हस्तबहादुर तामाङ, अध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पनौती नगर समिति
शालिनताको अर्काे रुप मानवमा कहीँ भेटिन्छ भने हस्तबहादुर तामाङलाई लिन सकिन्छ । राजनीतिक क्षेत्रमा २०४८ बाट सक्रिय भूमिका निर्वाह गर्दै आज पनौती नगरपालिका नेकपा माओवादी केन्द्रको अध्यक्ष जस्तो गरिमामय पदमा सर्वसम्मत चयन हुन पुग्नुभएको छ ।
राजनीतिक जीवन भन्नुपर्दा २०४८ देखि ०५२ सम्म अनेरास्ववियु अध्यक्ष २०५३ देखि ०५५ सम्म राजनीतिक रुपमा सामाजिक अभियन्ता २०५५ देखि ०५८ सम्म जनमिलिसिया, ०५८ देखि ०६२ सम्म उपत्यका ३ नं. मजदुर विशेष ब्युरो, ०६३÷०६४ देखि काभ्रे काठमाडौं गणतान्त्रिक मञ्च अध्यक्ष, ०६६ देखि ०७१ सम्म संयन्त्र प्रतिनिधि, ०७१ देखि ०७८ सम्म पनौती नगर सहसंयोजक हुँदै आज नगर अध्यक्षको रुपमा स्थापित तामाङ बत्तीमुनिको अँध्यारोमा २०३२ फाल्गुन २० मा निम्न मध्यम परिवारमा माता पुतलीमाया तामाङ र पिता वीरबहादुर तामाङको जेठो सन्तानको रुपमा यस धर्तीमा पाइला टेकेका थिए । शिक्षाको सवालमा कुशादेवी मा.वि. हुँदै प्रमाणपत्र तहसम्म अध्ययन पूरा गरेका लामा राजनीतिक रुपमा अत्यन्तै प्रभावशाली मानिनुहुन्छ । उनै तामाङसँग भर्खरै नगरको नेतृत्व सम्हाल्दै गर्दै पार्टीलाई अगाडि लैजाने योजनाहरुसँग सम्बन्धित रहेर गरिएका कुराकानीको सार प्रस्तुत गर्ने जमर्काे गरेका छौं । स.
१. नमस्कार ! नेतृत्व आएको छ, के सोच्नुभएको छ ?
नमस्कार ! पार्टी संगठनले आवश्यकता महसुस गरेर जिम्मेवारी दिएको छ । त्यो जिम्मेवारी पूरा गर्ने अठोटका साथ लागिपर्नेछु । हुन त त्यति सहज छैन । किनकी पनौती नगर आवरणमा हेर्ने हो भने अत्यन्तै चुनौतीपूर्ण राजनीतिक आवरणले भरिएको मान्न सकिन्छ । प्राविधिक कारणले नेकप माओवादी केन्द्र ओझेलमा भएको आम नगरवासीको बुझाइ छ । त्यसबाट माथि उठाउनका लागि चुनौतीहरुसँग सामना गर्नैपर्छ । त्यसैले पनि त्यति सहज छैन तर म सहज रुपमा अवतरण गर्छु भन्ने हिम्मतका साथ आएको छु ।
२. तपाईंको भनाई अनुसार माओवादी केन्द्रले पनौतीलाई सम्बोधन गर्न सक्छ भन्ने उदाहरण कसरी राख्नुहुन्छ ?
राजनीतिमा स्वभाविक रुपमा उतारचढावहरु आउँछन् । स्मरण रहोस्, के माओवादीले २०६४ सालमा बहुमत ल्याउँछ भन्ने कसैले कल्पना गरेका थिए ? हो, आज त्यो महिमालाई फेरि पूर्णता दिन कार्यकर्ता लेभलमा आवश्यक प्रशिक्षण र अनुशासनका पाटाहरु केलाउन जरुरी छ । यदि यसो गर्न सकियो भने गुमेको विरासत नफर्केला भन्ने सकिन्न । राजनीति रुपमा पनौतीको भूगोल सचेत मानिन्छ । हिजो सशस्त्र जनयुद्धमा पनि पनौतीले एउटा पहिचान छोडेको थियो । जसको जगमा टेकेर जनयुद्धले एउटा सार्थकता प्राप्त गरेको थियो । त्यो सार्थकतालाई चिरस्थायी दिन नसक्दा आज यो अवस्थामा पुगेका हौं ।
३. के विगतका नेतृत्वहरुले पार्टीपंक्ति र कार्यकर्ताको चाहना विपरित चलेकै कारण यो अवस्था आइपुगेको भन्न खोज्नुभएको हो ?
त्यसो पनि भनि नहालौं । यात्रामा कमी कमजोरी हुन्छ, काम गर्ने क्रममा को कहाँ चुक्यो त्यसतर्फ सूक्ष्म अध्ययन गर्दै त्यसबाट पाठ सिकेर पार्टीलाई अग्रमोर्चामा उपस्थित गराउने प्रणका साथ आएका छौं । हामीलाई विश्वास छ, आगामी स्थानीय निर्वाचनसम्म पार्टीले एउटा उपस्थिति देखाउने छ र विपक्षहरुका लागि आँखाको कसिंगर बनिदिनेछ । जसलाई पनौती नगरवासी आम कार्यकर्ता, शुभचिन्तक, पार्टीपंक्तिले स्थापित गराउनेछन् । त्यसका लागि हाम्रो नेतृत्वले कुनै किसिमको कसुर बाँकी राख्ने छैन । नगरवासीबीच आत्म आलोचनासहित पुग्नेछौं र अतितका कमजोरीबाट रुपान्तरणको पहिचान दिँदै पनौतीले अग्रगामी छलाङ्ग मार्ने विश्वास राख्नेछौं । त्यसका लागि तपाईं सञ्चारकर्मीहरुले पनि आ–आफ्नो स्तरबाट सकारात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास पार्टी पंक्तिले लिएको छ ।
४. त्यसो हो भने माओवादीप्रति विपक्षीहरुले छरेका भ्रमहरुलाई कसरी सम्बोधन गर्नुहुन्छ ? केही त्यस्ता योजना छन् ?
अवश्य ! हामी विपक्षीले लगाएका प्रत्येक आरोपहरुका बारेमा नगरवासीलाई सुसूचित गराउने छौं । जुन किसिमको भ्रमको खेती एमाले, कांग्रेसले लगाएका छन्, त्यसका बारेमा नगरवासीहरुलाई स्पष्ट पार्दै ति भ्रमका विरुद्ध स्वयं नगरवासीले प्रतिकार गर्ने वातावरण बनाउने छौं । स्मरण रहोस्, तपाईंले भन्न खोज्नुभएका केही प्रसंग यिनै हुन सक्छन्, जो विपक्षीहरुले प्रत्येक नागरिकको मन, मष्तिष्कलाई विषाक्ता बनाइदिएका छन् । माओवादी भनिसकेपछि व्यक्ति हत्याको एउटा प्रतिबिम्बको रुपमा बुझ्न विवश नागरिकहरुका लागि हामी कार्यकर्ताहरुले यसको प्रतिकारात्मक रुपमा उपस्थित भएर नागरिकहरुलाई सुसूचित बनाउन नसक्दाको प्रतिक हो माओवादीमाथिको आरोप । त्यसैले माओवादीप्रति लगाइँदै आएको भ्रमको खेती चिर्नु आजको माओवादी शुभचिन्तकहरुको दायित्व, जिम्मेवारी र कर्तव्य हो । जुन भ्रम छरिएको छ, त्यसका विरुद्ध सशक्त रुपमा बस्ती–बस्तीमा जानुछ र विपक्षीहरुका ति भ्रमहरुलाई चिर्दै नागरिकहरुलाई यथार्थता पस्कनुछ । तत्कालिन अवस्थामा माओवादीका नाममा सर्वसाधारणको हत्या गरेर फुली थप्ने र प्रमोशन खानेदेखि अतिरिक्त भत्ताको व्यवस्था गरेर व्यक्ति हत्यालाई प्रोत्साहन दिनेहरुका विरुद्ध आजपनि हामीले चिर्न सकिरहेका छैनौं । ति यथार्थहरुलाई जनताका माझ भण्डाफोर गर्दै जानुको विकल्प छैन । त्यसका लागि आफूलाई माओवादी भन्न रुचाउने शुभचिन्तक, कार्यकर्ता र पार्टीपंक्ति पनि सुसूचित हुन जरुरी छ ।
५. तपाईंले भन्न खोज्नुभएको विषय अलि प्रष्ट पार्ने हो कि ?
मैले यहाँ भन्न खोजेको जुन किसिमको आरोप आज माओवादीमाथि लगाइएको छ, त्यो भ्रम चिर्न खोजेको हुँ । राजनीतिक योजना सहित आन्दोलनमा होमिएको नेकपा माओवादी केन्द्रले कुनै पनि व्यक्ति हत्या गरेको छैन तर आज एमाले, कांग्रेस निकटहरुले जुन भ्रमको खेती गरेका छन्, त्यो सरासर बेइमानी र निरर्थक छ । माओवादीले त प्रतिकारात्मक प्रतिवाद मात्र गरेको हो । व्यक्ति हत्याको प्रशय त नेपाली कांग्रेस र एमालेले गरेका हुन् । उनीहरुको गठबन्धन सरकारले माओवादीहरुको टाउकाको मूल्य तोकेर व्यक्ति हत्यालाई प्रशय दिने काम उनीहरुबाट भएको हो । तपार्इं आफैं सोच्नुस्, टाउको ल्याउनुस्, झोलाभरि पैसा लैजानुस् भनेर उर्दी कसले लगाएको थियो ? यसतर्फ कसैले पनि गम्भीरतापूर्वक सोचेको, खोजेको छैन । एकोहोरो रटान माओवादी व्यक्ति हत्याको नायक बनाइएको छ तर जुन किसिमको किलोसेरा टु अभियान अन्तर्गत निशस्त्र नागरिकहरुको सामूहिक कत्लेआम गरियो, त्यो के माओवादीले गरेको थियो ? अहिले पनि अनमिनको रिर्पाेट हेर्न सक्नुहुन्छ, १६ हजार ८ सय १ मा १३ हजारभन्दा बढी राज्यको निशानामा ज्यान गुमाउनेहरु छन्, त्यो कसले ग¥यो ? यसतर्फ बौद्धिक वर्गले यथार्थता सार्वजनिक गर्नुपर्दैन ? जनताहरुलाई कुहिरोको काग कहिलेसम्म बनाइराख्ने हो ? त्यसैले म यही सञ्चार माध्यम मार्फत् फेरि पनि उद्घोष गर्न चाहन्छु, माओवादीले कहिँ पनि व्यक्ति हत्या गरेको छैन । गरेको छ त जीवन रक्षाको लागि प्रतिकारात्मक सुरक्षा मात्र । यो दौरानमा केही तलमाथि हुन गयो होला तर यति धेरै अतिरञ्जित गर्नुपर्ने विषय होइन यो । नेपाली कांग्रेसले हतियार उठाएनन् ? नेकपा एमालेले बिना राजनीतिक एजेण्डा व्यक्ति हत्या गरेर आएको होइन ? आफ्नो जिउको भैंसी नदेख्ने तर माओवादीको भने लिखा केलाउने संस्कारबाट विपक्षीहरु जबसम्म उठ्न सक्दैनन् तबसम्म अब हाम्रो आन्दोलन निरन्तर रुपमा तिनै विषयलाई चिर्दै अगाडि बढ्ने छ ।
६. जुन विषयवस्तु उठाउनुभएको छ, त्यसले आजको राजनीतिक तरंगलाई सम्बोधन गर्छ भन्ने आधार दिन सक्नुहुन्छ ?
स्वभाविक रुपमा यि विषयहरुका बारेमा नयाँ पिँढिहरुलाई जानकार हुनेछन्, तब यथार्थता जनताको माझ आउने छ । आज मुलुक तिनै १० वर्षे सशस्त्र युद्धमा उठेका एजेण्डाहरुमा अगाडि बढिरहेको छ । जसका कारण यहाँका चन्द्र लामा हुन् या विद्यादेवी भण्डारीले पद प्राप्त गरेका छन् । त्यो एजेण्डा कसको थियो ? यो मुलुकमा झण्डै ७ हजारभन्दा माथि जनजाति आदिवासी, दलित, पिछडा वर्गले नेतृत्व बहन गर्न पुगेको छ । त्यो कसको कारणले ? के माओवादी मर्न तयार नभएको भए आज यो उपलब्धी प्राप्त हुन्थ्यो ? त्यसैले यि प्राप्त सीमित उपलब्धीहरुलाई संस्थागत गर्न पनि माओवादी संगठित हुन आवश्यक छ । अहिले पनि यो मुलुकमा संकट टरेको छैन । त्यसैले माओवादीहरुलाई संगठित गर्दै जनताहरुलाई सुसूचित गर्नुपर्ने दायित्व नेतृत्वको काँधमा आएको छ । जुन उपलब्धीहरुमाथि बेलाबेलामा धावा बोल्ने काम मात्र भएको छैन, त्यसलाई अन्त गर्नका लागि विभिन्न अराष्ट्रिय तत्वहरु बेलाबेलामा सल्बलाइरहेका छन् । कहिले केपी ओलिको रंग लिएर आउँछन् त कहिले कमल थापाको । त्यसैले यो सीमित अधिकारलाई सुनिश्चितता दिन पनि माओवादीको सुनिश्चितता आवश्यक छ । त्यसैले पनि आज माओवादीमय हुँदैछ नेपाल । फेरि एकपटक २०६४ को राजनीतिक परिदृश्य नेपालमा आउन आवश्यक छ । त्यसका लागि जो जहाँ छौं, त्यहीँबाट अगाडि बढौं भन्न चाहन्छु ।
७. राजनीतिक रुपमा नेपाली जनता कतिको प्रशिक्षित देख्नुभएको छ र आज यि कुराहरु पुष्टि गर्न खोज्दै हुनुहुन्छ ?
नेपालको सन्दर्भमा मात्र नभई विश्व राजनीतिक घटनाक्रमलाई हेर्ने हो भने १०/१० वर्षको अन्तरालमा राजनीतिक उथलपुथल भएका छन् । त्यो इतिहासलाई आत्मसाथ गर्दै अगाडि जाने क्रममा नयाँ पिढिँहरुले त्यसको नेतृत्व गर्ने छन् भन्ने संकेत नेकपा माओवादी केन्द्रको पालिकास्तरीय नेतृत्वमा आएको परिवर्तनले पुष्टि गर्दछ । आज जुन प्रविधिको विकास भएको छ, त्योसँगै जनचेतनामा पनि फरक धार सिर्जना भएको छ । मेरा अभिभावकले किन मलाई यहि विषयवस्तु मात्रै इंकित गर्न खोज्छन् भन्ने चासो युवापिढिँमा छ । त्यसैले त्यो चासोलाई व्यवहारतः उठाइदिन सकियो भने परिवर्तन टाढा छैन । जुन किसिमको राजनीतिक उपलब्धी प्राप्त भएको छ, त्यसलाई संस्थागत ढंगबाट अगाडि लानका लागि युवा पिढिँहरुलाई प्रशिक्षित मात्र गर्न सकियो भने पनि राजनीति रुपमा यो मुलुक सम्वृद्ध हुन सक्छ । त्यसका लागि जुन किसिमको गणतन्त्र, समावेशी, समानुपातिक, धर्म निरपेक्षता लगायतका विषयलाई गहन रुपमा अध्ययन गर्दै जनताका माझमा संघीयताको पूर्णता सम्बन्धमा जानकारी गराउन आवश्यक छ । त्यसका लागि सक्षम र सबल नेतृत्व दिनेछौं भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।
८. सीमित अधिकारहरुका बारेमा प्रश्न उठिरहेका छन्, के ति सार्थक हुन् ?
जहाँसम्म माओवादीले उठाएका ४० सूत्रीय एजेण्डाहरु सबै सम्बोधन भए त ? ति त भएका छैनन् । जबसम्म ति एजेण्डाहरु पूर्ण रुपले सम्बोधन हुन्नन्, तबसम्म यि प्रश्नहरु उठ्नु स्वभाविक हो । अहिले आरक्षणको विषयलाई लिएर टिका टिप्पणी सुन्न पाइन्छ, त्यो नितान्त आजको सन्दर्भमा कमजोरीको एउटा मनगढन्ते अभिव्यक्तिका रुपमा लिन सकिन्छ । जबसम्म त्यो वर्गलाई सक्षम बनाउन सकिँदैन, तबसम्म ति आरक्षणका कोटाहरु सुनिश्चित रहन्छन् । जबसम्म राज्यले ति वर्गहरुलाई प्रतिस्पर्धी बनाउने योजना ल्याउँदैन र बनाउँदैन तबसम्म ति विषयवस्तु ज्यूँका त्यूँ रहनेछन् । यि सवाल अझ टड्कारो रुपमा उठेका छन् । संघीयताको मर्म विपरित एमाले, कांग्रेसले समावेशी कोटामा धनाढ्यहरुलाई उभ्याउँदै आएका छन् । त्यो अत्यन्तै नराम्रो र आलोचनात्मक पक्ष हो । ति कोटाहरुमा जसको पहुँच पुग्दैन, जो सामाजिक रुपमा पिछडिएको वर्ग छ, त्यसको उपस्थितिका लागि सिर्जना गरिएका कोटा हुन् । जहाँ जनजाति आदिवासी, दलित, पिछडा वर्ग लगायतका समुदायको सम्बोधन हुनुपर्ने हो तर त्यो हुन सकिरहेको छैन । यसो हुनुमा जसको एजेण्डा, त्यसैलाई विमुख गराइएको छ । त्यसका कारण पनि आज यो विषय आलोचनाको सिकार हुँदै आएको छ । जहाँसम्म माओवादीले जुन एजेण्डा उठाएको थियो, त्यहि एजेण्डामा विपक्षीको राज भएको छ । त्यसले पनि व्यवस्थामाथि नै प्रश्न चिन्ह उठाएको छ । त्यसैले आम नागरिकलाई मेरो आग्रह छ, जसको एजेण्डा हो उसैलाई डाडु पन्यू सुम्पने वातावरण बनाउन अनुरोध गर्दछु । त्यसो भयो भने मात्रै यो व्यवस्थामाथि कहिँ र कतैबाट प्रश्न चिन्हहरु उठ्ने छैनन् । अन्यथा यो व्यवस्थाको बर्खिलापमा यो राज्यसत्ता लागिरहने छ । फेरि पनि आग्रह छ, जनजाति आदिवासी, उत्पीडन वर्ग, दलित लगायतले आफूलाई उपल्लो तहमा देख्न चाहने हो भने परिवर्तन हुन आवश्यक छ । अन्यथा यो मुलुक नै दुर्घटनामा नजाला भन्न सकिन्न ।
९. अन्त्यमा मैले सोध्न छुटेका र यहाँले राख्नैपर्ने देख्नुभएको कुनै त्यस्ता विषय छन् ?
राजनीतिक रुपमा त्यस्तो देख्दिनँ तर पनौतीमा राजनीतिक भन्दा पनि अन्य विषयहरु विषम् अवस्थामा छन् । जस्तैः खानीको सवाल टड्कारो रुपमा देखिएको छ । जसका कारण कुनै पनि बेला पनौती आसपास सोनामीको सिकार नहोला भन्न सकिँदैन । त्यस्तै एकीकृत खानेपानीका मुहानहरु दिनप्रतिदिन सुक्दै गएका छन्, त्यसको संरक्षणका लागि यस भेगबाट ढुंगाखानीहरुलाई विस्थापित गर्नैपर्छ तर अहिलेका शासकहरु विषेश गरी एमाले, कांग्रेसले ति भूगोलहरुलाई दुहुनो गाई बनाउँदै आएका छन् । जसको प्रत्यक्ष असर यस क्षेत्रका नागरिकहरुमा परिरहेको छ । दिनप्रतिदिन टिपरहरुको चाप एकातिर दुर्घटनाको आधार बनेको छ भने अर्काेतर्फ खेतीयोग्य भूमिहरु नाश हुँदै गइरहेका छन् । यसबाट पर्ने प्रत्यक्ष असरहरु अन्त्य गर्नका लागि पनि नेकपा माओवादी केन्द्र पनौती नगर समितिको पहिलो एजेण्डाको रुपमा आउनेछ । नेकपा माओवादी केन्द्र कुनै पनि नागरिकको स्वास्थ्यमाथिको खेलवाडलाई खबरदारी गर्नेछ र त्यसका विरुद्ध आइपर्ने जस्तोसुकै चुनौतीसँग सामना गर्न पछि पर्नेछैन । त्यसैले पनि माओवादीले उठाएका स्थानीय एजेण्डा हुन् वा राष्ट्रिय एजेण्डालाई स्थापित गर्न नागरिकहरुको महत्वपूर्ण सहयोगको अपेक्षा राख्दै बत्तीमुनिको अँध्यारो पनौतीलाई फेरि एकपटक मैनबत्तीको खाँचो छ, त्यसलाई पूरा गर्ने विश्वासका साथ नगरवासीसामु आएका छौं र हाम्रो आग्रहलाई नगरवासीहरुले सम्बोधन गर्नुहुन्छ भन्ने अपेक्षा पनि राखेका छौं ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |