logo
२०८३ अषाढ ३, बुधबार |
📰
🔍

गुणस्तरीय शिक्षा आजको आवश्यकता ः अध्यक्ष बडाल

प्रभातफेरी अनलाइन७६० पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक २९, मंगलबार(३ साल अघि)
गुणस्तरीय शिक्षा आजको आवश्यकता ः अध्यक्ष बडाल

खरले छाएको कटेरो नै हाम्रा लागि महल थियो ः प्रधानाध्यापक

काभ्रे । काभ्रेको यथार्थ कर्णाली भनेर चर्चामा आइरहने साविक पात्लेखेत–८, पाठकबेसीमा रहेको ठाकुर आधारभूत विद्यालयको ३२औं वार्षिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्यक्रममा प्रमुख अतिथि एवं धुलिखेल नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष सामाजिक व्यक्तित्व नारायण प्रसाद बडालले सामुदायिक विद्यालयले गुणस्तरहिन उत्पादन गर्ने छुट छैन भन्नुहुँदै बेथितिलाई अन्त्य गर्न नै गुणस्तरीय शिक्षा आवश्यक रहेको बताउनुभएको छ ।
यस क्षेत्रको ऐतिहासिकता बोकेको धरोहरको रुपमा रहेको ठाकुर आधारभूत विद्यालय आज जुन अवस्थामा आइपुगेको छ । यो अवस्थामा आइपुग्दा यसले निकै ठूलो आरोह अवरोह खेप्न पुगेको चर्चा गर्नुभएको छ । त्यसैले आगामी दिनमा यस विद्यालयलाई उत्कृष्ट विद्यालयको रुपमा स्थापित गर्नको लागि आफू कुनै पनि कसुरमा नचुक्ने बताउनुभएको छ । त्यसका लागि तपाईं अभिभावक, विद्यार्थी, शिक्षक र हामी जनप्रतिनिधि एक भएर जानुको विकल्प छैन । पछिल्लो समय सामुदायिक विद्यालयप्रति समाजको बुझाइ परिवर्तन भएको अध्यक्ष बडालले कार्यक्रममा खुलासा गर्नुहुँदै राष्ट्र निर्माणमा सामुदायिक विद्यालयको अनुकरणीय योगदान रहेको उद्घोष गर्न अध्यक्ष बडाल पछि पर्नु भएन । त्यसैले यस विद्यालयको स्तरोन्नती र गुणस्तरीय शिक्षाका लागि सदैव आफ्नो अर्जुनदृष्टि रहिरहने बताउनुभएको छ ।


कार्यक्रममा विद्यालयप्रति उत्कृष्ट योगदान पु¥याउने शिक्षक, अभिभावक, सामाजिक व्यक्तित्वहरुको तर्फबाट संस्थापक प्रधानाध्यापक गणेशप्रसाद हुमागाईं बताउँछन्, आजभन्दा ३२ वर्ष अगाडि विद्यालय स्थापन गर्दाका क्षणहरु सम्झँदै भावुक हुँदाको अवस्था चर्चा गर्न लायकका छन् । काभ्रे जिल्लाकै गोकुले गाविसमा रहेको ठाकुर प्राथमिक विद्यालयलाई स्थान्तरण गरेर ल्याउँदाका संघर्षपूर्ण दिनहरुप्रति स्मरण गराउने क्रममा आजैको दिन २०४७ कार्तिक २७ गते सम्भवतः यहिँ हुनुपर्छ भन्दै औंलाले देखाउँदै सालको फेदमा इंकित गर्दै विद्यालय स्थापित गर्न पुगेको त्यो दिन आफ्ना लागि चिरस्थायी बनेको कार्यक्रममा चर्चा गर्नुभएको छ ।
गोकुलेमा दर्ता भएको यो विद्यालयलाई आज यो रुपमा यस भूमिमा देख्न पाउँदा खुशीका सीमा रहेनन् । विगतका ति पीडा सबै ओझेलमा परे । यहाँका प्रत्येक घर–घरमा पुगेर अभिभावकहरुसँग बच्चाहरुको जिम्मा लिएर विद्यालय ल्याएर पढाउ अनि फेरि जस्ताको तस्तै घर–घरमा पु¥याएर आफ्नो गन्तव्यतर्फ लाग्दाको क्षण आज झल्झली सम्झेको छु । ति दिन घरबाट निस्किँदा कुन बालकलाई पहिला लिएर निस्किँदा भरे आफूलाई सहज हुन्छ भन्ने चिन्ताले नै बाटो कटेको पत्तै हुँदैन थियो । आज यो बच्चाले यसरी पढ्यो, उसरी पढ्यो भनेर गम्दागम्दै घरभित्र छिरेको पनि मेसो हुन्न थियो ।
यसरी विद्यालयलाई टिकाएको स्मरण प्रधानाध्यापक हुमागाईंले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा खुलासा गरिरहँदा उपस्थित अभिभावक, शिक्षकहरुको हाउभाउ हेर्न लायक थियो । आफ्ना अतितको वर्णन गरिरहँदा संस्थापक प्रअ हुमागाईंले विद्यालय स्थापना गर्न स्थानीयले खेलेको भूमिकाप्रति पनि मुक्तकण्ठले खुलेरै प्रशंसा गर्न पछि पर्नु भएन ।
स्थानीयहरूको तत्कालिन अवस्थाको जागरणले धेरै महिना सालको फेद रुँग्नु परेन । छिट्टै कटेरामा सर्न पाउनु पनि हाम्रा लागि गर्वको कुरो थियो । एक त गर्मी ठाउँ, घामपानीबाट खेप्नुपरेका दुःखका बारेमा जति नै बिर्सन खोजे पनि सकिन्नँ । यो अवस्थामा खरको कटेरो हाम्रा लागि त्यतिबेलाको हवेली नै भयो भन्दा फरक परेन ।
७०÷७५ जना बाल बालिकाहरुलाई ल्याउँदा र लग्दा ४ घण्टाको विद्यालय व्यवस्थापनमा कति पढाएँ होला ? आफैंसँग त्यसको जवाफ छैन । झण्डै साँढे ३ वर्षका ति दिनहरुले पनि आज तिनै कटेरीतिर छु भन्ने लाग्छ । आजका यि सुविधा सम्पन्न भवन देख्दा खुशीका आँशु आँखामा छचल्किन पुगेका मात्र छैनन्, विद्यालय परिवारले ३२ वर्षपछि सम्झेर जुन सम्मान दिनुभएको छ, यसले पनि ति दिनलाई अझै ताजा बनाइदिएको संस्थापक प्रअ हुमागाईंले बताउनुभएको छ । विद्यालयको यो सम्मानप्रति व्यक्त गर्ने कुनै शब्द नरहेको प्रअ हुमागाईंको थप कथन छ ।
कार्यक्रममा पूर्व प्रअ झमकप्रसाद गौतम, एक पाइला फाउण्डेशनका आयोजना प्रमुख माधव श्रेष्ठ, प्रधानाध्याक अर्जुनप्रसाद बजगाईं, समाजसेवी सरस्वती लामा, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजन तिमल्सिना, वर्तमान अध्यक्ष भोलानाथ पाठक, मानबहादुर तामाङ माननाथ हुमागाईं, वडा सदस्य कृष्णबहादुर तामाङ लगायतले विद्यालय स्थापनादेखि आजसम्म विद्यालयले भोगेका घटनाक्रमहरुलाई उजागर गर्दै भावी दिनमा विद्यालयले आफ्नो छविलाई अझ उचाईमा पु¥याउने विश्वासका साथ वार्षिकोत्सव कार्यक्रमप्रति शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका अप्सरा दंगालले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षिका जानुका गौतमले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विधामा सामाजिक व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो भने विद्यार्थी भाइबहिनीहरूले साँस्कृतिक कार्यक्रमद्वारा वार्षिकोत्सवलाई मनोञ्जनात्मक रुपमा अगाडि बढाएका थिए ।