logo
२०८३ अषाढ ३, बुधबार |
📰
🔍

श्रमको मूल्य दिन प्रतिदिन खोसिँदै गयो, पिडामा स्वास्थ्यकर्मी

प्रभातफेरी अनलाइन८६६३ पटक पढिएको प्रकाशित मिति: २०७७ भाद्र ९, मंगलबार(५ साल अघि)
श्रमको मूल्य दिन प्रतिदिन खोसिँदै गयो, पिडामा स्वास्थ्यकर्मी

प्रल्हाद शर्मा हुमागाई

अग्रदस्ताहरुलाई सेवा सुविधामा २५ प्रतिशत थप गरेर दिनुपर्छ भनिएता पनि त्यो हात्तीको देखाउने दाँत भएको छ । उल्टै खाईपाई आएको सेवा सुविधामा भारी कटौती भएको छ । यहाँसम्म की खाइपाई आएको सेवा सुविधामा ९० प्रतिशतसम्म सेवा सुविधाबाट बञ्चित हुँदा पनि स्वास्थ्यकर्मीहरुले चु सम्म बोल्ने हिम्मत राखेका छैनन् । श्रमको अपेक्षा नराखी सेवामा दिनरात परिवार, समाज नभनी निरन्तर खटिरहेका छन् । यो पिडामा गोहिको आँसु बगाउँदै आएको सरकारका बारेमा बोल्नुको अर्थ छैन भन्छन् स्वास्थ्यकर्मी ।

स्वास्थ्य संस्था बन्दजस्तै गरेर हाइसन्चोमा रहेका निजी स्वास्थ्य संस्था सञ्चालकहरुको व्यवहारले स्वास्थ्यकर्मीहरुको भनाईलाई पुष्टि गरेको छ । सरकारले जति नै खोके पनि निजी स्वास्थ्य संस्था सञ्चालकहरुको कानमा बतासे चलेको छैन । कोभिड–१९ ले विश्वलाई आक्रान्त पारिरहेको अवस्थामा नेपाल पनि अछूतो रहेन । चीनबाट सुरु भएको कोभिड–१९ ले आज नेपालमा एक सय ५५ दिन पार गर्दा नेपाललाई अति जोखिमयुक्त मुलुकको सूचीमा दर्ज गर्न पुगेको छ ।

नेतृत्वले समयमै सावधानी अपनाएको भए आज आएर न्याउरी मारी पछुतो हुनुपर्ने थिएन । यो दुर्दशा भोग्नुपर्ने थिएन भन्दा फरक पर्दैन । असक्षम नेतृत्वको कारण आज तमाम नेपालली संकटको सामना गर्न विवश भएका छन् । यथेष्ट समय हुँदाहुँदै खेलाञ्चीको उपज आज यो परिवेश सिर्जना भएको छ । यो संकटको घडिमा अग्रदस्ताको रुपमा खटेर श्रम र सेवामा समर्पित स्वास्थ्यकर्मी र सुरक्षाकर्मी कोभिड–१९ को निशानामा त छँदै छन् । लकडाउन बिचका घटनालाई हेर्ने हो भने कोभिड–१९ को भन्दा पनि सामाजिक ठालुहरुको शिकार बन्न विवश भए स्वास्थ्यकर्मी । सबैभन्दा बढी सुविधा सम्पन्न सहरहरुमध्येको काठमाडौं उपत्यकावासीहरुले स्वास्थ्यकर्मीहरुमाथि जुन किसिमको हुलहुजत गरे, त्यो इतिहासमा क्ष्यम्मे मनासिव छैन । जुन रुपमा स्वास्थ्यकर्मीमाथि धावा बोलियो, त्यसले मानसिक रुपमा स्वास्थ्यकर्मीहरुलाई विक्षिप्त हुने अवस्था समेत सिर्जना गराए । यो अवस्थामा स्वास्थ्यकर्मीले कसरी बिरामीहरुको सेवामा समर्पित हुन सक्लान् ? सोचनीय विषय भएको छ ।

अर्काेतर्फ सरकारी स्वामित्व बाहेक सञ्चालनमा आएका अस्पतालहरुले श्रमको पनि शोषण गरे । सरकार भन्छ, अग्रदस्तामा रहने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई थप सेवा सुविधा दिनुपर्छ तर निजी स्वास्थ्य संस्था सञ्चालकहरुले खाईपाई आएको सेवा सुविधामा ९० प्रतिशतसम्म श्रम कटौती गरे । झण्डै ६ महिना बित्नै लाग्दा पनि त्यही अवस्थामा श्रम गराएका छन् । यो अवस्थामा स्वास्थ्यकर्मीको पिडा कसले सुन्ने ? कसले खबरदारी गर्ने ? कसले न्याय दिलाइ दिने ? बिलख बन्धनमा छन् स्वास्थ्यकर्मी । श्रम शोषणका साथै असावधानीको सामना बाध्य भएको तथ्य हाम्रा सञ्चारकर्मीहरुले श्रव्यदृश्यमार्फत् पेश गरेको प्रमाण होइन र ? यो अवस्थामा स्वास्थ्य मन्त्रालय रमिते बन्नुको गुञ्जायस् अरु देखिँदैन भन्छन् स्वास्थ्यकर्मी ।

दैनिक स्वास्थ्य मन्त्रालय प्रेस मिटलाई हेर्ने हो भने पनि हजारौं स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित हुन पुगेका छन् । सरकारले सहानुभूतिसमेत खुलेर राख्न सकेको देखिँदैन । यो अवस्थामा स्वास्थ्यकर्मीहरुले विद्रोह गर्नुको विकल्प अरु केही छ ? जवाफ छ सरोकारवाला निकायसँग ? सवाल यसरी उठिरहेको छ । समाजबाट तिरस्कारको सिकार एकातिर छ भने अर्काेतिर श्रमको मूल्य नपाएपछि सेवामै रहनुपर्छ भन्ने जरुरी के छ ? उपल्लो तहमा रहनेहरुको आम्दानीको स्रोत कोभिड–१९ हुने, त्यसको संरक्षण हामी तल्लो तहमा काम गर्नुपर्ने स्वास्थ्यकर्मीले गरिदिनुपर्ने ! भन्दै आक्रोश पोख्न पछि पर्दैनन् स्वास्थ्यकर्मी ।

यो अवस्थामा सरकारले जारी गरेको खर्च विवरणका बारेमा चौतर्फी विरोध आउनुले पनि सरकारको नियतका बारेमा टिप्पणी गरिरहनु नपर्ने बताउँछन् स्वास्थ्यकर्मी सिताराम दाहाल । उहाँकै वाक्य सापटी लिने हो भने पनि यो विषयमा सरकार गम्भीर नभएकै कारण मुलुक आज यो अवस्थामा पुगेको तथ्य अन्त खोज्न जानुपर्दैन । यो संगीन अवस्थामा श्रमको मूल्य खोसिनु अन्याय भएको दाहालको टिप्पणी छ । के हिजो नाफा हुँदा हामीले माग्यौं ? कि यति नाफा भयो भनेर बाँडे ? तर आज कोरोनाको बहानामा किन खाईपाई आएको सेवा सुविधा खोसियो ? यस विषयमा सरोकारवाला निकायको ध्यान जानु आवश्यक छ । विभिन्न बहाना गरेर स्वास्थ्यकर्मीको मनोबल गिराउने काम सामाजिक व्यक्तित्वहरुदेखि निजी स्वास्थ्य संस्था सञ्चालक समेतले गर्दै आएका छन् । त्यसका बारेमा हामी स्वास्थ्यकर्मी पनि सचेत भएर आफ्ना हक, अधिकारका बारेमा आवाज उठाउन आवश्यक छ भन्नुहुन्छ स्वास्थ्यकर्मी दाहाल ।

लाखौंलाख स्वास्थ्यकर्मीहरुको समस्या उस्तै छ । आवाज उठाउँ त भोकभोकै भइन्छ भन्ने चिन्ता छ, नउठाउँ त चरम श्रमको शोषणको सिकार हुनुपरेको दुखेसो पोख्नुहुन्छ स्वास्थ्यकर्मी सम्झना श्रेष्ठ । श्रेष्ठका अनुसार यसरी अन्याय गर्न भएन नि भन्यो भने तत्कालै रोजीरोटी खोसिन्छ । यो अवस्थामा हाम्रा बारेमा बोलिदिने कोहि छैनन् । उही क्षणिक सहानुभूति आउला तर दीर्घकालिन समाधान छैन । जति नै हक अधिकारका नाममा खोलिएका टे«ड युनियन छन्, ति सबै भागबण्डाका हिमायती भएका छन् । हामी श्रमिकको बारेमा बोलिदिने कोहि हुन्न । फेरि निजी स्वास्थ्य संस्था सञ्चालकहरुले पनि अपवाद रुपमा ट्रेड युनियनहरुलाई स्थान दिएका छैनन् । यो अवस्थामा सहनुको विकल्प छैन । सरकार निजी स्वास्थ्य संस्था सञ्चालकहरुको अगाडि लम्पसारवाद हो । किनकी, हिजो चुनावमा कुष्त चन्दा असुलेका छन् उनीहरुबाट । जसको कारण सञ्चालकहरुले जति नै अव्यवहारिक गतिविधि गरेता पनि सरकारको तर्फबाट गोहिको आँसु झार्नुको विकल्प छैन । श्रमिकमाथि जति नै श्रमशोषण भएता पनि कुनै हैसियत राख्न सक्दैन । किनकी नुनको सोझो त गर्नुप¥यो नि होइन ! जसको पछिल्लो प्रमाण कोरोनाको महामारीले मुलुक आक्रान्त हुँदा निजी स्वास्थ्य संस्था सञ्चालकहरुले देखाएको व्यवहारले छर्लङ्ग हुँदैन र ! भन्नुहुन्छ स्वास्थ्यकर्मी श्रेष्ठ ।