रचना मोक्तान “यात्री”
बाध्यताले २०५४ साल फाल्गुन महिनामा दिदी माओवादी पार्टीमा भूमिगत हुनुभयो । त्यतिबेला अत्यासलाग्दो प्रहरी दमन थियो । राज्यआतंक मच्चिएको थियो । व्यापक प्रहरी परिचालन गरिएको थियो । यस्तो विषम परिवेशमा दिदी भूमिगत हुँदा आमा बेस्सरी रुनु भएको थियो । पीडा त आपालाई पनि थियो । तर आपाले हाम्रो सामु कहिल्यै आँसु झारेर रुनु भएको थाहा भएन । आपा पनि अर्ध भूमिगत जस्तै हुनुहुन्थ्यो । म सबै फेहरिस्त लेख्दै जानेछु । तपाईंहरु पढ्दै जानुस । २०५४ सालमा हाम्रो गाउँमा माओवादी छापामारहरु आएका थिए । केही फटाहाहरुलाई तर्साएका थिए । त्यही निहुँमा प्रशासनले हाम्रो आपा लगायत अन्य तीन जनाको नाममा माओवादी, चोरी, डकैती र लुटपाट जस्तो आरोपमा मुद्दा लगायो । गाउँमा बस्न सक्ने स्थिती नभएपछि अर्को तीनजना मकर ध्वाज काका, लाक्पा काका र इमान सिङ बाजे भूमिगत नै हुनुभयो । इमानसिङ बाजे घर भेटघाटमा आउनु भएको बेला २०५५ साल असार ५ गते घरमै सुतिरहेको बेला पुलिसले समातेर घरबाट करिब १५० मिटरको दूरिमा लगेर गोलि हानी हत्या ग¥यो । यो घटना हाम्रो घर नजिकै भएकोले प्रत्यक्ष आँखा अगाडि देख्यौं । वहाँको शरीर गोलीले ठुल्ठूला भ्वाङ पारेको थियो । रगतको आहालमा डुब्नुभएको थियो । त्यसपछि हाम्रो परिवार झनै आतंकित हुन पुग्यो । आपालाई मुद्दा लागिरहेकै थियो । आपा लुक्दै छिप्दै हिँड्नु भयो । कुन बेला भेट्यो भने गोली हानी हत्या गर्छ भन्ने ठेगान थिएन ।
इमान सिङ बाजेलाई मारेको केही दिनपछि अर्थात ०५५ साल असार ९ गते कटुन्जे निवासी व्यापारी नन्दराज लामा काकालाई पनि घरबाटै समातेर लग्यो । वहाँलाई पोटा खोला दोभानमा हत्या ग¥यो । परिस्थिति झनै प्रतिकूत बन्दै गयो । आपा घर बस्न सक्ने अवस्थै थिएन । एउटै विकल्प थियो कि पूर्ण रूपमा भूमिगत हुने । कि मर्न तयार हुने । हाम्रो परिवार बारम्बार प्रहरी ज्यादतीबाट प्रताडित हुँदै गयो । दिनरात जतिबेला पनि प्रहरीले घर घेरा हाल्ने । सबै परिवारलाई लाछारपछार पार्ने । घर खानतलासी गर्ने क्रम जारी नै राख्यो । एक दिनको कुरा हो २०५५ साल असार १९ गते गाउँमा पुलिस आएको थियो र सबै गाउँलेहरुलाई एक ठाउँ जम्मा हुने उर्दी गरेको थियो । त्यतिबेला आपा पनि घरमा आउनुएको थियो । हामीले “त्यहाँ नजानुस् तपाईंलाई प्रहरीले समात्छ” भन्दाभन्दै आपाले हाम्रो कुरै नमानी त्यहाँ जानुभयो । सायद लुक्दै हिंडेर आजित भएकोले त्यहाँ गएको हुनुपर्छ । आपा पुग्ने बित्तिकै प्रहरी र केही गाउँलेहरु बिच खासखुस कुरा चलेछ । त्यसपछि पुलिसले आपाको नाम लिएर बोलाएपछी “म नै हुँ तेज बहादुर लामा !” भनेर आपाले भन्नुभएछ । अनि तपाईंसँग त हाम्रो केही कुरा गर्नुछ ! भनेर आपालाई हातमा हत्कडी लगाएर कटुन्जे प्रहरी चौकीमा लग्यो । हाम्रो होस हवास नै उड्यो । हाम्री आमाले आपालाई छुटाउन सकिन्छ कि भनेर प्रहरी चौकी दिनरात धाउनु भयो । लाख बिन्ती गर्नुभयो । तर आपालाई छुटाउन सक्नु भएन । पुलिसले ज्यान गए छाडेन । आपालाई गिरफ्तार गरेपछि हामीले पनि माया मारिसकेका थियौं । किनकि त्यो बेला गिरफ्तार गरेपछि सोझा साझा जसलाई पनि गोली ठोकेरै मारेको थुप्रै घटना थियो । आँखै अगाडि बाजे इमान सिङ मोक्तान र नन्दराज लामा मारेको घट्ना ताजै थियो। मेरो बाल मस्तिष्कमा पनि डर र त्रास बाहेक अरु केही थिएन । आमा रुँदै सम्हालिंदै हार गुहार माग्दै हिड्नु भयो । दुई दिन प्रहरी चौकिमा कठोर यातना दिएपछि आपालाई जिल्लामा लग्यो भन्ने खबर आयो । म अलि सानै अझ भनौ १०÷११ वर्षको सिँगाने केटी । आमासँगै रुनु सिवाय केही गर्न सक्दिनथेँ । म चारजना दिदीहरुको एक्ली बहिनी । अझ भनौं आपा आमाको कान्छी छोरी । मायाले पुलपुलिएर हुर्किदै गरेकी बालिका । अलि सानै हुँदा मेरो आपाले कहिलेकाही पिठ्युँमा बोक्नुहुथ्यो । आपाले पिठ्युँमा बोक्दा संसारकै सुखी हुँ जस्तो लाग्थ्यो । कहिलेकाही आपाले काँधमा राख्नु हुन्थ्यो । त्यो बेला लाग्थ्यो म संसारकै अग्लो स्थानमा छु अनि आकाश छुन छोएजस्तो लाग्थ्यो । कहिले काखमा राख्नुहुन्थ्यो । आपाको काख भन्दा सुरक्षित ठाउँ दुनियाँमा कही छैन जस्तो लाग्थ्यो । त्यति मात्र हैन मेरो आपा संसारकै शक्तिशाली पनि लाग्थ्यो । तर त्यतिबेला मेरो आत्मविश्वासले धोका खायो । किन कि मलाई शक्तिशाली लाग्ने मेरो आपा प्रहरीको अगाडि निरीह बन्न पुग्नुभयो ? यस्तै प्रश्नको उत्तरको खोजिमा दिमाग रिङ्गिइरह्यो । आपाको गिरफ्तारीसङ्गै मेरो आत्माविश्वास पनि गर्लम्मै ढल्न पुग्यो । हाम्रो परिवारको अवस्था झन् नजुक बन्दै गयो । भर्खर पाँच वर्षमा टेकेको हाम्रो भाइले आमा खोजेर हैरान पाथ्र्यो । भाइको जिद्दीले झन हामी सबैको आँखामा जमेको ताल फुटेर नदी जस्तै आँसु बग्न थाल्थ्यो । बिस्तारै दिन बित्यो अनि खबर आयो आपालाई कटुन्जे चौकीबाट सदरमुकाम धुलिखेल लग्यो रे । हाम्री आमा आपालाई पछ्याउदै धुलिखेल पुग्नु भएछ । आपाको अवस्था बुझ्दा प्रहरीले दिएको यातनाले थिलथिलो भएर पुरै ज्यान सुन्निएको । कान राम्रोसङ्ग नसुनिएको । यातना खप्न नसकी पटक पटक बेहोस हुनु भएको । उफ्फ ! अहिले सम्झिदा नि भक्कानो फूटेर आउँछ ।
जिल्लामा पुगेपछि मार्दैन रे ! भन्ने घाईंघुई हल्ला सुन्न थालियो । माया मारिसकेको हाम्रो मनमा अब आपा बाँच्नु हुन्छ कि ? भनेर केही आशा पलाउन थाल्यो । निम्न आर्थिक अवस्थाले गर्दा जेठी र माइली दिदीले स्कुलको आँगन टेक्न पाउनु भएन । साइली दिदी जो सात कक्षामा पढ्दा पढ्दै भूमिगत हुनुभयो । भूमिगत हुनु त्यो बेला रहर थिएन । बाध्यता थियो । दिदीलाई त्यही बाध्यताले डो¥याउँदै लग्यो । काइली दिदी र म कक्षा चारमा सँगसँगै पढ्दा पढ्दै पढाई छोड्नु प¥यो । आमा मेलापात गर्नुपर्ने र घरमा भाइ सानै भएकोले भाइको गोठालो लाग्नु पथ्र्यो । जसोतसो आमाले मलाई चाहिँ पढ्न छोडाउनु भएन । म स्कुल नियमित जान थालें । सानै उमेरको भए पनि घरको समस्या बुझ्न थालेकी थिएँ । अनावश्यक पैसा माग्दैन थिएँ । अनावश्यक खर्च पनि गर्दिन थिएँ । कापी कलम खेरा फाल्दैन थिएँ । चाडपर्व आउँदा अरुको आपाले नयाँ लुगा ल्याईदिएको । नयाँ चप्पल ल्याईदिएको भनेर साथीहरूले देखाउँथे । म चाहिँ घर पछाडि गएर एक्लै रोएर मन बुझाउथेँ । आमाले दशैंमा सकि नसकी पैसा जोरजाम गरेर स्कुलको ड्रेस किनेर ल्याउनु हुन्थ्यो । म त्यसैमा खुसी हुन्थे । उता जिल्लामा आपालाई निकै लामो समय हिरासतमा नै राखेर शारीरिक र मानसिक यातना दिदै छानबिन चलीरहेकै छ भन्ने कुरा आमाले सुनाइ रहनु हुन्थ्यो । कहिलेकाही कमरेड ज्वाला (जसलाई म २०५५ सालदेखि ज्वाला ज्योज्यो भनेर चिन्छु ।) हाम्रो घरमा एक दुई चोटि देखापर्नुभएको थियो । मलाई लाग्थ्यो माओवादी भनेकै उहीँ ज्वाला ज्योज्यो मात्र हो । पहिले पहिले आउने अरु छापामारहरु पनि कता गए कता ? आपाको गिरफ्तारीपछि त झन् कोही पनि माओवादी आएनन । ज्वाला ज्योज्यो पनि आउनु भएन। आओस पनि कसरी परिस्थिति एकदम जटिल बन्दैथ्यो । मेरो बाल मस्तिष्कले के सोच्यो भने माओवादी भनेको त हामीलाई दुःख पर्दा सान्त्वना समेत दिन नसक्ने जमात रहेछ । उनीहरू हाम्रो गाउँमा नआएको भए मेरो आपालाई केस लाग्दैनथ्यो । अनि हाम्रो आपा पनि हामीसँगै रहनुहुन्थ्यो । यस्तै सोच्थें । माओवादीदेखि बेस्सरी रिस उठ्थ्यो । हाम्रो घरमा ढिँडो पनि आँसुकै भुटुनसँग पाक्थ्यो । आपालाई ढिडो खुब मन पथ्र्याे । कहिलेकाही मासु र ढिँडो पाक्दा आपाको यादले बेस्सरी चिमोट्थ्यो । खाना मुखमा हाल्नु भन्दा अघि आँखाबाट तप्प आँसु चुहिन्थ्यो । भान्सामा जती मीठो खानेकुरा पाके पनि आपा बिनाको भान्सा नमिठो लाग्थ्यो । के गर्नु ? यो सब पचाउनै पथ्र्याे । आमाले चिनजानेको हरेक पार्टीको नेतालाई गुहार्दै आपाको जीवन रक्षाको निम्ति रुँदै हात जोडेर भिख माग्दै हिड्नु भयो । आमा पहिला पनि एमालेको महिला वडा सदस्यमा जित्नु भएको थियो । तर केही सीप लागेन । यसरी नै समय बित्दै गयो । एक दिनको कुरा हाम्रो गाउको माइला काका धुलिखेल पुग्नु भएको रहेछ । त्यहाँ प्रहरीले समातेर ल्याएको केही युवा युवतीहरूको बिचमा मेरी दिदीलाई पनि देख्नु भएछ । बाबालाई गिरफ्तार गरेको महिना दिन नबित्दै २०५५ साल श्रावण ६ गते डाँडापारी फलामेटार गा.वि.स. को फलाटेबाट दिदी पनि गिरफ्तारीमा पर्नुभयो । दिदीसङ्गै चर्चित जनकलाकार माइला लामाको श्रीमती मनु वाइवा र राम दहाल पनि गिरफ्तारीमा पर्नु भएको थियो । हाम्रो परिवारमाथि झन ठूलो बज्रपात प¥यो । केही दिन धुलिखेल हिरासतमा चरम यातना दिएपछि दिदीलाई केन्द्रीय महिला बन्दी गृह सुनधारा लगेछ । पछि सुनेको आपा र दिदीको जेलमै पनि भेट भएको रहेछ । समय यसरी नै चिप्लीरह्यो ।
आपा जेल पर्नुभएको करिब सात आठ महिनापछि आमाले एक दिन मलाई “जामे एदाइ नोन आपा ह्रुप तबारी धुलिखेलरि बोर्ला ए ङादेन निबा ?” (छोरी तिमीलाई पनि बा भेट्न धुलिखेल लैजान्छु तिमी पनि मसँग जान्छयौ ?) आपा भेट्न लाने भएपछि म खुसीले उफ्रेर आमाको काखमा लुटपुटिएँ । भोलिपल्ट स्कुल ड्रेसमै (लगाउने अर्को कपडा थिएन ।) म र आमा आपालाई भेट्न घरबाट हिड्यौ । म कक्षा छ मा पढ्न कानपुर माध्यमिक विद्यालय जाँदा बल्ल बस देख्न पाएको थिएँ । त्यो बेला अहिले जस्तो वि.पि. राजमार्ग खुलेको थिएन । तेमालमा भने कच्ची सडकमा बस गुड्थ्यो । देखेको मात्र बस चढ्न पाएको थिएन । त्यो भन्दा पनि खुशी त आपालाई देख्न पाउने कुरा थियो । ठूला मान्छेहरुले कुरा गरेका सुनेको थिएँ । बसमा खाली पेट भयो भने बान्ता आउँछ रे । मैले पनि बान्ता नआओस भनेर कानपुरमा गोपाल दाइको घरमा टन्न भात खाएँ । आमाले खानु भएन । पछि थाहा भयो आमालाई गाडीमा बान्ता भएर बेस्सरी गाह्रो हुँदोरहेछ । त्यसैले खान नखानु भएको रहेछ । म चाहिँ बान्ता हुन्न भन्नेमा ढुक्क थिएँ । किनकि मेरो पेट खाली थिएन । तर हैन रहेछ । कानपुरमा गाडी चढेको मान्छे भकुन्डे नआइपुग्दै लगभग चार किलो मिटर नगुड्दै बान्ता हुन थाल्यो । खाएको सब खाना बान्ता भएर सकियो । म पहिलोचोटि बस चढेकी त्यसमाथि झ्याल नपाएको बच्चीले कहाँ ठाउँ खोजेर बान्ता गर्न सक्थें र ! बसभित्रै जताततै बान्ता गरेछु । सबैले आमा र मलाई गाली गरे । त्यति मात्र हैन मेरी आमालाई गाडीको सह चालकले समेत बान्ता सोहर्न लगाए । विचरा ! मेरी आमा छोरीले गरेको बान्ता हातले सोहोरेर फाल्नु भयो । घिन त मेरि आमालाई पनि लागेको थियो होला नि ! तर आमाले चुपचाप सोहोर्नु भयो । गाडी गुड्दै गयो । आमा छोरी दुवै बान्ता गर्दै लखतरान भएर धुलिखेल पुग्यौं । आमा छोरी गाडीबाट ओर्लियौ । कच्ची बाटोको कारण पुरै अनुहार धुलोले ढाकेको थियो । आमाले एक बोतल पानी किन्नु भयो । हामी दुबै जनाले मुख धोयौ । पानी पियौ । हिड्न सक्ने स्थिती थिएन । सडक पेटीमा बसिरहँदा आमाले हतारेर “जाउ ढिला ग¥यौं भने आपालाई आज भेट्न पाइदैन ।” सुस्तरी धुलिखेल कारागारतिर पाइला चाल्यौ । बेस्सरी गाह्रो भएको बेला नजिकैको बाटो पनि लामो लाग्दो रहेछ । मलाई अहिले त्यही नजिकै लागेको बाटो त्यो बेला निकै लामो लागेको थियो । पर्खालले चारैतिर घेरिएको पर्खाल माथी काडेतारे बेरेको अग्लो ठाउँमा प्रहरीहरु हतियार सहित डिउटी बसेको देखेपछि लाग्यो बाबालाई यहि भित्र थुनेर राखेको होला । मेरो अनुमान सही भयो । आमा चेनगेटमा उभिनु भयो । पुलिसले ठूलो स्वरमा सोध्यो । “कसलाई भेट्ने ?“ “तेज बहादुर तामाङलाई !” “घर कता हो ?” “कानपुर गा वि स वडा न ६” “के नाता पर्छ ?” “म उहाँको श्रीमती हो ।” “कहाँदेखी आएको ?” “घरबाट ।” “एकछिन पर्खिनुस” भन्यो । मलाई चाहिँ आपालाई देख्न हतार थियो । आँखा जेल भित्र छिटो छिटो दौडदै थियो । बल्ल आपा गेट छेउमा आउनु भयो । आपालाई देख्ने बित्तिकै गम्लाङ्ग अङ्गालो हालेर रुन मन लागेको थियो । तर आँसु झार्ने छुट पनि थिएन । आपा र हाम्रो बिचमा फलामे ढोका थियो । ढोका भन्दा दुई मिटर जति भित्र आपा हुनुहुन्थ्यो । हामी ढोका बाहिर थियौं । म बोल्नै सकिनँ । एकोहोरो रोइरहें । अनि आपाले “छोरी यसरी पनि रुने हो त ! साहसी पो हुनुपर्छ त । अब मलाई दुख दिदैन । मार्दैन । खान लाउन पनि दिन्छ । समय आएपछि यहाँबाट निस्केर घर आउने हो । सधै यहि रहने हैन पो किन रोएको नरोउ ।” आपाको कुरा केही बुझे । केही बुझिनँ । आपाले भन्नुभएको “साहसी बन्नुपर्छ” भनेको के हो ? मैले यति मात्र बुझे आपाले नरुनुलाई साहसी भन्नू भएको हो क्यारे ! यो भन्दा बुझ्न सकिनँ । अनि आपाले भन्नुभएको समय आएपछि निस्किने रे ! हैन समय आउने चाहिँ कहिले होला ? त्यो समय कहिले आउला ? मनमा प्रश्नै प्रश्नको चाङ लाग्यो । बोल्न सकिएन । आमाले “छोरी किन आपासँग नबोलेको बोल न !” भन्दा पो झसङ्ग भएछु । आपासँग बोल्नै सकिनँ । गला अबरुद्ध भयो । त्यतिकैमा प्रहरीले “समय सकियो” भन्यो । आमाले आपाको लागि लानुभएको कागती, मकैको पिठो, भुटेको मकै दिन लाग्न खोज्दा पुलिसले हामीलाई शुरुमा खान लगायो । हामीले सबै चीजहरु खायौं । अनि त्यो खानेकुरा आपालाई प्रहरीले नै दियो । आपा फेरि भित्र जानुभयो । मैले आपा ओझेल नपरुन्जेल हेरिरहेँ । प्रहरीले ठूलो स्वरमा जाओ भनेपछि गरुङ्गो पाइला चाल्दै आमाछोरी भारी मन लिएर घर फर्कियौ । आपाले के गर्छ होला ? कहिले छोड्छ होला भन्ने खुल्दुली लागिरह्यो ।
केही वर्षपछि आपाले खेप्नुभएको मुद्दा झुट्ठा ठहरियो । जेल राख्ने कुनै आधार नभएपछि आपा २०५८ सालमा ३६ महिने बन्दी जीवनबाट मुक्त भएर घर फर्किनुभयो । दिदी पनि २०५९ सालमा माओवादी र सरकार बीचको वार्ताको क्रममा छुटेर खुल्ला संसारमा आउनु भयो । त्यसपछि बल्ल हाम्रो घर अलि उज्यालो भयो । तर पनि माओवादी जनयुद्ध उत्कर्षमा पुग्दै थियो । राज्यआतंक उस्तै थियो । मलाई अहिले पनि अचम्म लाग्छ क ख नचिन्ने मेरी आमाले तेत्रो मुद्दा, अड्डा, अदालत अनि दुनियाँ नेताहरूसँग कसरी कुरा गर्नुभयो होला ? कच्ची सडक दाप्चा डाडा, कटुन्जे, र तेमाल सम्म बने पनि अहिले जतिको यातायातको साधन नहुँदा मेरी आमाले कसरी एक्लो यात्रा गर्नुभयो होला ? डर त आमालाई पनि कति थियो होला नि ! तर छोराछोरीको अगाडि मेरी आमा सधै निडर हुनुभयो । डरलाइ सधै लुकाइ राख्नुभयो । हामीले आमाको अनुहारमा डर भन्दा पनि आक्रोश देख्थ्यौं । किन कि हाम्रो आपा निर्दोष हुनुहुन्थ्यो । हाम्रो आपा माओवादीको सिद्धान्त र विचारसँग एकदम लालायित हुनुहुन्थ्यो । तर व्यक्तिगत रिसईबीका कारण आपाले अनाहकमा यातना र विभिन्न आरोपमा मुद्दा खेपीरहनु प¥यो । त्यसैले हाम्री आमाको अनुहारमा आक्रोशको ज्वाला दन्केको अनुभव गर्न सकिन्थ्यो । आमा सतिसाल झैं उभिएर हर चुनौतीको सामना गर्नुभयो ।
त्यो बेलामा हाम्रो परिवारको स्थिति युद्ध मोर्चा सम्हाल्नु जस्तै थियो । पाइला पाइला मृत्युले पछ्याईरहन्थ्यो । तर पनि पार्टी र क्रान्तिलाई घात गरिएन । तर अहिले आएर हाम्रो आपा आमालाई माओवादी भनेर कसैले चिन्दैनन । पार्टी र क्रान्तिलाई योगदान दिएको भनेर कसैले भन्दैनन । हाम्रो परिवारले माओवादीकै आरोपमा तेत्रो वर्ष जेलनेल यातना भोग्यो । प्रतिकूल परिस्थितिको सामना ग¥यो । समय जनाउने घडी उल्टो दिशामा घुमेपछि यस्तै हुँदोरहेछ । ब्यक्तिगत स्वार्थलाई त्यागेर क्रान्तिलाई सर्वोपरि ठानेर पार्टीलाई उच्च कोटीमा राखे मात्र हामी सबैको भलो होला ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |