प्रभातफेरी अनलाइन९३९ पटक पढिएको प्रकाशित मिति: ४ साल अघि (४ साल अघि)
शान्ति शर्मा
तिनकुने, काठमाडौं
हरेक रातजस्तै
यो रात पनि
अझ अध्याँरो छ
गहिरो मौनतामा अल्झेको ।
सधैंजस्तै
टाढा कोही रोएको आवाज
आइरहेछ
कसैको चित्कार सुनिन्छ
मुटु दुख्ने गरी
अबोध नानी भोक सहँदैन,
हरेक संघर्ष आवाजको बिटो न हो,
यो मध्यरातमा,
सायद आमा निदायकी होलिन्
नौलाख ताराजस्तै
फिँजाएर मनको क्षितिजसम्म
यादको उज्यालो दौडिरहेछ,
आँखाबाट नझरुन भनेर मुटुको टुक्रा
परेलीका गजबार लाएर,
कोल्टे फेरे बिताऊँ भन्छु ,
सताइरहन्छ सुनसानमा
आइरहने स्मृतिको आकृतिले,
कहिले जुन भएर,
कहिले फूल भएर
उदासीनताको पर्दाले
ढाकेको छ मनको आकाश,
निष्पट छ
हरेक पल
आज फेरि
सपनाले आँखामा नआउने
कसम खायो ।