स्मृतिमा व्यक्तिवृत्त
मोहन दुवाल, साहित्यकार
तथा जनमतका प्रधानसम्पादक
कृष्णदाई अर्थात् कृष्णचन्द्रसिंह प्रधानको अचानक अवसान भएको खबरले म स्तब्ध भएको पनि १२ वर्ष नाघिसक्यो । हृदयचन्द्रसिंह प्रधानको सुपुत्र तथा कृष्णदाईका भतिजा सुप्रदचन्द्रसिंह प्रधानले यो दुःखद समाचार फोनबाट २०६७ असार १७ गते सुनाउँदा ७.३० बजिसकेको छ । काठमाडौं पुग्न सकिने सम्भावना भएन – यसै सम्बन्धमा दुईचारजना मित्र साहित्यकारहरूसँग फोन सम्पर्क भयो । खल्लो मन बोकेर रात काट्न बाध्य भएँ । राती नै लाशलाई आर्यघाट पु¥याइसकेको कुरो पछि थाहा भयो । कृष्णदाईकै इच्छाअनुसार पार्थिव शरीरललाई प्रदर्शनी नराखेको कुरो पनि पछि थाहा भयो । नेपाली र नेपालभाषा साहित्यका गद्य विधामा अझ निबन्ध र समालोचना विधाका एकजना शिखर स्रष्टाको अवसान भएको खबरले मलाई पनि स्तब्ध बनाइदिएको उक्त क्षण बिर्सिपठाउन गाह्रो भयो । आफ्नो शैलीमार्फत् निबन्धमा सशक्तता छोड्न सफल थोरै लेखकमध्येका एकजना सफल निबन्धकार जसलाई बिर्सिपठाउन गा¥हो छ । अझ भनौं भने समालोचना लेखनमा आफ्नैपन, आफ्नै दृष्टि–बिम्ब र आफ्नै शैलीद्वारा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाइसकेका उहाँको अवसानले निबन्ध, समालोचना विधामा एउटा युगको अन्त्य भएजस्तो प्रतीत भइदियो त्यो क्षण ।
नेपालभाषा साहित्यमा पनि उहाँद्वारा समालोचना क्षेत्र र गद्य लेखनमा पु¥याइएका योगदान अत्यन्त महत्वपूर्ण मानिन्छ । थोरैमात्र समालोचकहरूको योगदान देखिंदो रहेको नेपालभाषा जगत्मा उहाँले कोरेर जानुभएका समालोचनाका हरफहरू सङ्ग्रहणीय रहनुको साथै चर्चित पनि छन् । नेपालीभाषा साहित्यका एकजना बलिया साहित्यिक हस्ती भएकै कारणले उहाँको नेपालभाषा साहित्यमा भए–गरेका योगदान र सिर्जनाहरू छोपिएका छन् जस्तै भान परिरहन्छ । तर पनि उहाँको योगदान र सिर्जना नेपालभाषा जगत्मा पनि बिर्सिदिन, बिर्सन खोज्नु हुँदैन भन्ने सबैको मान्यता देखिंदो छ । निबन्ध र समालोचना विधाका एकजना सशक्त युगपुरूष कृष्णचन्द्रसिंह प्रधान नपत्याउँदो किसिमले हामीलाई छोडेर जानुभयो । पछिल्लोपल्ट केही गाह्रो–साह्रो भएको, विछ्यौनामा अडेस लाएर बस्नुभएको र विमारीझैं अप्ठ्यारो भोग्दै बाँच्नुभएको मलाई थाहा भएन । एकैचोटी अवसानको कुरो सुनें – छक्क लाग्यो ! सजिलै जानुभएछ – हामीलाई छोडेर कृष्णचन्द्रसिंह प्रधान । ८५ वर्षसम्म बाँच्नुभएर आफूलाई सधैं सिर्जनामा डुब्न भएर सबैका प्रिय साहित्यकारका रूपमा परिचय छाडेर जानुभयो हामीसँग ।
हृदयचन्द्रसिंह प्रधानका भाइ कृष्णचन्द्रले दाजुको साहित्यिक लेखन र ख्यातीलाई मनन गर्नुभएर उहाँ पनि साहित्यकार बन्न खोजेका प्रसङ्गहरु धेरै सुन्न पाएको हुँ । पहिलोचोटी वि.सं. २००२ मा बनारसबाट प्रकाशित हुने ‘उदय’ साहित्यिक पत्रिकामा ‘अश्रुधार’ कविता प्रकाशित गर्नुभएर साहित्यिक जगत्मा देखापर्नुभएका उहाँ ‘भन्ज्याङ्नेर’ कवितासङ्ग्रहसँगै काव्य जगत्मा देखापर्नुभएको हो । स्वाध्यायन नै हुन् उहाँको योग्यता । घरैबाट सिकेर आफैंले जाँगर चलाउनुभएर उहाँ सफल साहित्यकार हुनुभयो । सिक्न खोज्नेलाई बाटो खुल्छ – आफैले प्रयास गर्ने हो आफू बन्न र यसको चरितार्थ गरिदिएर उहाँले आफूलाई सबल स्रष्टा बनेर देखाइदिनुभयो । एउटा नेवारका छोरा, काठमाडौं निवासी, औपचारिक शिक्षा नपाएका कृष्णचन्द्रले जात, क्षेत्र, शिक्षाका सबै खालका पावण्डीहरूकै सीमित सोच र क्षेत्रलाई तोडेर साहित्यकार बनेको देखिन्छ ।
सुरू–सुरूमा युवा छँदा कम्युनिष्ट राजनीतिमा सक्रिय रहेका उहाँले भौतिकवादी दृष्टि–बिम्बबाट देश, जगत्लाई नियाल्नुभएर साहित्यलाई आफ्नै ढङ्गले छामिरहनुभयो । ‘क्यै नभनेर कुँडिनुभन्दा, क्यै भनेर हलुङ्गिने हुँदा त्यस्तो भावनाहरूको अभिलेख साहित्य हो ।’ उहाँको साहित्यिक भाषा देखिएको छ । बायाँ–दायाँमात्र हेर्नेहरूले अरूतिर हेर्नै सक्दैन, सबैतिर हेरेर साहित्य सिर्जना गर्ने उहाँको पछिल्लो चाहनाजस्तो देखियो । त्यही अनुसार उहाँले लेखिरहनुभयो । निबन्धमा आफ्नैपन, समालोचनामा एक खालको निश्पक्ष–दृष्टि र भूमिका लेखनमा एकखालको मीठास छोडेर उहाँ जानुभयो । गफमा आफ्नै खालको तर्क, भाषणमा एउटा नयाँ–दृष्टि, संघ–संस्थामा आफूसक्दो योगदान पु¥याउनुभएर उहाँले आफ्नो कर्मशीलता प्रभावकारी ढङ्गले देखाएर जानुभयो । जीवनप्रति आस्थावान रहन जान्नुभएर नै यिनले आफूभित्र सिर्जनाका मजबूत रूखहरू हुर्काउनुभयो र त्यही रुखबाट धेरैलाई शितलता पनि प्रदान गर्न सफल हुनुभयो । मलाई भन्न मन लाग्छ; कृष्णचन्द्रसिंह प्रधान नेपालीभाषा साहित्यका एउटा हरियाली रूख हुन्, एउटा फुल्दै, झुल्दै गरेका मनोरम फूल हुन् – एउटा युग हुन्; त्यस्तै गरी मूल्याङ्कन गरी भन्न सकिन्छ उहाँ साहित्यिक इतिहासका एउटा मनोरम श्रृङ्खला पनि हुन् ।
००
म सानैछँदादेखि सुन्दै आएको मेरो मनभित्र लुकेको एउटा सुन्दर साहित्यिक नाम हुन् – कृष्णचन्द्रसिंह प्रधान । तर मैले चिन्न पाएँ २०४० सालतिर मात्र । २०४५ मङ्सिर महिनामा कृष्णदाईको घर ताहाचलमा कृष्णप्रसाद पराजुलीसँग मेरो मुक्तकसङ्ग्रह ‘सिर्जनाका फूलहरू’ मा भूमिका माग्न गएको याद छ । म उहाँको घरमा पुग्दाको क्षणबाट त झनै प्रवाहित भए उहाँसँग । शालीन व्यवहार, कुराकानीमा प्रष्टता राखेर व्यवहार गर्न सिपालु उहाँसँग पहिलोचोटी उहाँकै घरमा भेट्दा अझ मेरो मनमा झुल्न थाल्यो । संगत हुँदै गयो र पछि मेरो मूल्याङ्कन गर्दै उहाँले मेरो सम्बन्धमा यसरी लेख्नुभयो – मोहन दुवाल सामूहिक भावनालाई उद्बोधन गर्ने अनिरपेक्षित चेतनाका संवाहक हुन् । मेरो कविताको मूल्याङ्कन गर्दै ममाथि उहाँले पोख्नुभएको उपर्युक्त भावधाराहरु मेरा लागि र अझ मेरा कविताका लागि मलजल थपिदिएजस्तो प्रतीत भएको त्यसैबेला महसूस भएको हो । यसरी सम्पर्क भयो कृष्णचन्द्रदाईसँग मेरो सम्पर्क । पछि धेरै खालको साहित्यिक गतिविधिहरूमा उहाँसँगसँगै रहेर काम गर्न पाइएका थुप्रै घटना–प्रसङ्गहरु छन् ।
व्यथित–सिन्धु सम्मान कोष गठन हुँदा, व्यथित स्मृति ग्रन्थ तयार पारिंदा र व्यथित–सिन्धु कोषबाट सम्मानित प्रतिभाहरू चयन गरिंदाका थुपै्र बैठकमा सँगसँगै रहेर साहित्यिक सिर्जनशीलतामा रम्न पाउँदाका क्षणहरू अविष्मरणीय छन् । म त्यस संस्थाका संस्थापक सदस्य सचिव र उहाँ उक्त संस्थाका सक्रिय सल्लाहकार हुन् । धेरैजसो बैठकहरू कृष्णदाईकहाँ नै हुने भएकोले ताहाचल घरमा मलाई पुगिरहनुपर्ने भयो । आत्मियता जोडिंंदै गयो; मेरो साहित्यिक क्रियाकलापहरू पनि कृष्णदाईले देख्दै र भोग्दै जानुभयो – एकअर्कामा सामीप्यता पनि थपिंंंदै गयो । यसैगरि हृदयचन्द्र स्मृति प्रतिष्ठान गठन भयो । यसका संथापक अध्यक्षमा म रहेको र कृष्णदाई सल्लाहकार रहेको कारणले पनि उनीसँग मेरो सम्पर्क र सम्बन्ध गहिरिंदै गयो । बुढेसकालमा पनि आफ्नो क्षमता देखाउँदै र सक्रियता छोड्दै रहनुभएका एकजना वरिष्ठ साहित्यकार रहनुभएको कारणले मैले एकपल्ट जनमत प्रकाशनका तर्फबाट जनमत वरिष्ठ साधक सम्मानका रूपमा अविनन्दन गर्न खोजेको तर उहाँ बाथरूममा लड्नुभएको कारणले उपस्थित हुन नसकेकोले भतिजो सुप्रदले अभिवन्दना–पत्र बुझी लगिदिएको हो । व्यथित कोष, हृदयचन्द्र प्रतिष्ठान, जनमत प्रकाशनका माध्यमबाट धेरै ठाउँमा, धेरै बैठकमा, धेरै कार्यक्रममा सँग–सँगै रहँदाका उहाँसँग बिताइएका क्षणहरू कहिले कष्टकर रहेनन् । लागेको कुरा भनिहाल्ने, हाँसो छर्किदै आफ्नो तार्किकता फुकाउन मन पराउनुहुने कृष्णचन्द्रसिंह प्रधानका साहित्यिक मर्महरू बिर्सिन गाह्रो भइरहेछ ।
अविस्मृत लाग्छ कृष्णचन्द्रसिंह प्रधान मेरा लागि पनि उनले त २०५८ वैशाख २४ गते नै मेरोबारे ज्ञानगुणका कुरामा यसरी लेख्नुभएको छ – अविस्मृत लाग्छ मोहन दुवाल । उहाँले मेरो मूल्याङ्कन गर्दै लेखेका यी साहित्यिक हरफहरू मलाई सधैं सम्झनामात्र होइन मनन लाग्नेगरी लेखिदिनुभयो । उहाँले मेरोबारे यसरी लेख्नुभयो – मेरो सरोकारको विषय भने दुवाल हो जो मित्र होइनौं । फेरि पनि किन नजिकिएछौं ? यही दृष्टिगोचर हुन्छ अविस्मृत मोहन दुवाल अर्थात् उनको गतिशील पौरूष । मोहन दुवालहरू त धेरै छन् – कवि मोहन दुवाल, मुक्तककवि मोहन दुवाल, लेखक मोहन दुवाल, पत्रकार, सम्पादक, समाजसेवी, प्रगतिवादी, सङ्गठनकारी, बहुविषयका सक्रिय मोहन दुवालहरू । तर मोहन दुवालमा अर्को यस्तो मोहन पनि छ जो अन्त भेटिंदैन । सबैमा भ्याइदिने, सबैलाई समेट्ने, सबैमा छरिने, सबैको भइदिने भएर पनि जो तिनीहरूमा हराउँदैनन् । बाँडेर आफूलाई अरूहरूमा जो सकिंदैन, रितिंदैन । अथवा आफ्नो रङ्गले कसैलाई रङ्गाउने, अरूबाट रङ्गिदै आफू बदल्ने गर्दैन । रातो रङ्गको वस्त्रधारी दुवाल देब्रे–देब्रे लागेर हिंडिरहन्छन् – कसलाई थाहा छैन । व्यवहारमा भने रङ्गहीन रङ्गको पानी लाग्छ दुवाल – त्यति फाँटिलो । त्यति फरासिलो, त्यति उर्वर, त्यति फिजिँदो, त्यति समानान्तर, त्यति गतिशील र तरल तरल । सटिक भाषामा मेरो समग्र पक्षको मूल्याङ्कन भएका यी हरफहरू पढेर मलाई कृष्णदाई भुल्न गाह्रो भइरहेछ ।
पछिल्लोपल्ट सायद उनको यो अन्तिम काठमाडौं उपत्यका बाहिरको साहित्यिक यात्रा हुनुपर्छ; पुसको चीसो बिहानीमा सिन्धुपाल्चोकको किउलमा सँगै पुगेको याद आइरहेछ । एउटा गाडी मिलाइएको छ व्यथित सिन्धुकोषबाट त्यहाँ पुग्न । कृष्णदाईसँग तेजेश्वरबाबु ग्वंगः, अनिल पौडेल, जयन्ता पोखरेल र म थियौं । मेलम्चीमा चिया पियौं । उदास लागेन, थकान महसुस भएन लामो यात्रामा उहाँसँग हिंड्दा । पहाड, नदी, झर्नासँग–सँगै आँखामा बोकेर हामी किउल पुग्यौं र फक्र्यौं । एक रफ््तारले देश जगत्को, अन्तर्राष्ट्रिय घटना–क्रमको, साहित्यिक जगत्को चर्चा गर्दै हामी किउलमा पुगेर साहित्यिक कार्यक्रममा विचार सम्म्रेषण गरेर फर्किंदाका ती क्षणहरू बिर्सिनसक्नु भयो । कृष्णदाईलाई मेरो आँखामा र मनमा सधैं राख्न रूचाइरहेछु ।
वि.सं. १९८२ साउन ११ (नागपञ्चमी) का दिन तुन्छेगल्ली, काठमाडौंमा जन्मिनुभएका कृष्णदाई २०६७ असार १७ गते अवसान हुनुभयो । उहाँ करिव ८४ वर्ष बाँच्नुभयो । घरैमा आफैं सिकेर अध्यापन, प्राध्यापनमा पनि उहाँ लाग्नुभयो । यसैगरी साझा प्रकाशनका महाप्रवन्धक र ने.रा.प्र.प्र.मा आजीवन सदस्य हुनुभएर आफ्नो वौद्धिक क्षमता र कर्मठता देखाएर जानुभयो । ‘कवि व्यथित र उनको काव्यसाधना २०१५ सालमा नै प्रकाशित समालोचनासङ्ग्रहले कविवर व्यथितलाई चिनाई दिनुभयो ।’ नेपाली उपन्यास र उपन्यासकार २०३७ मा प्रकाशित समालोचनासङ्ग्रहले त्यसताकाका सबैजसो उपन्यासहरुको विवेचना र विश्लेषण गर्नुभएर नेपाली उपन्यास विधाकै इतिहास लेखन गरिदिनुभयो । अन्य थुप्रै प्रकाशित समालोचनासङ्ग्रहरुले पनि उहाँको समालोचनाको गहनता कतिको उच्चकोटीको छ ती कृतिहरुले नै हामीलाई बताइसकेको छ । ‘अनाम सत्य’ र ‘आगतमा टेकेर’ दुईटा निबन्धसङ्ग्रहहरु धेरै चर्चामा आएका निबन्धसङ्ग्रहहरु हुन् । यसैगरी नेपालभाषामा प्रकाशित ‘झीगु बाखं साहित्य, ‘पलाचिं लिना’ समालोचनासङ्ग्रहहरुले उहाँको नेपालभाषा साहित्यमा पु¥याउनुभएको योगदानलाई उच्चकोटीले मूल्याङ्कन गर्न सकिन्छ । त्यसैले भन्न सकिन्छ; कृष्णचन्द्र प्रधान नेपालीभाषा र नेपाल भाषामा उत्कृष्टलेखन गरेर देखा पर्नुभएका उच्चकोटीका साहित्यकार हुन् ।
०००
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |