कार्यकर्तालाई छेडखान गरेको र मनपरेको नेतागणको भनाईलाई उद्धरण गरेर लाइक वा सेयर गरेको भरमा कम्युनिष्ट बन्न पाउँने सुविधा उपलब्ध छ । मुहारपुस्तिकामा आफ्नो उपस्थिति जनाउँदा नेताले गरेको राम्रो कामको खुला हृदयले समर्थन गर्ने र ऊनीहरुबाट सरकार तथा पार्टी सञ्चालनको सिलसिलामा भए÷गरेको गल्तीलाई सम्यभाषामा आँटका साथ असहमति जनाउन नसक्ने निम्छरोपनाले कम्युनिष्ट हुनुको गुरुत्वलाई कुरीकुरी गरिरहेको छ । अवसर पाएकाहरु र राजकीय सत्ताको राप तापले पुटुक्क भएकाहरुको बेला न कुबेलाको अहँकारयुक्त झुसिलो डकारले पनि जनतालाई विस्मयमा पार्दै ल्याएको छ । अर्कातर्फ अनेकानेक संभावना र अवसरलाई त्यागेर न्याय, स्वतन्त्रता, समानताका लागि यस अभियानमा सरिक भएका कार्यकर्तालाई लामो समयसम्म कामविहीन राखी भुत्ते बनाइदा अरुले काखी बजाउन पाएका छन् ।
नेकपाका संस्थापक नेता स्व. पुष्पलाल श्रेष्ठका अनुसार सङ्गठन अर्थात कम्युनिष्ट पार्टी सैद्धान्तिकरुपमा सबैभन्दा चेतनशील, अगुवा , संगठित र अनुशासनबद्ध मिहिनेतकस जनताको प्रतिनिधि दल हो । यसै गरी जननेता स्व.मदनभण्डारी पनि पार्टीलाई समाजको अग्रगति, प्रगति र समृद्धिको वैचारिक र राजनीतिक संगठन हो भन्नु हुन्छ । उहाँका अनुसार पार्टीलाई केवल जनसंगठन, सैनिकसंगठन वा कर्मचारीसंगठन जस्तो नभई राजनीतिक संगठनको रुपमा चलायमान गराउनु पर्छ । आदरणीय नेताद्वयका अनुसार कम्युनिष्ट पार्टी कुनै साधरण दल वा संगठन विशेष मात्र नभएर यो त सीमान्तवर्गका जनताको पूर्णमुक्तिको निमित्त समाजका सबैभन्दा इमान्दार, अनुशासित, सचेत र जागृत व्यक्तिहरुले व्यक्तिगत स्वार्थलाई तिलाञ्जी दिएर सामूहिक प्रयत्न गर्ने÷गराउने संयन्त्र हो । कम्युनिष्ट पार्टी केवल पदीय आदेश श्रृखला वा पदसोपानको आधारमा कसैको लहड र आदेशमा नभई माक्र्सवादी वैज्ञानिक दृष्टिकोण (विरोधी तत्वहरुको एकता र संघर्ष, मात्रात्मक परिवर्तनबाट गुणात्मक परिर्वतनको नियम, निषेधको निषेध नियम) का साथ अगाडि बढ्ने सादा जीवन उच्च विचार, कठोर संघर्ष वलिदानीको भावना, जनताप्रति विनम्र र जनतालाई नै सर्वस्व ठान्ने नेता कार्यकर्ताहरु भएको विशेष दल हो । यो दलले सामूहिक नेतृत्व र कमिटी प्रणाली, निर्णय प्रक्रियामा जनवाद र कार्यान्वयन तहमा केन्द्रियता, अल्मतको सम्मान र वहुमतको निर्णय, कठोर आलोचना र आत्मालोचना, निर्णय तहमा जवाफदेहिता, निर्णय प्रक्रियामा फरक मत दर्ज हुने तर कार्यान्वयनको सिलसिलामा वहुमतको निर्णय लागू गर्ने जस्ता लेलिनवादी सांगठानिक पद्धति अवलम्बन र अभ्यास गरेको हुन्छ । यस पृष्ठभूमिबाट हेर्दा वर्तमानमा नेकपाको सांगठानिक कामकार्वाही कस्तो देखिन्छ बताइरहनु परोइन ।
जवजको आलोकमा आन्तरिक जनवादको अतित्युत्तम अभ्यास गरिसकेका पूर्व एमाले समर्थकहरुलाई वर्तमानस्थिति कति निस्सासयुक्त लाग्दो हो । यताउती केही नहेरेर हाइकमाण्डको आदेशमा लेफ्टराइट गर्ने पूर्व माओवादीहरुलाई यो अवस्था कति अराजक जस्तो प्रतीत हुँदो हो ? अब आवश्यकता छ, दुवैलाई स्वभाविक र सहज लाग्ने र जनअभिमतबाट अगाडि बढेका कम्युनिष्टले बोकेको लक्ष्य हासिल हुन सक्ने साझा बिन्दुको पहिचान गर्ने । यसमा जति विलम्ब हुन्छ, जजको प्राप्ति पनि त्यतित्यति नै दूरुह हुन पुग्छ । अन्तमा, पार्टी एकीकरणको सिलसिलामा भएको अनावश्यक ढिलासुस्ती, यसका राम्रा र नराम्रा पक्षहरुको वस्तुढङ्गले सिंहावलोकन गर्दै नेपाली जज स्थापनाको लागि माक्र्सवादको सिर्जनात्मक प्रयोगमा नेकपाका नेताहरुको ध्यान पुगोस्, मेचीकालीका कार्यकर्ता र शुभेच्छुकहरुले शीर्ष नेतालाई गुट वा समूह विशेष वा निर्वाचन क्षेत्र विशेषको रुपमा नभई आफ्नो पनि नेताको रुपमा गर्व पाउँने र सबै पार्टी सदस्यहरुले योग्यता क्षमता अनुसारको अवसर प्राप्त गरी यस अभियानमा योगदान पु¥याउन सक्ने वातावरण निर्माण गर्दै दिनानुदिन लोकप्रिय बन्दै गएको कम्युनिष्ट आन्दोलनमा कम्युनिष्टबाट नै तगारो तेर्साउने नकाम नहोस् । हारे एउटा ज्यान जिते सारा संसारभन्ने उत्साहले प्रेरित कार्यकर्ताले पनि आफूउपर अन्याय हुँदा आत्था भन्दै कम्युनिष्ट भएको बोध गराउन सकून ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |