१. पृष्ठभूमि
विवाह के हो भन्ने सम्बन्धमा शायद कसैलाई बुझाइरहनु पर्दैन होला । यसको बारेमा सबै जानकार नै छन् । तैपनि पछिल्लो समयमा आएर विवाहको परिभाषा नै नयाँ बनाउनुपर्ने जस्तो देखिएको छ । पहिले विवाहलाई दुई विपरित लिङ्गयुक्त मानिसबीच हुने सामाजिक संस्थाको रूपमा लिइन्थ्यो ।
यस मान्यतालाई तोड्दै तेस्रो लिङ्गीहरू वा समलिङ्गीहरूको बीचमा पनि विवाह हुन थालेका छन् । यसलाई कतिपय देशहरूले स्वीकृति दिइसकेको छ भने कतिपयले दिन हिच्किचाइरहेका देखिन्छन् । यस्तैगरि पहिले विवाह आफ्नो सजातीय मिल्ने नाताभित्र मात्रै हुने गरेको थियो । त्यसैले विवाह संस्कार पनि थियो । संस्कार पूरा गरी गरिने हुनाले नै त्यसले सामाजिक संस्थाको मान्यता प्राप्त गरेको थियो ।
आज समलिङ्गी विवाह र अन्तरजातीय विवाहको संख्यात्मक वृद्धि सँगै विवाह संस्कार हराउँदै गएको छ । संस्कार हराएकै कारण यो सामाजिक भन्दा पनि बढी वैयक्तिक हुँदै गएको छ । वैयक्तिकताले प्रसय पाएकै कारण यो निश्चित अवधिको लागि गरिने करार वा अर्को जोडी नपाएसम्मको लागि यौन आवश्यकता पूरा गर्ने माध्यम बन्दै गएको छ । परिणामतः विवाहमा व्यापक समस्या देखिन थालेको छ । कुल वा मौलिक पहिचान मासिँदैछ । यसले भोलि समाज र सभ्यतामाथि कस्तो प्रभाव पर्नेछ भन्नेतिर कसैले ध्यान दिएको पाइँदैन । समय छँदै यतातिर सोचिएन भने सभ्यतासँगै मानव अस्तित्व समाप्त हुने खतरा पनि बढ्दै गएको छ ।
त्यसैले विवाहलाई सामाजिक संस्थाको स्थानबाट अन्यत्र पुर्याउने काम सभ्यताकै लागि जोखिम पूर्ण हुनेछ । आजको विश्वलाई एउटा सानो गाउँ भन्ने गरिएको छ । कतिखेर को कहाँ पुग्ने हो भन्न सकिन्न । यस्तो अवस्थामा जहाँ जहाँ पुग्यो र तत्स्थानमा जो जो भेटियो तिनैसित विवाह गर्ने वा यौन आवश्यकता भन्दै पूर्ति गर्दै जाने हो भने एकजना मानिसले जीवनमा कतिजनालाई विवाह गर्ने ? यसले यौन रोगको महामारी र सामाजिक विछृङ्खलता ल्याउने छ भन्ने सम्बन्धमा स्व–घोषित सभ्यहरूले नै वेवास्त गरेका देखिन्छन् ।
यस्ता कार्यले बालबालिकामा पर्ने असर र सामाजिक सुरक्षाको अवस्था कस्तो हुनेछ ? के विवाह भनेको यौनसित मात्रै जोडिएको विषय हो । के यस्तो व्यवहारले प्रेमी र प्रेमिकाको भावनामाथि सही न्याय गर्न सक्छ – यसरी पनि आफ्नो पहिचान स्थापित गर्न सकिन्छ र ? के मानिसलाई यौनलम्पट बनाउँदैन ? केही, दिन वा महिनाका लागि भेटिएका दुई विपरित लिङ्गीबीच यौन सम्पर्कबाट जन्मिएको बच्चाको अवस्था कस्तो होला ? त्यसो भए यस्ता विकृतिलाई समयमै रोक्नु हामी सबैको कर्तव्य होइन र ? यस्तै प्रश्न प्रश्नको तरबारले विवाह घेरिएको छ ।
२. ऐतिहासिक पक्ष
समाज विकासको क्रम चल्नुभन्दा अघिदेखि नै विवाह थियो । त्यतिखेरको विवाह पशुवत भएको पनि हुनसक्छ । संख्या वृद्धिसँगै समाजको उदय भयो । समाजको जन्मदाता विवाह नै बन्यो । मातृसत्ताबाट शुरू भएको समाज पितृसत्तामा आइपुगेको छ । शुरूमा अस्तव्यस्त रहेको विवाहलाई समाजले नै व्यवस्थित पार्दै ल्याएको थियो । सोही क्रममा नयाँ मान्यताहरू देखिए । पहिले विद्यमान कमिकमजोरीलाई सुधार गर्दै अघि बढेका थिए र यहाँसम्म ल्याई पुर्याउन सफल भए । आज सुधारको क्रममा स्थापित व्यवस्थालाई लत्याउँदै मानिस पुनः जङ्गली प्रवृत्तितिर सभ्यतालाई फर्काउने धृष्टता गर्दैछन् । यसले अवस्य पनि समाज विकासको सट्टा विनास गर्नेछ ।
यो सानो लेखमा विश्वका वा नेपालकै पनि सबै जातिको विवाह परम्परालाई समेट्न सकिने छैन । त्यसैले केही उदाहरण मात्र प्रस्तुत गर्ने प्रयास गर्दैछु । नेपालको तामाङ समाजमा विहेको शुरूवात कसरी भयो भन्ने केही ऐतिहासिक मतहरू प्राप्त छन् । ती मतहरूलाई तम्बा र बोम्बोहरूले अद्यावधिक गर्दै आएका देखिन्छन् । विवाहको उत्पत्तिको कथाको रूपमा गाइने तम्बा गीत र बोन सेरबहरूमा यस सम्बन्धमा चर्चा गरिएका पाइन्छन् । तामाङ बोन सेरब अनुसार पहिले आदिमानव म्हिए रेञ्जने (कोल्मी अर्थात् कोला म्हि÷छोरोमान्छे) र देवकन्या गङ्सल्मोको बीच पहिलो पटक वैवाहिक सम्बन्ध कायम भएको थियो । त्यस्तैगरि सनातन हिन्दू व्यवस्थाअनुसार आदिमानव मनु र सतरूपाका बीच विवाह भएको थियो । ख्रिष्चियनले पनि यी दुई मान्यतालाई नै स्वीकार गरेको देखिन्छ । अर्थात् आदिमानव एक पुरुष र महिलाको बीच पहिलो विवाह भएको थियो ।
तामाङ मान्यतानुसार पहिलो विवाहपश्चात् मानव बंश वृद्धि हुँदै गयो । पछिल्लो समयमा विवाहबाटै देखिएको समस्या समाधानको क्रममा ’ङारु’ (दाजुभाइ) र कुटुम्बको सिर्जना गरि विवाहलाई सामाजिक संस्थाको रूपमा मान्यता दिलायो । कुटुम्बको सिर्जना किन गरियो भन्ने प्रश्न उठ्नु स्वाभाविक नै देखिन्छ । सन्तवीर पाख्रीनले आफ्नो तम्बा कइतेन व्हाई रिमठिममा आफ्नो सन्ततिको दीर्घायूको लागि भनेर उल्लेख गर्नुभएको देखिन्छ । यथार्थ पनि यहि नै हो । पुस्तकमा, आफ्नै दाजुभाइका छोरा छोरीबीच विवाह भएमा सन्तान खिइएर जान्छ भनिएको छ । मानवशास्त्रीय अध्ययनको क्रममा विकास गरिएको ’सोसियो बायोलोजिकल मोडेल’ले पनि यस तथ्यलाई प्रमाणित गरिदिएको छ ।
नेपालमा मात्रै नभएर विश्व सभ्यतामा निकै उन्नत मानिएको हालको हिन्दूहरूका इतिहासलाई पनि यसक्रममा खोतलेर हेर्न सकिन्छ । शुरूमा उनीहरूका समाजमा विवाहसम्बन्धी बेग्लै मान्यता थियो । समयसँगै सुधार गर्ने क्रममा नयाँ मान्यता देखापरेको हो । हिन्दूशास्त्र महाभारतको कथाअनुसार सातौं शताब्दीतिर उद्दालक ऋषिकी पत्नीलाई पतिकै अगाडिबाट अर्को ऋषिले लान खोजेका थिए । उनीहरूका छोरा श्वेतकेतुले विरोध गरेका थिए तर उद्दालकले धर्म अनुकूल बताए । त्यसपछि श्वेतकेतुले त्यहीबेला यो प्रथा खत्तम पार्ने प्रतिज्ञा गरे । यसप्रकार श्वेतकेतुले नै स्थायी विवाहको परम्परा बसाएका हुन् भनेर राहुल सांस्कृत्यायनले लेख्नुभएको छ । यस तथ्यले सो समयसम्म पनि विवाहले स्थायी स्वरूप लिइनसकेको भन्ने देखाउँछ ।
मनुका अनुसार छोराबाट स्वर्ग जस्ता उत्तमलोक; नातीबाट ती लोकमा लामो समयसम्म भोग गर्न पाइन्छ अनि पनातीबाट सूर्यलोक नै प्राप्त गर्न सकिन्छ । त्यसैगरि एकरात मात्र आफ्नी श्रीमती अन्य कसैलाई दान गरेमा अर्थात् यौन सम्पर्क गर्न दिएमा पनि स्वर्ग लोक प्राप्त हुन्छ भन्ने मान्यता रहेको थियो । यस्तो मान्यताले नारीलाई केवल पुरुषको यौनदासी जस्तो मात्र देखाउँथ्यो । त्यसैले त्यो मान्यतालाई परिवर्तन गरियो र विवाह जन्म–जन्मातरसम्मको लागि भनियो । त्यसपछि विवाहितहरू त्यसमा पनि अझ बढी महिलाले परपुरुषको सङ्गत गर्नुलाई उचित मानिएन । हिन्दू मान्यतानुसार विवाहबाट गृहस्थ जीवनमा प्रवेश गर्न सकिन्छ । यसैबाट देव एवं पितृ ऋण तिर्न सकिन्छ ।
विवाहले नै तामाङ समाजमा ह्रुई (थर)को निर्माण गराएको देखिन्छ । यो नै तामाङ समाजको विशिष्ट पहिचानमध्येको एक हो । त्यसैले विवाहमा ह्रुईलाई नियाल्ने गर्दछन् । आफ्नो बाउको थर र सो थरको ङारु (स्वाँगेभाइ) पर्नेहरूसित विवाह हुँदैन । त्यस्तैगरि केटा र केटी कुटुम्ब थरकै भएपनि दुवै जनाको आमा वा हजूरआमाको थर एउटै वा स्वाँगेभाइ पर्ने थरको भएमा अमा थेकमे र मम् थेकमे (आमा र हजूरआमा दिदीबहिनी) भन्छन् । त्यस्ता नातामा विवाह हुँदैन ।
तामाङ समाजमा पनि विवाहलाई जन्म–जन्मान्तरसम्मकै सम्बन्ध मान्ने गरिएको छ । तापनि बीचमा कुनै कारणवश छुट्टिनु वा दोस्रो विवाह गर्नुलाई खासै चर्चाको विषय बनाउँदैनन् । विवाहमा सबैभन्दा महत्त्वपूर्ण संस्कारको रूपमा चारदामलाई लिइन्छ । चारदाम नगरेसम्म विवाह कच्चा ठहरिन्छ । यो संस्कार विवाहको समयमा कन्यादानसँगै सम्पन्न गर्ने चलन रहेको छ । काभ्रे तिमाल क्षेत्रको केही स्थानमा भने देहावसनपछि मात्र यो कार्य गर्ने गर्दछन् । यो संस्कार पूरा नगरेमा त्यस्ता व्यक्तिहरू मरेपछि न्याउली चरीको रूपमा जन्म लिएर रोएर बस्न बाध्य हुन्छन् भन्ने जनविश्वास पनि पाइन्छन् ।
विवाहमा चारदाम लगायतका संस्कार पूरा गर्ने क्रममा माइती अर्थात् दाजुभाइको उपस्थिति अनिवार्य मानिन्छन् । यदि दाजुभाइ रहेनछन् भने नजिकको र नजिकको नभए टाढाकै कोहीलाई माइतीको रूपमा राख्ने गर्दछन् । कन्यादान माइती (दाजु भाइ)द्वारा गराइन्छन् । यसको मुल कारण बेहुला र बेहुलीको बीच दुवैको रगत, मासु र श्वास मिल्यो भने पनि केटीको हड्डी (ह्रुई÷थर) भने माइतीकै हातमा राख्नुपर्छ भन्ने नै हो । त्यसो गर्नुको कारण यदि हड्डी पनि दिने हो भने ती दुई श्रीमान् श्रीमती नभई माइती र चेली हुन्छन् भन्ने नै हो ।
३. विवाहको प्रकार
विश्वमा धेरै देश, मानवसमुदाय र सभ्यताहरू रहेका छन् । प्रत्येक मानव समुदाय वा जातिमा विवाहसम्बन्धमा फरक फरक मान्यता र संस्कारजन्य मान्यताहरू रहेका छन् । संख्या, सामाजिक प्रचलन र नियम, आधुनिक र अन्य प्रचलनको आधारमा विवाहको प्रकार छुट्याउन सकिन्छ ।
क) संख्याको आधारमा ः
विवाहको क्रममा संलग्न हुने वा रहेका बेहुला र बेहुलीको संख्याको आधारमा विवाहको किसिम निम्नानुसार पाइन्छन् ;
अ) एकलगामी विवाह
विद्वान् मोर्गानका अनुसार– विवाह एक पुरुष र एक महिलाबीचको आधुनिक विवाह हो । यसको प्रकृति बढी सौहार्दतामा अडिएको हुन्छ । बालबालिकाको पालन पोषण र सामाजिकीकरणमा बढी ध्यान जान सक्छ । साथै परिवारमा कलह पनि कम हुने हुन्छ ।
आ) बहुपत्नी विवाह
एक पुरुषले एउटै जीवनकालमा दुई वा दुईभन्दा बढी महिलासँग वैवाहिक सम्बन्ध राख्ने परम्पारलाई नै बहुपत्नी विवाह भनिन्छ । नेपाली समाजमा कानुनले तोकेको विशेष अवस्थामा बाहेक बहुपत्नी विवाह कानुनतः बन्देज रहे तापनि यदाकदा यस्ता विवाह भेटिन्छन् । वेस्टमार्कका कतिपय जातिमा श्रीमती गर्भवती भएदेखि बच्चालाई दूध नछुटाउञ्जेल यौन सम्पर्क राख्न वर्जित भएकाले पनि दोस्री श्रीमती विवाह गर्ने गर्दछन् । यस्तैगरी मुस्लिम तथा अफ्रिकन नेग्रो र इस्किमो जातिमा यस्ता प्रचलन पाइन्छन् ।
इ) बहुपति विवाह
एकैपटक वा एकै जीवनकालमा एउटी महिलाले एकभन्दा बढी पुरुषसित स्थापित गर्ने वैवाहिक सम्बन्ध नै बहुपति विवाह हो । एकै बाउ आमाको सहोदर दाजू भाइहरूसित गरिएमा ँचबतभचलब िएयथिबलमचथ भनिन्छ । यस्तैगरी सहोदर दाजूभाइ नभई अलग–अलग भएमा ल्यल–ँचबतभचलब िएयथिबलमचथ भनिन्छ । बहुपति विवाह नेपालको शेर्पा लगायतका केही समुदाय तथा तिब्बतीहरू, भारतको डोडा र अफ्रिकाको अहाम अनि श्रीलङ्काको सिंहालिज जातिमा अझैसम्म पनि पाइन्छन् ।
ई) समूह विवाह
एकै समयमा एक समुहको केटाहरूले अर्का समुहकी केटीहरूसित गर्ने विवाह नै समुह विवाह हो । यस्तो विवाह आदिवासी जनजाति समुहहरूका बीच हुने गर्दथे । अहिले पनि केही यस्तो प्रकारको विवाह परम्परा कतै कतै पाइन सक्छन् ।
ख) सामाजिक प्रचलन र नियमको आधारमा
हरेक समाजले विवाहसम्बन्धी आफ्नै मान्यता र प्रचलन निर्धारण गरेको पाइन्छ । त्यसैले गर्दा नै यसलाई सामाजिक संस्था भनिएको हो । आफ्नो संस्कार र संस्कृति छाडेर विवाह गरिएपछि उसको कुल नै बिग्रन्छ भन्ने आदिवासी जनजातिहरूको मौलिक मान्यता रहेका पाइन्छन् । त्यसरी संस्कार लत्याउनेलाई ’कुलङ्घार’ भन्ने आरोप पनि लगाउँछन् । आफ्नो प्रचलनलाई त्यागेर विवाह गर्नाले विवाह सामाजिक संस्थाबाट अलग्गिनुको साथै कुल नै बिग्रन जाने हुनाले यस्तो गम्भीर आरोप लगाउने गरेको भन्ने देखिन्छ । सामाजिक प्रचलन र नियमको आधारमा देखिएका विवाहहरू निम्नानुसार रहेका छन् ।
अ) सजातीय विवाह
आफ्नै जातभित्र हुने विवाहलाई नै सजातीय विवाह भन्ने गरिन्छन्; जस्तै तामाङले तामाङसित गर्ने विवाह । यसमा आफ्नो जातभन्दा बाहिरको विवाह अस्वीकार्य हुन्छ । यसले मौलिकता जोगाउने गर्दछ । यस्तो विवाहमा चल्तोफिर्तो कुटुम्बको कुरा आउने गर्दछ । यस्तै क्रममा पानी मूलको राम्रो र बुहारी कुलको राम्रो भन्ने मान्यता बनेको हो । आफू सुहाउँदो पक्षसितको विवाह नै सबैभन्दा उत्तम विवाह मानिन्छ । यस्तो विवाहमा नयाँ दुलहीलाई नयाँघरमा अनुकूलनको वातावरण सहज हुन्छ । हरेक संस्कार संस्कृति र सोचाई मिल्ने हुनाले सामाजिकीकरणको प्रक्रियामा पनि यसले सकारात्मक भूमिका खेलेको हुन्छ । अहिले विश्व जगतमै आदिवासी जनजातिहरू आफ्नो मौलिक पहिचानको मुद्दामा लडिरहेका छन् । सजातीय विवाहले उनीहरूको झर्रोपनको जगेर्ना र अधिकार प्राप्तिको आन्दोलनमा थप ऊर्जा थप्न सक्नेछ ।
आ) विजातीय विवाह
सपिण्डभन्दा बाहिर गरिने वा बाहिरको समूहसँग गरिने विवाह नै विजातीय विवाह हो । कतिपय समाजमा आफ्नो गाउँभन्दा बाहिरकोसित मात्र विवाह हुने गर्दछन् । जस्तैः भारतको नागा जातिको विवाह तर कतिपयले अन्तरजातीय विवाहलाई पनि यही विवाहमा राख्ने गर्दछन् । यस्तैगरि एउटा जात वा समुदायको मानिसले भिन्न जात वा समुदायको मानिससँग गर्ने विवाह नै अन्तरजातीय विवाह हो । अर्थात् बाहुनले मगरसँग, तामाङले गुरुङसँग वा क्षेत्रीसँग वा राईले मधेसीसँग विवाह गरेमा त्यस्तो विवाहलाई अन्तरजातीय भनिन्छ । पछिल्लो समयमा यसले निकै बढवा पाउँदै आएको छ । नेपाल सरकारले दलितसित विवाह गर्नेलाई त पुरस्कारको घोषणा समेत गरेको छ । यस्तो विवाह विश्व परिवेश र नेपाली कानुनी मान्यतानुसार अपराध होइन ।
तथापि आदिवासी जनजाति र झर्रोपन सिध्याउनको लागि यस्तो गरिएको आरोप लाग्ने गरेको देखिन्छ । पछिल्लो समयमा अन्तरजातीय विवाहबाट जन्मिने सन्तान राम्रा हुने विश्वास गरिएका पाइन्छन् । त्यसो त श्रङचङगम्पो र भृकुटी जस्ता महान् मानिसका अन्तरजातीय विवाहबाट जन्मिएका सन्तान आज कहाँ छन् ? के गौतम बुद्ध र रामबहादुर बोम्जन (धर्मसङ्घ) अन्तरजातीय विवाहबाट जन्मिएका सन्तान हुन् ? यतातिर पनि ध्यान दिने बेला आएको देखिन्छ ।
इ) नातागत विवाह
१) मामाचेला फुपूचेली विवाह
फुपूकी छोरीमा र मामाको छोराको हक लाग्ने मान्यतानुरूप गरिने विवाह नै मामाचेला फुपूचेली विवाह हो । जस्तैः– गुरुङ्ग र तामाङ समाजमा प्रचलित विवाह ।
२) दाजूभाइका छोरा–छोरीबीचको विवाह
यो काका बाउ र ठूलो बाउ अर्थात दाजूभाइकै छोरा–छोरीबीच गरिने विवाह हो । एकै आँतका दाजूभाइका छोरा छोरीबीच खासगरी मुस्लिम समाजमा विवाह हुने गर्दछ । जहाँ काकाकी छोरीमा हक लाग्ने गर्दछ ।
३) शाली विवाह
श्रीमतीको मृत्युपश्चात श्रीमानले श्रीमतीकी बहिनी (शाली)लाई बिहे गर्ने प्रचलन वा विहे नै शाली विवाह हो ।
४) भाउजू विवाह
दाज्यूको मृत्युपछि देवरले भाउजू स्यहार्ने वा विधवा भाउजूले देवरसित विहे गर्न पाउने विहेको प्रकार नै भाउजू विवाह हो ।
ग) आधुननिक र पाश्चात्य विवाह
समाज विकासको क्रममा हरेक युग नयाँ भएर आउने गर्दछन् । त्यसैले पछिल्लाहरूलाई आधुनिक भनिएको हो । अब त आधुनिकबाट पनि उत्तरआधुनिक भइसकेको छ । उत्तरआधुनिक पछि के आउने हो भन्ने चाहिँ हेर्न बाँकी नै छ । यो आधुनिक भन्ने शब्द दोस्रो विश्व युद्धपछि अमेरिकाको तत्कालीन राष्ट्रपतिले निर्माण गरेका मानिन्छन् । आज हरेक मान्छे आधुनिक बन्न र भन्न रुचाउँछन् । विश्व उत्तरआधुनिकतामा प्रवेश गरेको पनि धेरै भैसकेको छ तर पनि नेपालीहरू भने आधुनिकताकै नाम जपिरहेका पाइन्छन् । यस युगले ल्याएको विवाहको नयाँ स्वरूप निम्नानुसार रहेका छन् ।
अ) प्रेम विवाह
केटा र केटीबीच मन परापर भएपछि अभिभावकका स्वीकृति बेगर गरिने विवाह हो । आधुनिकीकरण क्रममा यस्तो विहेको मात्रा बढेको छ । जहाँ मन र रूप बाहेक जात, धर्म एवं खानदानीलाई नहेर्न पनि सक्छन् । पछिल्लो समयमा जात कि साथ भन्ने प्रश्न गर्न थालेका छन् । साथ हेर्ने हुँदा जात छुटाउँछन् । सफल हुँदा त राम्रै होला असफल भएपछि पछुताउँछन् ।
आ) दर्ता विवाह
दर्ता विवाह भन्नाले प्रेम विवाह आदिलाई जिल्ला प्रशासन कार्यालय (सि.डि.यो.)मार्फत् विवाहको दर्ता गरि गरिने विवाह नै दर्ता विवाह हो । अर्थात् सरकारी निकायमा विवाह दर्ता गरी प्रमाण लिइन्छ । पछिल्लो समयमा यस्तो विवाहमा निकै वृद्धि भएको देखिन्छ । नेपालकै सन्दर्भमा भन्नुपर्दा– अन्तरजातीय, बाउआमाले अस्वीकार गरेको वा विदेशीसितको विवाह वा विदेश जानको लागि गरिने नक्कली विवाहको रूपमा यस्तो प्रकारको विवाह गर्ने गरिएका छन् ।
इ) समलिङ्गी विवाह
समलिङ्गी विवाह भन्नाले समलिङ्गीहरू बीच हुने विवाह हो । यसप्रकारको विवाहलाई अप्राकृतिक मानिन्छन् किनकी यसमा केटा र केटा अनि केटीको केटीकै बीच विवाह हुने गर्दछ । यसरी विहे गर्ने केटाहरूलाई Nay र केटीहरूलाई lesbian भनिन्छ । अमेरिकामा २५ प्रतिशत न्बथ र १५ प्रतिशत lesbian हरूले Homosex को अनुभव गरेको कुरा Hyde (१९८६) ले जनाएका थिए । यसलाई वैधानिक मान्यता नदिएकाले मान्यता प्राप्तिका लागि यिनीहरू लडिरहेका साथै नेपालमा पनि यसका लागि केही संख्या देखिन थालिएका छन् ।
Radica Feminist हरूले समेत लोग्नेमान्छेको शोषणबाट मुक्ति पाउन आइमाईहरूले आइमाई सितै विवाह गर्नुपर्ने मान्यता राख्ने गरेका छन् । स्मरणीय तथ्य यो पनि हो कि कुनै समयमा निकै शक्तिशाली मानिएकी नारीवादी नेतृ सिमोन दी बोउभरले त पूँजीवाद वा साम्यवादमा समेत नारीको मुक्ति सम्भव नभएको बताएकी थिइन् । उनीले नारीहरूले आफ्नै सत्ता स्थापित गर्नुपर्ने बताए पनि आफ्नै जीवनमा धेरै पुरुषहरूसित यौन आवश्यकता पूर्ति गरेकी पनि देखिन्छ । यसले च्बमष्अब िाझष्लष्कत हरूले भनेजस्तो कार्य सहज भने देखिँदैन ।
घ) हिन्दू संस्कारका आधारमा
पूर्वीय दर्शन विश्व मानव सभ्यताको कोशेढुङ्गो नै मानिन्छन् । यो सर्वप्रथम देखिएको र उच्चकोटीको सभ्यताको रूपमा चिनिन्छ । यस अन्तर्गत स्मृतिहरूको उल्लेख गरिन्छन् नै । मनुस्मृतिमा विवाहको प्रकारको बारेमा चर्चा पाइन्छन्; जुन निम्नानुसार रहेको छ ।
१) ब्राह्म विवाह ः वेद पढेका सदाचारी वरलाई आफैँले बोलाई निजको वस्त्र भूषणादिले वर वधू दुवैलाई अलङ्कृत गरी कन्यादान गर्नुलाई धर्मयुक्त ब्राह्म विवाह भनिन्छ ।
२) दैव विवाह ः यज्ञमा विधिपूर्वक कर्म गर्दै ऋत्विकको लागि वस्त्रालङ्कारहरूले अलङ्कृत गरि कन्यादान दिनु नै दैव विवाह हो ।
३) आर्ष विवाह ः एक वा दुई जोडी गाई वा गोरु वरसँग लिई विधिपूर्वक कन्यादान दिनु नै आर्ष विवाह हो ।
४) प्राजापत्य विवाह ः तिमी दुई (वर÷वधू) साथमा धर्माचरण गर भनी वस्त्रालङ्कारादिले निजहरूको पूजा गरी कन्यादान दिनु प्राजापत्य विवाह हो ।
५) आसूर विवाह ः कन्याका पिता आदि र कन्याका लागि यथाशक्ति धन दिई स्वेच्छाले कन्या स्वीकार गर्नु आसूर विवाह हो ।
६) गान्धर्व विवाह ः कन्या र केटाको ईच्छाअनुसार परस्पर स्नेहबाट संयोग (आलिङ्गन) वा अनुरागात्मक मिलन हुनु नै गान्धर्व विवाह हो ।
७) राक्षसी विवाह ः कन्याको माइतीपट्टीका मानिसहरूलाई आघात वा कुटपीट गरी बलात्कारसँग कन्यालाई रुवाउँदै अपहरण गरी ल्याउनुलाई नै राक्षस विवाह भनिन्छ ।
८) पैचास विवाह ः सुतेकी वा मदआदिले व्याकूल भई आफ्नो शीलको रक्षा गर्न नसक्ने प्रमादयुक्त अवस्थामा भएकी कन्यालाई बलात्कार गर्नु निन्दनीय पैचास विवाह हो । (हेर्नुहोस् ज्ञाइन्द्रबहादुर श्रेष्ठ ः पारिवारिक कानून)
ङ ) तामाङ विवाहको प्रकार
तामाङ समाजले पनि विवाहलाई आफ्नै तरिकाबाट बुझ्दै र बुझाउँदै आएको छ । विवाहको उत्पत्तिदेखि यसक्रममा गरिने संस्कारहरूको अर्थ र व्याख्या यो समाजले अझैपनि बिर्सेको छैन । विजातीय तथा हाडनाता र स्वाँगेभाइबीच विवाह वर्जित गरिएको छ । यस जातिमा देखिएका विवाहको प्रकारलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ।
१) मागी विवाह
तामाङ समाजमा मागी विवाहलाई पहिलो स्थानमा नै राख्ने गरिएको छ । केटा र केटी राजी भएमा वा केटालाई केटी मन परेमा केटा पक्षले केटीको घरमा गई मागेर सहमति भएमा गरिने विवाह नै मागी विवाह हो । यसक्रममा खर्च कति गर्ने भन्ने कुरा पनि यदाकदा उठ्ने गर्दछ । सहज वातावरणमा सहमति भएमा थोरै खर्चमा ’मिलसिङ विवाह’ हुन सक्छ भने सहजता कम भएमा वा धनको तुजुक देखाउने क्रम चलेमा ’धनसिङ विवाह’ पनि हुन्छ भनेर भन्ने गरिन्छन् ।
२) भागी (चोरी) विवाह
केटा र केटी मनपरेको अवस्थामा भागेर पनि विवाह हुने गर्दछ । विशेषगरी केटी र केटाले आपसमा मन पराए तापनि केटा वा केटीको वा दुवैको घरपरिवार असहमत भएमा वा केटीको बाउआमासित माग्न जाँदा नदिएमा पनि केटीलाई भगाएर लाने प्रचलन छ । यस्तो विवाहलाई नै भागी वा चोरी विवाह भनिन्छ । भागी विवाहमा लमी नहुन पनि सक्छ तर चोरी विवाहमा भने पक्कै पनि कोही न कोहीले लमीको भूमिको निभाएको हुन्छ ।
३) जबरजस्ती विवाह
तामाङ समाजमा जबरजस्ती विवाहको प्रचलन रहेको थियो । यदाकदा छिटपुट रूपमा अहिले पनि हुने गरेको भनिए तापनि विषय अलिक फरक नै हुने गर्दछ । पहिले पहिले केटी मन परेको खण्डमा जात्रामात्रामा पुगेर वा कुनै मेलापात वा वनजङ्गलमा पुगेकी केटीलाई इच्छा विपरित तानेर वा समुह बनाएर उठाएर लाने चलन थियो । त्यसरी लग्दा केटीले बोक्नेहरूलाई टेकेर मासुको चोक्टा नै निकाल्ने, कपाल उखेल्ने र जीउमै दिशा पिसाब छोड्ने पनि गर्थी भनिन्छन् । त्यसरी लगिएकी केटीलाई केटापक्षले घरमा थुनेर राख्ने र विवाहको लागि स्वीकार वा तयार भएपछि बल्ल विवाहको कुरा अघि बढाउने प्रचलन थियो । तथापि त्यसरी सुरक्षित र सम्मानपूर्वक धेरै दिनसम्म राख्दा पनि केटीले नमानेकी खण्डमा स–सम्मान माइतीसम्म पुर्याउने प्रचलन थियो । त्यसप्रकारको विवाह केटीको सहमतिमा मात्र सम्भव हुन्थ्यो ।
माथि उल्लेख गरिएअनुरूप घर कोठामा थुनेर राखिएकी केटी फुत्केर भाग्ने वा घरपरिवार र केटोसित नजिक पार्नका लागि मेलापातमा लाने पनि गरिन्थे । त्यसरी लग्दा र सँगै हुँदा केटीले केटा मनपरेमा विवाह हुन्थ्यो तर मन नपरेमा आँखा छलेर भागेर माइती पुग्न पनि सक्थी । अहिले पनि यस्तो जबरजस्ती विवाह हुने गरेको बताइन्छन् । तथापि यसको प्रकृति फरक देखिन्छन् । लमी लगाएर केटीलाई फकाउने र माइती पक्षले नमानेमा जबरजस्ती उठाएर लैजाने गरिन्छन् । यस्तो विवाह छिटफुट मात्रामा भेटिने गर्दछन् ।
४) विधवा विवाह
तामाङ समाजमा विधवा विवाह पनि प्रचलनमा रहेको पाइन्छ । विशेष गरी दाजु वा दाजु पर्नेको देहावसन भएपनि भाउजू विवाह गर्ने प्रचलन पहिले रहेको थियो तर आजकल यस्तो पाउन सकिन्न । भाउजू बाहेकको कुनै परकी विधवालाई पनि विवाह गरि ल्याएमा समाजले सहज रूपमा लिने गरेका पाइन्छन् ।
५) जारी विवाह
समाजमा जारी विवाह पनि यदाकदा हुने गर्दछन् । सवधालाई केटो वा विवाहिता वा एकल पुरुषले जारी गरी ल्याएका पाइन्छन् । पहिले यस्तो विवाह कानुनः वर्जित जस्तै भएकोले जारलाई साधुले काट्न पाउने प्रचलन रहेको भन्ने देखिन्छ । पहिले पहिले यस्तो विवाह प्रशस्तै हुने गरेका कथाहरू पनि पाइन्छन् । कतिपयले अरूकी श्रीमती जारी गरेर भगाएर वा जबरजस्ती उठाएर पनि लाने गर्दथे । त्यसलाई तत्कालीन समाजमा शक्ति वा पहुँचसित जोडेर हेर्ने गरिन्थे । अहिले भने यस्तो देखिँदैन । सधवासित प्रेम परेपछि दुई जना भागेर यस्तो विवाह गर्ने गरेका पाइन्छन् । पहिले भने यस्तो विवाह हुँदाखेरि दुई पक्ष (जार र साधु) बसेर साधुलाई जारले विवाह खर्च फिर्ता गर्ने तथा मालसामान वा गहनाआदि बुझाउने गर्दथे ।
६) जितौरी विवाह
तामाङ जाति गीत गाउन निकै माहिर मानिन्छन् । उनीहरू आपसमा गीतको दोहोरी खेल्न थालेपछि हप्ता दिनसम्म पनि छुट्दैथे । जात्रामात्रादेखि केटोहरू केटीको घरसम्म पुग्ने र अन्त्यमा बढो मेजमानी गरी सौहार्दपूर्ण तरिकाले छुट्थे पनि । कहिले कहीँ भने त्यसरी गीत गाएर बस्दै वा जाँदै गर्दा माया प्रेम बस्ने र विवाह हुने गर्दथे । त्यस्तैगरि बाजी थापेर गाउने र हार्नेले जित्नेको घरमा गएर बस्नु पर्ने पनि हुन्थ्यो । विशेष गरी केटाले जितेमा केटीलाई श्रीमतीकै रूपमा घर भित्र्याउने गर्दथे । त्यसरी गरिएको विवाहलाई नै जितौरी विवाह भनिएको हो । यस्तो विवाहमा दुवै पक्षको सहमति भने आवश्यक हुन्थ्यो । यसको अर्थ हारेमा म तिम्री हुन तयार र मैले जितेमा तिमी मेरी हुनु भन्ने भावमा यस्तो बाजीमारी वा नमारी गीत गाउने प्रचलन रहेको बताउँछन् ।
७) मामाचेला फुपू चेली विवाह
तामाङ समाजमा मामाचेला फुपू चेली भन्ने प्रचलन रहेको छ । यसको अर्थ मामा र फुपूका छोरा छोरी बीच पनि विवाह हुन्छ भन्ने नै हो । प्रचलन अनुसार मामाकी छोरीमा फुफूकी छोराको हक लाग्दैनथ्यो । तापनि फुपूकी छोरीमाथि मामाको छोराको भने हक लाग्थ्यो । जोडी वा उमेर मिल्ने मामाको छोरा हुँदाहुँदै फुपूकी छोरी अरूसित जान वा दिन मिल्दैनथ्यो । मामाको छोराको स्वीकृति नलिई अन्यत्र विवाह भएमा मामाको छोरालाई ’ग्यलम् थोर्बा’ (बाटो बिराएको सगुन) लानुपर्ने वा पूर्व स्वीकृति नै लिनुपर्दथ्यो । तर अचेल यो चलन पूर्ण रूपमा लोप भैसकेको छ । यद्यपि मामा र फुपूकै छोरा छोरी बीच सहमतिमा विवाह भने हुने गरेको छ ।
८) सजातीय विवाह
तामाङ समाजमा सजातीय विवाहलाई मात्र मान्यता दिइन्छ । तामाङ इतरको जातिमा विवाह भएमा ठेम्बर वा अचल्बा (नचल्ने) भनिन्छ । त्यसैले यिनीहरूमा स्वजातीय वा तामाङभित्रै मिल्ने कुटुम्बकै बीच विवाह हुने गरेको छ । यसैले नै यस जातिको मौलिक पहिचान, धर्म, संस्कार र भाषालाई जीवन्तता दिँदै आएको छ । यस जातिका कट्टरपन्थी मान्यतानुसार विजातीय विवाह गर्नेहरू आफ्नो जातिको लागि मरेतुल्य नै मानिन्छन् । चुह्लो बार्ने, पूजाआजमा स्थापित मञ्चमा प्रवेश निशेष, घेवा (मृत्यु कार्य) आदिमा पनि कतिपय अवस्थामा प्रवेश निषेध गरिन्छन् । कुल पूजाको समयमा आफ्नै मातृभाषाभन्दा अन्य बोल्न नपाउने सुरोफुरो, सिस्नु, दाल र काँच, झर्का तथा काठको भाँडो चल्नेसित विवाह गर्नुपर्ने यस जातिको मान्यता हो । सुरोफुरो अर्थ जुठो र काठको भाँडो (फुरो) चल्ने हो । यस जातिमा श्रीमतीले श्रीमानको मात्र नभई श्रीमतीको जुठो पनि श्रीमानले खानुपर्छ भन्ने प्रचलन रहेको पाइन्छ ।
९) विजातीय विवाह
यदाकदा गर्दै अहिले अन्तरजातीय विवाहतिर नयाँ पुस्ताको आकर्षण बढेको देखिन्छ । यसमा सरकारी मान्यता, विजातीयबाट जन्मेका सन्तान तिक्ष्ण बुद्धिका हुन्छन् भन्ने भ्रमले ठूलो भूमिका खेलेको बताइन्छ । यस सम्बन्धमा विस्तृत जानकारीका लागि रवीन्द्र तामाङको “तामाङ थर“ हेर्नु होला । यस्तैगरी यथार्थ नबुझेर लहैलहैमा लाग्ने नेपाली युवाको अन्धो जोशको कारण पनि आज सबै जातिका युवापुस्ताले पुराना पुस्तालाई गाली गर्ने गरेका छन् । परिणामतः सामाजिकपन समाप्त हुँदैछ । व्यक्तिगत स्वार्थ बढेको बढ्यै छ ।
धन र रूपको पछि कुदिरहेका छन् मानिसहरू ! बाउबाजेले भने भन्दा फरक गर्ने र अरूको नक्कल गर्नुमा ठूलो पौरख ठान्नेहरू यतातिर आकर्षित हुने गरेको आरोप लाग्ने गरेको छ । जसले गर्दा नेपालमा हिन्दूकरणको वृद्धि र आदिवासी जनजाति समाप्तिको बाटोमा लागेको देखिन्छ । यसलाई रोक्न सक्नु पर्ने बुद्धिजीविहरूको तर्क रहेका पाइन्छन् । पछिल्लो समयमा विजातीयताको साथै विदेशीसँगको विवाहको क्रम पनि निकै बढेको छ । यसमा पनि नेपाली महिला विदेशीसित विवाह गरेर ऐश्वर्यको कल्पना गर्दै नालीमा डुब्ने गरेको भन्ने पछिल्लो तथ्याङ्कहरूले देखाउँदै आएको छ ।
१०) बाल विवाह ः
तामाङ समाजमा बाल विवाहको मात्रा निकै ठूलो मात्रामा रहेको अनुमान गर्न सकिन्छ । विशेष गरी ग्रामीण इलाकाहरूमा अझैसम्म पनि बाल विवाह हुने गरेका छन् । अशिक्षाको कारण यस्तो भएको भनिन्छ । सम्बन्धित पक्षहरूले आफ्ना छोरा छोरीको सानै उमेरमा विहे गरिदिने गरेका पाइन्छन् । हुनत तामाङ समाजमा केटाभन्दा ठूली उमेरकी केटीसित प्रशस्तै विवाह हुने गरेको हो । घरमा काम गर्ने मान्छेको रूपमा काम गर्न सक्ने बुहारी भित्र्याउने एक किसिमको प्रचलन जस्तै थियो । आज यो अवस्था छैन । कतिपय स्थानमा १२, १४ वर्षकै उमेरमा केटा केटी आफैँ नै बाउआमाको अनुमति बिना नै विहे गरी ल्याउने र जाने गरेका पनि पाइन्छन् । यो अवस्थामा समाजलाई मुक्त गराउनका लागि विभिन्न सङ्घ संस्थाहरूले पहल गर्न भने छाडेका छैनन् ।
च) प्रचलित अन्य विवाहहरू
१) जवरजस्ती विवाह
केटीको इच्छा विपरीत केटीलाई बलपूर्वक अपहरण वा बलात्कार गरी मञ्जुरी बेगर गरिने विवाह ।
२) पैसा÷दस्तुर तिरेर गर्ने विहे
केटी पक्षलाई दस्तुर स्वरूप पैसा तिरेर गरिने विवाह नै ः Ariane by Purchase हो ।
३) कोरली साटासाट
दुलाहाको दिदी या बहिनी दुलाहीकी दाज्यू वा भाइलाई दिएर साटासाट गरी गरिने विवाहलाई नेपालीमा कोरली साटासाट भन्ने गरिन्छ ।
४) सहमति विवाह
केटा केटीबीच मन परापर भई प्रेम बसेपछि तिनीहरूका बाउ आमाहरूले सहमतिमा मागी विवाह गरिदिएमा त्यस्तो विवाहलाई सहमति विवाह भनिन्छ ।
५) जवरजस्ती विवाह
केटीले केटालाई आफूसँग विहे गर्न दवाव दिई केटाको घरमा जवरजस्ती श्रीमतीको रूपमा बसी विहे गर्नु नै जवरजस्ती विवाह हो ।
६) Ariane by Adaptation:
कुनै अबला नाबालिग केटीलाई घरमा ल्याई पालन पोषण गरी हुर्काई बढाई गरेपछि आफ्नै छोरासित विवाह गरी दिएमा त्यस्तो विवाहलाई Ariane by Adaptation भनिन्छ ।
७) Widow Inheritance Ariane:
अपुताली धन खानका लागि विधवा सासुलाई ज्वाईँले वा भाउजूलाई देवरले वा सौतेनी आमालाई सौतेनी छोराले गर्ने विवाह नै Widow Inheritance Ariane हो ।
८) Neo-local Residence:
केटा र केटी विवाह पश्चात नयाँघरको स्थापना गरी बस्ने विवाह नै Neo-local Residence हो । यस्तो विवाह नेपालमा पाइँदैन । तथापि कतिपय केटा केटी विवाह पश्चात् आफ्नै घरजम गरी बस्ने गरेका भने पाइन्छन् ।
४. किन विवाह मङ्सीरमै गर्छन् ?
नेपाली समाजमा विवाहको सबैभन्दा राम्रो याम मङ्सीरमा मानिन्छ । यसको कारण के हुन सक्छ ? यस सम्बन्धमा सामान्यतः खासै चर्चा गरिएका पाइन्नन् । त्यसैले मङ्सीरको महत्त्वमा कमि आएको जस्तो पनि लाग्न सक्छ । धर्मशास्त्रहरूमा के छ भन्ने सम्बन्धमा चर्चा भएको पनि खासै देखिँदैन । तापनि साउन, कात्तिक, पुस र चैतमा विवाह नगर्नु भनिन्छ ।
साउन महिनामा वर्षाको याम हो । तामाङ समाज यस महिनामा देउताहरू सबै गुफा बस्न जाने गर्दछन् भन्ने विश्वास गर्दछ । कत्तिपयले यस अवधिमा पूजा कार्यहरूसमेत गर्दैनन् । उनीहरूका अनुसार जनैपूर्णिमा लागेपछि बल्ल देउताहरू बाहिर आउँछन् । त्यसैले यो अशुभ मास मानिन्छ । त्यसैले हुनुपर्दछ, विवाह कार्यको लागि यो मास उचित मानिन्न ।
यस्तैगरि कात्तिकमा पनि विवाह गर्दैनन् । यस मासलाई कुकुरको मानिन्छ । अर्थात् यस समयमा कुकुरहरू बरालिने गर्छन् । त्यसरी बरालिएको कुकुरले भूईँ कोतर्ने गर्छन् । त्यसताका कुकुरले यत्ति धेरै भूईँ वा बारीमा कोर्तछन् कि– फापर छरेपनि हुन्छ । अर्थात् फापर त कुकुरले कोतरेकै स्थानमा पनि उम्रन र राम्रै फल्छ । यसले पनि फापरलाई कु–अन्न भन्न सघाएको हुनुपर्दछ । यदि कात्तिकमा विवाह गरिएमा समाजले त्यस्ता जोडीलाई नै ’कुकुर’को सञ्ज्ञा दिने गर्दछन् ।
पुस महिनालाई पनि विवाहको लागि राम्रो मानिन्न । पुसमा बाख्रीले पाठापाठी ब्याएमा पनि राम्रो मानिन्न । त्यस्तैगरि चैतमा विवाह उचित मानिँदैन । यो निकै गर्मीको याम हो । यस्तैगरी जेठ र भदौमा पनि खासै विवाह हुँदैन । भदौमा विवाह गरे ’भदौरे’, साउनेमा विवाह गरे ’साउने’, कात्तिकमा विवाह गरे ’कात्तिके’ र चैतमा विहे गरेमा ’चैते’ पनि भन्ने गर्दछन् । नेपाली राजनीतिमा पनि ’चैते’ शब्दको निकै प्रशस्तै प्रयोग हुने गरेको छ ।
समाजमा विवाहको विशेष गरी बैशाख, मङ्सीर, माघ र फागुनमा गर्ने प्रचलन देखिन्छ । यी मासहरूमध्ये बैशाखलाई नयाँ सालको शुरूको महिना मानिन्छ । त्यसैले यस याममा शुभकार्य गर्न सकिने नै भयो । त्यसपछि प्रायः गीतहरूमा समेत विवाहलाई मङ्सीरमै गरिने संस्थाको रूपमा स्वीकार गरिएका पाइन्छन् । माघ र फागुनलाई पनि विवाहको उचित यामकै रूपमा लिइन्छ । नेपाली पात्रोहरूमा विवाहको लागि नक्षत्रादिको स्थितिसित पनि जोडेर लगनको साइत निकाल्ने गरेका देखिन्छन् ।
यसरी विवाहको याम तोक्नुको कारणलाई पनि नियालेर हेर्न सकिन्छ । बैशाख गर्मीको याम हो । यसबेला गरिने भोज भतेरले मानिसलाई बिमारी पार्ने सम्भावना रहन्छ । त्यस्तैगरि माघ मास मध्य जाडोको समय मानिन्छ । तापनि तामाङ समुदायमा माघदेखि नै नयाँ ल्होछार हुने गर्दछ । त्यसैले हिन्दूहरूले बैशाखलाई वर्षको पहिलो माने जस्तै यस समुदायले माघलाई मान्ने गर्दछन् । यस मासमा विवाह लगायतको शुभ कार्य गर्न सकिने भयो । फागुन याम जाडो र गर्मीको बीचमा पर्ने याम मानिन्छ । पर्यावरणीय रूपमा गुराँस फुल्ने याम पनि हो । समाजमा गुराँसको विवाहको कथा पनि पाइन्छन् । त्यसैले यस मासलाई विवाह योग्य नै मानिएको देखिन्छ । सबैभन्दा धेरै मान्यता मङ्सीरमा हुनुको कारण पनि जान्ने प्रयास गर्न सकिन्छ ।
यसअघि विवाह भन्ने के हो भन्ने सम्बन्धमा केही तथ्यहरू बुझ्नै पर्ने हुन्छ । विवाहलाई सामाजिक संस्थाहरूमध्ये एक मानिन्छ । विवाह संस्था बिना कुनै पनि समाजको निरन्तरताको कुरा गर्न सकिन्छ । त्यसैले यसलाई सामाजिक संस्थाको अभिन्न अङ्गको रूपमा मानिएको देखिन्छ । यसले परिवारजस्ता अन्य संस्थाको पनि निर्माण गर्दछ ।
यो संस्था सामाजिक भएकैले आफ्नो समाज अनुरूपको सामाजिक सांस्कृति कृत्यहरू पूरा गर्नुपर्ने मान्यता राखिन्छ । अर्थात् विवाह यसरी गर्नुपर्छ भनेर विवाह काण्ड तोकिको कारण नै नव दुलाह दुलही वा परिवार र समाजको सदस्यलाई सामाजिकीकरण गराउने गरिन्छ । यही सामाजिकीकरणकै गराउनकै लागि र वैवाहिक जीवनसम्बन्धी सही सूचनाको लागि नै यस्तो गरिएको हो ।
पछिल्लो समयमा विवाहलाई केटा केटीको स्वतन्त्रताको रूपमा लिने वा मान्यता दिने गरेको छ । कानुनी रूपमा पनि त्यस्तै व्यवस्था गरिएको छ । यहीनेर वैयक्तिक स्वतन्त्रताको कुरा गर्दाखेरि सामाजिक संस्कार र परम्परालाई बिर्सन्छन् । त्यही चाहिँ दुःखत् सावित हुन्छन्; सामाजिक र सांस्कृतिक रूपमा ! यसले कानुन तथा पछिल्लो मान्यताले पर्यावरणीय अनुकूलन र सामाजिक सांस्कृतिक पाटोलाई भुलेको देखिन्छ । कुनै पनि सानो पाटोलाई अजरअन्दाज गर्नु आफैँमा घातक हुन्छन् भन्ने तथ्यमाथि वास्ता गरिएको पाइन्न ।
कुनै कालमा हिन्दू समाजले स्वयम्वरकै मान्यता बनाएको थियो । पछि बौद्ध धर्मको प्रवेश र लोकप्रियतापछि सोही मान्यता अपाच्य रूपमा देखापरेको थियो । स्वयम्वर गरेर जानुपर्ने छोरी बौद्ध भिक्षुणी बन्न थालेपछि भारत वर्षमा रहेका हिन्दूहरूमा ठूलो सङ्कट नै आइपरेको थियो । त्यसपछि रजस्वला हुनुअघि नै कन्यादान गर्न विवश भएका देखिन्छन् । अर्थात् विवाह सामाजिक संस्कार हो । यो पूर्ण रूपमा वैयक्तिक हुनै सक्तैन ।
यदि वैयक्तिकतालाई मान्यता दिने हो भने समाज समाज नभई भत्किन्छ । सामजिकतापछि मात्र वैयक्तिकताको विषय उठ्ने गर्दछ । त्यसैले सामाजिक संस्कार गर्दै विवाह मण्डपमा बसालेर दुलाह दुलाहीलाई सामाजिक र वैयक्तिक जीवन दर्शन् सुनाउने र प्रतिबद्धता गराउने प्रचलन चलेको हो । यस्तो संस्कारलाई नै कुरीति र कुसंस्कार भन्ने भएपछि संस्कारमा समस्या देखापर्दछ । संस्कारमा समस्या देखापरेपछि त्यसले सिङ्गो समाजलाई नै प्रदुषित गर्दछ ।
यस्तो हुन नदिन नै विवाह संस्कारको मान्यता बनेको हो । तथापि पछिल्लो पुस्ताले यसलाई भत्काउँदै वैयक्तिकताको पक्षबाट बहस गर्दै अन्तरजातीय विवाहमा लिप्त भएका कैयन् उदाहरण भेटिन्छन् । यसले मानिसलाई स्वार्थी बनाउने गरेको छ । बढो कष्टका साथ हुर्काएका अझ पढाइएका छोरा छोरीले बिजातको केटा केटी ताक्नले संस्कारमा समस्या देखापरेको छ । संस्कारमा समस्या देखापरेकै कारण समाजमा समस्या देखापरेको हो । समाजमा समस्या परेकैले पहिचानको प्रश्न गौण बनेको हो ।
यदि कसैले अन्तरजातीय विवाह गर्छ भने उसले संस्कार र संस्कृतिलाई जोगाएर राख्न सक्ने सम्भावना हुँदैन । वर्णशङ्कर (हाइब्रिड) बीउको नियम लागू हुनु पुग्छ । वर्णशङ्कर बीउले राम्रो फसल दिन्छ तर कहिले काहीँ दाना नलाग्ने समस्या आउँछन् । अनि मकै बोट र धानको पराल बोकेर किसानहरू सडकमा उत्रन्छन् । यदि फल्यो भने एउटै मकैको बोटमा तीन वटा घोगा फल्न सक्छन् तर वर्णशङ्कर नगरिएको बोटमा एउटा मात्र फल्न सक्छ । यति हुँदा–हुँदै पनि बुझ्नुपर्ने तथ्य के हो भने वर्णशङ्कर गरिएको तीन घोगामा प्राप्त हुने क्यालोरी वर्णशङ्कर नगरिएको एकै घोगाले दिने गर्दछ । यही नै पहिचानको कुरा हो ।
यस्तैगरि वर्णशङ्करद्वारा फलाइएका अन्नलाई पुनः बीउको रूपमा प्रयोग गर्न सकिन्न । यसको अर्थ ती फलहरू नपुङ्सक हुन्छन् । यही नियम अन्तरजातीय विवाहमा पनि लागू हुन्छन् । परिणामतः अन्तरजातीयताबाट जन्मिएका बच्चाहरूको शारीरिक बनौटले मौलिक पहिचान छुट्याउन गाह्रो हुन्छ । त्यस्तैगरी धर्म, भाषा र संस्कारहरू पनि समाप्त हुन्छन् । स्मरणीय कुरा यो पनि हो कि– अर्गानिकताको पक्षमा बहस चल्न थालेको छ । यसको अर्थ झर्रो वा रक्त शुद्धता नै हो ।
यसैले अब विवाह गर्नेवालाहरूले एकपटक सोच्नै पर्दछ भन्ने देखिन्छ । आजको विश्वमा अस्तित्व र पहिचानको लडाईँ शुरू भैसकेको छ । पहिचानको मुख्य आधार नै विवाह हो । विवाह सामाजिक र सांस्कृतिक हुने गर्दछ । यसको अर्थ विवाहमा सांस्कृतिक कृत्य गरिनु पर्दछ । अन्यथा त्यसले विकृति निम्त्याउँछ । विकृति देखापरेपछि कुल बिग्रन्छ । कुल बिगारिएमा कुलङ्घार भइन्छ । कुल सकिएपछि पहिचान सकिन्छ । पहिचान सकिएपछि अधिकारको प्रश्न उठाउन गाह्रो हुँदै जान्छ ।
यसको मुख्य कारण विवाह सामाजिक र सांस्कृतिक संस्था हो । सामाजिक र सांस्कृतिकताभित्रको वैयक्तिकताले नै मानिसलाई मानिस बनाउँछ । मानिस भएकैले उसको संस्स्कृति हुन्छ । संस्कृति बिर्सेपछि समाजको लागि ऊ मरेतुल्य बन्छ । भन्न खोजिएको के हो भने विवाह संस्कृति हो । संस्कृति भनेको पर्यावरणमा अनुकूलित हुने रणनीति हो । त्यै रणनीति भएकैले विवाहको याम तोकिएको हो । मङ्सीरमै विवाह किन भन्ने प्रश्नमा हामीले यो बुझ्न जरुरी छ कि– विवाह पश्चात् एउटी केटी अर्को नयाँ स्थानमा बस्न पुग्छे ।
त्यतिखेर पर्यावरणीय अनुकूलनको समस्या देखिन सक्छ । कुनै एक भिन्न पर्यावरणमा हुर्केकी केटी अर्को पर्यावरणमा पुग्दा गाह्रो स्वाभाविक हुन्छ । यस्तो समस्यालाई पानी लागेको भनिन्छ । विवाह सामाजिक संस्था भएकोले यसले यस्तो समस्याको समाधानको लागि नियम बनाएको छ । कात्तिक र मङ्सीर जाडो र गर्मी नहुने बीचको समय हो । यस याममा प्रायः स्थानहरूको पर्यावरणीय अवस्थामा समान हुन्छन् ।
त्यसैले सो समयमा अर्को स्थानमा जाँदा वा पुग्दा पनि पानी लाग्ने समस्या हुँदैन । यही मात्र एक सत्य हो; जसले गर्दा विवाह मङ्सीरमा तोकियो । स्थानीय वा समान वातावरणमा हुर्केका केटाकेटी भएमा माघ, फागुन र बैशाखमै पनि विवाह सम्भव हुनेभयो । टाढाबाट ल्याउनु परेमा मङ्सीर नै उत्तम हुने भयो । कात्तिक कुकुरलाई पर्यावरणले नै तोकिदिएकोले मङ्सीर मानिसको भागमा परेको भन्ने देखिन्छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |