जोत्सना सैंजू, महासचिव
क्षेत्रीय होटल संघ, काभ्रेपलाञ्चोक
त्यो मन्द मुस्कानभित्रको शालिनता कल्पना नै गर्न नसकिने संघर्ष गरेर आइपुगेको छ भनेर कसले भन्न सक्छ ?
संघर्ष र सहनशीलताको अर्काे नाम हो जोत्सना सैंजू । व्यवसायिक घरानाभित्र यति ठूलो संघर्षपछि स्थापित हुने महिला बिरलै पाइन्छ । एउटा उदयमान संघर्षबाट पछि नहट्ने, चुनौतीलाई सहजै सामना गर्नसक्ने क्षमता राख्ने व्यक्तित्व जोत्सना सैंजूको आजको भेट प्रेरणादायी अविस्मरणीय हुनेछ भन्ने विश्वासका साथ विषय प्रवेश गर्ने जमर्काे गरेको छु ।म के हुँ भनेर आफूले आफैंलाई चिन्न सक्नु प¥यो । केही गर्छु भनेर अगाडि जान खोज्नेहरुको लागि कुरा काट्नु नेपाली समाजमा नौलो होइन । पर्दा पछाडि कसले के गर्छ, के भन्छ भनेर यात्रालाई पूर्णविराम लगाउन खोज्नु निरिहता हो भन्ने लाग्छ । मानव नै चुनौतीसँग सामना गर्ने एक मात्र प्राणी हो, त्यसैको प्रतिबिम्ब सम्झन्छु म आफूलाई भन्नुहुन्छ सैंजू ।
सहनशीलता र संघर्ष के हो ? मलाई सोध्नुस् भन्दै विषयतर्फ आकर्षित गर्न पुग्नुहुन्छ सैंजू । छोरी भएर बिरानो मुलुकमा वर्षाैंसम्मको यात्रामा भौतारिँदा कतिपटक मुर्छित हुँदै सम्हालिँदाका पलहरुले आज मलाई बज्र बनाएको छ । छोराले आँट्न नसक्ने साहस र हिम्मत लिएर बाबाको उपचारमा खटिँदाका ति दिन आज पनि मानसपटलमा तैरिएका छन् । साहस, हिम्मत त्यतिकै जुट्दैन, दृढ संकल्पपछि मात्र प्राप्त हुन्छ । तब मात्र चुनौतीसँग सामना गर्दै अघि बढ्न सकिन्छ भन्नुहुन्छ क्षेत्रीय होटल संघ काभ्रेका महासचिव जोत्सना सैंजू ।
कस्तो भयो होला बाबाको देवहासन पश्चात् सारथी बनेर अभिभावकत्व दिनुपर्ने व्यक्तिहरुले नै चह्राएको घाउमा नुनचुक छर्किँदा ? कल्पना पनि गर्न सकिन्नँ । त्यस किसिमका चुनौतीलाई पराष्ट गर्दै खाउँ खाउँ, लाउँ लाउँ भन्ने उमेरमा दुःख के हो ? पिडा के हो ? ऋण के हो ? धन के हो ? पत्तो नभएको कलिलो मानसपटलमा करोडौंको ऋणको भार थोपरिँदा कसरी सम्हाल्ने होला भन्नुहुन्छ सैंजू । संघर्षशील व्यक्तित्व एवं प्रेरणाका धनी सैंजूले पिताबाटै समाज सेवा के हो ? आत्मीयता के हो ? व्यवसायिकता के हो ? अनगिन्ती शिक्षा ग्रहण गर्नुभएको बताउनुहुन्छ ।
पिता ज्योतिप्रकाश सैंजू र आमा इन्दिरा सैंजूको जेठो सन्तानको दायित्व बहन गर्दै यो धर्तीमा टेकेको साइत सबैले भन्थे रे यो त छोरो हो । कति पटक आमालाई स्पष्टीकरण पेश गर्नुपरेको स्मरण गराउनुभएको क्षण सम्झिँदा हाँसो लागेर आउँछ । सानोमा अत्यन्तै चञ्चल स्वभावको भएकै कारण कतै पाहुना बस्न जाँदा वा साथीसंगिनीहरुको घरमा जाँदा सुरुमै टुटफुट हुने सामान लुकाएर राख्नुहुन्थ्यो रे । यो पछिसम्म पनि स्वयं मलाई कति जनाले बालापनको बारेमा भन्नुभएको अहिले पनि याद आउँछ । त्यति हुँदाहुँदै पनि चञ्चले स्वभावले पलपलको यादगार बनाएको आमा इन्दिराको तर्क छ । तीन छोरीमध्ये आज पनि मेरो मानसपटलमा स्वरुप मात्र छोरी हो, नत्र छोरै जस्तो लाग्छ । सामाजिक तथा सहकारी अभियान्ता बाबा र शैक्षिक धरोहर आमाका बिचमा कुनै अभाव नभईकन हुर्किने अवसर मिल्यो । बालापन सिद्धार्थ एकेडेमीको स्कूलिङले मलाई विस्तारै अनुशासित बनाउँदै लग्यो । सुरुका दिनमा सामान्य रहेको शिक्षाप्रतिको चासो माध्यमिक तहको अन्ततिर अब्बल हुँदै गयो ।
शुन्य दशमलव पाँच अंकका लागि ठूलै संघर्ष हुने गथ्र्याे । मलाई अझै पनि स्मरण छ, हाम्रै घरमा भाडामा बस्नुहुने सरहरुले उहाँहरुको विषयमा कम अंक ल्याएको भनेर झपारेको, प्रिन्सिपल ज्ञानबहादुर सर, रोहित सर, कमल सरकै देन हो । आज शिक्षाको क्षेत्रमा उत्कृष्टता हासिल गर्न पुगेको छु । स्कूले जीवनमा खेलकुदमा बढी रुचि भएकै कारण तेक्वान्दोतर्फ जागरुक बढ्दै गएको थियो । गुरुहरुले पनि भोलि गएर राम्रो खेलाडी बन्छौ भन्दै उर्जा थप्दै जानुभएको थियो । त्यति नै बेला कक्षा ९ को यात्रा आरम्भ भयो । आमा चैतन्यको अब्बल शिक्षक हुनुहुन्थ्यो । पढाइमा चासो नराख्ने भए मसँगै हिँड् स्कूल भन्न लाग्नुभयो । यता प्रिन्सिपल सरले गुणस्तरिय शिक्षाका लागि म कुनै कुरामा सम्झौता गर्दिनँ, मेरो तर्फबाट के गर्नुपर्ने हो, त्यसमा कुनै कसुर बाँकी राख्ने छैन, के छ विचार भनेर दबाब दिन थाल्नुभयो । त्यतिबेला सेकेण्ड डिभिजन आउनु भनेको फेल बराबर थियो सिद्धार्थमा । आफूले पढेको विद्यालयबाट एसएलसी परीक्षा दिने सम्भावना नै हुँदैन थियो । त्यसैले पनि शाम, दाम, दण्ड, भेद जे गरे पनि पढ्नुको विकल्प थिएन । त्यो समय गुणस्तर शिक्षाका लागि कडा प्रतिस्पर्धा चलिरहेको थियो । त्यहि ताका विद्यालयले बोर्ड फस्र्ट ल्याएको थियो । विद्यालय विगतको साथ गुमाउन चाहँदैन थियो । त्यसलाई जीवित राख्नका लागि सिंगो विद्यालय प्रतिबद्ध थियो ।
त्यो कारणले पनि हामी दबाबमा थियौं । मैले माथि नै भनिसकें शुन्य दशमलव पाँच अंकका लागि चरम संघर्ष हुने गथ्र्याे । त्यतिबेलाको नि पढाइ, आजको पनि पढाइ ! यति छोटो अवधिमा शिक्षा धरासायी भएको भान हुन्छ । तत्कालिन मेरा सहपाठीहरु अहिले पनि उच्च ओहोदामा छन् । बरु म आफू पछि परेको महसुस गर्छु । त्यतिबेलाको प्रतिस्पर्धा सम्झिँदा त आजको शिक्षाले के दक्ष जनशक्ति उत्पादन गर्ला खै जस्तो लाग्छ । दिनमा ७÷८ घण्टा रुटिङ बनाएर पढ्नुपर्ने बेलामा ७÷८ मिनेट पनि पढ्न बस्दैनन्, बालबच्चाहरुमा पढाइप्रति चासो छैन, पढ्नुपर्छ भन्ने भावना नै छैन आजका बालबालिकामा । शिक्षाको क्षेत्रमा यो शुभ संकेत होइन भन्नुहुन्छ संघर्षशील व्यक्तित्व सैंजू ।
स्कूले शिक्षामा उत्कृष्ट नतिजा हासिल गरेपछि आइ.ए.सी केयूमा पढ्ने अवसर मिल्यो । अत्यन्तै कडा मेहेनतका साथ पढाइप्रति लगनशील हुनुपथ्र्याे, जसको परिणाम आइएसीमा उत्कृष्ट अंक प्राप्त गरी उत्तिर्ण गरें । अब पालो स्नातकतर्फ मोडियो । कम्प्युटर इन्जिनियरिङ्गमा चासो बढेकै कारण त्यहाँ पनि उत्कृष्ट अंकका साथ स्नातक पार गरें । तत्कालै मेरो नतिजाले मलाई रोजगारीमा अवसर मिल्यो । एउटा अन्तर्राष्ट्रिय सफ्टवेयर कम्पनीमा काम गर्ने अवसर पाएँ । त्यो यात्रा धेरै दिन टिकेन । आफैं केही गर्नुपर्छ भन्ने भावनाका साथ आफैंले सफ्टवेयर कम्पनी खोल्न पुगें । यो सबै मेरो लगनशीलता र आमा बाबाको देन थियो भने साथीसंगिनीहरु बिचको कडा प्रतिस्पर्धाको उपज मान्नुपर्छ । रौं–रौंमा उछिनेर अगाडि जाने होड चल्थ्यो । त्यसैको परिणाम हो, आज एक सफल व्यवसायी बन्न पुगेको छु । जीवनको यात्राले फड्को पार गर्दै जाँदा अनायास पूर्णविराम लाग्न पुग्यो । यति धेरै व्यस्तताका बाबजुद बाबाको न्यानो काखको पनि याद आउँदो रहेछ । सम्भवतः हामीले बाबालाई उज्यालोमा भेट्नु भनेको नौलो भईसकेको थियो । बाबाको व्यस्त दिनचर्याले शिखर चुम्दै गएको थियो । फेरि पनि बाबाका प्रत्येक क्रियाकलापबाट म पलपल केही न केही सिक्दै गएको थिएँ । सहकारी अभियान्ता मात्र नभई बाबा जनप्रतिनिधिका साथै एउटा कुशल व्यवसायी पनि दर्ज भइसक्नु भएको थियो । त्यही भएर नै होला बाबाको चाहना होटल म्यानेजमेन्ट पढिदिए हुन्थ्यो भन्ने बुझिन्थ्यो । खुलेर भने भन्नुभएको थियो । आमा बा दुवैको चाहना मेरो रोजाइ नै हुन्थ्यो ।
यसैबीच बाबालाई रोगले सताइसकेको रहेछ । नसकी–नसकी सामाजिक जीवन व्यतित गरिरहनुभएको रहेछ । यही बिच नेपालका नाम चलेका सम्भव भएका अस्पतालहरुमा लगेर उपचार गर्ने प्रयत्न गरियो । बिडम्बना ! सम्भावना रहेन, बाध्य भएर इण्डियाका महँगा अस्पतालमा जाने निर्णय गरियो । त्यतिबेला मेरो दुधे बालकलाई श्रीमान्, सासु, ससुराको काखमा छोडेर र भावुक बन्दै बाबालाई लिएर झण्डै तीन वर्ष इण्डियाका नाम चलेका अस्पतालमा उपचार गराईरहियो । ति दर्दनाक दिन सम्झेर आउँदा अहिले पनि छाति भक्कानिएर आउँछ । पिताको जीवनको अन्तिम क्षणमा पुगिसक्दा पनि बाँच्ने चाहना अदम्भे थियो । जसरी हुन्छ, बचाउ छोरी ! पछि भनेको केही गरौंला भन्नुहुन्थ्यो । इण्डियाको एपोलो अस्पतालमा दैनिक क्याबिन भाडा मात्रै ३६ सय आइसी तिरेर महँगो उपचार खर्चमा बसियो । त्यति हुँदाहुँदै बाबाको बाँच्ने इच्छा पूरा गर्न के मात्र गरेनौं । बाबाको उपचारलाई भनेपछि कसैले सहयोग गर्न नाइनास्ती गरेनन्, तब बाबाको देहान्त भयो, उहाँहरु नै बिरानो मात्र बन्नु भएन, उतल्लो दर्जाको व्यवहार गर्न समेत पुग्नुभयो । जसले मलाई व्यवसायिक मात्र बनाएन, सामाजिक जीवन जिउन समेत सिकायो ।
यति गर्दा पनि बाबाको इच्छा पूरा गर्न सकिएन । डाक्टरले घर लैजानु भनेर पटक–पटक भन्दा पनि एकपछि अर्काे अस्पताल चहार्ने क्रममा डाक्टरले घर लैजाउ भनेको किन नमानेको भनेर डाक्टरहरुले नै हकार्न समेत पुग्नुभयो । अनगिन्ती आरोह अवरोह पार गरेर आउँदा नेपाल ल्याएको एक महिनापश्चात् बाबा हामी माझबाट सदाको लागि बिदा लिनुभयो ।एउटा छोरी भएर छोराको भन्दा सयौं गुणा बढी संघर्ष गर्न सक्छ भन्ने उदाहरण ३ वर्षको बिचमा पेश गर्न सफल भएको बाबाको उपचारमा संलग्न डाक्टरहरुले नै भनिरहँदा छाति गर्वले फुलेर आउँथ्यो भने शीर ठाडो भएको भान हुन्थ्यो । ति संघर्षपूर्ण यात्रालाई सम्झिँदा अहिले पनि गह भरिएर आउँछ भन्दै सैंजू भावनामा डुब्न पुग्नुहुन्छ । बाबाको देहान्त ब्लड क्यान्सरले भएर होला, पैसाले जीवन पाइँदैन भन्ने सोचको विकास भयो । पाइन्थ्यो भने मेरो परिवारले पैसाको भन्नैपर्दा, खोलो बगाएको होइन ? खै त मेरा बाबा फर्किएनन् !
जब बाबाको देहान्त भयो तब चुनौतीका कालोबादल मडारिन थाल्यो । मेरो बाबाको इच्छा अनुसार बाबाको व्यवसायलाई निरन्तरता दिने अठोट गरें । त्यो हिम्मतकै कारण आज एक प्रतिष्ठित व्यवसायीको रुपमा समाजमा स्थापित हुन पुगेको छु । बाबाको उपचारका क्रममा करोडौं पर्ने होटल कौडीको मूल्यमा बेच्यौं । अप्ठ्यारो परेपछि मान्छेले कतिसम्म पेल्छ भन्ने पाठ मैले कलिलै उमेरमा सिक्ने अवसर पाएँ । मूल्य टुंग्याएर बैनाबट्टा भइसकेको अवस्थामा पनि पछि हट्नु पर्दाको पिडा कति दर्दनाक भयो होला कल्पना पनि गर्न सकिन्न । हामीलाई पैसाको खाँचो थियो । बाबाको जीवनभन्दा होटल प्यारो हुने कुरै भएन । त्यतिबेला त्यो होटल र केही अचल सम्पत्ति बेच्नुको विकल्प थिएन । त्यति गर्दा पनि बाबालाई बचाउन सकेनौं । जब बाबाको देहान्तपछि हाम्रा दिन अत्यन्तै कष्टकर रहे । हिजो बाबासँग सँगै हिँड्ने, एउटै थालमा खानेहरु आज जग्गा जमिन, व्यवसाय हड्प्नतर्फ आँखा गाड्न लागे । अभिभावक गुमाएको अवस्थामा अभिभावकत्व दिएर हौसला प्रदान गर्नुपर्ने बेलामा निराशा थप्न तल्लीन हुन पुगे । ऋण के हो ? थाहा नभएको मान्छेलाई करोडौंको ऋण लाग्दा कसरी सम्हालिन्छ होला सोचौं ! तर म कदाचित आत्तिनँ । संयम भएर सबैको ऋण तिर्छु भनेर आग्रह सुनिदिन विनम्र गर्दैै गएँ । यसबीचका पिडाहरुका घाउ नकोट्याऔं । बाबाको देहान्त भएको दुई वर्षभित्र बैंक बाहेक अन्य सहकारी र व्यक्तिहरुको ब्याज तिरें । विस्तारै साँवा पनि चुक्ता गर्दै गएँ । अहिले बैंकको राम्रो ऋणीको सूचीमा पर्न सफल भएको छु । यो बिचमा बाबा गुमाएँ तर जन्म दिने बाबा गुमाएँ पनि कर्म दिने बाबा आमा, श्रीमान् पाएँ । जसको परिणाम मैले कहिल्यै टुहुरो महसुस गर्नुपरेको छैन आजका दिनसम्म । मैले दुधे बालक छोडेर बाबाको उपचारमा खटेको थिएँ । एक पल पनि बाबुले मेरो खोजी गर्नुपर्ने अवस्था सिर्जना भएन । त्यति मात्र होइन, बाबाको उपचार राम्रोसँग गर, यताको चिन्ता लिनुपर्दैन भन्दै बाबाको व्यवसाय सम्हाल्नुका साथै बेलाबेलामा आर्थिकको राम्रो प्रबन्ध गर्नु भएकै कारण आज यो स्थानमा पुग्न सफल भएको छु ।
मेरो संघर्षशील जीवन व्यतित भएका पल सम्झँदा आँखा ओभाउनै कुरै हुन्न । जबकी २८ वर्षको लाउँ लाउँ, खाउँ खाउँ भन्ने उमेरमा करोडौंको ऋण बिरानो भूमिमा बाबाको छट्पटाहटलाई सम्झँदा त एकपटक झल्यास्स हुन्छु । होटल लिलामका लागि वित्तिय संस्थाको लर्काे लाग्दा पिडाको सीमा रहेन । अझ पोख्नै नसकिने पिडा त निर्माणका क्रममा बाबाको कारोबारलाई लिएर भोग्नुपरेको अभद्र व्यवहार देखि निश्क्रिष्ट शब्दले अझै छाति छियाछिया भएर चिरिन्छ । नेपाली उखान त्यतिकै बनेको रहेनछ भन्ने लाग्छ । “बलेको आगो मात्र तापिन्छ, खरानीको के महत्व” भनेझैं बाबासँग खाने, खेल्ने साथीभाइहरुको चरित्र देख्दा मान्छे कति स्वार्थी हुँदो रहेछ भन्ने पाठ सिकाएको छ । एउटी महिलाले के गर्न सक्छे भनेर साँघुरो सोच राख्नेहरुका लागि जुन स्थान बनाउन सफल भएको छु, त्यसैमा आज गौरव गर्दछु । यो सबैको पछाडि म भित्रको हिम्मत हो । त्यसपछि कर्मथलो, सासु, ससुरा, श्रीमान् अनि आमा र बहिनीहरु नै हुन् ।
यदि मैले चुनौती उठाउने हिम्मत नगरेको भए आज पनि एउटा कुनामा आमाको पेन्सन वा श्रीमान्को सीमित कमाइमा आश्रित हुनुको विकल्प थिएन । चौतर्फी कालो बादल मडारिँदा पनि हिम्मत हारिनँ । त्यसैले चुनौतीसँग जुध्ने हिम्मत गरौं, तब मात्र सफलता मिल्छ । बिडम्बना ! आजका युवा पिडिमा त्यो क्षमता छैन । आफूले आफैंलाई काबुमा राख्ने साहस छैन । पलपलमा परनिर्भर बन्दैछ युवाशक्ति । त्यसैले यो विषयमा आजको युवा गम्भीर हुन जरुरी छ । जबसम्म नैतिकवान्, मेहेनती, लगनशील, उत्तरदायित्व बहन गर्ने क्षमता हुन्न, तबसम्म केही हुन सक्दैन । उसले आफूले आफैंलाई मार्छ । त्यसैले श्रम गर्न हिच्किचाउनु हुन्न । आफ्नो शरीरले गर्नसक्ने जति काम आफैंले गर्नुपर्छ, तबमात्र श्रमको मूल्य थाहा हुन्छ । आज पनि आफू श्रममै विश्वास गर्ने भएकै कारण अधिकांश समय व्यवसायमै तल्लीन रहने व्यवसायी सैंजूको तर्क छ ।
पछिल्लो समय उद्देश्य, लक्ष्यबिना धमाधम व्यवसाय आएका छन् । आफू मालिक बन्ने सिंगो व्यवसाय श्रमिकको भरमा छोड्ने संस्कार हाबी भएको छ । त्यसले धेरै दिन थेग्छ जस्तो लाग्दैन । यही पाठकै कारण म र मेरो परिवार पहिला श्रमिक अनि मालिक हुन सक्यो भने मात्र व्यवसाय फस्टाउने उद्देश्य सहित अगाडि बढेका छौं । उद्देश्यबिना खोलिएका होटल व्यवसायले यो पेशामै प्रश्न चिन्ह खडा गरेका छन् । यो अवस्थामा व्यवसाय नै धरासायी हुने मोडमा पुगेको छ । अबका दुई वर्ष व्यवसाय दिनप्रतिदिन खस्किँदै जाने हो । यो अवस्थामा संयमिमता अपनाउन सकिएन भने बर्बादि हुनको विकल्प छैन । मैले यात्रामा निकै आरोह अवरोह पार गरेकै कारण आज आफू धुलिखेल उद्योग वाणिज्य संघ, सार्क स्तरीय महिला उद्यमी, साराहा बालगृह, रोटरी क्लब जस्ता संघसंस्थाहरुमा आबद्ध भएर सामाजिक सेवामा समेत दखल पु¥याउन सक्षम भएको छु । जसको परिणाम अमेरिकी दूतावासले सन् २०१८ मा आइ.भि.ए.पी.मा छनौट गरेर अमेरिका भ्रमण गरायो भने सार्क राष्ट्रस्तरीय उत्कृष्ट महिला उद्यमीको सम्मान र नेपाल सरकार उद्योग मन्त्रालयको तर्फबाट उत्कृष्ट उद्यमीको रुपमा सम्मानित हुँदाका क्षण स्मरण गर्न लायक भएको संैजूको कथन छ ।
वहाँका संघर्षपूर्ण यात्राका बारेमा कलम चलाइरहँदा युद्धभूमिबाट योद्धाले कोरेको पत्र पढेजस्तै महसुस हुन पुग्यो । साँच्चै मान्छेले चुनौतीसँग सामना गर्ने हिम्मत राख्नुपर्छ, तब मानव भएर यो धर्तीमा पाइला टेकेको सार्थक रहन्छ भन्ने निचोडमा पुगियो । यो संघर्षपूर्ण जीवनका लागि व्यवसायी जोत्सना सैंजूप्रति साधुवाद ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |