आर.एल.श्रेष्ठ
आजकाल हाम्रा बालबालिकाहरूले चकलेट, चाउचाउ, बिस्कुट, केक, कुरमुरेजस्ता जंकफुड खान रुचाउँछन् । हामी अभिभावकले माया गर्ने नाममा हिजोआज बालबालिकालाई अधिक मात्रामा घरबाहिरको खानेकुरा दिँदै आएका छौं ।
यसले हाम्रा बच्चालाई बेफाइदा गर्छ भन्ने कुरा धेरै अभिभावकले वास्ता गरेका छैनौं । माया देखाउने नाममा अभिभावकले चाहिनेभन्दा बढी लोलोपतो गरिरहेका हुन्छौं । जंकफुड तथा घरबाहिरको दुषित खानेकुराले बालबालिको शारीरिक तथा मानसिक विकासमा ठूलो असर गर्ने गरेको छ । उनीहरुको बढ्दोे उमेरका बच्चाहरूलाई पर्याप्त मात्रामा प्रोटिनको आवश्यकता पर्दछ । जस्तै कि, ३–४ वर्षको बच्चाको तौल ३० केजी छ भने झन्डै ४ गुणा ग्राम प्रोटिनको आवश्यकता पर्दछ । यसरी हेर्दा ३० केजीको बालबालिकालाई दैनिक १ सय २० ग्राम प्रोटिनको आवश्यक पर्छ ।
आजकाल बजारमा पाइने विभिन्न जंकफुडमा प्रोटिन तत्व पाइँदैन । त्यस्ता खानेकुरा धेरैजसो शरीरका लागि घातक सावित भइसकेको मैदाबाट बनाइएको हुन्छ । त्यसकारण सानैदेखि बच्चालाई कब्जियत सुरु हुनुको मुख्य कारण पनि यही हो ।
पछिल्लो समय बालबालिकामा मोटोपनले जरा गाड्दै गएको छ । मोटोपनको प्रमुख कारण पोष्टिक तत्व नभएको तर, धेरै बोसोजन्य पदार्थ खानेकुरा खानु हो । यसमा नुन पनि बढी हुने गर्दछ । जसले गर्दा कलिलो मिर्गाैलामा असर पर्न जान्छ र पछि गएर मिर्गाैलाले कामै गर्न छाड्छ । यो कारणले अहिले अधिकांश बालबालिकाहरु मिर्गाैला सम्बन्धी समस्याले ग्रसित हुँदै गएका छन् ।
अध्ययन अनुसार आजका बालबालिका १५/१६ वर्षको हुँदा नै उसको तौल ७०÷८० केजी हुने गरेको पाइन्छ । यस्ता धेरै तौल हुने बालबालिकामा डायबिटिज हुने खतरा पनि अधिक हुने गरेको चिकित्सकहरु बताउँछन् ।
गाउँमा भन्दा शहरी क्षेत्रका बालबालिकाले खाजाको रुपमा जंकफुड खाने प्रचलन धेरै देख्न सकिन्छ । यसले बच्चाहरूमा दीर्घकालीन असर पर्न जान्छ । अभिभावकहरू माया गरेर बच्चाहरूले जे माग्यो त्यही दिने गर्दछन् । त्यसको असर अहिले तत्कालै नदेखिइ पनि उमेर बढ्दै जाँदा असर देखिने गर्छ ।
पछिल्लो समय गाउँघरमा पनि जंकफुडको प्रचलन पनि ह्वात्तै बढ्दै गएको छ । उनीहरूलाई घरमा पाइने मकै, भटमास, गहुँ, गेडागुडी, रोटी, दही, दाल, भात, फापरको रोटीजस्ता खानेकुरा नदिएर अभिभावकले चाउचाउ, कुरमुरेजस्ता जंकफुड दिने गरेको पाइन्छ । यो समस्या नेपालमा मात्र नभई छिमेकी देशहरुमा पनि समस्याको रुपमा विकराल बन्दै छ ।
जंकफुडकै कारण अमेरिकामा मुटुरोग डायबिटिजजस्ता रोगबाट धेरै बालबालिका ग्रसित छन् । त्यहाँका २५ प्रतिशत बालबालिका मोटोपनको सिकार भएका छन् । त्यसको मुख्य कारण नै कुरा गलत प्रकारको खानपान हो । जहाँका बालबालिका पिज्जा, केकजस्ता जंकफुडको अधिक प्रयोग गर्दछन् । यो समस्या नेपालका बालबालिकामा पनि देखिँदै आएको छ । पोषणको काम शरीर स्वस्थ्य राख्नु हो । शरीर विकासमा पनि यसले ठूलो भूमिका खेलेको हुन्छ । घरमा पाइने खानेकुरामा पोषण तत्व धेरै पाइन्छ ।
मकै, भटमास, गहुँ, गेडागुडी, दाल, भात, रोटी, दूध, दहीबाट शरीरलाई कार्बोहाइडेट प्राप्त हुन्छ । तर, अहिलेका बालबालिकाले यी कुरा खान मन नगर्ने हुँदा उनीहरूमा कुपोषण बढ्दै गएको छ । जंकफुड खानाले स–साना बालबालिका मोटोपनको पनि सिकार भइरहेका छन् ।
२१औं शताब्दीका बालबालिकामा सेवा–सुविधा माग बढ्दै गएको छ । पहिला मानिसहरू पढ्नको लागि घन्टाँै हिँडेर जाने गर्दथे भने अहिले गाडी, मोटसाइकलमा पु¥याउने गरिन्छ । जसले गर्दा उनीहरूलाई आवश्यक पर्ने शारीरिक परिश्रमको कमी भइरहेको हुन्छ । श्रम नहुँदा उनीहरूको शरीरको तौल बढी हुने गरेको अध्ययनले देखाएको छ ।
हामी अभिभावकले घरमै बनाएको खानेकुरा नपठाई बालबालिकालाई बाहिरको खानेकुरा दिएर वा विद्यालयकै क्यान्टिनमा खानका लागि पैसा दिएर विद्यालय पढाउने गरेका छौं । विद्यालयले पनि पैसा कमाउने नाममा बालबालिकाको स्वास्थ्य बिगारिरहेको छ । विद्यालयले चिल्लो पदार्थ, चाउमिन, समोसाजस्ता स्वास्थ्यलाई असर गर्ने खानेकुरा खुवाइरहेको छ ।
अध्ययनअनुसार ८० प्रतिशतभन्दा बढी बालबालिकाले चाउचाउ, कुरमुरे, चिप्स जस्ता जंकफुड खाने गरेको पाइएको छ । परम्परागत रूपमा खाइँदै आएको मकै, भटमास, चिउराजस्ता खानेकुरा अहिलेका नयाँ पुस्ताका बालबालिकाले खानै छाडेका छन् । अभिभावकले बुझ्न जरुरी छ कि बालबालिकालाई घरको खानेकुरा बढी खुवाउनुपर्दछ र बाहिरका जंकफुड खानबाट विस्तारै बञ्चित गर्नुपर्दछ ।
पछिल्लो समय सरकारले केही विद्यालयमा न्यून आयस्रोत भएका परिवारका बालबालिकालाई दिवा खाजाको पनि व्यवस्था गरेको छ । तर, विद्यालय बालबालिकालाई पोषणयुक्त खानेकुरा खुवाउनुभन्दा पनि जंकफुड खुवाइरहेका छन् । जसले गर्दा सरकारको पैसा पनि खेर जाने र बालबालिकाको स्वास्थ्य पनि बिग्रिन गइरहेको छ ।
एकजना वयस्क मानिसले दिनमा ४ देखि ६ चम्चा चिनी खाँदा त्यसले हानि गर्दैन । तर, हामीले धेरै मात्रामा चिनीको सेवन गरिरहेका हुन्छौँ । जस्तो कि, हामीले कुनै केकको डल्लो खायौँ भने त्यो १० चम्चाभन्दा बढी चिनी खाए बराबर हुन्छ । फ्रुटी, जुसमा ८० प्रतिशत चिनी मिसिएको हुन्छ । चिसो पेय पदार्थ १ सिसीमा १० चम्चाभन्दा बढी चिनी रहेको हुन्छ ।
हाम्रो समाज परम्पराबाट आधुनिकता तर्फ अग्रसर बन्दै गइरहेको छ । पहिलाजस्तो फलामको भाँडामा पकाउने चलन अहिले छैन । रगतको कमी नहोस् भनेर सजग हुने हो भने फलामको भाडामा पकाउने गर्नुपर्दछ । जस्तो कि पे्रसर कुकरमा दाल पकाएर फलामको भाडामा खन्याएर तताउँदा पनि त्यसबाट आइरन तत्व प्राप्त हुन्छ । अमिलो अचार, कागती खाएपछि त्यसमा भएको आइरन तत्व राम्रोसँग शरीरमा पुग्छ ।
यी यावत् पक्षलाई हेर्दा बालबालिकालाई कुपोषण दुई प्रकारले हुने गर्दछ । पहिलो, शरीरमा पौष्टिक तत्व कम भएर । अर्को, खाएको पौष्टिक तत्व राम्रोसँग शरीरमा समायोजन हुन नसकेर ।
बालबालिका मोटो देखिए पनि धेरै मोटो हुनु भनेको पनि कुपोषण नै हुनु हो । यस्ता खानेकुराले शरीरमा क्यालोरी बढाउँछ र मोटोपन ल्याउँछ । अनि मोटोपनले उच्च रक्तचाप र मुटुको समस्या, मृगौलाको समस्या निम्त्याउने कुरा हामीले माथि नै भनिसकेका छौं ।
बच्चालाई जब कुपोषण हुन्छ, उसमा रोगसँग लड्न सक्ने क्षमता कम हुन्छ । सानैमा शरीर कमजोर भएपछि बच्चामा बारम्बार ज्वरो आउने समस्या देखा पर्दछ र पछि गएर निमोनियाको सिकारसमेत हुने गर्दछन् । बच्चाहरूको स्वास्थ्यमा असर परेपछि उनीहरूमा नयाँ कुरा सिक्ने क्षमता पनि कम हुने गर्छ । थकित हुने, खेल्न जान नसक्ने, शारीरिक विकास नहुने तथा दिमागमा पनि असर पर्न गई समस्या सिर्जना भएको अधिकांश अभिभावकहरुको गुनासो स्वास्थ्यकर्मीसामु पोख्ने गरेको पाइन्छ ।
अध्ययन अनुसार कुपोषण भएका बालबालिकाको हड्डी कमजोर हुने गर्दछ । कुपोषित बच्चालाई बारम्बार झाडापखाला लाग्ने, निमोनियालगायत समस्या देखिने गर्दछ । यस्ता बच्चाको शरीरमा पानीको मात्रा ज्यादै न्यून रहेको हुन्छ र बच्चाहरू थप कमजोर बन्दै गएका हुन्छन् । कुपोषण भएका मानिसमा डिप्रेसन, हाइपोथर्मिया, रोग प्रतिरोधात्मक क्षमता कमी, थकान महसुस हुनेजस्ता समस्या प्रशस्तै देखिएका छन् । यो विकराल समस्याबाट उठ्नको लागि अभिभावकले आफ्ना बालबच्चाहरुलाई जंकफुडका बारेमा सुसूचित गराउनु आवश्यक छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |