काभ्रे । कोरोना कहरलाई चुनौती दिँदै कठोर व्रत पश्चात् पुण्य प्राप्त हुने जन विश्वासका साथ स्वस्थानीका व्रतालु र माधव नारायणका व्रतालुहरुले मकरमेलामा स्नान गर्नेछन् । तिथिको हिसाबले तृतीयाको साँझ आगमन हुने र पञ्चमीको अघिल्लो दिन अथवा चतुर्थीको दिन बिहान स्नान गरेर फर्कने परम्परा अनुसार यहि २१ गते व्रतालुहरु पावन भूमि पनौती आइपुग्नेछन् भने त्यसको भोलिपल्ट फर्कने पनौती जात्रा व्यवस्थापन समितिले जनाएको छ ।
गत वर्ष व्रतालुहरुको आगमन भइरहँदा दुषित पानीमा स्नान गर्नुपरेको पिडा यो पटक भोग्नुपर्ने छैन भन्दै बदलिँदो मौसमका कारण यो पटक चिसोले व्रतालुहरुलाई सताउने सम्भावना भएकोले हामीले त्यसतर्फ सचेत रहनुपर्ने स्थानीय अग्रज सामाजिक अभियन्ता गणेश देउलाको चासो छ । पवित्र तीर्थस्थल पनौतीमा जुन किसिमका चाडपर्वहरु छन्, तिनीहरुलाई अझै उचाइमा पु¥याउनका लागि आसपासका व्रतालुहरुदेखि शुभचिन्तकहरुले समेत धार्मिक गन्तव्यको रुपमा लिइँदै आएका छन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म कठोर व्रत बसी विभिन्न तिर्थस्थलहरुको तिर्थाटन गर्ने क्रममा व्रतालुहरु पनौती आउने प्रचलन छ । श्री स्वस्थानी माताको कथा श्रवण गर्ने प्रचलनअनुसार नै पनौतीमा सालि नदी र भक्तपुरबाट माधव नारायण र स्वस्थानीका व्रतालुहरु आउने गर्नुहुन्छ । व्रत बस्नेहरुले १ महिनासम्म जुन किसिमका कष्टकर व्रत बसेर आफूले चिताएको मनोकांक्षा पूरा हुने ठूलो पुण्य प्राप्तिका विश्वासका साथ व्रतालुहरु शचितीर्थमा आएर स्नान गर्ने परम्परा नै छ ।
सो सम्बन्धमा पनौतीका पुराना लेखकहरुले पनौतीका बारेमा जुन किसिमको लेख प्रकाशित गरेका छन्, त्यसले पनौतीका महिमाका बारेमा जति नै चर्चा गरे पनि अपुग हुने सरोकारवालाहरुको दाबी छ । विभिन्न प्रकाशनमा प्रकाशित लेखका बारेमा अध्ययन गर्ने हो भने पँलाती, नेपालभाषामा पला=पाईला र ती राख, पूर्ण अनुबाद “पाईला राख” । मल्लकालमा काठमाण्डौ तथा रोशी उपत्यकाका मानिसहरुमा पुण्य भूमीमा पाईला टेके मोक्ष प्राप्त हुने बिश्वास अनुसार यहाँ पाईला राख्न आग्रह गर्न हेतु तत्कालिन मल्ल राजाले स्थानको नाम नै “पँलाती” राखेको किंबदन्ती छ । ४० भन्दा बढी हिन्दु तथा बौद्ध मन्दिरहरु र २८ भन्दा बढी ठूला चाडपर्वले सुसज्जित एक महत्वपूर्ण तिर्थस्थल पनौतीलाई परापूर्वकालमा पञ्चवा, पाञ्चाल, पनवती, पनाती, पुन्तुरी, पलाती आदि नामले पुकारिन्थ्यो भन्ने आलेख अहिले पनि रहेको छ । जस अनुसार आध्यात्मीक तथा धार्मीक दृष्टीमा पनौतीको त्रिवेणीघाटलाई उत्तर प्रयागको रुपमा प्रत्येक बाह्र बर्षमा माघ एक महिना मकरमेला मनाउने प्रचलन रहेको शिक्षाविद् एवं पनौतीका बौद्धिक व्यक्तित्व प्रेम बहादुर प्रधानको तर्क छ ।
पनौती एक पौराणीक स्थान हो भन्ने कुरा चार युगका घटनाक्रमहरुले देखाउँछ । पनौतीको ईतिहासलाई युगमा बिभाजन गरी हेर्दा पँलाती र मकरमेलाका केही घटनाक्रमहरु यस प्रकार रहेको उल्लेख गरिएको छ ।
सत्य युग – समुन्द्र मन्थनमा कालकुट विषबाट छटपटीएर कैलाश फिर्ती सवार देवादीदेव महादेवसंग फर्किएका मन्दराचल पर्वतका नेती बासुकी नागकुञ्ज पर्वत (फुलचोकी) बाट राजा दिर्घरथको अनुनय बिनयमा भगवती माईको आग्रहमा पार्वतीको सहायताले पनौती समृद्धिको लागी बहनु भएका लिलावती (लक्ष्मी) र स्वर्गका अप्सराहरुका उपवासबाट प्रसन्न हुनुभई मनमाया पर्वत (तपोवन) अर्थात रत्नागिरी पर्वत हालको नगरकोटबाट बहेर आउनु भएका पुण्यमाता (नाण्यावती र पुण्यावती) को संगममा राजहुनु भयो । दैवलाई पनि शत्रु लाग्छ भने मैं बासुकी नागलाई पनि गरुडले आक्रमण गर्यो । बासुकी नाग कहिले पुण्यमाता खोला माथील्लो भागतर्फ भाग्ने तथा कहिले रोसी (लिलावती) खोला माथितिर दौडिन थाल्नुभो । नाग पानीभित्र दौडन थाले, सँगै खोलाको ढुंगा पनि नागसंगै फर्कन थाल्यो । गरुडलाई नाग कता भागेको छ भन्ने पत्ता लगाउन गाह्रो भएन । यो कुरा थाहा पाएर बासुकी नागले आफ्नो बासस्थानबाट रोसी खोलै खोलामाथी लाग्नु भयो । खोलाको ढुंगाहरु माथीतिर खोला आएतर्फ फर्किए । गरुडले नदेखेको मौका छोपीहालको काथं गणेश नजिकबासुकीले मनुष्यको रुप धारण गरी जमिनमाहिँड्दै आफ्नो बासस्थान दोभानमा नाग रुप धारण गरि पसे । उनि फेरी पुण्यमाता खोला माथीतिर बहन थाले खोलाको ढुंगाहरु माथीतिर खोला आएतर्फ फर्किए । गरुडले नदेखेको मौका छोपी सतिवन काटेपछि हालको ठाडो बाटो नजिक बासुकीले मनुष्यको रुप धारण गरी जमिनमा हिँड्दै आफ्नो बासस्थान दोभानमा नाग रुप धारण गरि पसे । खोलाको ढुंगा उल्टो फर्किएपछी गरुडलाई बासुकी नाग बसेको स्थान पत्ता लगाउन नसकेपछी थाकेर फर्किए भने नाग सुरक्षित साथ शचितीर्थमा बसेको किंवदन्ती पाइन्छ ।
त्रेतायुग – ज्ञान प्राप्तिको लागी लिलावती र पुण्यमाताको दोभानमा तपस्या गरि बसेका गौतम ऋषी पत्नि अहिल्याको रुपमा लोभिएका स्वर्गका राजा ईन्द्रले छल गरी ब्यभिचार गरे । त्यो दृष्य देखेका ऋषीको श्रापले अहिल्या रातो ढुंगामा परिणत भए । जुन अहिले ईन्द्रेश्वर मन्दिरको उत्तर–पूर्वमा रहेको छ । ऋषीका श्रापबाट शरिरभरी योनी बनेर कुरुप भएका राजा ईन्द्र लाज र पश्चातापले छटपटाउन थाले । यत्तिकैमा स्वर्गबाट आकाशवाणीले पाप मोचनको लागी लिलावती र पुण्यमाता दोभान छेउ निगालो गाडेर टुसा नआए सम्म महादेवको आराधना गर्न सुझाए । राजा ईन्द्र पाप मोचन गर्न नदीको दोभानमा तपस्या गरि बसे । धेरै बर्षसम्म पनि आफ्नो पति नफर्किएपछी खोजीमा पनौती पुगेका रानी साँची (ईन्द्रायणी) ले राजाको दुर्दशा देखे । पतिको याचना र आग्रहलाई स्विकार्दै रानी साँची पनि राजाको पाप मोचनको लागी देवादि देव महादेवको कठोर तपस्यामा समाहित भइन् । सुर्य नारायण कुम्भबाट मकर राशीमा प्रवेश गरेको मकर संक्रान्तिको दिन साँचीको तपस्याबाट खुशी भएका पार्वतीले श्रीमहादेवसंग उक्त पाप मोचनको लागी कृपा गर्न अनुरोध गर्दा श्रीमहादेवले रुद्र रुप धारणा गरी तेश्रो आँखा खोली सुमेरु पर्वत (गोरखनाथ÷दलिनचोक डाँडा) को गर्भबाट दुग्ध जल प्रभाव गरिदिनु भयो । भगवान श्रीरुद्रको तेश्रो आँखाको तेजबाट उत्पन्न भएको उक्त बहावलाई रुद्रावती नामले पुकारियो । लिलावती र पुण्यावतीको संगममा रुद्रावतीको सेतो बहाव मिसिएर त्रिवेणी बन्यो र संगम सेताम्मे बन्यो । सुमेरु पर्वतको गर्भबाट आएको सेतो जलधारा कुञ्ज पर्वतबाट आएको रोशी (लिलावती–लक्ष्मी) र रत्नागिरी (तपोवन) बाट आएको पुण्यावती (पार्वती) नदीको संगममा मिलान भएपछि राजा ईन्द्रमा अलौकिकता प्राप्त भयो साथै गाडिएको निगालोमा तुषा पलायो । आकाशवाणी भएबमोजिम राजा ईन्द्रले उक्त त्रिवेणीमा डुबुल्की मारी पाप मोचन गरेर रानी साँची सहित स्वर्गमा फिर्ता भए । सुमेरु पर्वतबाट जल (दुध) प्रवाह निरन्तर रह्यो । राजा ईन्द्रको पाप मोचन खवरले वरपरका मानिसहरु आ–आफ्नो पाप तथा रोगहरु पखाल्न त्रिवेणीमा आएर नुहाए । यो खवर टाढाटाढा सम्म फैलियो, धेरै मानिसहरु आउन थाले । सुमेरु पर्वतबाट माघ महिनाभर सेतो जलधारा आएर मसान्तमा बन्द भयो र केही जलको मात्रा मात्र प्रभाव निरन्तरता रह्यो । रुद्रावतीको सेतो जलधाराको अन्त्य भएपछि त्रिवेणीले प्राप्त गरेको पाप मोचन र रोग निदानको शक्तिमा ह्रास भयो । फेरी बाह्र वर्षपछि सोही तिथीमा सुर्यनारायण कुम्भबाट मकर रासीमा प्रवेस गरेको, मकर संक्रान्तिको दिन सुमेरु पर्वतबाट दुध प्रवाह भयो र त्रिवेणीको अलौकिक शक्ति महिना भर कायम रह्यो । त्यसबेला पनि मानिसहरुले त्रिवेणीमा डुबुल्की मारेर स्नान गरि आफ्ना शरिरका रोगहरु र शरिरजन्य कर्मबाट सिर्जित पापहरु मोचन गरेको बौद्धिक व्यक्तित्वहरुले चर्चा गर्दै आउनुभएको छ । प्रत्येक १२ बर्षमा रुद्रावतीबाट दुध प्रवाह केही पटक मात्र रह्यो र मानिसहरुले यसको फाईदा उठाए । पछि आएर सोही तिथीमा रुद्रावतीको जलधाराको मात्रा (आयतन) मा अरुबेला भन्दा बृद्धि भएको देखिन्छ र मासिहरु यस जुनिमा भएका पाप कर्मबाट मोक्ष प्राप्त हुने बिश्वासमा मकर मेलामा त्रिवेणीमा स्नान गर्ने संस्कृती स्थापना भएको छ । मल्ल कालमा रुद्रावती संरक्षणार्थ बिना जगमा पैगोडा शैलिको तिन तल्ले ब्रम्हायणीको मन्दिर बनाई जलमार्गको संरक्षण गरिएको छ । आराध्यदेबी ब्रम्हायणी माताको शिलासंगैको दुई वटा खाल्टोमा रुद्रवतीको प्रवाहलाई कहिलेकाही देख्न सकिन्छ । विशेष गरी प्रत्येक बाह्र वर्षमा आउने मकरमेलामा रुद्रावती बहने जनश्रुति छ । सोही अनुसार बाह्र वर्षे मकर मासमा उक्त जल प्रवाह बढ्ने जन विश्वास रहिआएको लेखकहरुले आफ्नो कृतिमा उल्लेख गरेको पाइन्छ ।
त्रेता युगमा पवित्र भुमी (पनौती) मा एक महामानव राजकुमारको रुपमा जन्म भएका महासत्वले हिरण्यगिरी गन्धमान पर्वतमा हिंस्रक जनावर बघिनी र उनका पाँच वटा डमरुहरुलाई आफ्नै शरिर उत्सर्ग गर्नुभई बोधिसत्व प्राप्त गरि नःमबुद्धको नामले प्रसिद्धि पाए ।
द्वापर युग – नागराज बासुकीले राज गरेको, गौतम ऋषीले तपस्या गरेका; स्वर्गका राजा ईन्द्रले लिलावती, पुण्यावती र रुद्रावती नदीहरुको संगम त्रिवेणीमा स्नान गरि मोक्ष प्राप्त गरेको पवित्र तिर्थस्थल उत्तम धाममा हरेक दिन स्नान गर्न द्वापर युगमा राजा बिराट आफ्नो निवास हालको खोपासी तल्लो बजारबाट ४० घोडे बग्गीमा सवार गर्ने किंबदन्ति रहेको पौराणिक कृतिहरुमा पाइन्छ ।
कलियुग – युगको पूर्वार्ध लिच्छवीकालमा राजा नरेन्द्र देव, तान्त्रिक बन्धुदत्त र ज्यापु श्री ललितसँग कामारु कामाक्ष गएका बासुकी नाग, करुणामय मच्छिन्द्रनाथ ल्याएपछि पाटनका ज्यापुसंगै गएर शंखमुल घाटमा बस्न गएका र पनौतीको ज्याःपुहिँ (जात्रा) को चार दिन पहिले हुरी–पानी संग आउने र जात्रा सकेपछि त्यसरी नै फर्कने जनबिश्वास अहिले सम्म नै कायम छ । यसरी बासुकी नाग जात्रामा आउनुमा माहादेवले कालीको कामुकतालाई सन्तुष्टी दिन बासुकीको सहयोगले भैरब बनि कालीलाई पूर्ण सन्तुष्टि दिएको किंवदन्ती १२५५ जुन ७ तारीकको दिन काठमाण्डौ केन्द्र बनाई ७.८ रेक्टरको भूकम्पले काठमाण्डौ तथा रोसी उपत्यकामा ठूलो क्षती पुग्यो । तात्कालिन नेपालका राजा अभयदेब मल्लले काडमाण्डौ तथा रोसी उपत्यकाका भूकम्प पिडीतहरुको उद्धार गर्न रोसी उपत्यकामा साँगा, नाला, बनेपा, धुलिखेल, चौकोट, खडपु र पनौतीको बस्तीलाई बिस्तार गरे । राजा अभयदेवले बिस्तार गरेको पनौतीमा १३ औं शताब्दीमा कर्णाटक वंशीय राजा हरिसिंहदेवसंग आएका जय राम बरदान परिवारले ईन्द्रेश्वरको मन्दिर, मन्दिरको हुँडालमा काष्ठ कलाबाट चारयुग (सत्य, त्रेता, द्वापर र कली) झल्कने कलाकृतीको निर्माण गरि स्वर्णिम युगको ईतिहास रचेका थिए ।
पछि गएर सोह्रौं शताब्दीतिर काठमाण्डौ उपत्यका, रोसी उपत्यका र यस आसपासका बस्ति शुरुमा तन्त्र–मन्त्रको ब्यापक प्रचलनमा आयो । तत्कालिन शासकहरुले कृषी ब्याबसायको अतिरिक्त देव, देवीहरुको मूर्ती, मन्दिर, धारा, पाटी, पौवा, डवली, बाटो, खनिज पदार्थको उत्खनन् तथा प्रशोधनजस्ता सार्वजनिक सरोकार र सेवा क्षेत्रको बिकास भएको पाईन्छ । यसै क्रममा ईन्द्रेश्वर मन्दिर अगाडी पछाडी सात कलात्मक नारायणहरु १) सत्यनारायण, २) लक्ष्मीनारायण, ३) गौरीनारायण, ४) शेषनारायण, ५) सूर्यनारायण, ६) श्रीकृष्णनारायण, ७) तोलानारायणको मूर्तीहरु बनाएको अभिलेखबाट थाहा पाउन सक्छौं । ईन्द्रश्वर माहादेवको पश्चिम र तोलानारायणको अगाडी ऋतुहरुको स्मरण गराउने अष्टमात्रिका, पृथ्वी प्राणी जिउन सम्भव बनाउने सुर्यनारायण सो भन्दा अगाडी अवस्थित शिवलिंङ्ग जसलाई स्थानियहरु देवताका पनि देवता महानारायण पनि भन्दछन् । त्रिवेणीमा हिन्दुहरुको उत्तमधाम बनाउन केदारनाथ, बद्रीनाथ, रणमुक्तेश्वर, पञ्चमुक्तेश्वर, राधा, कृष्ण, रुक्मणी, दुई तह जलाधार सहितको शिवलिंङ्ग, बासुकी नाग, ब्रम्हायणी, सितलामाई, बंसगोपाल, रामलक्ष्मण, संकटानारायण, मत्स्यनारायण, चार नारायण आदी देव देवीहरुका मूर्ती र मन्दिरहरु स्थापना भएका छन् । भारत स्थित चारधाम जान नसक्ने÷नमिल्नेहरु यस त्रिवेणी धामलाई नै चारधाम तिर्थको रुपमा स्वीकार गरी सोही बराबरको आत्मिक एवम् मानसिक सन्तोष र पूण्य मिलेको सुखानुभूती प्राप्त गर्दछन् भनिएको छ ।
अभय मल्लले बस्ती बिस्तार क्रममा ७ सय धुरी पु¥याईको शहरलाई १७औं शताब्दीमा भूपतिन्द्र मल्लकी बहिनी पनौतीकी रानीको पालामा तान्त्रिक बिधीद्वारा यात्राको प्रकृतीअनुसार शहर भित्र–बाहिर गर्न बिभिन्न स्थानमा लाएकु, सि, कार्य आदीध्वाका (द्वार) हरु बनाउनुको साथै सुरक्षार्थ शहर बाहिर अष्टमात्रिकाका मानेश्वरी, काथंगणेश र ईतावरी र अन्य पाँचलाई शहर भित्र स्थापना गरेका थिए । त्रिवेणीको महिमा र महत्व बुझेका रानीले शहरका तान्त्रिक र अन्य स्थानका तान्त्रिक आचाजुहरुसँग सल्लाह गर्दा त्रिवेणीको बिकासमा एक रातमा थप कार्य गर्नसके मानव जिवन मोक्ष धाम बन्न सक्ने सुझाव प्राप्त भयो । उत्तमधाम बनाउने प्रयास गर्दा एक रातमा सुझाएका त्रिवेणीघाटको सम्पूर्ण बिधी बिधान त पुरा गरे तर धामबाट उत्तर तर्फको हिम श्रृंखला दर्शन गर्नसक्ने ब्यबस्थाको लागी प्रयास गरिरहेको अवस्थामा कुखुराको भालेले बिहान भएको संकेत दिएकोले उक्त कार्य सफल भएन । तसर्थ धर्मालम्बीहरु बाह्र बर्षे मकरमेलामा त्रिवेणीको जल आफ्नो दायाँ हातको बुढी औंला र नाडीबिचको खोबिल्डो वा दाहिने हातको हत्केलामा लिएर सुमेरु पर्वत (गोरखनाथ÷डलिनचोक डाँडा) को सिरानीमा पुगेर हिमाल पर्वत तिर फर्केर शिवको नाममा जल चढाई प्रयागतिर्थ यात्राको कार्यलाई पूर्णता दिने निरन्तरता कायम रहि आएको छ ।
नेपाल ईतिहासको स्वर्णिम युगको अनुभूती पलाती दे (पनौती शहर) ले पनि गरेको थियो भन्ने यहाँको बिद्यमान कला कौशल र ऐतिहासिक प्राकृतिक संरचनाले पुष्टि गर्दछ । कालान्तरमा शाह कालमा केही कला कौशलहरु चोरी भए भने बहुदल र गणतन्त्रले बिकासको नाममा कला र कौशलतामा आधिकारीक तवरले मौलिकतामा आँच पुर्याउनुको साथै नगर आम्दानीको लागी अलौकिक प्राकृतिक सम्पदा (उल्टो फर्केका ढुंगा तथा जग्गाहरु) बिक्री गरे । घाईते शहरलाई दश बर्षे हतियार द्वण्द्वले दन्त्य कथाको शहर बिमार बनाएको छ वर्ष पहिले गएको भुईचालो र दुई बर्ष देखीको महामारीले गर्दा बढदो आध्यात्मिकताबाट आउँदो मकरमेलाले ईन्द्रलाई उद्धार गरे जस्तै सुषुप्त पलाती शहरले पनि जिवन्तता पाउने आशा राख्न सकिन्छ भनिरहँदा विकासका नाममा पौराणिक किंवदन्तीलाई चुनौती दिँदै पुण्यमाता खोलामा रहेका ति पौराणिक अर्थ राख्ने ढुंगाहरु जसरी चोइट्याएर स्वरुप बिगारिएको छ, त्यसले अशुभ संकेत गर्छ भनी धार्मिक क्षेत्रमा चर्चाको विषय बनेको छ ।
२०७८ को मकरमेला जसरी अगाडि बढिरहेको छ, यसबाट पाठ सिक्दै आगामी स्थानीय नेतृत्वले धर्म, संस्कृति, संस्कारको संरक्षणका लागि बेलैमा विवेक पु¥याउनुपर्ने आग्रह श्रद्धालुहरुले गरिरहेका छन् । यो समाचार प्रभातफेरी साप्ताहिकको २०७८ माघ १९ को अंकमा प्रकाशित छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |