logo
२०८३ अषाढ ३, बुधबार |
📰
🔍

नेपाल टेलिभिजनका खरिद प्रक्रियामाथि छानबिन गर्न चार सदस्यीय समिति गठन

प्रभातफेरी अनलाइन१६ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ३, बुधबार(१० घण्टा अघि)
नेपाल टेलिभिजनका खरिद प्रक्रियामाथि छानबिन गर्न चार सदस्यीय समिति गठन

काठमाडाैं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन तथा छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ।

मन्त्रालयका अनुसार २०८३ असार १ गते मन्त्रीस्तरीय निर्णयबाट डा. सुदीप भट्टराईको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिलाई नेपाल टेलिभिजनले खरिद गरेका उपकरण, सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी, प्रतिवेदन र सार्वजनिक सरोकारका विषयहरूको तथ्यपरक अध्ययन गरी २१ दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

समितिले ग्राफिक्स सिस्टम, न्यु मिडिया (डिजिटल प्लेटफर्म) सेवा, अडियो–भिडियो उपकरण, डिजिटल ट्रान्समिटर तथा इटहरी च्यानलका लागि खरिद गरिएको ‘प्लेआउट अटोमेसन सिस्टम’ लगायतका विषयमा विस्तृत अध्ययन गर्नेछ।

उक्त खरिद प्रक्रियासम्बन्धी विभिन्न निकायमा उजुरी तथा गुनासा परेपछि मन्त्रालयले आन्तरिक जानकारी र तथ्य संकलनका लागि छानबिन समिति गठन गरेको जनाएको छ।

नेपाल टेलिभिजनमा पछिल्ला वर्षहरूमा प्रविधि तथा प्रसारण प्रणाली आधुनिकीकरणका लागि गरिएका खरिद प्रक्रियामा पारदर्शिता र कानुनी प्रक्रिया पालना गरिएको विषयमा प्रश्न उठ्दै आएका छन्। यसअघि पनि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छुट्टै छानबिन समिति गठन गरेको थियो।