मध्य भदौ । सिमसिम झरी । घामपानीको कारण बेला बेलामा आकाशमा देखिएको सप्तरङ्गी इन्द्रेणी । यस्तै सुन्दर प्रकृतिको मनोरम वातावरण । बाहिरी वातावरण जतिसुकै सुन्दर भए पनि मनमा डर ,त्रास र भय भयो भने सुन्दर प्रकृति पनि कुरुप लाग्दोरहेछ । शाही सेनाको चहलपहल उस्तै थियो । मनको डर, त्रासलाई जिम्मेवारीको बोझले थिच्दै किच्दै हाम्रो यात्रा जारी राख्यौं । संगठन निर्माणको क्रममा लेक बेसी गर्ने त दैनिकी नै बनीसकेको थियो । कहिले सौर्य डाँडा, जुरे, आहाले हुँदै रक्षा डाँडा पुगिन्थ्यो भने कहिले जगथली, पथ्थर चोक, डुम्रे, तालढुङ्ग हुँदै सालधार पुगिन्थ्यो । हिजो बेलुका मात्र पथ्थर चोकबाट जगथली आएर बास बस्न खोज्दा गोकुले धापमा शाही सेना आइसक्यो टोली उकालो लाग्नु भन्ने खबर आयो । भौगोलिक दुरीको हिसाबले लगभग ४५ देखि १ घन्टाको बाटो मात्र हो । सङ्कटकालको बेला देशभर प्रत्याक्रमणको तयारीमा लाग्दा सिङ्गो देश नै जलिरहेको थियो । कतिखेर को कहाँ ढल्दैछ भन्ने नै ठेगान नहुने । सङ्गै हिँड्दा हिँड्दैको साथी फलानो ठाउँमा गिरफ्तार प¥यो । गोलि ठोकेर मा¥यो । फलानो ठाउमा दोहोरो भिडन्तामा फलानो घाइते भएछ । फलानो ठाउँमा जनतालाई मारेछ ………. । यस्तै यस्तै खबरहरु लगातार हामीले बोकेको हेन्डसेटमा आइरहन्थ्यो । त्यही सुचनाको आधारमा हामी चनाखो हुनुपर्थ्यो। भदौ महिनाको चर्को घाममा पनि जाडो महशुस भईरहेको थियो । शरीर आलस्य अनि जोस जाँगर पटक्कै थिएन । जगथलीबाट उकालो चढ्दै गर्दा क. छेटुप र क. लक्कीले मलाई “के कमिला थिच्दा जस्तो हिडेको अलि छिटो हिड न ।“ जवाफ फर्काउन मनै लागेन चुपचाप घोसेमुन्टो पार्दै हिँडिँरहेँ । भदौको समय भए पनि त्यो दिन पानी परेको थिएन । भोकले आकुलव्याकुल भएको थियो । बाँसघारी आइपुग्दा झमक्क साँझ पनि परिसकेको थियो । पार्टी समर्थक अर्ध–भूमिगत वीर बहादुर स्याङतन दाइको घरमा सेल्टर लिने भयौं । म मोक्तान भएकै कारण म उहाँहरुलाई दाजु भाउजू नाता लगाउथेँ । थुप्रै चोटि उहाँको घरमा बसेको थिएँ । खाएको थिएँ । हामी पुग्नासाथ भाउजूले नुन खुर्सानी पिसेर थालभरी काक्रोको चिरोले सत्कार गर्नु भयो । सबै जनाले काँक्रो खायौं । अनि बेलुका कोदोको ढिडोसँग गालेर राखेको अमिलो तामाको तरकारी खायौँ । शाही सेनाको टोली धापबाट फर्केर घर्तीछापतिर मुभ भएको भन्ने खबर आयो । रात छिप्पिएपछि शाही सेनाको चहलपहल कम भएको महशुस गर्दै हामी बिना सेन्ट्री सुत्यौँ ।
मध्यरातमा बिउँझिदा बेस्सरी जाडो भईरहेको थियो । घाँटी प्याकप्याकी सुकेर प्यास लागिरहेको थियो । नजिकै रहेको पानीको अम्खोरा तानेर धित मरुन्जेल पानी पिएँ । घडी हेर्दा बल्ल दुई बजेको रहेछ । फिटिक्कै निद लागेन । टाउको गह्रुङ्गो , जिउ पुरै करकरी दुखेको मलाई बेस्सरी गाह्रो भएर आयो । आया ! आया !! गर्दै उज्यालो भयो । आँखाले निद नपुगेको संकेत गरिरहेको थियो । म हिँड्न सक्ने अवस्थामा थिईन । डो¥याउनुपर्ने अवस्था आयो । संगठनकै बैठकको लागि कमरेड छेटुप र कमरेड लक्की धनमना बेँसी जानुपर्ने थियो । मलाई लिएर जान सम्भव नभएपछि नलाने निर्णय भयो । उनीहरु बैठकको लागि बिहानै हिंडे । म चाहिँ एक्लै परेँ। भोलिसम्ममा साथीहरूलाई लिन पठाउछु अनि उपचारको लागि तालढुङ्गा पु¥याउँछौं भन्ने आश्वासन दिएर एरिया सेक्रेटरी क. छेटुप र एरिया सदस्य कमरेड लक्की दुवैजना बाटो लागे ।
म दाइको घरको चोटामा पल्टीरहेँ । हनहनी ज्वरो आइरहेको थियो । अरु बेला पनि बिरामी त भईरहन्थें । तर त्यो बेला थला नै पर्ने निश्चित देखियो । बीरे दाइको जेठो छोरो ङेमा ९ कक्षामा तालढुङ्गामा रहेको मा. वि. स्कुलमा पढ्थ्यो । दैनिक आउजाउ गर्न कठिन हुने भएकोले होस्टेलमै बसेर पढ्थ्यो । घरमा तीन कक्षा र चार कक्षामा पढ्ने दुई छोरी ठूली र कान्छी अनि उनीहरुको सानो भाइ थियो । भननन चक्कर लाग्यो उठ्न खोज्दा त्यही भुक्लुक्क ढ्लेँ। म ढलेको देख्दा कान्छी छोरीले आँत्तिदै “आमा ! आमा यहाँ फूपू त लड्नु भयो । उठ्न खोज्दा उठ्न सक्नु भएन “ भनी चिच्याउदै करेसाबारीमा रहेको आमालाई बोलाईन । अनि नानीहरूको आमा अर्थात मेरी भाउजू हस्याङफस्याङ गर्दै आईन । “के भो नानी ?” भनेर नजिक आएर मेरो निधार अनि टाउको मुसारिन । भाउजूको मायालु स्पर्शमा मैले मेरी स्वयंसेविका आमालाई सम्झेँ । भक्कानिएर रोएँ । अनि भाउजूले सान्त्वना स्वरुप “चिन्ता नगर माथि स्वास्थ्य चौकी छ म ज्वरोको औसधि मागेर ल्याउछु । ठिक भै हाल्छ नि । कान्छी तिमी आङी सङ्गै बस है म नआउन्जेल ।” यति भनेर भाउजू औसधि लिन हेल्थपोस्टतिर लागिन ।
करिब आधा घन्टा जतिमा सिटामोल बोकेर आईन । अनि बेलुकाको खाना तताएर जबर्जस्ति दिईन । “जसरी पनि खानुपर्छ । नभए झन् कमजोर भईन्छ ।” भनेर कर लगाईन । फिटिक्कै खाना खान मन लागेन । जबर्जस्ती दुई गाँस खाएर औसधि खाएँ । “तिमी सुत म बारीमा गए है । अब तिमीलाई ठिक हुन्छ । नानीहरू पनि स्कुल जाओ ।” यति भनेर भाउजू करेसाबारीतिर लागिन ।
मलाई भोलि लिन मान्छे पठाउछु भनी गएका साथीहरूको केही खबर आएन । केही अत्तोपत्तो लागेन । मलाई लिन कोही पनि कोही आएनन् । कस्तो निष्ठुरी साथीहरू रहेछन् भन्ने लाग्यो । बरु म बसेको भन्दा आधा घन्टा माथि सौर्य डाँडामा सेना आइपुगेको खबर नानीहरूले ल्याए । नानीहरू स्कुलबाट फर्किएका थिए । साथीहरूको खबर अझै पनि थाहा पाउन सकिएको थिएन । मेरो अन्त जानलाई हिड्न सक्ने अवस्था पनि थिएन । के गर्ने ? कसो गर्ने ? म निकै आँतुरीमा परें । मेरो अवस्था अत्यन्तै नाजुक थियो । भाउजूले दुई कान्लो तल उनकै गोठमा मेरो झोला लगेर भर्खरै भाँच्दै थुपारेको मकैले छोपि दिईन । अनि “तिमीलाई मेरो नन्द भन्छु सुति राख । कहिले आयौ कहाँ बस्छ भनी सोध्यो भने पनौतीमा बस्छु स्कुल बिदामा आएको भन है ।” भनी सिकाई दिइन ।
भाउजूको कुरा सुनेर म आफूलाई सम्हाल्न सकिन । बेस्सरी रोएँ । यति रोएँ कि रूँदा रूँदा मांसपेशीहरु नै थर थर काम्न थाले । त्यतिकै त म कमजोर मनस्थितिको मान्छे थिएँ । कसरी क्रान्तिकारी भएँ ! त्यो पनि थाहा भएन । आश्चर्यको कुरो यही छ । युद्धको बेला के पर्छ पर्छ ? नभए मर्छ भन्ने कुरो त थाहा थियो तर विरामी अवस्थामा निशस्त्र रुपमा मर्दैछ भन्ने लागेर मन भक्कानियो । आधा घन्टाको माथिबाट तल सेना आइ हालेछ भने मलाई बचाउन आउने कोही थिएन । एरिया सेक्रेटरी र एरिया सदस्य छेटुप र लक्कीले लिन मान्छे पठाउछु हस्पिटल पु¥याउँछु भनेर कता हराए, हराए । सम्पर्क विहीन भए ।
संयोगले सेना बाँसघारीतिर नझरी चित्रे हुँदै फलामेटार तिर मुभ भएको खबर आयो । एउटा अप्रत्याशित काल टरेको महसुस भयो । यदि सेना त्यही बाटो भएर झरेको भए म बाँच्दिन थिएँ । स्वास्थ्य चौकीको सिटामोलले ज्वरो अलिकती पनि घटेन । भाउजूले जडिबुटी औसधि पनि खुवाईन तर कम भएन । दुई दिन इन्तु न चिन्तुको अवस्थामा बित्यो । साथीहरूको अझै पनि कुनै खबर आएन । मेरो खोजतलास कसैले गरेन । न फोन न चिठीपत्र पठाउन सक्ने सामर्थ्य । बस प्रतिक्षामै दिन बिताउन थालियो । तेस्रो दिन दाइ पनौतीबाट बेलुका घर आए । अनि दाइले बच्चाहरूलाई केही मिठाई र तेल मसला पनि ल्याएछन । म ओछ्यानमै थिएँ । दाइ भाउजू कुरा गरेको प्रस्ट सुन्दै थिएँ। भाउजूले दाइलाई (“चु तेमालला मोक्तान स्या मि सिबन ताजी । चु ह्याङला ह्रुइला हिन्ना । ह्याङ्ला आङा बुरिङ हिन्ना । चु ता तालढुङ्गला अस्पतालरी बोर्सम सोसेला वा । चुदा न्होइबा ह्राङ्बा मुला ।”) यिनी तेमालको मोक्तान । मर्नै आट्यो । यिनी हाम्री दिदीबहिनी हुन । हाम्रै थरको हुन । यिनलाई तालढुङ्गको अस्पतालमा लगि उपचार ग¥यो भने बाँच्छिन । यिनलाई टाइफाइड भए जस्तो छ । भनी कुरा गरेको सुने । अनि वर्गीय र हाड नाताको मायाले मलाई सा¥है भावुक बनायो ।
साथीहरूले छोडेको चौथो दिनमा अत्याधिक ज्वरोको कारण म ओछ्यानमै बर्बराई रहेको थिएँ । दाइले देख्नुभएछ । दाइले मलाई बोकेर अस्पताल लैजान अरु गाउँलेहरुलाई गुहार पनि मागेका थिए रे ! हिजो अस्ति मात्र सेना आएको कारण कोही तयार भएनछन । उनी एक्लैले बच्चालाई झै ढाडमा बोकेर तालढुङ्ग लैजाने हिम्मत गरे । दाइले “हस्पिटल जाउँ आङा” भने । “म हिँड्न सक्दिनँ ज्यो ज्यो” भने । “म बोकेर लैजान्छु ।” “एक्लैलाई गाह्रो हुन्छ ज्यो ज्यो भो म जान्न हस्पिटल ।” “त्यसो हैन रुन्ची म जसरी पनि हस्पिटल पु¥याउँछु ।” भनेर ढाड थापे । म बिस्तारै वीरे दाइको ढाडमा बच्चा झै टाँसिए । त्यतिबेला मनमा लाग्यो यति बेला म मेरो बाको ढाडमा चढ्दैछु । बाको ढाड जतिको सुरक्षित हस्पिटल अरु कता होला र ?
यतिका समय अनकन्टार ठाउमा जिर्ण शरीर ओछ्यान परिरह्यो । बल्ल आज हस्पिटलको मुख देख्न जाँदैछु । अब त बाँचिएला । मनमा अलिकती आशा पलायो । करिब ४ घन्टाको बोकाइपछि दाजुले तालढुङ्गाको अस्पताल पु¥याए । अस्पताल पनि के भनू स्वास्थ्य चौकी भन्दा अलिकति बढी मात्र सेवा सुविधा रहेछ । त्यहाँ पुगेर जचाँउदा बल्ल थाहा भयो यो “टाइफाइडको लक्षण हो टाइफाइड भएछ ।” डक्टरले भने । अनि फटाफट दुइटा स्लाइन दियो । सुइबाटै औसधि दियो । अलिकति सजिलो महशुस गरेँ । विचरा दाइ दिउँसोको साँढे तीन बजेतिर साथीहरू भेटेपछि मेरो सबै अवस्था बताएर घर फर्किए । तालढुङ्गा ठुलै बजारभित्र पर्छ । मा वि स्कुल, गा. वि.स. कार्यालय , मेडिकल, पानी घट्ट, मिल आदि इत्यादिले सम्पन्न ठाउँ । यहि बजारको एक घरमा लगेर मलाई आराम गर्न लगाइयो । मलाई साथी पोलिट व्युरो सदस्य ( शान्ती प्रक्रिया पछि मन्त्री बनेका लोकेन्द्र विस्टको जीवन सङ्गिनी अपेक्षा दिदी थिइन । उनले कहिले जाउलो त कहिले चाउचाउ पकाएर खुवाएर मात्र औषधि खान दिईन । एक हप्ताको औसधि सेवनपछी पूर्ण रुपमा ठिक भयो । तर शरीर बेस्सरी कमजोर भयो ।
सर्च अप्रेशनको लागि आएको सेनाको टोली व्यारेकमा फर्केपछि बिस्तारै साथीहरूको भेटघाट र कार्यक्षेत्रमा सहजता आउँदै थियो । बाँसघारीबाट छुटेर गएको एरिया सेक्रेटरी कमरेड छेटुप र लक्की काम सकेर तालढुङ्ग फर्किए । अन्यत्र लागेका एरिया इन्चार्ज आयुध पनि आए । लगभग एरियाको २०÷२५ जनाको संगठनको टोली भेट तालढुङ्गामै भयो । जिल्ला समितिको बैठक सकेको र नयाँ योजना आएको पनि बताए । कार्यक्षेत्र मकवानपुर र काभ्रेको सीमा क्षेत्र हातीसार सम्म पर्थ्यो । कहिलेकाही दुई जिल्लाको साथीहरूसँग भेटघाट पनि भईरहन्थ्यो । बिरामी भएको अवस्थामा कोही साथीहरू साथमा नहुँदा र नजिकै सेना आउँदा मानसिक त्रासले पल पल मरेर बाँचे ।बिरामी हुँदा पनि हिँड्न सकून्जेल रातारात ओकालो ओरालो गरेँ । नसकेपछि सबैले छोडेर गए । मेरो लागि अमिलो क्षण बनेर स्मृतिमा रह्यो ।
रातबिरात सेनाले लखेट्दा, खोला, पाखा, पखेरा खोल्सीहरु पार गर्दा , मध्ये जङ्गल म्हाभर लेकमा रात बिताउँदा जस्तो प्रतिकूलतामा पनि साथीहरूको साथ थियो । अन्तमा जब म हिड्नै नसक्ने गरि बिरामी भयो त्यो बेला भोलि लिन आउँछु । हामी आएनौँ भने लिन अरु साथीहरू पठाउछु भनी न आएको र लिन नपठाएको साथीहरूलाई मन भरी प्रश्न थिए – के वर्गीय माया यहि हो? बिरामीलाई जनताको जिम्मामा छोड्नु कतिको जिम्मेवारी हो ? सहयोद्धाहरुले गर्नुपर्ने कर्तव्य यही हो ? भनेर आफूले आफूलाई नै प्रश्न गरें । जे भए पनि पार्टीको काममा निरन्तर रुपमा लाग्नु नै पर्थ्यो । लागिरहें । त्यस्तो संकटको घडीमा पनि आफ्नै बहिनी सम्झेर मेरो ज्यान बचाउने वीरे ज्योज्योलाई लाख लाख सम्मान र सम्झना छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |