डम्बर थामी “अनुपम”
हिजोका दिनहरूमा म रणसमरको एक संवेद्य मुसाफिर थिएँ । त्यसैले मैले यतिखेर आँधी–तूफानी वर्गसंघर्षका । अनि भीषण–भीषण वर्गयुद्धका । रातै– रक्ताम्यै पानाहरू क्रमशः पल्टाउने कोशिश गर्दैछु । वर्गसंघर्षको दावानलरुपी सफरहरूको कथा उजागर गर्ने यत्न–प्रयत्न गर्दैछु । कालान्तरमा भएका यस्ता विद्रोहहरूको अप्रतिम इतिहासको केही लेखोट तयार गर्ने जमर्को गर्दैछु । क्रान्तिको तातो घाम उदाएको बेला धर्ती जगमगाएको दिनको कुरा गर्दैछु । निर्मम इतिहासको क्यानभासमा केही बोधगम्य अनुभवका कार्चोपी भर्दैछु । रगतको मसीले लेखिएका राताम्य शब्दसागरहरू तर्दैछु । हजारौं हारहरूलाई चपाएर एउटा जीत निकाले जस्तै छुट्टै संसारतिर सर्दैछु । यस्तै–यस्तै कठोर र निर्मम जनसंघर्षको दौरानमा । मैले यहाँ नेपाली जनताको त्याग, तपस्या, वीरता र बलिदानको पिरामिडमा उभिएको ऐतिहासिक भूमि पिस्करको गाथालाई स्मरण गर्ने पनि कोसिस गर्दैछु । सम्भवतः सबै घटनाक्रमहरूको यथार्थ फेहरिस्तहरू नसमेटिन सक्लान् । किनकि त्यो घटना धेरै लामो समय अगाडिको हो । यसमा म क्षमाप्रार्थी पनि छु ।
नेपाली धर्तीमा महान जनयुद्धको दीप्तिमान राप–ताप फैलिएपछि म पनि एक अथक युद्धयात्री भएँ । कलिलै अल्लारे उमेरमा आफू भन्दा अग्लो बन्दुक बोकेर हिंडे । आफ्नो तौल भन्दा गह्रुंगो अपशकून वस्तुहरु गमला माइन, सिलिन्डर माइन, पाते माइन, टि.एन. टि. माइन (एम्बुस) बोकेर हिंडे । कहिले विरहको राग अलाप्ने सारंगी बोकें । कहिले दुनियाँ ब्युँझाउने मादल बोकें । कहिले विभिन्न रंग भर्ने कुची बोकें । कहिले आफू पुरिनलाई कोदालो–कोदाली बोकें । कहिले धारिलो तरबार बोकें । कहिले रातो–तातो मशाल बोकें । रातै कलम पनि बोकें । कहिले उच्च आदर्श र मालेमावादी विचार बोकें । कहिले सच्चा सर्वहारावादी दर्शन बोकें । र अन्तिममा आएर सहिद, बेपत्ता, घाइते योद्धाहरूको असिम पीडा बोकिरहेको छु । अनि अप्ठ्यारोमा झुन्डिएको फर्सी जस्तै घाइते जिन्दगी बोकिरहेको छु । र यही जिन्दगी क्रमशः घिसार्दै हिंडिरहेको छु । साँच्चिकै भन्नु पर्दा त्यतिबेलाको समयमा क्रान्तिकारीहरू धेरै किसिमका योद्धा बन्नुपर्थ्यो । एउटा मात्र योद्धा बनेर पुग्दैनथ्यो । र सम्भव पनि हुँदैन थियो । कहिले उत्पादनकर्ता योद्धा । कहिले साँस्कृतिक योद्धा । कहिले लाल योद्धा । कहिले संगठक योद्धा । त कहिले वीर योद्धा । यसरी विभिन्न योद्धा बन्ने समष्टिगत रूपलाई “लाल र निपुण” (रेड एण्ड एक्सपर्ट) भनिन्थ्यो । हामी जसरी पनि “लाल र निपुण“ हुनै पर्थ्यो । “लाल र निपुण” हुने कुरा एक सिक्काका दुई पाटा झैं निकै महत्त्वपूर्ण हुन्थ्यो । लाल मात्र भएर पनि नहुने, निपुण मात्र पनि भएर नहुने ! क्रान्तिको द्वन्दवाद यही थियो । त्यही भएर त क्रान्ति भएको थियो । यसरी सबै कुराले लैस हुने क्रान्तियोद्धा बन्न पनि निकै कठिन थियो । यही कठिनता र जटिलतामा नै हामीले क्रान्तिको भविष्य देख्ने गर्थ्यौं । त्यही भएर त हाम्रो अन्तिम मक्सद क्रान्ति पूरा गर्ने नै थियो । यो मक्सद पूरा गर्न शोषित पीडित गाउँ बस्तीहरू ब्युँझाउँदै हिंड्नु पनि थियो । यही दौरानमा म २०५४ साल फाल्गुन महिनातिर ऐतिहासिक भूमि पिस्करमा पाईला टेक्ने सौभाग्य पाएको थिएँ ।
सबैभन्दा पहिला त मैले पाईला टेकेको घर तौथलीमा क. अखण्ड (विष्णु कुमार श्रेष्ठ) को घर थियो । हाम्रो गाउँबाट गोङ्खा, छिरुवा, थाङ्साको लेक, गैरी, हात्ती छहराको शिर हुँदै खरीढुंगा भन्दा माथिको डाँडा छिचोलेर तौथली पुगिन्थ्यो । पहिला–पहिला हाम्रो हजुरबुबा–बुबाहरुले बाह्रबिसे बजारबाट नून बोक्ने बाटो पनि यही थियो । हाम्रो बुबाले नै यो सुरक्षित बाटो देखाएका थिए । ृक. अखण्ड पूराना कम्युनिष्ट, क्रान्तिकारी योद्धा र सा¥है उर्जावान थिए । प्रखर वक्ता थिए । विचारमा निकै अब्बल थिए । मार्क्सवादी दर्शनका ज्ञाता थिए । सम्पूर्ण रुपले क्रान्तिप्रति समर्पित थिए । उनको सम्पूर्ण परिवार पनि क्रान्तिकारी परिवार थियो । एक अब्बल साथै उदाहरणीय पनि । उनको जेठा छोरा क. सन्देशको पूर्वको घोडेटार मोर्चामा उच्च शहादत भयो । यो क्रान्तिकारी परिवारको बारेमा पनि आगामी दिनमा थप कुराहरू उजागर गर्दै जानेछु । क. अखण्डकै घरमा पुग्दा मैले धुस्कुनका दुई जना योद्धा साथीहरू क. राजेन्द्र थामी र क. भूबल थामीलाई भेटेको थिएँ । (क. राजेन्द्रको पनि “किलो शेरा टू” अप्रेसनको बेलामा सिन्धुपाल्चोक जिल्लाको राम्चेमा शहादत भईसकेको छ ।) उनै योद्धा साथीहरूको साथ लागेर म पहिला धुस्कुन अनि पिस्करमा पाईला टेकेको थिएँ । २०४० साल माघे संक्रान्तीमा थामी दाजुभाइहरू (ईली थामी र वीर बहादुर थामी) को रगत बगेको रातो भूमिमा पाईला टेक्न पाउँदा मलाई असाध्यै गर्वानुभूति भएको थियो । किनकि इतिहास निर्माण गर्ने क्रममा थामी जातिको पनि रगत बगेको थियो ।
धुस्कुनमा जाँदा सबैभन्दा पहिला क. राजेन्द्र दाइको घरमा पाईला टेकियो । उज्ज्वल भविष्यसँग आशातित साना–साना लालाबाला । फरासिली भाउजू । आर्थिक स्थिति अलि कमजोर भए पनि सुखी परिवार । टमक्क मिलेको सानो सफा घर । जेनतेन जीविका चलेको रहेछ । घरको मुली मान्छे नै क्रान्तिमा हिंडेपछि केही असहज त हुने नै भयो । भाउजूको चेहराले प्रष्ट बताउँथ्यो । त्यसपछि क. भुबल दाइको घरमा पाईला टेकियो । उनको पनि सानो परिवार सुखी परिवार रहेछ । उनको परिवारसँग पनि केही बेर कुराकानी गरियो । भाउजू पनि धेरै बुझ्झकी रहिछन् । अनि फेरि गाउँभरिका थामी समुदायका मान्छेहरू जम्मा भए । घरहरू साना–साना भए पनि ढुंगा काटेर पाटा निकालेर कुनै सिपालु कालीगढले लगाएको झैं तिरिक्क मिलेका घरका गाह्राहरू । सानो–सानो पत्रे चट्टान काटेर छाईएका ढुंगाका छानाहरू । कम्युन सिस्टमको बस्तीहरू । घर बनाउन पनि पर्म लगाउने अनौठो चलन । सफाचट मझेरी, दलान र आँगनहरू । बगैंचाभरि फलफूलका बोटहरू । वर्षौं युद्ध लडेर रिटायर्ड भएका सिपाही झैं जनताहरू । क्रान्ति–जिन्दावादको नारा भट्टयाइरहे झैं लाग्ने अजम्बरी–ऐतिहासिक गाउँहरु–बस्तीहरू र लालयोद्धा झैं जनसमुदायहरू । यी महान समुदायसँग क्रान्तिको बारेमा केही भलाकुसारी गर्न खोजियो । उनीहरूका मुटुका शिरा र धमनीहरूमा केवल क्रान्ति मात्र बगेको आभाष भयो । बुढाबुढी बाआमाहरूले पनि नानी “जहाँ संघर्ष हुन्छ त्यहाँ बलिदान हुन्छ !” भनेर उल्टै हामीलाई नै सम्झाएको देख्दा अचम्म लाग्यो । त्यसरी त्यो गाउँ क्रान्तिमय थियो । सदैव संघर्षमय थियो । क्रान्तिको उज्यालो दीप बलिरहेको प्रतीत हुन्थ्यो । त्यसपछि फेरि पिस्करतिर पाइला मोडियो । (२०४० साल माघे संक्रान्तिको दिन पिस्कर महादेव स्थानमा जनताले साँस्कृतिक कार्यक्रम गर्दागर्दै पञ्चायती क्रुर शासनले जनताको रगत पिएको भूमि त्यही थियो । जनताका छोराछोरीहरूले प्राणको आहुती दिएको भूमि त्यही थियो । क्रान्ति भूमिमा पाईला टेक्न पाउँदा म निकै भावबिभोर भएको थिएँ ।) पूर्ण थामी दाइको घरमा केही समय भेटघाट गरी कुराकानी गरेर फर्किईयो । धेरै कुरा गर्न बाँकी हुँदाहुँदै पनि पुलिस चौकी नजिकै भएकोले त्यहाँबाट हिंड्नु पर्ने अवस्था आयो । प्रत्येक पाईला पाईलामा खतरा मोल्नुपर्ने अवस्था थियो त्यतिबेला ।
धुस्कुन र पिस्करका जनसमुदायसँग भलाकुसारी गर्दा पिस्कर घटनाको बारेमा विस्तृत कुराहरू बुझ्न पाईयो । २०३६ सालको जनमत संग्रहमा षड्यन्त्रमूलक ढंगले निर्दलीय पन्चायती व्यवस्थाले जीत आफ्नो पोल्टामा पारेपछि शासन र शासकहरू झन–झन क्रूर बन्दै गए । फासिष्ट हुँदै गए ।शासकहरू क्रूरतापूर्वक झन हत्या र दमनमा उत्रँदै गए । तत्कालीन अवस्थामा ने.क.पा. (मा–ले) ले जनतालाई पन्चायती व्यवस्थाको विरुद्ध संगठित गर्दै लगेको थियो । क्रान्तिका अत्यन्तै आधारभूत वर्ग थामी समुदायको बाहुल्य क्षेत्रमा कम्युनिष्ट पार्टीको निकै मजबुत संगठन रहेछ । क्रान्तिको निम्ति दिलोज्यान दिने थामी र अन्य समुदाय पनि मिसिएको त्यही अजम्बरी संगठनले पार्टीका सम्पूर्ण गतिविधिहरू सन्चालन गर्ने रहेछ । यही शिलशिलामा २०४० साल माघे संक्रान्तिको दिन तौथली, टेकनपूर, पिस्कर, धुस्कुन, चोकटी पाँच गाउँको जनताहरू (पार्टी काडरहरू) जम्मा भएर पिस्कर महादेवस्थानमा साँस्कृतिक कार्यक्रमको आयोजना गरेका रहेछन । नाचगान गरेका रहेछन । दुःख, पीडा, वेदना पोखेका रहेछन । जनता कसरी अन्यायमा परेकाछन भन्ने कुराको चेतना जगाएका रहेछन । पन्चायती व्यबस्था विरोधी साँस्कृतिक कार्यक्रम रातभरि गरेपछि बिहान हुनै लाग्दा या जून पनि अस्ताएपछिको अँध्यारोमा स्थानीय जाली–फटाहाहरूको सुराकीमा पूर्व योजना अनुसार नै काठमाडौबाट पुलिस फोर्स गएर कार्यक्रम स्थललाई चारैतिरबाट घेरा हाली भीषण दमन गरेर ! गोली वर्षाएर जनतालाई चिहिलबिहिल बनाईएको रहेछ । चारैतिरबाट असिना झैं गोली वर्षिन थालेपछि खाली हात भएका जनताले गोलीका परराहरुको पर्वाह नगरी ढुंगामुढा गरेर सशक्त प्रतिरोध गरेका रहेछन् । गोली चल्ने क्रममा ईली थामी र वीर बहादुर थामीलाई सबैभन्दा पहिला गोली लागेको रहेछ । पेटमा गोली लागेर आन्द्रा भुँडी निस्कंदा पनि एउटा हातले आन्द्रा भुँडी थाम्दै दुश्मनमाथि ढुंगामुढा गर्दागर्दै ईली थामी र वीर बहादुर थामीको शहादत भएको रहेछ । घटनास्थलमा दुई जनाको शहादत भए पनि पछि तीन जना गरी जम्मा पाँच जनाको शहादत भएको रहेछ र धेरै कम्युनिष्ट कार्यकर्ताहरू घाइते भएर गिरफ्तार परेका रहेछन् । यसरी सो घटनापछि पनि महिना दिनसम्म गाउँभरि अप्रेसन चलाएपछि जनताहरू आफ्नो घर, गोठ, गाउँ छाडेर भागेका रहेछन् । गाउँ बस्तीहरू सुनसान भएको रहेछ । कम्युनिष्टहरूको एउटै चिहान बनाउने उद्देश्यका साथ त्यो हत्या र दमनको श्रृंखला मच्चाईएको रहेछ । तर नेता भनाउँदाहरूको चाहिँ कसैको उपस्थिति रहेनछ । यसरी पञ्चायती व्यवस्थाका भरौटेहरूले जनतालाई दमनको हत्कण्डा अपनाएका रहेछन् । सम्झँदाखेरि छाती दुखेर आउँछ । मुटु चिरिएर आउँछ । जनताले यति ठूलो योगदान र प्राणको आहुती दिँदा पनि अहिलेसम्म आउँदा जनताको हालत उस्तै छ । जुन अवस्थामा थिए त्यही अवस्था छ ।
यसरी पिस्कर हत्याकाण्डपछि हाम्रो गाउँतिर माधव पौडेल, अमृत बोहरा, केशव बडाल, मीरा थामी लगायतका नेताहरू भूमिगत हुन आए । हाम्रो घरमा पनि करिब सात, आठ वर्ष भूमिगत बस्न आए । बुबाले बाह्रबिसेको कोदो बोकेर भूमिगत नेताहरूलाई पाल्थे । क्रान्ति, पार्टी र संघर्षका कुराहरू गर्थे । बहुदल आएपछि तिनीहरु पनि हराए । व्यक्तिगत स्वार्थमा लिप्त भए । पिस्करको बलिदानलाई चटक्कै बिर्सिए । पिस्कर अँध्यारोको साम्राज्यमै रुमल्लिईरह्यो । पटक–पटक भएको जनविद्रोहहरूमा पिस्करले भाग लिएकै थियो । तर त्यो विद्रोहको मूल्यांकन कुनै कोणबाट पनि हुन सकेन । यही विद्रोहको जगमा टेकेर सीमित मान्छेहरू सत्ताको मालिक भए । जनताहरू जुन हालतमा थिए त्यही हालतमै रहिरहे । जनयुद्ध शुरु भएपछि पनि पिस्कर, धुस्कुन, तौथली, टेकनपूर, चोकटी, कर्थली, घोर्थलीबाट धेरै योद्धाहरू भूमिगत भए । पिस्करको रगतको बदला लिन स्वतः स्फूर्त रुपमा विद्रोहमा सामेल भएका थिए । तर हात लाग्यो शून्य झैं भएको अवस्था भयो । महासमरमा लामवद्ध हुने क्रममा धुस्कुनबाट पिस्कर हत्याकाण्डका सहिद वीर बहादुर थामीका छोरा सन्जय थामी पनि भूमिगत भएका थिए । पूर्व पश्चिमका दर्जनौं लडाइँ बदादुरिपूर्वक लडेका क. सन्जय आफ्नो बुबाको हत्याको बदला लिन जनयुद्धमा सामेल भएका थिए । उनी जनमुक्ति सेनाको ब्रीगेड सह कमान्डर भएर स्वैच्छिक अवकाशमा निस्किए । यसैगरी टेकनपूरका कमरेड जगत बहादुर बोहरा पनि जनयुद्धमा सामेल भएका थिए । उनी पनि पिस्कर हत्याकाण्डका घाइते हुन । पछि उनलाई घाइते अवस्थामा नै गिरफ्तार गरिएको रहेछ । यसरी जनयुद्धको क्रममा पनि पिस्कर र धुस्कुनले धेरै सहिदहरू जन्मायो । धुस्कुनका राजेन्द्र थामी, भीमलाल थामी लगायत र पिस्करका हरि बहादुर थामी, कविता थामी, चमेली थामी, जुना श्रेष्ठ, भवी थामी लगायत धेरै योद्धाहरूले रगत बगाए । धेरैले जेलनेल र यातना भोगेको इतिहास साक्षी छ ।
अहिले साविक गा.वि.स.हरू घोर्थली, चोकटी, धुस्कुन, पिस्कर, तौथली र टेकनपूर मिलेर त्रिपूरासुन्दरी गाउँपालिका बनेको छ र पिस्कर गाउँपालिकाको केन्द्र बनेको छ । पन्चायती व्यवस्था अन्त्य भएपछि र बहुदलीय व्यवस्था आएपछि ईली थामी र वीर बहादुर थामीको शालिक स्थापना गर्ने काम बाहेक अरु केही हुन सकेको छैन । त्यहाँका जनसमुदायको स्थिति जस्ताको तस्तै छ । जनयुद्धमा लामवद्ध भएर शहादत प्राप्त गर्ने साथीहरूको सम्झनामा त झन केही पनि हुन नसक्दा धेरै दुख लागेर आउँछ । पिस्करमा बगेको रगतको सम्मान गर्न दिलोज्यान दिएर लागियो । तर पनि पहिलेका क्रान्तिकारी भनाउँदाहरू अहिले उही पहिलेकै जस्तो शासकमा परिणत भएपछि कसको के लाग्दोरहेछ र ? विधिको विडम्बना यस्तै छ । जनताले जतिपटक विद्रोहको आवाज उठाए पनि निकम्मा साबित भएको छ । तर फेरि पनि क्रान्तिको झिल्का दृष्टिक्षीतिजमा देखापरेको आभाष भईरहेको छ । अब आउने या हुने विद्रोह र क्रान्तिहरूले विगतको कमजोरीहरूबाट पाठ सिक्दै आमूल प्रलयकारी परिवर्तन गरोस् भन्ने शुभेच्छा प्रकट गर्दै महान सहिदहरूको सपनालाई साकार पार्न मुटुमा रगत भएसम्म लडिरहनेछु । पिस्कर हत्याकाण्डदेखि जनयुद्धसम्म प्राणको आहुती दिने सम्पूर्ण ज्ञात–अज्ञात महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |