रामगोपाल आशुतोष
भक्तपुर
यो जिन्दगी
कसैको अनुदान होइन !
मलाई थाहा छ
अनुदानको इमान हुँदैन ।
मसित गुमाउन त्यस्तो केही छैन
बश
नचलाउनू मेरो इमानलाई !
मैले रोजेको बाटो राजमार्ग होइन–
अरू कसैले खनिदिएको !
आफ्नो औकात थाहा छ मलाई
मेरो सुझाव तिमीलाई – आफ्नो औकातमा बस ।
मेरा आफ्नै दुई खुट्टा छन् – स्वाभिमानी छन्
मेरा दुई हात छन् – स्वावलम्बी छन्
मेरो आफ्नै विचार छ – सार्वभौम छ
आफैँमा विश्वास छ – शात्विक छ
अनुदानको खानाले – भोक मेट्नु छैन
पराइ लौरी टेकेर – गन्तव्य पुग्नु छैन
खैरातको पहिरनले – सुन्दर देखिनु छैन
अरूलाई कुल्चेर – अघि बढ्नु छैन
म गणेश मार्गी होइन –
कुमार मार्गी हुँ !
पुग्नु छैन स्वार्थको
पराइको ताम्दानमा चढेर कुनै लोकमा
मलाई थाहा छ –
बोकेको कुकुरले सिकार गर्न सक्दैन ।
अन्त्यमा –
म जहाँ छु त्यहीँ खुशी छु
घमण्डी भनून् दुनियाँले मलाई
मेरो विचारको सौन्दर्य, मेरो चेतनाको संस्कृति
मेरो व्यवहारको परम्परा, मेरो वेदको संस्कार
अनेक परीक्षाको अग्निलाई पिएपछि प्राप्त भएको हो ।
अस्ति समाचार पढेको समाचार सम्झ त
– पथप्रदर्शकले बोकेर गराए सगरमाथा आरोहण !
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |