काभ्रे । स्थानीय निर्वाचन २०७९ अन्तर्गत भएको निर्वाचन पश्चात् शपथ ग्रहण र पदभार ग्रहणमा देखिएका उतारचढावहरुलाई हेर्ने हो भने निर्वाचनले खुम्चिन पुगेको एमालेलाई पराजय स्वीकार्नै कठिन भएको देखियो । जसको प्रतिबिम्बको रुपमा शपथ ग्रहण कार्यक्रम बहिष्कार मात्र गरेन, सञ्चारकर्मीहरुप्रति दुव्र्यवहार समेत गर्न पुग्नुले उसको चरित्र प्रष्ट झल्किएको सञ्चारकर्मीको दाबी छ ।
पनौती नगरपालिका प्रमुखको रुपमा जिम्मेवारीसहित कुर्सी सम्हाल्ने क्रममा नगर प्रमुख रामशरण भण्डारीले नगरवासीले काम गर्न पठाएका हुन् । पाँच वर्ष नगरवासीको सेवक बन्ने हो भन्नुभएको छ । जब यो कुर्सीमा नगरवासीले बसाउनुभएको छ, म यसमा आँच आउन दिनेछैन भन्नुहुँदै समृद्ध नगर बनाउने दायित्व हामी सबैको दायित्व हो । चुनावी प्रक्रियामा हार जित स्वभाविक हुन्छ । यसलाई सहज रुपमा लिनुपर्छ । पाँच वर्षमा नमूना नगरको रुपमा बनाई छाड्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै नगर प्रमुख भण्डारीको जिकीर छ– हुन त राजनीतिमा यसै भन्न सकिन्नँ तर आफू पुनः नदोहोरिने समेत उक्त अवसरमा व्यक्त गर्नुभएको छ ।
शपथ ग्रहणसँगै नगर प्रमुख भण्डारीले नगरवासीबीच प्रतिबद्धता जाहेर गर्दै ७० वर्ष माथिका वृद्धवृद्धाहरुलाई घरघरमै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । उक्त पदभार कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन अधिकृत गोपालप्रसाद घिमिरेको धारणा थियो– आफू बनेपाबाट पहिलो पटक यस भूमिमा पाइला टेकेको स्मरण गराउनुहुँदै लोकतन्त्रको गहना भनेकै स्थानीय सरकार हो । प्रत्येक नगरवासीले सिंहदरबार आफ्नै घर–आँगनमा भेट्ने स्थानीय सरकारले प्रत्येक समस्याहरुको समाधान गर्नेछ भन्ने अपेक्षा राखेका हुन्छन् । नगरवासीका ति अपेक्षाहरुलाई निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय सरकार सञ्चालन ऐनभित्र रहेर अगाडि बढ्नुहुनेछ भन्ने विश्वास राख्नुहुँदै प्रजातान्त्रिक पद्धतिभित्र समर्थन र विरोध सामान्य रुपमा लिनुपर्छ तर विरोधका नाममा प्रचलित विधिभन्दा माथि जानु न्यायोचित हुन्न । आज जुन दृश्य देखिएको छ, यसले लोकतन्त्रको भावनामाथि कतै चोट त पु¥याएन ? यसका बारेमा निर्वाचित जनप्रतिनिधिहरुले सूक्ष्म अध्ययन गर्नुहुनेछ भन्ने विश्वास आफूले राखेको निर्वाचन अधिकृत घिमिरेले सम्बोधनका क्रममा व्यक्त गर्नुभएको छ ।
निर्वाचनका क्रममा पनौतीवासीको अपार सहयोगले नै आफूले यो परिणामसम्म पु¥याउन सकेको स्मरण गराउनुहुँदै मतदाता शिक्षाको कमी हुँदा धेरै मत खेर गएको तथ्य राख्नुहुँदै झण्डै ५ हजार मत बदर हुनु दुःखद पक्ष रहेको खुलासा गर्नुभएको छ । आगामी निर्वाचनमा यस किसिमको पिडादायी पक्ष नआउने विश्वास व्यक्त गर्दै सम्बन्धित सरोकारवालाहरुले यस विषयमा गम्भीर चासो राख्नेछन् भन्ने विश्वास आफूले लिएको धारणा अधिकृत घिमिरेको छ ।
कार्यक्रममा पूर्व नगर प्रमुख सप्तकाजी बुद्धाचार्यको कथन थियो– शपथ ग्रहण तथा बधाई कार्यक्रम भन्ने कुरो बारम्बार निम्तिने होइन । यसको मर्म अनुसार चल्नुपर्छ । आज जुन कार्यक्रम भइरहेको छ, यो नगरको गहना हो । यो कार्यक्रममा जनताको मन जित्न नपुगेकाहरुले मन जितेकाहरुलाई सम्मान गरेर राजनीतिक संस्कारको विकास पनि गर्नुपथ्र्याे तर त्यो देखिएन । कहाँ, के भएको हो यसले समृद्ध नगर बनाउन अवरोध सिर्जना नगराओस् भन्नुहुँदै पनौती नगरप्रति छिमेकी नगरपालिकाहरुले जुन किसिमको कु–दृष्टि लगाएर सीमाना विवाद निम्त्याएको छन्, त्यसतर्फ निर्वाचित नेतृत्वले गम्भीर ध्यान पु¥याउनेछ भन्ने विश्वास राख्नुहुँदै काठमाडौं विश्वविद्यालयले भोगचलन गरेको भूमि बापत नगरवासीलाई दिँदै आएको सेवा, सुविधा तर्फ पनि यो नेतृत्वले उपयुक्त निर्णय लिई पनौतीको पहिचान स्थापित गर्नेछ भन्ने विश्वास सहित सफल कार्यकालको निर्वाचित प्रतिनिधिहरुलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र पनौती नगर समिति अध्यक्ष हस्तबहादुर तामाङले नवनिर्वाचित नगर प्रमुख लगायतका पदाधिकारीहरुलाई शुभकामना दिनुहुँदै आवाजविहिनहरुको आवाजलाई सम्बोधन यो नेतृत्वले गर्नेछ भन्ने अपेक्षासहित दूरदराजमा रहेका नगरवासीहरुको समस्यालाई समानुपालिका ढंगबाट समाधान गर्न आवश्यक रहेको जिज्ञासा राख्नुहुँदै कृषि र पर्यटनको उर्वरा भूमिको रुपमा रहेको यस नगरपालिकालाई सोही विषयमा परिचित गराउने गरी कदम चाल्न आवश्यक रहेको सुझाव दिनुहुँदै नगरलाई औद्योगिक क्रान्तितर्फ अग्रसर बनाउनुपर्ने, भैंसीको पाडा वितरण गर्दैमा कृषि क्रान्ति नहुने तितो टिप्पणी राख्नुभएको छ । सोही क्रममा खानी र पानीको सवालप्रति लक्षित गर्दै माओवादी नेता तामाङले नागीको टुप्पोमा जनता राखेर रोशीको फेद खनेर औद्योगिक क्रान्ति नहुने टिप्पणी गर्नुभएको छ । यो नेतृत्वले भोटको लागि गरिने विकास माओवादीको लागि पाच्य नहुने तर्क राख्नुहुँदै सकारात्मक कार्यका लागि पनौती नेकपा माओवादी केन्द्र सदैव तयार रहेको नेता तामाङले कार्यक्रममा प्रतिबद्धता व्यक्त गर्दै नेकपा एमालेले आज जुन प्रवृत्ति देखाएको छ, त्यसले जनभावनाको खिल्ली उडाएको आफूले महसुस गरेको बताउनुभएको छ ।
उक्त शपथ ग्रहण तथा बधाई कार्यक्रममा प्रमुख कार्यकारी अधिकारी प्रदीप पौडेल, वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, विभिन्न पार्टी प्रतिनिधि लगायतका वक्ताहरुले नवनिर्वाचित नेतृत्वप्रति नगरवासीको ठूलो आशा र भरोसा रहेकोले त्यसको सम्मान गर्न आग्रह समेत गर्नुभएको छ ।
स्मरण रहोस्, सामाजिक व्यक्तित्वको रुपमा परिचित सहकारी अभियान्ता पात्र रामशरण भण्डारी आफ्नो इमान र कर्मले परिचित नाम हो । एउटा प्रवृत्तिले भण्डारीलाई उहाँको वास्तविक पहिचान नदिएर पार्टीको नाम जोडेर उहाँमाथि अन्याय दुस्प्रयत्न गर्नु आफैंमा गलत सावित भएको । पनौती नगरवासीले भण्डारीको अनुपम मेहेनत र जनताप्रतिको समर्पणले साथ दियो । विभिन्न शक्तिकेन्द्रहरु आफ्नो सबै शक्ति केन्द्रित गरेर भण्डारीलाई हराउन चाहन्थे तर पनौती नगरवासी सचेत मतदाताले जिताइदिए । यो पनौती नगरवासीको विजय हो भनिरहँदा फरक नपर्ला । यो चुनाव पनौती नगरवासीको विवेक र चेतनाको चुनाव नि हो । अनि नगरवासीका लागि परिक्षणको घडी पनि थियो । यहाँ भण्डारीले जितेका होइनन्, सचेत पनौती नगरवासीले जितेका छन् ।
यसो भनिरहँदा पनौती कार्यपालिका अब कसरी अगाडि बढ्छ भन्ने प्रश्न एकपछि अर्काे गरी खडा भएका छन् । मुलुकका ७ सय ५३ पालिकामध्ये पनौती नगरपालिका मात्र यस्तो नगरपालिका सावित भयो, जहाँ मतगणना स्थलमा त्यो पालिकाका कर्मचारीहरु निषेधित हुन बाध्य रहे । यसले पनौतीभित्र मौलाएको संकीर्णतावादका बारेमा भनिराख्नु नपर्ला । पनौती नगरपालिकाले यो जालो कसरी चिर्ला ? किनकी उहाँहरुको विगतका गतिविधिले आजित भएका सर्वदलीय समितिको बैठकले उहाँहरुलाई मतदान स्थलमा प्रवेश निषेध गर्ने निर्णय ग¥यो । मतदान स्थल उहाँहरुकै लागि पराई बनिदियो । त्यति हुँदा पनि पनौती नगरभित्रका कर्मचारीहरुलाई चेतना आएन । यदि विवेकशील राष्ट्रसेवक कर्मचारी हो भने सर्वदलीय निर्णयपछि आफूलाई संयमित बनाउँदै गम्भीर हुन आवश्यक थियो । मानिस न हो, कमी कमजोरी हुन्छ । त्यहीँबाट पाठ सिकेर आफूलाई रुपान्तरण गर्नु आवश्यक थियो तर पनौती नगरका कर्मचारीलाई चेतना खुल्नु त परै जाओस्, विजय ¥यालीको अग्रमोर्चामा देखिनुले उहाँहरुमा राजनीतिक सम्बन्धी कस्तो दम्भ रहेछ भन्ने कुरा उहाँहरुका गतिविधिले प्रष्ट्याएको छ । निर्वाचनको परिणाम सार्वजनिक भएसँगै पार्टीको झण्डा बोक्दै अग्रमोर्चामा रंगिन बन्दै नाराहरुबिच रम्न पछि पर्नुभएन । यसले के उहाँहरुलाई राष्ट्रसेवक कर्मचारी भन्न सुहाउला ? यस्ता प्रवृत्तिका बिच नेतृत्व सम्हाल्न पुग्नुभएका भण्डारीको नगरपालिका यात्रा चुनौतीपूर्ण छैन भन्न सकिन्नँ ।
काभ्रे । शपथ ग्रहणको दोस्रो श्रृंखलालाई सम्बोधन गर्ने क्रममा नेकपा एमाले पनौती नगर कमिटीका अध्यक्ष सुरेश हुमागाईंले एमालेको घोषणा पत्रभन्दा बाहिर रहेर कुनै पनि कार्यमा सहयोग नहुने बताएका छन् । नगर प्रमुख रामशरण भण्डारीलाई आफ्नो पार्टीको घोषणा पत्र हस्तान्तरण गर्दै उक्त भनाई राखेका हुन् ।
सोही कार्यक्रममा उनका कार्यकर्ताको प्रस्तुतीले भनाई र गराईमा कतिको मेल गराएको छ भन्ने कुरा समिक्षा हुन आवश्यक देखिन्छ । पराजित मानसिकताबाट माथि उठ्न नसक्दा जुन दृश्य कैद भएका छन्, त्यसले पनौती एमालेको छविमाथि प्रश्न चिन्ह नउठाउला भन्न सकिन्नँ । दोस्रो प्रहरको शपथ ग्रहणमा देखिएका दृश्यले भोलिको संकेत गरेको छ ।
पनौती नगरपालिकाको हलमा सपथ ग्रहण कार्यक्रमको दोस्रो भाग चलिरहेको थियो । हामी सञ्चारकर्मीहरु आफ्नो जिम्मेवारी निभाउँदै थियौं । एक्कासी मोबाइलमा समेत निर्वाचन चिन्ह टाँसेका केही व्यक्तिहरुले उत्तेजित भई सञ्चारकर्मीहरुलाई छेक्ने क्रममा सञ्चारकर्मीहरु प्रदिप केसी, विकास तिमल्सिना लगायतलाई लछार पछार गर्न थाल्नुले उहाँहरु कुन आशयले सहभागिता जनाउनुभएको रहेछ भन्ने तथ्य झल्किन्थ्यो । व्यवस्थापनको कारण कार्यक्रम स्थलमा सञ्चारकर्मीहरुले आफ्नो जिम्मेवारीलाई पूरा गर्ने क्रममा केही असहज हुनु स्वभाविक पनि हो । तर हुलहुज्जत गर्ने तरिकाले कोही प्रस्तुत हुनु दुःखद पक्ष हो । सपथ ग्रहण नै बिथोलिने गरी हल्ला भइरहेको थियो । यसलाई पुष्टि गर्न सामाजिक सञ्जालमा सञ्चारकर्मीहरुले पोष्ट गरेको श्रव्यदृश्य नै काफी छ ।
सपथ ग्रहणको दोस्रो संस्करणमा हल भित्र बसिरहँदा कुनै मेला महोत्सव, कुनै सिनेमा हलमा बसेको महशुस भयो । सहभागीहरु अमुक व्यक्तिको पक्षमा हुटिङ गर्ने, सिठ्ठी बजाउने सम्म गरिरहेका थिए । यसले नेतृत्वहरुको मर्यादामाथि प्रश्न चिन्ह खडा गरेको हुनुपर्छ भन्ने बुझाई हामी सञ्चारकर्मीको छ । जुन किसिमको दृश्य देखियो, त्यसले कति अनुशासित र मर्यादित कार्यकर्ता उत्पादन भएछन् भन्ने विषयमा थप अनुसन्धान गरिराख्नु नपर्ला । हलभित्रका घटनालाई लिएर हल बाहिर रहेका नगरपालिकाका जिम्मेवार कर्मचारीलाई जानकारी गराउँदा उल्टै हुलहुज्जतको पक्षमा वकालत गर्दै त्यसको प्रतिवाद गर्नुले राष्ट्रसेवक कर्मचारीको हैसियतका बारेमा थप अनुसन्धान र खोजी गरिराख्नु आवश्य ठानिएन । गलतलाई गलत भन्न नसक्ने र कसैको पक्ष लिएर गल्ती ढाकछोप गर्ने कर्मचारी माथि छानबिन हुनुपर्छ भन्ने माग सञ्चारकर्मीको रहेको छ । यसले राजनीति भनेको संस्कार र अनुशासन पनि हो भन्ने कुरा स्मरण गराउने छ ।
यो अवस्था आउनुको पछाडि पनौती नगरपालिकामा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिले शपथ ग्रहण बहिष्कार गरेकै कारण हो भन्ने ठम्याई हामी सञ्चारकर्मीको छ । तर औपचारिक छलफल र सहमति नगरेको, उपप्रमुखलगायत जनप्रतिनिधिलाई अन्तिम समयमा मात्रै खबर गरेको, बहालवाला जनप्रतिनिधिभन्दा पूर्वजनप्रतिनिधिलाई आमन्त्रण गरेको लगायतका कारणले शपथ ग्रहणमा सहभागी नभएको एमाले नगर कमिटी अध्यक्ष सुरेश हुमागाईंले जारी विज्ञप्तिमार्फत जनाएको देखिन्छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |