प्रभातफेरी अनलाइन२९५१ पटक पढिएको प्रकाशित मिति: २०७८ माघ ४, मंगलबार(४ साल अघि)
डा. सुमनराज ताम्राकार
साहित्यकार एवं वरिष्ठ स्त्री एवं प्रसुती रोग विशेषज्ञ
डा.सुमनराज ताम्राकार पेशाले चिकित्सक हुन् । सरल,मिजासिला स्वभावका उनी साहित्यमा पनि रुची राखेर कलम चलाउँछन् । गर्भवती स्याहार सम्बन्धि ‘के तपाईं गर्भवती हुनुहुन्छ ?’,बालस्वास्थ्य सम्बन्धि ‘लिटिल डाक्टर’, गर्भ र सुत्केरी स्याहार सम्बन्धि ‘एक शरीरः दुई जीवन’ पुस्तकका साथै पनौतीको किंवदन्ती तथा पनौतीको धार्मिक र ऐतिहासिक कथा समेटिएको ‘पनौतीका चाडपर्व र मकरमेला’ पुस्तक समेत गरि एक दर्जन जति कृति प्रकाशित भएका छन् । पनौती साहित्य समाजका उपाध्यक्ष उनी सम्पादनमा समेत सक्रिय देखिन्छन् । यसरी निरन्तर लेखन र स्वास्थ्यक्षेत्रमा क्रियाशिल काभ्रे पनौतीका डा.सुमनराज ताम्राकार हाल धुलिखेल अस्पतालमा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञको रुपमा कार्यरत छन् । हालै मात्र उनको हालै मात्र आफ्नो १३ औं कृति ‘पनौती ः अ माईथोलोजिकल स्केच’ प्रकाशनमा ल्याएका वरिष्ठ स्त्री रोग विशेषज्ञ एवं साहित्यकार प्रा.डा. सुमनराज ताम्राकारसँग प्रभातफेरी साप्ताहिकका निम्ति प्रदीप सापकोटाले गर्नुभएको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ)
१. तपाईंको दैनिकी कस्तो छ ?
बिहान अलि छिटै उठ्छु । दैनिक, साप्ताहिक अनि मासिक पत्रपत्रिकामा पठाउनुपर्ने लेखहरुको खाका तयार पार्छु । बिहान ७ः३० देखि साँझ ५बजेसम्म आपूm कार्यरत अस्पतालका नियमित कार्यहरु(बिरामीहरुको उपचार कार्य, अपरेशन कार्य,एमडी एवं एमबीबीएस अध्ययनरत विद्यार्थीहरुलाई अध्यापन गर्ने) गर्दछु । गत असारदेखि धुलिखेल अस्पतालको स्त्री तथा प्रसुती रोग विभागको विभागिय प्रमुख भएदेखि प्रशासनिक कार्यमा पनि समय दिनु परेको छ । घर फर्केपछि पनि आवश्यकता अनुसार अस्पतालमा भैरहेको कार्यको अपडेट लिनुका साथै लेखहरुलाई मूर्तरुप दिन्छु । बचेका समयमा अर्थात भ्याएसम्म नेपाली साहित्यका पछिल्ला कृतिहरु पढ्छु । साँझको समय वा बिदाका दिनहरुमा साहित्यिक कार्यक्रमहरु, सामाजिक कार्यहरु, लेख रचनाका लागि अनुसन्धानका कार्यहरुमा आपूmलाई व्यस्त राख्छु ।
२. रचनागर्भको अवस्थाको कस्तो छ ?
यो कृति अनुसार फरक फरक हुन्छ ।स्वास्थ्य, साहित्य र संस्कृतिसँग कृति वा लेखहरु सिर्जना गरिरहेकाले सबैको आ–आफ्नै खालको रचनागर्भको अनुभव छ । कुनैपनि लेख वा कृति गहन अध्ययन, पठन एवं अनुसन्धानपछि मात्र प्रकाशनमा ल्याउने भएकोले विशेषतः कृतिको रचना गर्ने योजना,खाका तयारी,सामाग्रीहरुको संकलन, अध्ययन एवं पाण्डुलिपिको तयारीदेखि प्रेसबाट कृति हातमा नपरेसम्म तनाव, चिन्ता, खुशी उत्साह सबै अवस्थाबाट गुज्रिनुपर्ने हुन्छ । पाठकहरुबाट पाउने प्रतिक्रियाले फेरि अर्को कृति रच्न वा लेख लेख्न उर्जाशील भईन्छ । फेरि उही चक्र दोहोरिन्छ, अनवरत रुपमा ।
३. तपाईं के का लागि लेख्नुहुन्छ ?
नढाँटिकन भन्नुपर्दा नामको लागि नै हो । तर विरामी, रोगीहरुको निरन्तर सामीप्यताले तिनीहरुको संवेदनायुक्त कथाव्यथाबाट अन्यलाई पनि शिक्षा मिलोस् भन्ने भावले तथा आफ्नो जन्मथलो, थातथलाको कलासंस्कृतिको दायित्वबोधले पनि केही लेखौं भन्ने जाँगर चलिरहन्छ, कलमलाई आराम दिन मनै लाग्दैन ।
४. विधागत हिसाबले तपाईं कुन विधामा सक्रिय हुनुहुन्छ र किन ?
मलाई पद्य भन्दा गद्य विधामा सहज महशुश हुन्छ । प्रष्ट भन्नुपर्दा कथा, निबन्ध, नियात्रा, हाँस्यव्यङ्ग्य, व्यक्ति परिचय लेखनमा औधी रुची लाग्छ । चाँडै नै उपन्यास विधामा पनि हात हाल्दैछु । मेरो विचारमा आपूmलाई आत्मविश्वास नभएको विधामा कनेर भएर पनि लेख्नुपर्छ वा पातलै भएपनि कृतिको संख्या बढाउनु पर्छ भन्नेमा विश्वास राख्दिनँ । कविता, मुक्तक, हाईकु, गजल मेरो कमजोरी क्षेत्र हो,म यस कुरालाई सहर्ष स्विकार्छु पनि ।
५. तपाईं पेशाले चिकित्सक हुनुहुन्छ । साहित्य सिर्जनामा समय कसरी निकाल्नु हुन्छ ? अनि चिकित्सा पेशा सजिलो कि साहित्य सिर्जना ?
सबैभन्दा मुख्य कुरा ईच्छा, प्रतिबद्धता र सन्तुष्टी नै रहेछ । यति भएपछि समयको व्यवस्थापन गर्न सकिँदो रहेछ । यस कार्यमा मेरा परिवारजनले पनि सजिलो बनाईदिएका छन् । चिकित्सा पेशा मेरो मुख्य पेशा भएपनि चिकित्सा पेशालाई कहिल्यै पनि पैसा कमाउ धन्दा बनाईनँ, त्यसैले पनि समय बनाउन सकिएको हो । त्यसो त चिकित्सा र साहित्य दुवै क्षेत्रमा म सदैव केही नयाँ नयाँ गर्न चाहन्छु । दुवै क्षेत्रमा गहन अध्ययन, पठन एवं अनुसन्धान गरिकन मात्र अघि बढ्ने बानी भएकोले त्यति सहज भने छैन । दुवैका आ–आफ्नै चुनौती छन् र सफलता हात परेपछि प्राप्त हुने खुशी वा उत्साह भने उस्तै हुने रहेछ । चिकित्सा पेशा र साहित्य सिर्जना दुवै पृथक कुरा हुन्, यसर्थ दाँज्न मिल्दैन ।
६. तपाईंको नयाँ कृति के आउँदैछ ?
भखरै मात्र पनौती प्राचीन कथाहरु र किंवदन्तीहरुलाई अंग्रेजी भाषामा कृतिको रुपमा ल्याएको छु । क्यान्सर सम्बन्धी एउटा अनुवाद पुस्तक (संयुक्त लेखन),महिला स्वास्थ्य र बालस्वास्थ्यका कृति आउँदैछ ।
७. तपाईं साहित्यिक संस्थासँग पनि आबद्ध हुनुहुन्छ । काभ्रेमा साहित्यसँग सम्बन्धित संस्थाहरुको बारेमा के भन्न चाहनुहुन्छ ?
हो, म पनौती साहित्य समाजमा संस्थापक महासचिव र हाल उपाध्यक्षको रुपमा छु । नजिकका साहित्यिक मित्रहरुको विगतको टुटफुटको अनुभवबाट पाठ सिकी निकै संवेदनशिल भई हाम्रो संस्थालाई अगाडि बढाईरहेका छौं । मेरो व्यक्तिगत धारणा के छ भने कुनपनि संस्था (साहित्यिक पनि) लामो समय टिक्नुपर्दछ ।यसका लागि पदाधिकारी र सदस्यहरु बीच आपसी विश्वास एवं संस्थाको अस्तित्वको लागि उद्धेश्य अनुरुपको कार्यहरु निरन्तर रुपमा अगाडि बढाई राख्नुपर्दछ । काभ्रेका एकाध साहित्यिक संस्थाहरु बाहेक अन्य साहित्यिक संस्थाहरु यस मामिलामा चुकेका छन् जस्तो लाग्छ । धेरै होइन सीमित संस्थामा, अल्पकालीन होइन दीगोपनामा विश्वास एवं प्रतिबद्ध हुनसके धेरै समस्या आपैंm निराकरण हुन्छ ।
८. वर्तमान काभ्रेली साहित्यको अवस्था कस्तो पाउनु भएको छ ?
नेपाली साहित्य क्षेत्रमा प्रारम्भिककालदेखि नै काभ्रेली सर्जकहरुले महत्वपूर्ण योगदान दिँदै आउनु भएको छ । राष्ट्रिय स्तरमा साहित्यका विभिन्न विधामा नाम लिन मिल्ने धेरै सर्जकहरु छन् । मध्यकालका अनि हाम्रै पिँढीका सर्जकहरुले पनि काभ्रेको नाम चम्काउन सफल भईरहेका छन् । र, पछिल्ला छिमलका सर्जकहरु पनि आशलाग्दो तरिकाले अगाडि आईरहेका कारण काभ्रेली साहित्य क्षेत्रको भविष्य उज्ज्वल नै देख्दछु । वर्तमान काभ्रेली सर्जकहरु बीचको अदृश्य एवं धुमिल गुटलाई हटाउन सकेको खण्डमा हामी झन् अघि बढ्न सक्छौं ।
९. अब अलिकति सन्दर्भ बदलौं । तपाईंले चिकित्सक पेशामा के कस्ता चुनौतीहरुको सामना गर्नुपरेको छ ?
चिकित्सा पेशामा निरन्तर अध्ययन र अपडेटको सदैव जरुरत पर्दछ । नेपाल जस्तो विकासोन्मुख देशको चिकित्सक भएपनि युरोप, अमेरिका अथवा विकसित देशको स्वास्थ्यसेवा भन्दा कम गुणस्तरीय सेवा दिने छुट छैन । अध्ययन, अध्यापन त भई नै हाल्यो, स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रमा पनि अनुसन्धान कार्य जारी नै राख्नुपर्दछ । मेरो व्यक्तिगत कुरा गर्दा मैले विकसित देशमा जस्तै ल्यापरोस्कोपिक (दूरबिन) प्रविधिबाट पाठेघर निकाल्ने, सिस्ट निकाल्ने लगायतका शल्यक्रियाका साथै निःसन्तान सम्बन्धी सेवाहरुमा बढी रुची राख्दछु ।
मैले स्वास्थ्य तथा जनचासोका विषयमा मात्र नभई स्वास्थ्य क्षेत्रमै अनुसन्धान कार्यहरु जारी राख्दै यस सम्बन्धी लेखहरु गुणस्तरीय साईन्टिफिक जर्नलहरुमा प्रकाशन गर्दै आएको छु । गुगलमा मेरो नाम गर्ने बित्तिकै पनि मेरा यी साईन्टिफिक लेखहरु सजिलै हेर्न, पढ्न मिल्छ । मेरो मातहतमा वर्सेनी कम्तिमा ३, ४ जना स्नातकोत्तर विद्यार्थीहरु (नेपाली तथा विदेशी) स्वास्थ्य अनुसन्धान गरिरहेका हुन्छन् । नेपालका अन्य मेडिकल कलेज तथा मेडिकल सोसाईटीहरुबाट पनि अनुसन्धानात्मक लेखहरु सम्पादनका लागि पठाईरहेको हुन्छ, सम्पादन गरिरहेको हुन्छु ।
बेलाबखत समुदायमा अर्थात् धुलिखेल अस्पताल अन्तर्गतका स्वास्थ्यकेन्द्रहरु शिविरमा गईरहेको हुन्छु । म लैङ्गिक हिंसा सम्बन्धी तालिमको लागि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको राष्ट्रिय प्रशिक्षक भएको कारण नेपालभरि यताउती हिँडिराख्नुपर्दछ ।चुनौतीमै अवसर छ र अहिले नगरे कहिले गर्ने भन्ने दृढविश्वास भएकोले भ्याएसम्म लागि परेको छु ।
१०. र अन्त्यमा, मैले सोध्न छुटाएको र तपाईंले भन्न बाँकी कुनै कुरा भए पाठकहरुलाई बताइदिनुस् ।
मनिस चेतनशील प्राणी हो, मानिस भएर जन्मेपछि मानव एवं समस्त चराचरको हितको लागि आफ्नो भगिरथ प्रयास गर्नुपर्दछ । र, शिक्षित भएको नाताले आपूmले पाएको ज्ञान बाँड्न तत्पर हुनुपर्दछ । आफ्नो कीर्ति रहने कार्य गर्न सदैव प्रयासरत हुनुपर्दछ ।