सुभद्रा दाहाल
नेपाली जनताले इतिहासको कालखण्डमा लामा संघर्ष गरेर ल्याएको अर्थात् अर्काे शब्दमा भन्नुपर्दा आम नेपाल जनताको ठूलो संघर्ष र बलिदान स्वरुप ज्यान बलि चढाई ल्याएको आजको नेपालको लोकतन्त्र कमजोर बनिरहेछ दिनानुदिन । सत्तामा पुग्ने सत्ताधारीहरु पनि हिजो त्यही संघर्षमा होमिन पुगेका थिए । उनीहरुको पनि ठूलो हात थियो, जसरी आम नेपालीले उनीहरुलाई साथ दिएर राजसंस्था हट्न पुगी लोकतन्त्रको वृक्षारोपण भयो । आम जनता खुशी भए केही परिवर्तन होला भन्ने आशामा, उता नेताहरु पनि आफ्नो दौरान पूरा भएकोमा खुशी थिए ।
राजसंस्था खारेज भयो । उनीहरु नै सत्तामा पुगी शासन गर्न थाले । समयको माग अर्कै थियो तर उनीहरुले बुझेर पनि बुझ पचाएझैं मेरो गोरुको बाह्रै टक्का भनेझैं आफ्नै तालले शासन गर्न थाले । आम नेपाली जनताको इच्छा र चाहनाको ख्याल गरेनन् । लोकतन्त्रको दुरुपयोग हुँदै गयो । हिजो आन्दोलनमा कयौं लामा संघर्ष गरी आफ्नो अधिकारको लागि लडेका नेपालीको कुनै चासो पनि छोडेका छन् नेतृत्वकर्मी र सरकार पक्ष । आफू रदा सत्तामा लिप्त भई टिकिरहनुपर्ने, आफ्नो मात्र वर्चस्व होस् भन्ने ठान्नु मात्र उनीहरुको स्वार्थ रह्यो । जनतालाई सेवा–सुविधा प्रदान गर्नु त कता कता उल्टै अनेकौं उच्च कर समेतको बोझ थपी सर्वसाधारण जालोमा जेलिएझैं जेलिन पुगका छन् । सरकार र नेतृत्व वर्ग भने अमूर्त भई सत्ता तानातान वा लुडाचुँडीमा व्यस्त भइरहेछन् । सदा सर्वदा आफैं सत्तामा टिकिरहनुपर्ने, एउटै व्यक्ति धेरै पदमा अट्नुपर्ने जसता लालचमा ¥याल काढेर आसिन भइरहेका छन् । विकासका नाममा बाटोघाटो बनाउने निहुँमा जताततै डोजर वा जनश्रमदानबाट गाउँबस्तीमा बाटो त बनाए तर ति बाटाहरु पेलेर मात्र छोडिदिँदा जतातौ बाधा, अड्चन भई पहिरो जाने, बालीनाली नष्ट हुने साथै पहिरोबाट क्षति बढ्दै गएको छ । उता सत्ताधारी र नेतृत्व वर्ग आफ्नै कुर्सीको होडबाजीमा व्यस्त छन् भने विपक्षी वर्गमा रहनेहरु पनि विरोध गर्नमा नै व्यस्त देखिन्छन् । देश दिनदिनै रुग्ण बनिरहेछ । विकासका नाममा आएका बजेट राम्रो कार्यान्वयन हुन नसक्दा विकास ठप्प भइरहेछ । ठूला चर्का भाषण र प्रतिबद्धता ढोंगी आदर्शमा सीमित बन्न पुगेका छन् । सरकारलाई केवल कुर्सीको मात्र लालचा रहेको छ ।
एकातिर दलदलको यस्तो निकृष्ट अभिलाषा देखिन्छ भने अर्कातिर राष्ट्रपति जस्तो गरिमामय संस्था राजनीतिक फोहरी फोहरी खेलमा मुछेर त्यसको बेइज्जत गरिँदै छ । विभिन्न दल र नेताको विचार अनुसार राष्ट्रपति चल्दैछिन् । किन उनलाई महसुस छैन, “म यो देशको राष्ट्रपति हुँ, म सबैको साझा हुँ, मैले कसैको कुरा अनुसार चल्ने चलाउने नभई म त एउटा शासन सञ्चालनको बिना अधिकारको तटस्थ व्यक्तित्व हुँ,” भन्ने कुरा । अर्कातिर दलदलका शीर्ष नेताहरुको पनि कुरा मिलाउने माध्यम राष्ट्रपतिलाई बनाइरहेछन् । फरक–फरक समय दलीय नेताहरुलाई बोलाई सम्पर्क गरी सभा गर्ने राष्ट्रपति कार्यालय दलको सचिवालय वा सभा हल बन्नु के राम्रो कुरो हो ? त्यतिमात्र नभएर व्यापारीसँग पनि उनको भेट दिनु, यस किसिमका कुराले कस्तो सन्देश पुग्दछ नेपाली जनतामा किन विचार विमर्श छैन उनलाई । यी सबैकुरा आम नेपाली जनतामा छर्लङ्ग भइसक्यो । त्यसैले यो बुझ्नुपर्छ र बुझेका पनि छन् नेपालीले “राष्ट्रपति संस्था यस्तो हुनुपर्छ जो कुनै पार्टी वा व्यक्ति व्यक्तिबाट चलाइने हैन, यो त विशुद्ध नेपालको गरिमामय पवित्र संस्था हुनुपर्छ ।” यो आम नेपालीको भनाइ हो । हो, यही नहुँदा राष्ट्रपति आज विवादमा मुछिरहेकी छिन् । अर्काे पनि कुरा राष्ट्रपति स्वयं किन सोच्दिनन्, उनले राजनीति गर्ने थलो राष्ट्रपति भवन हैन, यदि राजनीति गर्नु नै थियो भने त किन ‘राष्ट्रपति’ बन्दा इन्कार गर्न सकिनन् ? उनी दलभित्रै बसेर राजनीति गर्नुपर्दथ्यो । यो आम नेपालीको भनाई हो । उनले पार्टीका नेताहरुलाई बेलाबेलामा बारबार भेटिरहनुले देशलाई एकातिर खण्डित बनाउँछ भने अर्कातिर दलीय विभाजनमा बल नपुग्ला भन्न सकिन्न । अर्कातिर राष्ट्रपति जस्तो ओजस्वी पदमा गरिमा घट्न जानेछ । यस विषयमा नेपालीहरु चिन्तित छन् । पार्टीभित्रका झगडाहरु राष्ट्रपतिकहाँ सुल्झाउने थलो हो र ? यो समस्या त आन्तरिक रुपमा दलभित्रै समाधान हुनुपर्दछ । किन सोच्दैनन् नेताहरु ! के कहिँ कतै संविधानमा उल्लेख भए संविधानको धारा कतिमा हो ? उनी त राष्ट्रको सिंगो प्रतिक भई सवा तीन करोड नेपालीको माझमा उभिन सक्नुपर्दछ । यहाँ अहिले गल्ती मात्र हैन, बेइज्जत भइरहेछ ‘राष्ट्रपति संस्था’ आज ।
देश अहिले रोग, भोक र शोकमा डुबिरहेछ । सरकार भने आफ्नै लुछाचुँडी र मोजमस्तीमा छ । मैले रोमको इतिहास पढ्दा पढ्दै याद आएको कुरा सम्झेँ । “प्राचिन इतिहासमा रोममा आगलागी हुँदा रोमका राजा लुई सोह्रौं नाचगानमा मस्त थिए रे” ठिक त्यस्तै भइरहेछ आज हाम्रो देशमा । हाम्रा प्रधानमन्त्रीज्यू यत्रो राज्यको जिम्मेवारी लिएको मान्छे आन्तरिक आफ्नै पार्टी मिलाउन सकेका छैनन् के यो सन्देश राम्रो हो त ? अर्कातिर लिपुधुरा, कालापानीको समस्या चर्किरहेछ । अर्काेतिर कोरोना जस्तो रोगबाट आक्रान्त बनेको बेलामा राजनेता जनतालाई बोली, वचन र सक्दो राहतको मलहम लगाउनुको साटो बेवास्ता गर्दै आफ्नै स्वार्थमा डुबिरहेछन् ? किन विज्ञहरुसँग सल्लाह लिँदैनन् ? आफ्नै मात्र कुरा राख्ने उनको जिद्धिपनाले देशलाई कसरी निकास होला ? चर्का भाषण र मीठा आश्वासनले मात्र व्यवहार चल्दैन के कुरा आम नेपालीले बुझिसके । यदि फेरि हिजोझैं नेपाली जनता उर्ले भने हिजो ज्ञानेन्द्र सरकारको गति झंै नहोला भन्न सकिन्न । त्यसैले अब राजनेताले सोच्ने बेला सोचेनन् भने फेरि भोलि देशमा दुर्घटना निम्तिन सक्नेछ ।
उता राष्ट्रपति पद कसैको चाकडीको प्रतिक, तानाशाहिकी प्रतिक नहुन् । यो कुरा लामो नगरौं । करौडौंको कार्पेटमा मुछिएर भन्नु परेको हो, यो भनाइ आम नेपालीको भनाई हो । अन्य देशका प्रधानमन्त्री, राष्ट्रपति सामान्य जीवनयापन गर्छन् । हिजो हामीले ओबामाकै व्यवहार थाह पायौं । हाम्रा भने हिजोका राजा महाराजाभन्दा ठूला ठान्ने प्रवृत्ति सामन्ती प्रवृतिले हालीमुहाली देखिन्छन् । तसर्थ यस्ता विचारहरु जबसम्म हट्दैनन्, तबसम्म देश अघि बढ्न सक्दैन । त्यसैले राज्य व्यवस्था सञ्चालन गर्नेहरु सच्चा देशभक्त र स्वाभिमान भई जनताका इच्छाअनुसार राज्य सञ्चालन गर्नुपर्दछ लोकतन्त्रमा । उनीहरु सुध्रिनै पर्छ । नत्र नेपाली जनता चुप लागेर बस्ने छैनन् । तसर्थ, नेपाल राष्ट्रको इज्जत, राष्ट्रपति संस्थाको इज्जत र गरिमा बढाउन स्वाभिमान, तटस्थ, ओजस्वी राष्ट्रपति र देशभक्त, त्यागी, लोकप्रिय नेतृत्व चाहिन्छ कोहि कसैको हातको खेलौना, गोटी बन्ने होइन ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |