रचना मोक्तान “यात्री”
एकताका हाम्रो कार्यक्षेत्र अहिलेको बेथानचोक गाउँ पालिका । साविक महांकाल चौर, च्यासिङखर्क, ढुंखर्क, चलाल गणेशस्थान, कुशादेवी गा. वि. स. सम्मको एउटा इलाका थियो । जसको इन्चार्ज कमरेड शिशिर (कृष्ण भन्डारी) सह इन्चार्ज कमरेड वाङ्गेल । हामी क. शक्ति, क.कमल, क., राकेश, क. उषा, क. आरती, क. सौखिन लगायत अन्य साथीहरू चाहिँ इलाका सदस्य थियौं । क. लेनिन, (जो बाल सेना भनी अयोग्य ठहरिएर बहिर्गमनमा परेको थियो) क. दीक्षा, क. रसिला र कमरेड बिहानी होल टाइमर सदस्य थिए । हाम्रो इलाकामा करिब ३०–३५ जनाको सांगठनिक टोली थियो । संगठन निर्माणको क्रममा जनता कहाँ जाँदा भने दुई देखि चार जनाको समूहमा जानुपर्थ्यो । २०६१ सालको पौष महिना थियो । कमरेड आरती, कमरेड शक्ति, द्वारिका बा (हाल द्वारिका बा कालगतिले बितिसकेका छन् ।) र म । हामी चार जनाको समूह कामीडाँडाबाट ढुङ्खर्क, भूमिडाडा, पर्खाल चौर, रयाले हुँदै कुशादेवी बजारमा पुगेर संगठन बिस्तारसँगै मसाल जुलुस र कोण सभा गर्नुपर्ने निर्देशन थियो । जताततै हत्या धरपकडको विरोध स्वरुप सङ्गठानिक विरोधको साथै सम्भावित ठाउमा सैन्य आक्रमणको लागि प्रारम्भिक रेक्की पनि गर्नुपर्ने थियो । यसै योजनाका साथ हामी इलाकाको बैठकबाट छुटियौ । क. आरती पाँच वर्षे सानो छोरो आक्रोशलाइ घरमा छोडेर भूमिगत भएकी महिला योद्धा थिइन् । उनको श्रीमान कमरेड अमृत बेथान स्मृति बृगेड तेह्रौ बटालिएनमा मेडिकल विभागमा थिए । उनीहरू बाध्यतामा परेर भूमिगत भएका थिए । प्रायः भूमिगत हुनेहरुको कहानी यस्तै यस्तै थियो । रहरले त को पो भूमिगत हुन्थ्यो र ! उनीहरूको घर ललितपुरको इमाडोल थियो । भ्यालीबाट पनि साथीहरू भूमिगत हुनु त्यो बेलाको समयमा महत्त्वपूर्ण थियो । गर्वको कुरा थियो ।
कहिले रातमा त कहिले दिनमा गरि दुई दिन लगाएर हामी कुशादेवी नजिकैको गाउँमा गएर बस्यौँ। कुशादेवी पनौतीबाट लगभग ४–६ किलो मिटरको टाढा दूरीमा पर्थ्यो । सेनाको आवात जावत सजिलै हुन्थ्यो । अझ भनौ सैन्य गतिविधि बढी नै भईरहने ठाउँ थियो । श्वेत इलाका भन्दा पनि फरक पर्दैनथ्यो । राज्यपक्षले फौजी शक्तिको विस्तार गर्दै सदरमुकाम वरिपरिको सहरहरूमा तीब्र गतिविधि बढाएको थियो । सदरमुकाम छेउछाउका ईलाकाहरुमा माओवादी छापामारहरुलाई ज्यान जोगाउन निकै हम्मेहम्मे पथ्र्यो । त्यसको काउन्टरमा माओवादीले पनि जनपरिचालन गरेर छापामार शैलीको युद्धलाई निरन्तरता दिदै सहर केन्द्रीत गतिविधि बढाएको थियो । एम्बुश र कमाण्डो कार्वाहीहरु पनि गरिरहेको थियो ।
यहि बेलामा म अनेरास्ववियु (क्रान्तिकारी) को जिल्ला सदस्य थिएँ । स्कुल स्कुलमा विद्यार्थी संगठन निर्माण गर्ने र पार्टीको एजेन्डा बुझाउनु पर्ने जिम्मेवारी मेरो काँधमा थियो । साथमा थिइन कमरेड आराती । उनी चाहिँ अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को जिल्ला स्तरीय नेतृ थिइन् । हामी दुई बहिनीले थुप्रै विद्यालय र टोलमा संगठनहरु निर्माण ग¥यौं । जसोतसो दिउँसो जनतासँग अनि स्कुलमा शिक्षक विद्यार्थीसँग छलफलमै बित्थ्यो जब साँझ पर्दै गएपछि बास पाईंदैनथ्यो । सहजतापूर्वक बास पाउनु र सुरक्षित हुनु हाम्रो लागि निकै चुनौतीपूर्ण थियो । शाही सेनाले घेरा हालेमा प्रतिरोध गर्न सक्ने किसिमको हात हतियार पनि थिएन । हामीसँग केवल दुई तीनवटा ग्रिनेड र पेस्तोल मात्र थियो । यतिले प्रतिरोध गरेर घेरा तोड्ने दुस्साहस गर्नु भनेको आफ्नो काल आफै निम्त्याउनु सरह थियो । त्यसैले कतैबाट सेना बढेको खबर पाउनसाथ सुरक्षित स्थानतिर सुइँकुच्चा ठोक्नु भन्दा अरु विकल्प थिएन ।
रयाले र कुशादेवी बजारमा मसाल जुलुस गर्नु पर्ने थियो । सङ्ख्याको हिसाबले जम्मा हामी चार जना थियौँ । त्यो पनि दुइटा बजारमा दुई दुई जना बाँडेर गर्ने सल्लाह भयो । कमरेड आरती र म रयाले जाने र शक्ति र द्वारिका बा कुशादेवी जाने सल्लाह भयो । सबै जना दुई बजारको बीचमा पर्ने गाउँमा बसेर मसाल तयार बनाउन लाग्यौँ । बाँस काट्यौँ । मसालको लागि भाटा तयार पा¥यौं । अनि पुरानो जुटको बोराले बेर्न थाल्यौ । ६० वटा जति मसाल तयार पा¥यौं । भएको मट्टीतेलले आधालाई पनि पुगेन । अनि अर्को फसाद आईलाग्यो । अब मट्टीतेल लिन बजार नै पुग्नुपर्ने भयो । आराती र म दुबै जना रयाले बजार गयौं ।
खोइ साहस भनौ या दुस्साहस । हामी बाठी थियौँ या लाटी । सङ्कटकालको त्यो भीषण समयमा मट्टीतेल किनेर खुरुखुरु फर्के हुने तर हामी फर्केनौ। नयाँ मान्छे देखेपछि बजारमा चासो बढाउनु स्वाभाविक नै थियो तर हामीले अलि दम्भ देखायौ जस्तो लाग्छ । समय अन्दाजी चार बजेतिर हुनुपर्छ । मट्टीतेल किनेर खुरुखुरु नआइ राजनैतिक वैचारिक गफ छाँट्न थाल्यौँ। बिस्तारै एक जना ,दुई जना, तीन गरि क्रमश मानिसको सङ्ख्या बढ्दै गयो । आरती र मैले दुश्मनको बिगबिगी भएको एरियामा छौँ भन्ने कुरो नै बिर्सिएछ। औंला ठड्याइ ठड्याइ जोशिलो भाषाण पनि ग¥यौं । महिला मुक्ति, विद्यार्थी मुक्ति, दलित मुक्ती, किसान मुक्ती, सामन्त प्रवृत्तिको अन्त्य । अन्याय अत्याचार सहनु हुन्न अघि बढ्नुपर्छ । यति मात्र हैन भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको पनि व्याख्या ग¥यौं । जे जति दिमागमा थियो त्यो सबै खन्यायौँ। कमरेड आराती पार्टीको विधि सिद्धान्त अनि लडिरहेको युद्धको बारेमा हौसिएर बोल्दै थिईन । यसो जनमास हेरेको त २०÷२५ जना भन्दा बढी भैसकेछ । हामी दुई जना त बीचमा पो रहेछौँ । मलाई डर लाग्यो । यतिका समयमा त कसैले माओवादीको दुई महिला भाषाण गर्दैछन भन्ने सुइको मात्र नेपाली सेनालाई पु¥याएको भए आइपुग्ने बेला पनि भईसकेको थियो । उनी बोल्दै गर्दा जनताले सोधेको प्रश्नको उत्तर दिदै थिइन । मैले आँखाले इसारा गरेर जाउँ अब । अलि बेर यतै भाषण गरेर बस्यो भने सिधै गोली खानुपर्छ भने ।
उनले आफ्नो कुरो टुङ्ग्याईन । अनि ग्यालिनमा मट्टीतेल बोकेर साथीहरू भएको ठाउँतिर लाग्यौँ । बाटोमा कमरेड आरतीले मलाई “किन हतार गरेको ?” भनी सोधिन । “असुरक्षित महशुस भयो त्यसैले जाउ भनेको हुँ ।” यत्रो जनमासले हामी दुई जनालाई गर्न खोज्यो भने जे पनि गर्न सक्थे। उनीहरुले केही नगरे पनि सेना बोलाएर जिम्मा लगाउन पनि सक्थे । हामी अलि हौसिएछौँ। धन्न कुनै अप्रिय घट्ना घटेन । ओहो ! हामी कति हुस्सु भएछौ है । यत्रो बजारमा निःशस्त्र रुपमा आएर अझै हाम्रै ठूलो कुरा । बल्ल कमरेड आरती वास्तविकतामा आईन । वास्तविकतामा आएपछि उनी पनि डराईन । दुवै जना डरायौँ । छिटोछिटो पाइला चाल्यौ । उता साथीहरू चाहिँ हामीलाई पक्कै सेनाले समायो होला भनी बसेको सेल्टर र तयार पारेको मसाल भाटाहरु एकातिर थन्क्याएर अन्तै लागि सकेछन । हामी दुइजना मात्र फर्केर आए भने फलनो ठाउँमा छ भनी देखाउनु र अरु कोही नौलो मान्छे साथमा भए नदेखाउनु भनी हिँडिसकेछन।
बल्लतल्ल साथीहरूसँग भेट भयो। अनि थन्क्याएको मसालमा मट्टीतेल चोपल्ने काम सम्पन्न ग¥यौं । अब त्यही मसाल बोकेर फेरि बजार जानुपर्ने भयो । मनमा त्रास उस्तै थियो । दिउसै बजारमा गएर बहस ग¥यौं । माओवादी आएको छ भनी सबैले देखायौ । बिनासित्तिमा भाषण गरेर वातावरण प्रतिकूल बनायौ । हामी दुई जना मात्र न कुशादेवी जान हिम्मत ग¥यौं न रयाले । कतै जाने छेकछन्द नदेखेपछि द्वारिका बाले आइडिया निकाले । अनि भन्न थाले “हामी सबै जना पहिला कुशादेवी जाऔं । त्यहाँ मसाल बालेर छिटोछिटो रयाले बजार जाउ त्यहाँ पनि बालेर सुरक्षीत स्थानतर्फ लागौँ ।” द्वारिका बाको आइडिया ठिक लाग्यो ।
झमक्कै साँझ परेपछि बोक्न सक्ने जति भागमा आए जति मसाल सबैले बोक्यौँ । अनि चारै जना हिड्यौँ। सानो फोर्सले कसरी जुलुस गर्ने होला ? भनी मनमा प्रश्नै प्रश्नको चाङ लागिरहेको थियो । सोध्न पनि सकिएन । जसरी गरे पनि गरिहालिन्छ नि भन्ने लाग्यो। मसाल बाल्नु पर्ने निश्चित ठाउँमा पुगेपछि खेतको आलीमा होकि बारीको डिलमा लस्करै मसाल गाड्यौ अनि बाल्यौ । ड्या…..म्म एउटा ग्रिनेड पड्कायौ । “नेकपा माओवादी जिन्दावाद । वीर सहिद लाल सलाम ।” भनी चारै जनाले नारा लगायौ । नाराको आवाज त खास्सै सुनिएन होला तर ग्रिनेड पड्केको आवाजले भने सबैको मुटु हल्लिएको हुनुपर्छ । करिब १५ मिनेट जतिमा सब काम तमाम गरेर त्यहाँबाट सरासर रयाले बजार आयौ ।
रयाले बजारमा आइपुग्दा बजार पूरै सुनसान भईसकेको थियो । अँध्यारोमा चरा मुसो हिडेको पनि देख्न सकिदैनथ्यो । अध्यारोलाई साथमा लिइ हामी हाम्रो काम तीब्र गतिमा अगाडि बढाउनु पर्ने थियो । शाही सेना आउन सक्ने सम्भावित स्थान कुशादेवी पनौतिबाट नै हो । एक जना तेताको बाटो क्लियर बुझ्न सेन्ट्री बस्यौ । तीन जनाले मसाल गाड्दै थिए । हामी बाटोमाथि थियौँ । स्पस्ट भन्नुपर्दा बारीको डिलमा बसेका थियौं ।
सेन्ट्री बसेका द्वारिका बा स्याँ स्याँ हुँदै सासै सासैले बोल्नु भो । “लु बर्बाद भो सेनाको गाडी आयो ।” “अब के गर्ने ?” मैले सास दवाएरै सोधेँ । यहि बसिरहनु हाम्रो लागि खतरानक छ जाउ कता जाने ? आउ पछि लाग । हामी उनको पछि लाग्दै निस्पस्ट अधन्कारमा ज्यान जोगाउन चुपचाप चुपचाप सुस्तरी पाइला चाल्यौ । धन्न सेना मुख्य सडक भन्दा दाँयाबाँया लागेन पो ज्यान बचियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |