logo
२०८३ श्रावण १२, मंगलबार |
📰
🔍

पाकिस्तानमा मनसुनजन्य विपद्ले एक महिनामा १०९ जनाको मृत्यु, पुनः भारी वर्षाको चेतावनी

प्रभातफेरी अनलाइन१० पटक पढिएको | १ घण्टा अघि
पाकिस्तानमा मनसुनजन्य विपद्ले एक महिनामा १०९ जनाको मृत्यु, पुनः भारी वर्षाको चेतावनी

काठमाडौं, पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक बाढीका कारण पछिल्लो एक महिनामा कम्तीमा १०९ जनाको मृत्यु भएको छ। मौसमविद्ले यसै साता देशका विभिन्न क्षेत्रमा पुनः भारी वर्षा हुने चेतावनी दिएपछि सरकारले सम्भावित विपद्को तयारीलाई तीव्र बनाएको छ।

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार जुन २६ यता मनसुनसँग सम्बन्धित घटनामा १०९ जनाले ज्यान गुमाएका छन्। अधिकांशको मृत्यु घर तथा छाना भत्किँदा भएको हो भने मृतकमध्ये झण्डै आधा अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तुनख्वा प्रान्तका रहेका छन्।

अधिकारीहरूले बाढीको उच्च जोखिम भएका क्षेत्रमा पूर्वसूचना प्रणाली प्रभावकारी बनाउने, नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तथा आवश्यक परे समयमै स्थानान्तरण गर्ने योजनामा काम गरिरहेको बताएका छन्।

गत साता लाहोरसहित विभिन्न क्षेत्रमा परेको अविरल वर्षापछि बस्तीहरू जलमग्न भएका थिए। सडक डुबानमा परेपछि जनजीवन प्रभावित भएको थियो भने सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यपछि विपद् व्यवस्थापनमा सरकारको तयारी र प्रतिक्रियामाथि आलोचना भएको छ।

अधिकारीहरूले सन् २०२२ जस्तै विनाशकारी बाढी पुनः दोहोरिन सक्ने जोखिम रहेको चेतावनी दिँदै आएका छन्। सन् २०२२ को बाढीमा पाकिस्तानको करिब एक तिहाइ भूभाग डुबानमा परेको थियो भने १,७३७ जनाको मृत्यु हुनुका साथै लाखौँ मानिस विस्थापित भएका थिए।