प्रल्हाद शर्मा हुमागाई
धुलिखेल/मान्छेले मान्छेलाई गर्ने व्यवहारमा चाकडीवाद हाबी हुन पुग्छ तब त्यहाँ कुनै पनि मानवीयता भेटिँदैन । हो, त्यस्तै संस्कार र चरित्रले छियाछिया भएको नेपाल प्रहरीको सांगठनिक संरचनाबाट गुम्दै गएको विश्वासलाई ब्युँत्याउने जमर्काे सहित आएको हुनुपर्छ “प्रहरी मेरो साथी” । यसको परिकल्पनाकारले पक्कै पनि समाजमा प्रहरीप्रति हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्न सकिन्छ भनेर नै ल्याएका हुन् तर आजका मितिसम्म पनि त्यो व्यवहारिक बन्न सकेन किन ? यसका बारेमा गहिरोसँग खोजी भएको पाइँदैन ।
होस् पनि कसरी ! लगाम लगाएको घोडाले के गर्छ ? हो, त्यही निर्देशनमा हुर्किएको नेपाल प्रहरीमा परम्परादेखि चलिआएको संस्कार आज पनि ज्यूँकात्यूँ छ । त्यो संस्कारलाई पहिला रुपान्तरण गर्न आवश्यक छ । तब मात्रै प्रहरी मेरो साथी नामक नाराले न्याय पाउँछ । अनि मात्रै नेपाल प्रहरीको व्यवहारिकतामा परिवर्तन हुन्छ भन्ने निचोड सोसँग सरोकार राख्ने सरोकारवालाहरुको राय पाइन्छ । अन्यथा नेतृत्वको लोकप्रियताको लागि आएका नारा ! नारामा मात्र सीमित हुन्छ भन्ने तथ्य अहिले आएर देखिएको छ ।
यि हरफहरु कोरिरहँदा मान्यवरहरुले त बुझिसक्नुभयो होला, यि अभिव्यक्ति किन र कसरी आए भनेर । फेरि पनि केही कुरा पाठक सामु राख्ने जमर्काे गर्दैछु । प्रहरी मेरो साथी नारा आएको पनि वर्षौं बित्यो भन्दा पनि हुन्छ । अझै पनि प्रहरीबाट टाठाबाठाले स्वार्थ लुटिरहेको हालिमुहाली चलाइरहेको सहज रुपमा देख्न सकिन्छ । जसको प्रतिनिधि पात्र स्वयं यो पंक्तिकार पनि हो । सोझा, सिधा, निमुखा, असहायले प्रहरीसँग सिधा हेर्ने हिम्मत पनि राख्न सक्दैनन्, यो कठो यथार्थता हो । यो अवस्थामा पिडितले न्याय पाउँछ भनेर के कल्पना गर्न सकिएला ? यो पंक्तिकारको झण्डै ३० वर्षको पत्रकारिताको अनुभवले पनि पुष्टि गरेको छ की गरिब, निमुखा, असहायले सहज ढंगबाट न्याय पाउँदैनन् । यो यथार्थलाई चिर्ने हिम्मत कसको ? कागजमा, भाषणमा चिरेर हुँदैन, व्यवहारमा चिर्न सक्नुपर्छ । खै ! यो जटिल परिप्रेक्ष्यमा निम्तिएका अनुत्तरित प्रश्नहरुले कति गरिब, असहाय, निमुखालाई मृत्युको मुखमा धकेलेको ज्वलन्त उदाहरण अनगिन्ती छन् ।
चुल्ठे, मुन्द्रे, गौंडे, लाउकेहरुको चाप्लुसीमा न्याय मूर्ति न्याय दिनबाट चुकेको छ । अझै भन्नुपर्दा सुरक्षा निकाय प्रमुखहरुको सरुवा, बढुवामा हुने चलखेलले त स्वयं सुरक्षाकर्मीमा पनि हिनताबोध छाएको तथ्य दिनप्रति दिन सार्वजनिक भएको छ । यो संगिन अवस्थाको अन्तको अपेक्षा नेपाली जनताले अब कसबाट गर्न सक्लान् ?
शोषण दमनका विरुद्ध यो मुलुकमा विद्रोहको ज्वारभाटा नउठेका होइनन् तर ति ज्वारभाटाहरु सम्झौतामा गएर टुंग्याउने परम्पराले शोषित, पिडितको न्यायका खातिर हुने जनविद्रोहको अब कुनै अर्थ रहेन । अर्थ रह्यो त केवल भ¥याङ । त्यसैले अबको निकास के ? प्रत्येक शोषित, पिडित, असहायका सामु यो प्रश्नले पोलिरहेको छ । शान्तिपूर्ण आन्दोलन देखि बन्दुकसम्म बोकेको उपलब्धी उहि हुने खानेका लागि मात्रै सीमित रह्यो । त्यसैले यो निराशाले थिलथिल्याएको मनहरुमा मलमपट्टिको खाँचो छ । यो निराशाका बारेमा सोचिएन भने यसले भावी दिनमा गम्भीर खालको संकट निम्त्याउन सक्छ । हिजोको सम्झौताले जस्तै राजनीतिमा हात आउला भनेर सोच्नु अर्थहिन हुनेछ ।
पाठकलाई लाग्ला विषय उठान एकातिरबाट भएपनि गुदी कुरो अन्यत्रै मोडियो भन्ने लाग्न सक्ला । यथार्थता भने त्यहीँभित्र ठोकिन्छ “हुँदाखानेको लागि मात्रै हो लकडाउन ?” पछिल्लो समय कोरोना नामक कोभिड १९ ले विश्व नै आक्रान्त बनिरहँदा नेपाल पनि त्यसबाट अछुतो रहन सकेनन् । जसको कारण राज्यले लकडाउनको घोषणा ग¥यो, लकडाउनका कारण लाखौं हुँदाखानेहरु प्रत्यक्ष प्रभावित हुन पुगे । जसको बारेमा कमाउनिष्ट नामक सरकार बेखबर बन्यो । जसले गर्दा हुँदाखाने र हुनेखाने बिचको खाडल पुर्नै नसकिने गरी फाट्यो । यो अवस्थामा राज्यका हिमायतीहरुले जति पनि सुविधाको प्याकेज ल्याए ति सबै हुनेखानेमै सीमित भयो ।
राज्यका हिमायतीहरुले जो जहाँ छौ, त्यहीँ बस, सबै व्यवस्थापन हुन्छ भनेर भाषण गरिरहँदा सडकमा अलपत्र परेका मजदुरहरुले एक घुट्को पानी समेत पिउन पाएनन् । यो पिडादायी दृश्यले कसको मन कुँडिदैन होला । काठमाडौंदेखि इलाम र काठमाडांैदेखि कञ्चनपुरसम्मको पैदल यात्रा, काखमा ३ महिनाको नानी, झिटिझ्याम्टा बोकेर थाकथलो खोज्दै भौतारिएका ति मजदुरहरुको आत्माले पक्कै पनि अनगिन्ती प्रश्नहरु उब्जाएको हुनुपर्छ । महलमा बस्नेहरुलाई ति बटुवाको पिडा के थाहा ? दाल र भात पनि खान पाएनन् र ? भन्न पछि पर्न नपर्ने विलासितामा रुमलिएको नेतृत्वको अगाडि गोहीको आँसुभन्दा अरु केही रहन्न ।
त्यसैले चौबाटोमा उभिएर हेर्ने हो भने प्राडो, पजेरो बिना रोकतोक हुइकिन्छन् । सर्वसाधारणले वा हुँदाखानेहरुले उपयोग गर्ने साधनमा भने लकडाउन नामकको धज्जी उडाउने काम प्रष्टै देख्न पाइन्छ । योबाट प्रष्ट हुन्छ कमाउनिष्ट सरकारले कसको पक्ष पोषण गरिरहेको छ भन्ने बारेमा चर्चा गरिराख्नु नपर्ला ।
यो गम्भीर असन्तुष्टिलाई हेर्दा हुँदाखानेहरुको अवस्था झनै भयभीत हुन पुगेको छ । तसर्थ यो सरकार सक्छौ लकडाउनलाई ‘लकडाउन’ कै परिभाषा अनुसार लागू गर । होइन भने खुकुलोको नाममा पक्ष पोषण अन्त गर भन्दै गुन्जिएका आवाजहरुको सम्बोधन हुन आवश्यक छ । तब मात्र प्रहरी मेरो साथीको सार्थकता रहला, अन्यथा… ? त्यसैले सरकारको गराई र भनाईमा आकाश जमिनको अन्तर देखिएको अहिलेको परिवेशमा सडकमा हुइकिने चिल्ला गाडीहरुले कमाउनिष्ट सरकारलाई गिज्याइरहेको प्रष्टै देखिन्छ । अर्काेतिर नेपालीहरु कति धेरै अनुशासित छन्, उनीहरुले देखाउने क्रियाकलापले प्रष्टै हुन्छ । एफोर साइजको कागजमा दुई लाइन अक्षर कोरेर लकडाउनको दुरुपयोग गर्नेको पनि ठूलै भीड देखिन्छ भने गलामा परिचय पत्रको दाम्लो झुण्ड्याएर सुरक्षाकर्मीको आँखामा धूलो छर्कनेहरुको जमातमा पनि लकडाउनका विरोधी होइनन् ? यसर्थ, यि तमाम कुकृर्तेका विरुद्ध शान्ति सुरक्षाको ठेकेदारी जिम्मा बहन गर्न विवश सुरक्षा निकायको ध्यानाकर्षण हुन आजको पहिलो आवश्यकता भएको हुँदाखाने वर्गले महसुस गरेको छ । त्यसैले लकडाउन खुकुलो पार्ने नाममा विभेद अन्त हुनुपर्ने बौद्धिक व्यक्तित्वहरुको राय रहेको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |