“शक्तिमाया तामाङ, बिबिसी नुवाकोट” समाचारका पारखीहरुका लागि यो नाम पर्यायवाची शब्द बनिसकेको हुनुपर्छ । उहाँले पत्रकारितामा जीवन देखेपछि त्यसैमा रम्ने निधो गरेपश्चात्का उपलब्धी अहिले प्रत्येक रात ८ः४५ बजे देखि ९ः१५ सम्म हामीले पाउने सन्देश लिएर आउने ति जबरजस्त पात्र हुन् तामाङ । नारी यानिकी महिला, महिलाका बारेमा हिजो सत्ययुग देखि आज कलियुगसम्म आइपुग्दाको इतिहास केलाउने हो भने महिलालाई अब्बल दर्जाका रुपमा राखिएको पाइन्छ । यथार्थ रुपमा यदि तथ्यपरक ढंगले खोजी गर्ने हो भने पुरुषभन्दा सयौं गुणा सक्षम र योद्धा विरंगणा कोहि छ भने त्यो नारी नै छन् । दैविक शक्तिका कुरा गर्नुहुन्छ या दश वर्षे जनयुद्ध ! जसले खड्गदेखि एसएलआर सम्मका हतियार चलाउने हिम्मत राख्नु मात्र होइन, प्रयोग गरेरै आएको तथ्य हाम्रा सामु छ । सत्ययुगमा देवीका रुपबाट राक्षसहरुको बधदेखि सिता र भृकुटीलाई लिएर कलियुगमा सत्यताको पक्षमा एउटा हुँकार छोड्ने पछिल्लो योद्धा रामकुमारी झाँक्रीसम्मका बारेमा हेर्ने हो भने पनि नेपाली आकाशमा महिलाले पु¥याएको योगदानको जति नै चर्चा गरेपनि अपूरै हुन्छ ।
यसै पंक्तिमा आफूलाई समाहित गर्न पछिल्लो पुस्ता पनि सशक्त रुपमा लागिपरेको छ भन्दा फरक पर्दैन । त्यहाँ खड्ग, एसएलआरभन्दा सयौं गुणा उच्च प्रविधिलाई चुम्ने कोसिसमा पुग्दैछन् आजका महिला । यहि प्रेरणाबाट लगाव र समर्पणलाई पुष्टि गर्दछ । त्यसमध्येकै एक पात्र हुन् शक्तिमाया तामाङ ।
नुवाकोट जिल्लाको म्यगाङ गाउँपालिका वडा नं. ६, पनेरामा आमा पोच्यो तामाङ र बुबा मनबहादुर तामाङको कोखमा जन्म लिन पुग्नुभएकी शक्तिमायाले समयकालसँगै त्यो टहटह जुनेली रातसँगै सुनौला सपनाहरु सिंगारेर यात्रामा निक्लेको पनि आज दशकौं बितिसकेको छ । के बनाउने सपना थियो आमाबुबाको तर के बनियो । परिवारको एक्लो सन्तान जीवन कसैको नियन्त्रणमा नहुँदो रहेछ भन्ने आफ्ना अतितका पानाहरुबाट एक पटक ओकल्ने कोसिस गर्नुहुन्छ बिबिसी संवाददाता तामाङ । कल्पनै थिएन आज यो अवस्थामा आइपुग्छु भन्ने । त्यसैले समर्पण नै मुख्य त्याग हो भन्ने ठम्याइमा तामाङ पुग्नुहुन्छ । यिनै विषयवस्तुसँग रहेर उहाँसँग भएका केही संवादहरुलाई पाठकसामु पस्किने कोसिस गरेका छौं । सं.
१. नमस्कार ! हजुरको दैनिकी कसरी व्यतित गर्दै हुनुहुन्छ ?
नमस्कार ! अकस्मात् आज किन यि कुराहरु कोट्याउन खोज्दै हुनुहुन्छ ? पत्रकारको जिन्दगीका बारेमा भनिराख्नुपर्ला र ? एउटा इमान्दार पत्रकारको जिन्दगी कसरी बित्छ ? त्यसमा पनि हाम्रो जस्तो पुरातनवादी सोच, संस्कारमा रुमलिएको बस्तीमा त्यसमा पनि हामी आदिवासी जनजाति महिला कुन अवस्थामा होला, विचार गर्नुस् ।
२. मैले हजुरलाई त्यसो भन्न खोजेको होइन, अतितका कुरा आफ्नो ठाउँमा रहलान्, वर्तमान अवस्थामा आइपुग्दा हजुरका भोगाइहरुका बारेमा केही बताइदिनुहुन्छ कि भन्न खोजेको !
के बताउनु, सानै उमेरदेखि नै अलि हक्की स्वभावको मान्छे, बालापनमा पनि सबैले यो त खरो छे भन्थे र स्वभाव पनि त्यस्तै–त्यस्तै थियो । स्कूले जीवनमा कसैसँग दबिन परेन । त्यहीबिचमा सितेरियो कराँतेको खेलाडी हुने अवसर मिल्यो । स्कूल, कलेजमा खेलकुदको क्षेत्रमा अब्बल रुपमा गनिँदै आएको थिएँ । फुटबल होस् या भलिबल, कराँते होस् या टिम क्याप्टेनको भूमिकामा अब्बल रुपमा आफूलाई उभ्याउँदै आएको थिएँ तर समय बलवान् हुँदो रहेछ । सबैले मलाई एउटा होनहार खेलाडीको रुपमा देख्न चाहेका थिए । परिवारको एक्लो सन्तान भएको कारणले पनि पारिवारिक बोझ सबैलाई सहज रुपमा आत्मसाथ गर्दै आमा र बुबाको साथ, हौसला र प्रेरणाबाट मैले धेरै कुराहरु सिक्ने अवसर मिल्यो तर आमा बुबा र समाजको चाहनाभन्दा फरक पाटो समाउन पुगें ।
३. भनेपछि तपाईं पत्रकारिता भन्दा पनि खेलकुदको क्षेत्रमा आफूलाई उभ्याउन चाहनुहुन्थ्यो, होइन ?
हो, मेरो स्कूले जीवनले त्यही कुरा पुष्टि गथ्र्याे । समय बलवान् छ, समय अनुसार चल्नसक्नुपर्छ । जसले मलाई शुरुमै बाध्यात्मक अवस्थामा पु¥यायो भन्दा पनि हुन्छ । मैले पढेर पत्रकारिता गरेको होइन, परेर गरेको हुँ । त्यतिबेला गाउँदेखि शहर आउन जान सहज थिएन । जसका कारण मैले कहिँ न कतै आश्रय लिनैपथ्र्याे । त्यहि आश्रयका कारण आज म बिबिसी संवाददाताका रुपमा स्थापित हुन पुगें । कसैले रहरले बन्थ्यो त कसैले कहरले बन्थ्यो । जागिर केका लागि गरिन्छ ? भन्नैपर्दा मलाई रहरले पत्रकारिता सिकायो । जहाँ रेडियोभित्र बोल्ने मान्छे कहाँ होला, कसरी बोल्दो होला आदि इत्यादि कौतुहलता एकातिर थियो भने त्यसरी बोल्न पाए र त्यो बोली कुना कन्दरासम्म पु¥याउन सके मेरा दूरदराजमा रहेका आमाबुबाले कति खुशी मनाउनुहुन्थ्यो होला है ! भन्ने अनगिन्ती कौतुहलताहरुलाई सम्बोधन गर्न कोराकागजको रुपमा म २०६९ साल पौष ५ गतेबाट पत्रकारितालाई कर्म थलोको सम्हाल्न पुगें । नुवाकोट मिडिया प्रा.लि.द्वारा टेलिभिजन पत्रकारिता सम्बन्धी छोटो अनुभवबाट प्राप्त अवसरलाई सदुपयोग गर्दै आज यहाँ आइपुगें ।
४. त्यसो भए तपाईंको चाहना एउटा र व्यवहारिकता अर्काे संयोजन भएको त होइन ?
यथार्थमा भएकै त्यहि हो । स्कूल जीवनदेखि कलेज जीवनसम्म आइपुग्दा कुनै कल्पनै गरेको थिइनँ पत्रकार बन्छु भन्ने तर पहिला रेडियोमा बोल्ने मान्छेहरुका बारेमा मेरो खोजीको विषय बनेको थियो भने शहर झरेपछि टेलिभिजनको पर्दामा देखिने पात्रका बारेमा अत्यन्तै कौतुहलता जागिरहेको थियो । यसैबीच एकाएक तालिमको अफरलाई आत्मसाथ गर्ने अवसर मिल्यो । सामान्य तालिमका भरमा क्यामराको बुम अथवा माइक कसरी समात्ने ? क्यामेरामा फेसिङ कसरी गर्ने भन्ने कुरा पनि थाहा थिएन । टेलिभिजन पत्रकारिता, समाचार प्रस्तोता र अन्य प्राविधिक ज्ञान, तालिमको सिलसिलमा सिकेकी हुँ । नुवाकोट मिडिया प्रा. लि. ले नुवाकोटमा टिभी त्रिशुली सञ्चालन ल्याएको हुँदा बजारिया जीवनलाई सहज बनाउन मसँग अर्काे विकल्प पनि थिएन । त्यसैले २०७० साउनबाट म टिभी त्रिशुलीमा काम गर्ने अवसरका रुपमा प्रवेश गरेँ । जसले मलाई पढेरभन्दा परेर काम सिकिन्छ भन्ने अनुभव दिलायो । हुन त मैले टेलिभिजन पत्रकारिताका केही अनुच्छेदहरु सिक्ने अवसर पाएको थिएँ तर शुरुमै टेलिभिजन पत्रकारितामा होमिँदा के–कस्ता समस्या आउँदा रहेछन् भन्ने कुरालाई चुनौतीका रुपमा लिँदै अवसरमा उपयोग गरें ।
५. तपाईंको संघर्षका जीवनबाट नयाँ पिँढिले के सिक्न सक्छन् ?
सबैभन्दा ठूलो कुरो कामप्रति विश्वास र लगाव हुनुपर्छ । तबमात्र आफूले कोरेका गोरेटाहरु पछ्याउन सकिन्छ । मैले त के मेरो परिवारले पनि कल्पना नगरेको बाटो अँगाल्न पुगें । मेरा लागि यो आज एउटा सुनौलो अवसर भएर बसेको छ । कहिले पनि समस्यासँग हार मानिनँ । आफ्नो लक्ष्यमा केन्द्रित रहेँ । टेलिभिजनमा झण्डै ५ वर्ष काम गरेपश्चात् अर्काे अवसर जु¥यो, बिबिसी नुवाकोट संवाददाताको रुपमा जोडिने । जसका लागि निकै कसरत गर्नुप¥यो, त्यसले मलाई निकै ठूलो पाठ पनि सिकायो । नितान्त फरक पाटोबाट आएको त्यसमा पनि आदिवासी जनजाति संघर्षका बारेमा जति नै कोरेपनि अपूरै रहन्छन् तर मलाई यात्राबाट विचलित हुन भने पटक्कै दिएन, किन हो थाहा छैन । जति नै संकट आइपरे पनि मेरो मन कहिले पनि विचलित भएन, जसले मलाई विभिन्न सञ्चार गृहको आँखामा पर्न सफल भएँ । बिबिसी नेपाली सेवा, त्यसैगरी रेडियो चिम्छेश्वर, विभिन्न पत्रपत्रिकाहरु, अनलाइनहरुलाई मैले अवसरको रुपमा लिएँ र समर्पित हुँदै गएँ । आज पनि यहि पेशामा आबद्ध छु ।
६. तपाईंको भनाइ अनुसार पत्रकारिता त्यति सहज छैन भन्न खोज्नुभएको हो ?
यथार्थ भन्नुपर्दा हो । आचारसंहिताभित्र रहेर तथ्यपरक पत्रकारिता गर्ने हो भने फलामे अनुशासनलाई आत्मसाथ गरेर खुकुरीको धारमा रहनसक्नु नै पत्रकारिताको मूल मर्म हो भन्ने मेरो बुझाइ छ । बिडम्बना ! आज कयौं पार्टी पत्रकारितामा रुमलिएका छन् भने कयौं सहयात्रीहरु गुलामी पत्रकारितामा अल्झिनुभएको छ । यो अवस्थामा कसरी पत्रकारिता सहज छ भनौं ? अनि समाजको आँखा जसले समाजको रुपान्तरणमा महत्वपूर्ण भूमिका निभाउँछ, त्यो शक्तिले नै बाटो बिराएपछि के हुन्छ ? त्यसैले आजको पत्रकारितालाई साँच्चै सत्यतथ्य र निष्पक्ष पत्रकारिता भनिरहन गाह्रै पर्ला । यसो भनिरहँदा म बाहेक अरु सबै बेठिक भन्न खोजेको चाहिँ होइन तर केही सञ्चारकर्मीहरुले पत्रकारिताको मर्म नै बिर्सिएको चाहिँ पक्कै हो । त्यसबाट बाहिर नआएसम्म स्वच्छ पत्रकारिता, निष्पक्ष पत्रकारिता, खोजमूलक पत्रकारिता ओझेलमै परेका छन् । यसमा म दावाका साथ भन्छु । पत्रकारितालाई कमाइ खाने भाँडो बनाउनुभन्दा पनि एउटा निष्ठासँग जोडेर उठाउन सकियो भने नयाँ पिँढिहरुका लागि प्रेरणा सावित हुनेछन् । तसर्थ एउटा सफल पत्रकारका लागि उसले त्यो पथ बिर्सिनु हुन्न, जुन पत्रकारिताभित्रको महत्वपूर्ण कडीका रुपमा रहेको आचारसंहिता जसले सफलतातर्फ केन्द्रिकृत गर्न महत्वपूर्ण भूमिका खेल्दछ । भनिन्छ, सफलता उसैका लागि सम्भव छ, जसले आफ्नो निश्चित सपनालाई विश्वास गर्दछ । ठिक म त्यहि गरी सधैं आफ्नो सपनालाई विश्वास गरी पत्रकारिता गरिरहें । फेरि पनि म भन्न चाहन्छु, म पत्रकारिताको विद्यार्थी होइन तर सिकेर पत्रकारिता गरेकी हुँ । त्यसैले काममा चुनौती त थपियो तर ति चुनौतीलाई पूरा गर्दा मैले धेरै राम्रा अनुभवहरु पनि हासिल गरें । जानेर, सिकेर गरेको कामको भन्दा आफैंले सिक्दै गरेको कामले झन् काममा निखारता ल्याउँदा झन् हौसला मिलेको छ । एक त चुनौतीपूर्ण कार्य पत्रकारिता, त्यसमा पनि महिला भएर कार्य क्षेत्रमा निस्कँदा बाहिरी वातावरणसँग आफैंलाई ढाल्न निकै कठिन भोगेको एउटा सिपाही हुँ तर हिम्मत र हौसला रहेमा जस्तोसुकै कठिनाइ पार गरी एकदिन लक्ष्यमा अवश्य पुग्न सक्नेछ भन्ने विश्वासका साथ मेरो पत्रकारिता यात्रा चलिरहेको छ ।
७. तपाईं पत्रकार मात्र त होइन नि ! तपाईं कसैको गृहिणी, कसैको आमा पनि हो, यसमा के देख्नुहुन्छ ?
म त्यतिमात्र होइन, कसैको बुहारी पनि हुँ । मैले चुलोचम्को देखि परिवारका सदस्य र पाहुनापाछाहरुको समेत सत्कार र दायित्व निर्वाह गर्नुपर्दछ । म महिला पत्रकार मात्र होइन भन्ने मैले आत्मसाथ गर्नुपर्छ । म आमा पनि हुँ, श्रीमती पनि हुँ, मैले आमाको दायित्व पूरा गर्नुका साथै पारिवारिक जिम्मेवारीहरु बहन गर्ने कोसिस गर्दै यो पेशालाई आजसम्म निरन्तरता दिँदै आएको छु । जीवनका हरेक अवस्थाहरुमा आफूलाई सँगसँगै लान सक्नुपर्छ भन्ने मेरो मान्यता हो भने जीवनको हर अवस्थामा पनि विचलित नभई आफ्नो पेशाप्रति विश्वासका साथ प्रत्येक समस्याहरुको सामना गर्दै जीवनलाई थप आयाम वा नयाँपन बनाउँदै जाने जमर्काे गरेको छु । जन्मघरदेखि कर्मघरसम्मका परिवारबाट मेरो यहि व्यवहारले न्यानो सहयोग र हौसला पाइरहेको छु । यो सबै समर्पणले नै गर्दा प्राप्त गरेको मैले महसुस गरेको छु । काम गर्ने क्रममा मभन्दा धेरै अग्रजहरु पनि यात्रामा सँगै हुनुहुन्छ । उहाँहरुको साथ सल्लाहकै कारण आज मेरो पत्रकारिता फस्टाइरहेको छ । मलाई पत्रकारितामा ल्याउने ति गुरुहरुलाई मैले भुल्नु हुन्न । जसले मलाई आजका दिनसम्म पत्रकारितमा दोहो¥याइरहनु भएको छ । यात्राकै बारेमा भन्नुपर्दा आज पनि उहाँहरुको साथ र सहयोगले यो उचाइ चुम्न पुगेको छु ।
८. तपाईंको पत्रकारिताभित्र जुन किसिमको भावना जोडिएको छ, त्यसले सामाजिक र सम्मानका खातिर तपाईंलाई आत्मसन्तुष्टि हुने अरु के–के हुनसक्छ ?
मेरो लगावलाई देखेर र मेरो समर्पणको उच्च मूल्यांकन गर्दै विभिन्न संघसंस्थाले सम्मान स्वरुप विभिन्न विधाका अवार्डहरु दिनुभएको छ । तामाङ मिडिया अवार्ड २०७४, महिला पत्रकारिता पुरस्कार २०७७, नुवाकोटबाट कृष्णमाया लिलानाथ स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट पुरस्कृत हुँदाका क्षणहरुका बारेमा म चर्चा गर्ने शब्दै छैन । जसले मलाई थप जिम्मेवारी बहन गर्न प्रेरणा मिलेको छ । म आफ्नो पेशालाई सदा निष्पक्ष भएर अगाडि बढाउनेछु । हिजो पनि त्यसरी नै आएको थिएँ । यस किसिमको सम्मानपछि थप उर्जा मिलेको छ । म कुनै पार्टीगत, जातिगत, व्यक्तिगत, धर्मगतको आधारमा पत्रकारिता गर्दिनँ भन्ने प्रण गरेको र त्यही अनुसार आजसम्म आइरहेको छु । त्यो यर्थाथतालाई श्रोता तथा दर्शक माझ पु¥याउँदै आएको छु । जहाँ निरन्तरता र निष्पक्ष पत्रकारिताको आभाष मिलेको छ । यसरी पत्रकारिता गरिरहँदा आउने चुनौतीहरुलाई सहज रुपमा अवतरण गराउने कोसिस निरन्तर रहनेछ । म कसैको धम्की र प्रलोभनमा परेर झुटा समाचारको खेती गर्ने छैन । सत्यतथ्य समाचार, सर्वसाधारणमाझ पु¥याउने दृढ अठोटकै कारण आज समाजमा स्थापित हुन पुगेको छु । हाम्रो समाजमा अझै पनि रहेको उत्पीडन, दमनमा परेका आवाजविहिनहरुको बुलंद आवाज उठाउन कहिल्यै पछि परिनँ र पर्नेछैन । यसैको प्रतिबिम्बको रुपमा आजसम्म पत्रकारितामा जीवन पाएको छु । जसले मलाई सन्तुष्टि दिएको छ ।
९. मैले सोध्न छुटेका र हजुरले राख्नैपर्ने कुनै त्यस्ता विषय भए जोडिदिनुस् !
मैले मेरो व्यक्तिगत भन्दा पनि संस्थागत र सामाजिक हितका लागि पनि कलम चलाउनुपर्छ । त्यो दायित्व पूरा गर्नेछु भन्ने विश्वास यहि सञ्चार माध्यम मार्फत् सार्वजनिक गर्न चाहन्छु । जसले मलाई विश्वास गरेर नेतृत्वदायि भूमिका दिनुभएको छ, त्यसमा आँच आउन दिनेछैन । विभिन्न कालखण्डमा मैले भोगेका संघर्षपूर्ण आरोह, अवरोहबाट पाठ सिक्दै हामी मानवले मानवीय संस्कारलाई आत्मसाथ गर्दै अगाडि जाने क्रममा आइपर्ने कुनै पनि चुनौतीलाई सामना गर्नसक्ने साहस बटुल्नुपर्छ, त्यो आफैंभित्र हुन्छ भन्ने विश्वास तमाम कलमजीविहरुले लिनुपर्छ भन्ने ठम्याई मेरो छ । यो अवसर दिनुहुने तपाईं सञ्चारकर्मी र प्रभातफेरी सञ्चार माध्यमलाई हृदयदेखि आभार व्यक्त गर्दछु ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |