सविना मिश्र
बनेपा–७, काभ्रेपलाञ्चोक
आज धेरैपछि हतासमा रहने जनसमुदाय फुर्सदै फुर्सदले आजित भएर अवाक् छन् । कुनै समय प्रकृतिलाई नै चुनौती दिएर आफ्ना प्रकृति विरोधी कार्यक्रमलाई उल्लेखनीय रुपमा प्राथमिकता दिँदै आइरहेको मानव आज सास फेर्न समेत डराएको छ । साँच्चै, आफ्नै कठघेरामा कैदिझैं यातना भोगिरहेको मानव हाल विश्वव्यापी फैलिरहेको कोरोना भाइरसको महामारीले निकै आक्रान्त छ, जुन भाइरसलाई विश्व स्वास्थ्य संगठनले ‘कोभिड–१९’ को नाम दिएको छ । त्यसैगरी, कुनै पनि विषय वा वस्तुको तथ्य, सिद्धान्त र तरिकाहरुको समायोजन गर्दै प्रयोग र परिकल्पनाद्वारा स्थापित व्यवस्थित ज्ञान हो विज्ञान । विज्ञान सत्यको आधार हो । भनिन्छ, विज्ञानसँग हरेक समस्याको समाधान छ । विज्ञानसँग पृथ्वीको उत्पत्तिदेखि पृथ्वीको अन्त्य कसरी हुन्छ भन्ने तथ्यांक छ तर विडम्बना ! कोभिड–१९ ले यस्तो विषम् स्थिति सृजना गरी विश्व नै भयावय हुँदा पनि निरुत्तरित छ विज्ञान ।
सर्वप्रथम, मानिसमा कोरोना भाइरस सन् १९६० मा देखिएको थियो । त्यसपश्चात्, चीनको वुहान शहरमा २९ डिसेम्बर २०१९ मा यसलाई पुनः मानिसमा देखिएको तथ्यांक रहेको छ । सामान्यतयाः कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्ने र यो संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्ने तथ्यांक रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वका २१६ राष्ट्रहरुमा कोभिड–१९ का संक्रमितहरु फेला परिसकेका छन् । यस संस्थाको थप जानकारी अनुसार कुल संक्रमित व्यक्तिहरुमध्ये ८०% व्यक्तिहरुमा यस रोगको सामान्य लक्षणहरु देखिने र २०% मानिसहरुमा विशेषतः वृद्ध वा अन्य रोगहरु जस्तैः मुटु रोग, क्यान्सर, मधुमेह आदिबाट ग्रसित व्यक्तिहरुमा लामो समयसम्म यसको असर रहने र मृत्यु हुनेमा यिनै २०% भित्रका बिरामीहरुको संख्या बढि रहेको तथ्यांकले जनाएको छ । विज्ञानको दुनियाँमा भाइरस अत्यन्तै सुक्ष्म जीवको रुपमा चिनिएतापनि हालसम्म जानकारीमा आएका विभिन्न प्राण घातक रोगहरु जस्तैः इबोला, एच.आइ.भी. एड्स, स्वाइन फ्लु, सार्स आदि रोग विभिन्न भाइरसकै उपज हो भन्ने कुरा सर्वविदित नै छ ।
हिजोसम्म ओल्लो ओडार र पल्लो ओडार गर्दै अन्य जीवजन्तुसँगै जीविकोपार्जन गर्ने मानव जाति आज आफ्नो विवेकको प्रयोग गरेर नौलो इतिहास रच्न सफल छन् । अन्य जीवभन्दा सर्वश्रेष्ठ मानिस विज्ञानको सोपान चढ्दै चन्द्रमामा आफ्नो बस्ती विस्तार गर्न आतुर देखिन्छ । विज्ञानको सफलतासँगै उचाई चुमेको मानवले विकास, विकास केवल विकास जपिरहँदा पाइलैपिच्छे आफैंले खनेका विनाशका भड्खालहरु चिन्न सकेन । आफ्ना सपना परिपूर्ति गर्नका लागि अहोरात्र वैज्ञानिक प्रयोगशाला र प्रविधि विकासमा जीवन व्यतिर गरेको उसले प्रकृतिको अनुपम सौन्दर्यलाई तहसनहस बनायो । उसले बम बनायो, बारुद बनायो, इमान बेचेर विमान बनायो, कलकारखाना, गाडि व्याप्त बनायो । साँच्चै, प्रकृतिलाई मास्न कुनै कसुर नछोडेको उसले विकास रोज्यो तर विनाश रोकेन । विज्ञानलाई उत्सर्गमा पु¥याउने होडबाजीमा विकासको हठ छोड्न सकेन तर विडम्बना ! विनाशको ओखती किन्न सकेन । त्यसैले त, प्रकृतिमैत्री कार्यभन्दा प्रकृति विरोधी क्रियाकलापले निम्त्याएको नमिठो सत्य हो कोभिड–१९ ।
साँच्चै नै, विज्ञानको क्षेत्रमा भएको कायापलटले सिंगो विश्व नै निकै लाभान्वित रहेको कुरालाई हामीले स्वीकार्नै पर्छ । निर्जिव के हो, सजिव के हो, पृथ्वी के हो, ब्रह्माण्ड के हो, भाइरस के हो, ब्याक्टेरिया के हो भन्ने जस्ता हजारौं प्रश्नको उत्तर हो विज्ञान । यथार्थमा, विज्ञान आफैंमा विशिष्ट र अथाह छ । विज्ञानको सूत्रहरुको सहायता, विभिन्न खोज र प्रकृतिका उपहारको समिश्रणबाट नै आज वैज्ञानिकहरुले विश्व जोड्ने इन्टरनेट र विश्व तोड्ने अणुबम विकास गरेका छन् । बढ्दा प्राकृतिक प्रकोप सँगसँगै देखा परेको कोभिड–१९ ले निम्त्याएको महामारीले आक्रान्त बनेका जनसमुदायमा विज्ञान वरदान हो कि अभिशाप भन्नु द्विविधा पैदा हुनु जायज नै हो । यद्यपि, विज्ञान आफैंमा अभिशाप होइन तर यसलाई गलत प्रस्तुत गरिनु र अहित प्रयोजनको निम्ति प्रयोग गरिनु चाहिँ अभिशाप नै हो । कोभिड–१९ र विज्ञानबीच समानता नदेखि पनि विज्ञान र प्रविधिकै माध्यमबाट बेहोसीमा जन्मिएको नाबालक शिशु हो कोभिड–१९ भन्दा अत्युक्ति नहोला ।
विज्ञानले कोसौं फड्को मारेपनि कार्यशैली गलत हुँदा विश्व नै कोभिड–१९ बाट सृजित अनेकानेक समस्याहरु रुमलिएको छ आज । नियालेर लेखाजोखा गर्ने हो भने कयौंले आफ्नो रोजगारी गुमाएका छन्, घरभित्रको मौनताले तर्साउन थालेको छ र प्राकृतिक चक्रलाई बिथोल्न सधैं अग्रसर रहने मानव आज स्वयं विनाशको मुख्य आहारा बनेको छ । कोभिड–१९ ले सृजना गरेको विश्वव्यापी महामारीले मान्छेदेखि मान्छे डराएका छन्, गतिशील मानि छक्क छन्, मानवीय कार्यहरु सबै ठप्प छन्, मास्क बिनाको मान्छे हेर्न आफैं ऐना अगाडि उभिनुपर्ने बाध्यता छ, कलकारखाना रोकिएका छन्, विमान विश्राममा छन् र सडक शुन्य छ । त्यसैगरी न बाह्य पर्यटक देख्न पाइन्छ न आन्तरिक पर्यटक बन्न, आर्थिक अभावले जीवन साँघुरिएका छन्, संसार शान्त छ तर मनहरु अशान्त छन्, गगनचुम्बी महल छ तर व्यवसाय ठप्प छ, विद्यालयहरु बन्द छन् भने विद्यार्थीहरु अन्यौलमा छन् । यता धनी धनले आक्रान्त छन् भने गरिब गरिबीले विचलित छन् । गाँस, बास र कपासको अभावले, सामाजिक विकृतिहरुले नयाँ इतिहास रच्न थालिसकेको देखिन्छ । यति मात्र नभई कोभिड–१९ को त्रासले घरभित्र थन्किएका मानिसहरु डिप्रेसन, प्रेसर र मधुमेह लगायत अन्य रोगले झन् अस्वस्थ बनिरहेका छन् । यसर्थ, वर्तमान अवस्थामा सृजना भएका यस्ता समस्याहरुको समाधान भनेको कोभिड–१९ नामक भाइरसको न्यूनिकरण र उच्च सतर्कता नै हो ।
वर्तमान परिप्रेक्ष्यमा अन्य क्षेत्रमा कोभिड–१९ अभिशापकै रुपमा चित्रण भइरहँदा विज्ञान नै जीवन, विज्ञान नै ज्ञान र विज्ञान नै आधार मान्ने वैज्ञानिकहरुलाई भने कोभिड–१९ कडा चुनौतीको रुपमा प्रस्तुत भएको देखिन्छ । कोभिड–१९ को प्रकोप बढेसँगै विश्व स्वास्थ्य संगठनले ३० जनवरी २०२० मा आकस्मिक विश्व स्वास्थ्य संकट घोषणा ग¥यो र ११ मार्चमा यसलाई महामारीको संज्ञा दिँदै विज्ञप्ति जारी ग¥यो । यद्यपि, खोज िर अनुसन्धानमा तल्लीन वैज्ञानिकहरुले यसलाई सामान्य भाइरस भन्दै चाँडै नै यसको समाधान खोज्ने बताउँदै आइरहेको तथ्य स्पष्ट सुन्न र पढ्न पाइन्छ । कोभिड–१९ कुनै एक व्यक्तिले स्तनधारी चरा चमेरोको मासु खाएर फैलिएको हो भन्ने हल्ला व्याप्त भएपनि हालसम्म यो संक्रमण कसरी सुरु भयो भन्ने कुनै तथ्य पत्ता नलागेको विज्ञानका अनुयायीहरु बताउँछन् । साँच्चै, भन्नुपर्दा कोभिड–१९ के वा कसरी सृजित भयो, सामान्य भाइरसबाट आज यो विश्व महामारीको रुपमा कसरी फैलियो र यसको निवारण के वा कसरी गर्ने भन्ने प्रश्नहरुको सही उत्तर खोज्नु नै आजको विज्ञान जगतलाई मुख्य चुनौती रहेको छ । जीवन, जगत् र मृत्यु नै विज्ञानको नियन्त्रणमा छ भन्ने वैज्ञानिक दार्शनिकहरुले यस संकटको घडी न मृत्यु रोक्न सकेका छन् न जीवन बचाउन । सफा, सुन्दर र स्वच्छ वातावरणमा रहने प्रणय मुखर्जीजस्ता उच्च दर्जाका व्यक्ति पनि कोभिड–१९ को हेतुले मृत्युवरण गर्नुपुगे भने आफ्ना दैनिक आवश्यकता पूरा गर्न नसकी सडक पेटिमा दिनरात गुजारा गरिरहेका निमुखा वर्गहरुमा कुनै लक्षण नदेख्दा वैज्ञानिकहरु आफैं अन्यौलमा छन् ।
रसिया, अमेरिका, भारत, चीन, बेलायत लगायत विश्वका करिब १५० भन्दा बढि राष्ट्रहरुका वैज्ञानिक र विभिन्न स्वास्थ्य संगठनमा कार्यरत विज्ञहरु कोभिड–१९ को भ्याम्सिनको खोजीमा तल्लीन छन् आजभोलि । रसिया र चीनका विशेषज्ञहरुले कोभिड–१९ को भ्याक्सिन लगभग अन्तिम चरणमा पुगेको बताएका छन् । यद्यपि, कुनै पनि औषधी पूर्णतयाः रुपमा मानिसमा सञ्चालन गर्न कम्तीमा १० वर्ष लाग्ने भन्ने तथ्यका आधारमा के एक वर्षभित्रै बन्ने भनिएको कोभिड–१९ को भ्याक्सिनले यो महामारी निक्र्याैल गर्न सक्ला र ? भन्ने प्रश्नले वैज्ञानिकहरुमाथि थप अर्काे चुनौती थपिदिएको छ । कोभिड–१९ एक भाइरस हो र यसको वर्तमान समाधान मास्क, सेनिटाइजर र दुरी कायम गर्नु नै हो भन्दै आइरहेको विश्व स्वास्थ्य संगठन पनि आफैंमा स्पष्ट छैन । हालसम्म विश्वमा कोभिड–१९ बाट संक्रमित १००% व्यक्तिहरुमध्ये ४% संक्रमितले अकालमै मृत्युलाई आलिकन गरिसकेका छन् । दिनानुदिन संक्रमितहरुको संख्या तीव्र गतिमा बढिरहेको खबरले मानव जीवन झन् भयावह बन्दै गएको छ । यद्यपि, यस्तो विकराल परिस्थिति निम्त्याउने महामारीको अझै निराकरण गर्न नसक्नु, विज्ञान जगत्को ठूलो कमजोरी बनिसकेको छ र विज्ञान आफैंमा एउटा भ्रम हो कि भन्ने दुविधा सृजना हुन थालिसकेको देखिन्छ । तसर्थ, भविष्यको सुदृढिकरण र समुन्नत विकासको लागि विज्ञान र प्रविधिको अस्वस्थ प्रतिस्पधाृ अन्त्य गरी मानव जातिमाथि आइपरेको यो महामारीलाई पूर्ण रुपमा निराकरण गर्दै भविष्यमा यस्ता संकटहरु आउन नदिनु नै आज विज्ञानको लागि चुनौती हो ।
वास्तवमा, समस्या नै सफलताको खुड्किलो हो । त्यसैले समस्यालाई अवसरको नजरले हेर्ने हो भने कोभिड–१९ ले निम्त्याएको यस महामारीबाट पनि केही फाइदा भएका छन् र यस घडिलाई विभिन्न क्षेत्रले अवसरको रुपमा लिन सक्छन् । पहिलो, यस महामारीको कारणले आज विश्व एकताको सुत्रमा बाँधिउको छ । यस किसिमको महामारी आउन नदिन विज्ञान र प्रविधिको उचित प्रयोग गरेर दिगो विकासको लक्ष्यहरु कति घातक र कति सार्थक भनी मूल्यांकन गरेर मात्रै योजनाहरुको मूर्त रुप दिन थालिएको छ । दोस्रो, सधैं तँछाडमछाड गर्दै प्रतिस्पर्धाको जमातमा उत्रिएर आफ्नो स्वस्थ जीवन अस्वस्थ बनाउन व्यस्त रहने मानिसहरु आज एकअर्काको स्वस्थ जीवनको कामना गरिरहेको देख्न सकिन्छ । एकातिर महामारीले निम्त्याएको संकट छ भने अर्काेतिर निर्जिवझैं बनिसकेका मानवीय मनमा सौहार्दता, मानवता र मेलमिलापका पालुवा पलाएका छन् । त्यस्तैगरी यो फुर्सदको समयमा सामुहिक अध्ययन र अनुसन्धानमा अग्रसर बन्दै विश्वका हरेक क्षेत्रबाट कोभिड–१९ को तथ्यांक संकलनमा एकीकृत भएर लाग्न सक्छौं । यसका साथै, समुदायस्तरदेखि वैज्ञानिक प्रयोगशालामा गरिएको गहिरो अध्ययनले कोभिड–१९ जस्तो महामारीबाट चाँडोभन्दा चाँडो उम्कन सकिने तथ्यहरु सार्वजनिक गर्न सकिन्छ । कोभिड–१९ लाई थप फैलिन नदिन हाल विश्वका धेरै देशहरुमा लकडाउन गरिएको यो समय वैज्ञानिकहरुको लागि थप खोज र अनुसन्धानमा लाग्ने सुनौलो अवसर हो । वर्तमान समयमा कलकारखाना, विमान र गाडीहरु ठप्प भएको हुँदा विज्ञान क्षेत्रमा आबद्ध वैज्ञानिक र विद्यार्थीहरुले हावाको गुणस्तर, वातावरणमा हरितगृह ग्याँसको मात्रा, विश्वव्यापी परिवर्तन, विश्वको तापक्रम आदि विषयमा गहिरो अध्ययन गरेर अन्य समयसँग तुलना गरेर विभिन्न जर्नल र लेख प्रकाशन गर्न सक्छन् । भविष्यमा यस्तो महामारी आउन नदिन हालको फुर्सदको समयमा सावधानीका उपायहरु छलफल गर्न सकिन्छ । इन्टरनेटको माध्यमबाट यस महामारीले निम्त्याउने भोकमरी, गरिबी र सामाजिक विकृतिहरुलाई कसरी निराकरण गर्ने भन्ने विषयमा अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत विज्ञ, स्वास्थ्यकर्मी र राष्ट्र प्रमुखसँग बैठक बसी समायोजनका उपायहरु निर्णय गर्न सकिन्छ । अर्काेतिर, अध्ययनलाई अगाडि बढाउन नपाएका विद्यार्थीहरुको लागि यो समय अध्ययन र अनुसन्धानमा लाग्ने एक सुनौलो अवसर हो, जसबाट उनीहरु आफैं आत्मनिर्भर बनेर नौलो इतिहास कोर्न सक्छन् । यसरी, माथि उल्लेखित विभिन्न कार्यलाई जोड दिएर यो विपद्को समयलाई अवसर बनाउन सकिन्छ ।
यसरी चीनको वुहान शहरबाट सुरु भएको सिमियर एक्युट रेस्पिरेटोरी सिन्ड्रोम कोरोना भाइरस अर्थात् कोभिड–१९ ले विश्वको अर्थतन्त्रमा ठूलो ह्रास र अकल्पनीय मानवीय क्षति गरेको छ । यस भाइरसको संक्रमणबाट बाँच्न मानिसहरु आफ्नै गृहमा आफैं बन्दी बनेर बसिरहेको कुरा सर्वाेपरी स्वीकार्य छ । पर्यटन, होटल, फिल्म हल, उद्योग, खेलकुद र शिक्षा क्षेत्रमा कोभिड–१९ को प्रतिकुल असरले दिनानुदिन यि क्षेत्र धरासायी बन्दै गइरहेका छन् भने कृषि र मेडिकल क्षेत्रमा मानिसको चाप बढेको तथ्यांकले जनाएको छ । प्रकृतिको पारिस्थितिक प्रणालीलाई बिथोल्दै उत्सर्गमा पुगेका विज्ञानका अन्धो भक्तलाई कोभिड–१९ ले दह्रो झापड दिएको छ । तीव्र गतिमा लम्किएका विकासप्रेमी मानिसलाई कोभिड–१९ ले पृथ्वीमा अन्य सजिव र निर्जीव वस्तुको पनि आ–आफ्नै महत्व रहेको कुरा सिकाउनुको साथै वातावरणमैत्री कार्यलाई मात्र प्राथमिकता दिन कडा चुनौती दिएको देखिन्छ । यसर्थ, विज्ञान र प्रविधिलाई अझ विस्तार गर्न र कोभिड–१९ जस्तो महामारीबाट बाँच्न आजैदेखि प्रकृति र विज्ञान एकअर्काको परिपूरक हुन् भन्ने कुरालाई बुझी प्रकृतिलाई असर पर्ने मानवीय हर्कतलाई रोक्नुपर्दछ । यसका साथै यस महामारीको घडीमा एकअर्काको खुट्टा तान्ने प्रवृत्ति त्यागी उच्च सतर्कता अपनाउँदै भाइरस आफैं कमजोर बन्दै जानेछ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |