Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेपालभाषाका अनन्यभक्त ः महाकवि चित्तधर हृदय

प्रभातफेरी अनलाइन ७०७ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन ३०, मंगलबार (३ साल अघि)
नेपालभाषाका अनन्यभक्त ः महाकवि चित्तधर हृदय

मोहन दुवाल, वरिष्ठ साहित्यकार

नेपालभाषा–साहित्यमा चार स्तम्भ (प्यगः थां) का रुपमा सिद्धिदास अमात्य, योगवीरसिंह, जगतसुन्दर मल्ल र निष्ठानन्द वज्राचार्यलाई स्मरण गर्ने गरिन्छ । यी चारजना भाषासेवी तथा साहित्यकारहरुले नेपालभाषा–साहित्यको उत्थानका लागि निकै अभियानहरु चलाएका हुन् । यी चारमध्ये कवि योगवीरसिंहका कविताहरुबाट विशेष प्रभावित रही यिनै गुरुबाट प्रारम्भिक शिक्षा कवि चित्तधर हृदयले प्राप्त गरेका हुन् । ल्हासाका व्यापारी रहेर व्यापार–व्यवसायमा नाम चलाइसकेका व्यापारी पिता द्रव्यरत्न तुलाधर र माता ज्ञानीलक्ष्मी तुलाधरका एक्लो छोरा भएर जन्मेका चित्तधरले औपचारिक शिक्षा कुनै विद्यालयमा भर्ना भएर प्राप्त गरेको देखिँदैन । बौद्धधर्मका अनुयायी रहेका पितामाताकै स्नेह र वात्सल्यपूर्ण माया पाएर जीवन–क्रम गुजार्दै चित्तधरले घरमै स्वाध्ययन गरी संस्कृत, हिन्दी र नेपाली साहित्यको अध्ययन गरेको देखिन्छ ।
वि.सं. १९६३ जेठ ५ गते नरदेवी, तुँछेटोल, काठमाडौंमा जन्मेका यिनले परिवारकै लाडप्यारमा आफ्नो बाल्यकाल बिताउन पाएका हुन् । तर योगवीरसिंहको आउजाउ हुने घर भएको हुनाले बालक चित्तधरले यिनै कविबाट भाषा–साहित्यप्रतिको मोह, राष्ट्रप्रतिको प्रेम, संस्कृतिप्रति माया गर्न सिकेका हुन् । एक्लो धनाढ्य व्यापारीका छोरा । अभाव–दयनीयता नभएको घर । त्यसैले चित्तधर हृदयले आफू १३ वर्षको हुँदा नै विवाह गर्न बाध्य भए । केही क्षण व्यापार–व्यवसायमा आफ्ना पितालाई यिनले साथ दिए । करिब वि.सं. १९८५ देखि नै केही सिक्दै, केही गर्दै यिनी व्यापार–व्यवसायमा लागिरहे । २० वर्षको हुँदा यिनले कलकत्ताबाट प्रकाशित भएको बौद्धधर्म र नेपालभाषा पत्रिकामा कविता छपाएर आफ्नो कवि–मर्म फुकाउन सुरु गरेका हुन् । त्यसैताकादेखि यिनले सिद्धिदास महाजू, धर्मादित्य बज्राचार्य, जगत्सुन्दर मल्लका साहित्यिक कृतिहरु अध्ययन गर्दै, साहित्य लेख्दै, सक्दो समाजको सेवा पु¥याउँदै आफूलाई चिनाउन जाँगर चलाएका हुन् । यिनले साथीहरुसँग मिलेर त्यसताका पुस्तकालयहरु खोल्न पनि प्रयास गरे ।


नेपालका चर्चित धनी व्यापारी भाजुरत्न कङ्साकारका छोरीज्वाइँ चित्तधर हृदयलाई भौतिक अभाव केही भएको महसुस भएन तर मानसिक चेतनाकै कारणले उनले यथास्थितिमा बाँच्न रुचाएनन् । समाजमा परिवर्तनका लागि र निरङ्कुशताविरुद्ध आवाज उठाउनुपर्ने सामाजिक चेत्का कारणले यिनी विभिन्न पर्व र घटनामा संलग्न हुन बाध्य भए । १९८६ सालतिर भएको लाइब्रेरीपर्व, १९८७ मा हुन गएको आडम्बरमतपर्व र १९९७ सालमा भएको राजनीतिक पर्वमा यिनी संलग्न रहे । यही राजनीतिक चेत्कै कारणले ने.सं. १०६१ देखि १०६५ सम्म (अर्थात् वि.सं. १९९७ देखि २००२ सम्म) यिनी जेलजीवन भोग्य बाध्य भए । जेलभित्र नै यिनले सुगत सौरभ जस्तो अत्यन्त चर्चित भएको महाकाव्य लेखे । बुद्धको जीवनमा आधारित उक्त महाकाव्य वि.सं. २००६ सालमा प्रकाशित भएको हो । यही महाकाव्य लेखेर नेपालभाषाका महाकवि हुने श्रेय यिनले प्राप्त गरे ।
महाकवि चित्तधर हृदय नेपालभाषा–साहित्यका बहुमुखी विधाका अविस्मरणीय लेखकका रुपमा प्रतिष्ठापित प्रतिभा हुन् । यिनी राजनीतिक चेत्ले व्याप्त चेतनशील साहित्यकार हुन् । आफ्नो मातृभाषाको उत्थानका लागि दिलोज्यानले समर्पित भाषासेवी हुन् । भाषासाहित्यका लागि यिनले के मात्र गरेनन् । आफूलाई भाषासँग आत्मसात् गर्दागर्दै भाषा–साहित्यका लागि यिनले जीवनपर्यन्त तन, मन र धन अर्पण गरिरहे । भौतिक देहबाट यिनले छोराछोरीहरु जन्माउन सकेनन् तर मानसिक उपलब्धिका रुपमा भाषा–साहित्यका थुप्रै सन्तानहरु यिनले जन्माए । वि.सं. २०२५ मा मिं मन पौ (आगोले नखाएको पत्र) अर्को अत्यन्त चर्चित कृति यिनले जन्माए ।
३३ वटा पुस्तकका लेखक । हिन्दी, नेपाली, अङ्ग्रेजीमा पनि थुप्रै लेख–रचनाहरु प्रकाशित गर्न पाएका यिनले नेपालभाषाको चर्चित पत्रिका नेपाल पत्रिकाको पनि सम्पादन गरे । कथा, निबन्ध, काव्य, अन्वेषण, भाषा, व्याकरण, इतिहास, बालरचना सबैजसो विधामा यिनले आफ्ना साहित्यिक मर्महरु फुकाउँदै मर्मशील साहित्यिक हरफहरु कोरे । सङ्गीतका ज्ञाता साहित्यकार । कलाका पारखी लेखक । बौद्धधर्मका अनन्य उपासक महाकवि । यिनले राणाशाहीको जञ्जीर तोड्ने सङ्घर्षमा आफूलाई समाहित तुल्याउँदै चित्तधर कविले एउटा साहसको पहाडका रुपमा पनि जनमानसमा उभ्याउन सफल रहे । प्रजातन्त्रप्राप्तिपछि पनि यिनको यात्रा रोकिएन । यिनी अविरल भाषा–साहित्यको शिखर चुम्न कुदिरहे, निरन्तर कुदिरहे । यही निरन्तर यात्राकै शुभनाम भइदिएका छन् अर्थात् भएर गएका छन् – सधैं–सधैंका लागि चित्तधर हृदय ।
वि.सं. २००७ सालमा यिनकै सक्रियतामा नेपालभाषा परिषद् नामक साहित्यिक–सांस्कृतिक संस्थाको स्थापना भयो । यही परिषद्का लागि पछि यिनले आफ्नो निवासस्थान नै प्रदान गरे । परिषद्का अध्यक्ष बने । २००८ सालमा यिनी एसियाली सांस्कृतिक समन्वय परिषद्का सदस्य भए । वि.सं. २०१३ सालमा नेपाली सांस्कृतिक मण्डलका उपनेता भई चीन पुगेका यिनले नेपाल–चीन सांस्कृतिक परिषद्का उपाध्यक्ष रहेर पनि सेवा पु¥याए । श्री ५ त्रिभुवन स्मारक समितिको उपाध्यक्ष रही कविवर सिद्धिचरण श्रेष्ठसँग पनि निकै नजिक रहेर भाषा–साहित्य र समाजको सेवा गर्दै गएका कविकेशरी चित्तधर हृदयको विशाल हृदयका विशाल रचनात्मक कार्यहरु उल्लेखनीय मात्र छैनन्, ऐतिहासिक पनि छन् ।
वि.संं २०१७ सालमा आफ्नी जीवनसँगिनीसँग बिछोडिनुपरे पनि हरेस खान नजानेका यिनले त्यसपछि पनि भाषा–साहित्यको उत्थानका लागि निरन्तर जाँगर चलाइरहे । आफ्नो मातृभाषाका लागि हुरुक्कै हुने यिनको स्वभावले कलकत्तासम्म पुगेर पनि यिनले नेपालभाषा साहित्यिक संस्थाको गठन गरे । नेपालभाषालाई देशबाहिरसम्म पु¥याउने यिनको अभियान र योगदान अविस्मरणीय रहेको छ । धर्मोदयसभाका उपाध्यक्ष रहेर पनि सेवा पु¥याइसकेका यिनले झी मासिक पत्रिकाका संरक्षक, नेपालभाषा साहित्य गोष्ठी कलकत्ताका संस्थापक रहेर पनि सेवा पु¥याएर गएका छन् । चीनका अतिरिक्त बर्मा र भारतका विभिन्न प्रान्तहरु भ्रमण गर्न पाएका यिनले आफ्नो मन र धन दिएर आनन्द पुस्तकालयको संस्थापन गरेर, नेपाल मासिक पत्रिका नियमित प्रकाशन गरेर, स्वयम्भू विकास मण्डल खोल्न लगाएर, नेपालभाषा परिषद्को सिङ्गो घर बनाएर, नेपालभाषा मंका खःललाई पुस्तक, जग्गा, नगद सहयोग गरेर आफ्नो गरिमा र अर्थ राष्ट्रमा लिपिबद्ध गरेर गएका छन् ।
यिनले थुप्रै लेख–रचनाहरु लेखेर गए, थुप्रै सामाजिक तथा साहित्यिक कार्यहरु गरेर गए । त्यस्तै थुप्रै भाषा–संस्कृतिका अभ्यासहरु गरेर गए । नेपालभाषा–साहित्यको एउटा उल्लेख्य हिमालजस्तै भएर भाषा–साहित्यरुपी चित्तधर हिमाल सबैको मनमझेरीमा रहिरह्यो । यिनका यस्तै सिर्जना र साधनालाई मूल्याङ्कन गरेर च्वसापासा संस्थाबाट यिनलाई साहित्यशिरोमणिको उपाधि ने.सं. १०७६ मा प्रदान गरियो । त्यसैताका राजा महेन्द्रबाट यिनलाई कविकेशरीको उपाधि प्रदान गरेर यिनको गहनताको उच्च मूल्याङ्कन गरिदिएका हुन् ।
भाषा–साहित्यकै सेवामा समर्पित चित्तधर हृदयलाई भौतिक सुखसुविधाले गाल्न र पगाल्न सकेनन् । उनी सेवामा, समर्पणमा र सिर्जनामा रमाइरहे र रमाएर गए । धेरै गरे, धेरै लेखे, धेरै दिए यिनले समाजलाई । यसरी गर्ने, लेख्ने र दिने सवालमा यिनी अमर भएर गए । यिनी २४ वर्षको लक्का जवान छँदा आफ्नी माताले यिनलाई छोडेर गइन् तर यिनी जीवनपथमा लम्किरहे । यिनी ४२ वर्षको युवक रहँदा यिनका पिताले छोडेर गए तर यिनले हार मानेनन्, सेवामा जुटिरहे । यिनी ५४ वर्षको छँदा आफ्नै श्रीमतीले साथ छोडेर गइन् तर यिनी समाजमा डटिरहे । आफू ६५ वर्षको हुँदा शिक्षासेवी केदारनाथ न्यौपानेको सम्झनामा कन्यामन्दिर माविमा बोल्दाबोल्दै यिनी पक्षाघातको सिकार बने, तर पनि यिनले सङ्घर्ष गरिरहे । यस्तै सङ्घर्षभित्रको जीवन साँचेर देश, समाज, जाति, भाषाकै सेवामा निरन्तर जुटेर गएका सङ्घर्षशील अगुवा यात्रीकै नाम भइदिएका छन् – चित्तधर हृदय । यस्तै सङ्घर्षमा जीवन भोग्दाभोग्दै आफू पनि वि.सं. २०३९ जेठ २६ गते सबैलाई छोडेर गए ।
चित्तधर मूलतः कवि मात्र नभई नेपालभाषा–साहित्यमा विशिष्ट स्थान स्थापित गरिसकेका विशिष्ट प्रतिभा हुन् । नेपालभाषाप्रतिको यिनको मोह बताइनसक्नु छ, साहित्य–सिर्जनाका यिनका हरफहरु अविस्मरणीय रहन पुगेको छ । यस निम्ति यिनी महान् बने, यस्तै सिर्जनशील कार्यले यिनी जीवन्त बने । आफ्नो भाषा नेपालभाषाका सन्दर्भमा ने.सं. १९७२ मा नै यिनले यसरी लेखेका छन् –“स्थान नभएको भाषा भाषा हुने छैन । भाषा नभएको जाति धेरै समयसम्म जीवित रहने छैन भनेपछि पर्वतीया भाषाको ठाउँमा पर्वत छ, गोरखा भाषाको सहर गोरखा छ, त्यस्तै लेप्चा भाषाको लेप्चा लाएन्ड भएजस्तै हाम्रो नेवार अथवा नेवारीभाषाको पनि नेवार लायन्ड वा नेवारीस्तान कहाँ खोज्न जाने ?” उनी लेख्छन् –“हाम्रो देश खास नेपाल हो, हाम्रो भाषा नेपालभाषा हो ।” यस्तै भाषिक तर्क राख्दै नेपालको व्याख्या गर्न रुचि राख्ने महाकवि चित्तधरका सुगत सौरभका हरफहरुबाट पनि जीवन्त भएका छन् । सुगत सौरभको अनुवाद ईश्वी सन् १९९८ मा अङ्ग्रेजीभाषामा पद्यानुवाद भई प्रकाशित भएको छ । नेपालीमा चित्तरञ्जन नेपालीद्वारा अनुवाद भएको उक्त महाकाव्य वि.सं. २०५९ मा नेराप्रप्रबाट प्रकाशित छ । महाकवि चित्तधर हृदयलाई सम्झ्ेर यसै महाकाव्य सुगतसौरभबाट केही पङ्क्तिहरु ः
बोल्नै छोडी आफ्नो भाषा तिमीहरु सब जाओ स्वर्ग
अथवा यो नेपालसमेत पुरियोस् कि वा होओस् दग्ध
साहित्य, कला, संस्कृति हाम्रो बाँच्ने छ सधैं नभई लोप
बच्न सकेमा यो काव्य एक नष्ट नभईकन जगमा मित्र ।
यस्तै भावना पोखेर आफूलाई समर्पित तुल्याएर गएका वरिष्ठ भाषासेवी, महाकवि, अन्वेषक, कथाकार चित्तधर हृदयका चर्चा गर्न लायकका कृतिहरुमा पद्यनिकुञ्ज, हृदयकुसुम कविता, हृदयकथा, गौतमबुद्ध, झीमचा, बभ्रबाहन, अन्र्तध्वनि, झीगु साहित्य, महाचीनय नेपाल संस्कृति, नेपाली सङ्गीत, हृदया झन्कार आदि छन् । इतिहासजस्तै सधैं चिरस्मरणीय रहने छन् यिनका साहित्यिक हरफहरु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0